Tuesday, November 19, 2013

मतदाता भन्छन् संविधानका लागि फेरि भोट हाल्नुनपरोस्

भीम गौतम\राजधानी 
काठमाडौं, ४ मंसिर
संविधान निर्माणका लागि दोस्रो पटक संविधानसभा निर्वाचनमा मतदान गरेका उपत्यकाका अधिकांश मतदाताले संविधान बनाउन फेरि भोट हाल्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेका छन् । ‘एक जुगमा एकचोटि आउने’ संविधानसभामा संविधानका लागि दोस्रो पटक मत हाल्नुपरेको पीडा बोकेर मतदानस्थल पुगेका मतदाताले संविधानका लागि यो नै अन्तिम भोट होस् भन्ने कामनासमेत गरे ।
संविधान बनाउन तेस्रो पटक भोट हाल्ने अवस्था आए त्यसविरुद्ध प्रतिवादमा उत्रन बाध्य हुने चेतावनीसमेत उनीहरुले दिएका छन् । निर्वाचित सबै प्रतिनिधि मिलेर नयाँ संविधान बनाउनुपर्ने, शान्ति स्थापना गर्नुपर्ने उनीहरूको माग छ । ‘नयाँ संविधान बनाउनैका लागि फेरि एक पटक नेताहरूलाई जिम्मा दिएका छौं,’ कपन बहुमुखी क्याम्पसको केन्द्रमा मतदान गरेपछि स्थानीय लक्ष्मण दाहालले भने, ‘नयाँ संविधान निर्माणका लागि जनताले तेस्रो पटक भोट हाल्नु नपरोस् ।
’ ह्विलचेयरमा गुड्दै कपन बहुमुखी क्याम्पस आएर मतदान गरेकी ८२ वर्षीया पवित्रकुमारी भट्टराईले नयाँ संविधान हेरेर मर्ने इच्छा भएकाले आफ्नो इच्छामाथि खेलवाड नगर्न भावी सभासद्लाई खबरदारी गरिन् । संविधानसभाबाट एक वर्षभित्रै संविधान बन्ने आशमा मात्र आफू मतदान गर्न आएको उनको टिप्पणी छ । उपत्यकाका १५ ओटै क्षेत्रका मतदाताहरू पहिलो संविधानसभाबाटै संविधान नबनाएकोमा आक्रोश व्यक्त गरिरहेका थिए ।
‘पहिलो संविधानसभाबाट संविधान नबनाएर नेताहरूले भत्ता मात्र पचाए, अब पनि बनाएनन् भने दोस्रो संविधानसभाका लागि खाएको भत्ता सबै फिर्ता गर्नुपर्छ,’ बानेश्वरका रामेश्वर तिमल्सिनाले भने । कृषि सामग्री केन्द्र कुलेश्वरबाट मतदान गरेका गणेशविक्रम श्रेष्ठ दलहरू मिलेर संविधान बनाउनुपर्ने तथा देशमा शान्ति स्थापना गर्नुपर्ने बताउँछन् । ‘जसले जिते पनि अब जनतालाई नयाँ संविधान चाहियो र देशमा हत्या, हिंसा, आतंक र त्रास हुनुभएन,’ उनले भने, ‘मेरो अमूल्य भोटले त्यो अवस्था सिर्जना होस् ।’ भक्तपुर–१ मा मतदान गरेका कृष्ण झोंसेले संविधानका लागि तेस्रो पटक मतदान गर्नुपरे आफू कुनै हालतमा मत हाल्न घरबाट बाहिर ननिस्कने बताए ।
उनले भने, ‘अब पनि संविधान बनेन भने फेरि भोट हाल्ने र माग्ने पनि कल्पना नगरे हुन्छ ।’ राजनीतिक स्थायित्वको अभावमा अर्थतन्त्रदेखि सबै क्षेत्र धराशायी भएको भन्दै कतिपय मतदाता भने नेपालको समृद्ध विकासका लागि दोस्रो संविधानसभाको चुनाव सहयोगी हुनुपर्ने बताए । ‘उद्योगधन्दा अस्तव्यस्त बनेका छन्, अब दोस्रो संविधानसभाले राजनीतिक स्थायित्व दिएर नेपाल समृद्ध बनोस्,’ क्षेत्र नम्बर–७ का सितला उच्च बोहोराटारस्थित मतदान केन्द्रमा पुगेका मतदाता धनबहादुर पण्डितले भने । मतदाताले नेताहरूको पहिलो प्राथमिकता सत्ताभन्दा संविधान हुनुपर्ने बताएका छन् ।
‘पहिलो संविधानसभा संविधान बनाउनुभन्दा सत्तामा केन्द्रित बन्यो, अब त्यस्तो नहोस्,’ चार घन्टा लाइनमा बसेर मतदान गरेका बानियाँटार गोंगबुका रणबहादुर थापाले भने, ‘विगतमा बनाएनन्, यस पटक पनि बनाएनन् भने अर्को पटक मत माग्न आएमा बहिष्कार गर्छौं र नेतालाई तिरस्कार गर्छौं ।’ ललितपुर–३ को जाउलाखेलस्थित मतदान केन्द्रमा मत खसालेकी राधा महर्जन पनि संविधान बन्ने आशमा मात्र मतदान गर्न आएको बताउँदै फेरि संविधान नबने दलहरूको विश्वास गुम्ने बताउँछिन् ।
मतदानमा उत्साहपूर्ण तरिकाले सहभागी भएका अधिकांश मतदाता दोस्रो संविधानसभाले छिट्टै संविधान बनाएर देशको विकासका लागि क्रियाशील हुनुपर्ने, गाउँघरका समस्या समाधान गर्नुपर्नेमा जोड दिन्छन् । उम्मेदवार बनेर आएका नेताहरूबाट नयाँ संविधानसभा बनाउने र विकास निर्माणमा सहयोग गर्ने आश्वासन पाएका उनीहरू त्यो प्रतिबद्धता पूरा हुनुपर्नेमा जोड दिन्छन् ।
‘चुनावका लागि बेला जे–जे प्रतिबद्धता जनाएका छन्, अब जितेपछि त्यो पूरा गर्नै पर्छ,’ चाबहिलका आश्विन न्यौपानेले भने, ‘पटक–पटकका चुनावमा भिन्न–भिन्न आश्वासन दिने र त्यो पूरा नगर्ने विगतको अब अन्त्य हुनुपर्छ ।’

No comments: