भीम गौतम
धन अर्थात् ‘लक्ष्मी’ उद्योगी–व्यवसायीका लागि सबैभन्दा प्रिय हुने गर्छ । वर्षभरि धन आर्जनका लागि उनीहरूले आफ्नो भएभरको शक्ति खर्चछन् तर एक दिन उनीहरू त्यो शक्ति प्राप्तिका लागि लक्ष्मीपूजा गर्छन् । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारको लक्ष्मीपूजा नजिकिँदै जाँदा उद्योगी व्यवसायीहरू भव्य रूपमा लक्ष्मीपूजा मनाउने तयारीमा जुटेका छन् । यमपञ्चकको तेस्रो दिन गाईलाई लक्ष्मीको प्रतिकका रूपमा मनाइने लक्ष्मीपूजा सबै उद्योगी–व्यवसायीलाई उत्तिकै महŒवको चाड हो ।
परम्परादेखि मनाउँदै आएको यो पूजा पहिला गाई पूजा गरेर सामान्य रूपमा मनाउने भए पनि अहिले भने व्यवसायीहरूले सामूहिक जमघटमा भव्य रूपमा मनाउन थालेका छन् । वर्षौंदेखि धनधान्य लक्ष्मीलाई पूजा गरेर मनाउने लक्ष्मीपूजालाई उद्योगी–व्यवसायीहरूले विशेष पूजाको रूपमा मनाउने गरेको अनुभव छ, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको । ‘घरभित्र र अफिस दुवैमा लक्ष्मीको भव्य रूपमा पूजा गरेर मनाउँछौ,’ उनले भने, ‘घरदेखि उद्योग, व्यवसायको कार्यालयसम्मलाई झिलिमिली पारेर पूजाआजा गर्दा व्यापारी तथा व्यवसायीलाई आनन्द हुन्छ ।’ परम्परागत रूपमा मनाइँदै आए पनि आफ्नो सम्पत्तिको रक्षा र थप सम्पत्ति आर्जनका लागि लक्ष्मीको पूजा गर्दा आर्जन हुन्छ भन्ने धार्मिक मान्यता छ ।
यही मान्यताका कारण व्यापारी तथा व्यवसायीहरूले आफ्नो परिवार, कर्मचारी, साथीभाइ, नाता–कुटुम्बलाई भेला गरेर सामूहिक रूपमा पूजाआजा गर्छन् । गाउँदेखि सहरसम्म जताततै झिलिमिली बनाएर गरिने लक्ष्मीपूजाको दिन भने व्यापारी, व्यवसायीहरूले आफ्नो सबै व्यस्ततालाई त्यागेर लक्ष्मीपूजामा मग्न हुन्छन् । ‘व्यापारी, व्यवसायीका लागि त लक्ष्मीपूजाको दिन विशेष दिन हो, यो दिन सबै काम छोडेर लक्ष्मीकै पूजा हुन्छ,’ उनले भने । उनी परिवार, आफन्त, सम्भव भएसम्मका कर्मचारी र साथीभाइ जम्मा भएर लक्ष्मीपूजा गर्ने तयारीमा छन् । पहिला लक्ष्मीपूजा एउटा परम्परामा सीमित थियो ।
बिहान आफ्नो घरमा रहेको गाईलाई लक्ष्मीको प्रतिक मानी पुज्ने र साँझ झिलिमिली पारेर लक्ष्मीको मूर्ति पूजा गर्ने परम्परा छ । अहिले सहरमा गाई पालिँदैन तर अधिकांशले आफ्नो, व्यापार व्यवसायमा सधैं लक्ष्मी अर्थात् धनको बास होस् भनेर पूजाआजा र लक्ष्मीको आराधना गर्छन् । ‘बत्तीको झिलिमिलीभित्र व्यापार, व्यवसाय अझ राम्रो र सफल होस् भनेर लक्ष्मीको आराधना गर्छौं,’ सुन व्यवसायी तेजरत्न शाक्य भन्छन्, ‘घर, आँगन सफा पारी पसलदेखि घरसम्म झिलिमिली पार्ने अनि घरदेखि व्यवसायमा लक्ष्मीले बास गरून् भनेर गर्ने गर्छौं ।
’ परम्परागत रीतिरिवाज र आध्यात्मिक दृष्टिकोणबाट लक्ष्मीपूजालाई विशेष पूजा मनाए पनि यसले धन प्राप्ति र सफलताका लागि मनलाई थप हौसला दिने गरेको अनुभव उनको छ । जसले जुनसुकै व्यवसाय गरे पनि उनीहरूले घरसँगै आफ्नो व्यवसाय गर्ने क्षेत्र र कार्यालयमा अनिवार्य रूपमा लक्ष्मीपूजा गर्छन् । ‘हामी जलविद्युत् आयोजनाहरूमा समेत लक्ष्मीपूजाका दिन विशेष पूजाआजाका कार्यक्रम गर्छौं, घरपरिवारमा भैगो नि †
’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपपान) का अध्यक्ष डा. सुवर्णदास श्रेष्ठले भने, ‘लक्ष्मी समृद्धिको प्रतिक भएकाले सम्पत्तिको सुरक्षा र थप समृद्धि होस् भनेर पूजा गरिने गरिएको हो ।’ परिवार, व्यापार, व्यवसाय र देशको समृद्धिका लागि लक्ष्मीपूजाको विशेष अर्थ रहने उनको कथन छ । व्यापार, व्यवसाय गर्दा कहिल्यै आर्थिक अभाव नहोस् भनेर प्रार्थना पनि गरिन्छ । हिन्दू परम्परा भए पनि सबै जातजातिले उत्तिकै महŒवका साथ लक्ष्मीपूजा मनाउँछन् ।
‘वैदेशिक रोजगारी व्यवसायीहरूले समेत विशेष महŒवका साथ लक्ष्मीपूजा गर्छन्,’ नेपाल वैदेशिक रोजगारी व्यवसायी महासंघका अध्यक्ष बलबहादुर तामाङ भन्छन्, ‘आफ्नो व्यवसायमा लक्ष्मीको बास होस् भन्नका लागि आफ्नो घर र कार्यालयलाई झिलिमिली पारेर लड्डु खाँदै, नाँचगान गर्दै लक्ष्मीपूजा मनाइन्छ ।’ धार्मिक परम्पराअनुसार विष्णुको अर्धांगिनी लक्ष्मीको पूजाको सन्दर्भ धन प्राप्तिसँगै हरेक मान्छेको जिन्दगीको मन र मस्तिष्क ज्योति र प्रकाशमय बन्नेसँग पनि जोडिएको छ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष सुरेश बस्नेत त लक्ष्मीको पूजा धन र सम्पत्तिसँग नजोडी मानिसको खुसी र आनन्दसँग जोडिएको बताउँछन् ।
‘घरमा र व्यवसायमा धन–सम्पत्ति र ऐश्वर्य प्राप्तिका लागि महालक्ष्मीको पूजा गर्नुपर्छ, धन–सम्पत्ति प्राप्तिका लागि मान्छेको मन चञ्चल हुन्छ, लक्ष्मीको आह्वान गरेपछि त्यो मन शान्त र स्थिर हुन्छ,’ बस्नेतले लक्ष्मीपूजाको महŒव दर्शाउँदै भने, ‘लक्ष्मीको पूजा गर्दा हृदयमा शान्ति र खुसी मात्र प्राप्त हुँदैन, प्रकाशमय पनि हुन्छ, त्यसले जीवनमा आनन्द प्राप्त गराउँछ ।’ लक्ष्मीपूजालाई व्यवसायीहरूले मन, मतिष्क र हृदयलाई खुसीको दियो बाल्ने पर्वको रूपमा समेत विशेष रूपमा मनाउने गरेको अनुभव उनीहरूको छ ।
लक्ष्मीपूजा नजिकिँदै जाँदा अधिकांश व्यापारी, व्यवसायीहरू घरपरिवार, आफन्त, कर्मचारीलगायत सामूहिक रूपमा जम्मा भएर आफ्नो व्यापार, व्यवसाय गर्ने थलोमा लक्ष्मीको पूजाआजा र विशेष दीपावली गरी मनाउने तयारीमा छन् । लक्ष्मी खुसी भएमा धन प्राप्त भइरहने, कहिल्यै व्यापार, व्यवसायमा घाटा नपर्ने, लक्ष्मी अर्थात् धनको बास भइरहने मान्यता रहेकाले व्यापारी, व्यवसायीले आफ्नो सबै व्यस्ततालाई छोडेर एक दिन लक्ष्मी आराधनामै बिताउँछन् । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यता रहेकाले घरको दैलोदेखि भ¥याङ, झ्याल, ढोका सबैतिर झिलिमिली बनाएर लक्ष्मीको स्वागत गर्ने गरिएको छ ।
दीपावली गरिसकेपछि लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्बिरमा पूजा गर्ने गरिन्छ । गाउँघरमा भने बिहान सबेरै उठेर घरको दैलो गाईको गोबरले लिपेर सफा राख्ने अनि भूमिलाई पानीले पुछेर चोख्याई सफा राख्ने चलन छ । कुनै पनि शुभ वा अशुभ कार्यमा गाईको गोबरले लिपपोत गरी गाईको गउँत छर्केर घर–आँगन सबैतिर चोख्याउने साथै शरीर शुद्ध गर्न मुखमा केही थोपा राखी शुद्ध भई कार्य गर्ने चलन छ ।
No comments:
Post a Comment