राजधानी समाचारदाता
काठमाडौं, ११ मंसिर
हाइड्रो नेपाल एक्सिलेन्ट अवार्ड २०१३ बाट यस वर्ष स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) सम्मानित भएको छ । जलस्रोत र वातावरण क्षेत्रमा क्रियाशील संघ÷संस्था र व्यक्तिहरूलाई दिइने सो पुरस्कारबाट संस्थागत रूपमा इपान सम्मानित भएको हो ।
इन्भारोमेन्ट रिसोर्स गु्रप (ईआरजी) को सहयोगमा मिडिया फर इनर्जीले दिने सो पुरस्कारबाट मंगलबार आयोजित कार्यक्रममा इपानका अध्यक्ष डा. सुवर्णदास श्रेष्ठलाई सम्मान गरिएको थियो । यसअघि, पूर्व ऊर्जामन्त्री गोकर्ण विष्ट, नेपाल उद्योग वाणिज्य महासंघका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधान, जलस्रोत पत्रकार विकास थापा, जलस्रोतविज्ञ डा.डम्बरबहादुर नेपाली सम्मानित भइसकेका छन् । यस वर्ष नेपालमा ऊर्जा सम्मेलनसमेत गरेको इपानलाई जलविद्युत्को क्षेत्रमा गरेको योगदान स्वरूप अवार्ड दिइएको हाइड्रो नेपालले जनाएको छ ।
इपानका अध्यक्ष श्रेष्ठलाई अवार्डबाट सम्मान गर्दै ऊर्जा सचिव विश्वप्रकाश पण्डितले ऊर्जा क्षेत्रको विकासका लागि अनुमतिपत्र, वित्तीय व्यवस्थापन, बिजुली बजार, राष्ट्रिय र अन्तर्राष्ट्रिय लगानीलाई विशेष जोड दिइएको बताए । अर्बौंको ऊर्जा आयात न्यूनीकरणका लागि ऊर्जा विकास गर्ने संस्थाहरूको पुनर्संरचना र सुधार गर्नुपर्नेमा उनले जोड दिए । इपानका अध्यक्ष डा.श्रेष्ठले जलविद्युत्मा निजी क्षेत्रको योगदान ३५ प्रतिशत रहेको उल्लेख गर्दै निर्माणाधीन ४ सय मेगावाटका ७० आयोजना निजी क्षेत्रबाट निर्माण भइरहेको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा समितिका सभापति प्रधानले लोडसेडिङको बेलामा उद्योगी व्यवसायीले १७ अर्ब बराबरको डिजेल खरिद गर्नुपर्ने बाध्यता रहेको बताउँदै विद्युत्को निर्यातसम्मलाई लक्षित गरी अघि बढ्नुपर्ने बताए ।
No comments:
Post a Comment