Wednesday, November 6, 2013

चार महिनाभित्र साढे ६ लाख सीएफएल चिम

भीम गौतम\राजधानी
काठमाडौं, २० कात्तिक
नेपाल विद्युत् प्राधिकरणले चार महिनाभित्र ६ लाख ५० हजार थान विद्युत् कम खपत गर्ने सीएफएल चिम वितरण गर्ने भएको छ । विद्युत अभावमा लोडसेडिङको समस्या बढिरहेको बेला एसियाली विकास बैंकको सहयोगमा विद्युत् खपत कम गर्ने निःशुल्क सीएफएल चिम वितरण गर्न लागेको हो ।
एक महिनाअघिदेखि वितरण सुरु गरिएको सीएफएल चिम आगामी चार महिनाभित्र घरघरमा पु¥याउने लक्ष्य राखिएको आयोजना प्रमुख बोधराज ढकालले जानकारी दिए । ‘एक महिनादेखि सुरु भएको सीएफएल चिम वितरणअन्तर्गत १ लाखओटा चिम वितरण भइसकेको छ भने आगामी चार महिनाभित्र थप ६ लाख ५० हजार वितरण गर्न लागिएको छ,’ उनले भने ।
प्राधिकरणका अनुसार साधारण ७० वाटको बल्बबाट जति उज्यालो दिन्छ त्यति नै उज्यालो १४ वाटको सीएफएल चिमले दिन्छ । साधारणभन्दा पाँचौं गुणा बढी सीएफएलले उज्यालो दिने कारण प्राधिकरणले विद्युत् खपत कम गराउनका लागि परम्परागत बल्ब प्रतिस्थापन गरी नयाँ सीएफएल आयोजना दुई वर्ष अघिदेखि सुरु गरिएको हो । एडीबीको १२ करोड सहयोग र प्राधिकरणको ३ करोड गरी १५ करोडको लागतमा सुरु भएको आयोजनाअन्तर्गत वितरण ७ लाख ५० हजार ओटा सीएफएलबाट दैनिक करिब ३३ मेगावाट विद्युत् बचत हुने लक्ष्य राखिएको छ ।
देशभरि रहेका परम्परागत बल्ब विस्थापित गरी सीएफएल चिम घरघरमा जडान गर्ने लक्ष्य राखेको प्राधिकरणले आगामी चार महिनाभित्र विराटनगर, जनकपुर, हेटौंडा, पोखरा, वुटबल, नेपालगन्ज, अत्तरिया र काठमाडौं क्षेत्रअन्तर्गतका घरधुरीहरूमा सीएफएल वितरण गर्न लागिएको प्राधिकरणले जनाएको छ । प्रतिघरधुरीले दुईओटा मात्र सीएफएल पाउने बताइएको छ । आयोजनाका अनुसार विराटनगर क्षेत्रमा ५० हजार ४ सय ४६, जनकपुरमा ९३ हजार ३ सय ८०, हेटौंडामा ५६ हजार ८ सय ५१ र काठमाडौं क्षेत्रीय कार्यालयअन्तर्गतको दोलखा जिल्लामा २० हजार चिम वितरण गर्न लागिएको छ ।
त्यसैगरी, पोखराअन्तर्गत ४३ हजार ३ सय ३६, बुटबलमा ८३ हजार ३ सय ५२, नेपालगन्जमा ५८ हजार ३ सय ५७ र अत्तरिया क्षेत्रीय कार्यालयअन्तर्गत ४८ हजार ३ सय १८ सीएफएल चिम वितरण गर्न लागिएको छ । ४ मंसिरको दोस्रो संविधानसभाको चुनावपछि सीएफएल चिम वितरण अभियानलाई तीव्र बनाइने प्राधिकरणको योजना छ । ‘साधारणको सट्टा सीएफएल प्रयोग गर्दा मात्र विद्युत् संकट बढिरहेको बेला खपत कम हुन्छ,’ आयोजना प्रमुख ढकालले भने, ‘यसबाट प्राधिकरणलाई करोडौं फाइदा हुन्छ ।’ विद्युत् उत्पादन कम भएका कारण बढ्दो लोडसेडिङको समस्यालाई न्यूनीकरणका लागि सीएफएल चिमको उपयोग पनि एउटा कारण भएको भन्दै प्राधिकरणले यसबारे प्रचार–प्रसार अभियानलाई समेत अघि बढाएको छ ।
सहरका अधिकांश क्षेत्रमा सीएफएल चिमको प्रयोग बढ्दो भए पनि ग्रामीण क्षेत्रमा समेत सीएफएलको उपयोग बढाउने अभियानमा प्राधिकरण छ । प्राधिकरणले विद्युत् चोरी हुने क्षेत्रलाई लक्षित गरी सीएफएल चिम निःशुल्क वितरण आयोजना सञ्चालन गरिरहेको र यसले विद्युत् चोरीमा समेत कम हुने अपेक्षा गरेको छ ।

No comments: