Tuesday, November 19, 2013

मतगणनास्थल लोडसेडिङमुक्त

भीम गौतम\राजधानी
काठमाडौं, ४ मंसीर
दोस्रो संविधानसभाको चुनावको मतगणनास्थल तथा निर्वाचन आयोगका कार्यालयहरुलाई लोडसेडिङमुक्त बनाइएको छ । मंगलबार भएको दोस्रो संविधानसभाको चुनावको मतगणनाका लागि नेपाल विद्युत प्राधिकरणले गणनास्थल र निर्वाचन आयोगका कार्यालयहरुलाई लोडसेडिङमुक्त बनाएको हो ।
मतगणना सम्पन्न नभएसम्मका लागि लोडसेडिङमुक्त बनाएको प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिए । ‘वितरण तथा ग्राहक शाखाबाट आएको विवरणको आधारमा मतगणना हुने तथा निर्वाचन आयोगका सबै कार्यालयहरुमा लोडसेडिङ नहुने व्यवस्था गरिएको छ ।’–उनले भने–‘सकेसम्म मतगणना अवधिर अन्य क्षेत्रमा समेत कम लोडसेडिङ गर्न लागेका छौ ।’ उनले बुधबारदेखि नियमित रुपमा लोडसेडिङ हुनेछ ।
प्राधिकरणसँगै बिजुलीको बैकल्पिक व्यवस्थाका लागि निर्वाचन कार्यालयले समेत कतिपय स्थानमा जेनेरेटरको व्यवस्था गरेको छ । ७५ जिल्लाका सदरमुकामस्थित तोकिएको केन्द्रमा मतपेटिका ल्याएपछि सुरु गरिने मतगणनामा लोडसेडिङ नगराउनका लागि सरकारले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएपछि प्राधिकरणले लोडसेडिङ नहुने गरी व्यवस्थापन गरेको हो । ‘ऊर्जा मन्त्रालयको निर्देशन अनुसार मतगणना गर्ने सबै क्षेत्रमा लोडसेडिङमुक्त बनाएका छौ ।’–प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
प्राधिकरणले सम्भव भएसम्मको क्षेत्रका डेडीकेटेड फिडरमार्फत र अन्यमा मतगणना हुन्जेलसम्मका लागि लोडसेडिङ नहुने गरी व्यवस्था मिलाएको जनाएको छ । ७५ जिल्लाका विभिन्न क्षेत्रबाट आएका मतपेटिका जिल्ला सदरमुकामस्थित तोकिएको मतगणनास्थलमा जम्मा गरेपछि ती क्षेत्रमा लोडसेडिङ नहुने गरी व्यवस्था गरिएकोले मंगलबार भएको चुनावको मतपेटिका आउने वित्तिक्कै मतगणना सुरु गरिने निर्वाचन आयोगले जनाएको छ ।
प्राधिकरणका अनुसार, करिब ५५ जिल्लामा प्राधिकरणले लोडसेडिङ नहुने गरी व्यवस्था गरेको छ भने ११ जिल्लामा जेनेरेटर र छुट्टै डेडीकेटेड फिडरमार्फत बिजुलीको व्यवस्थापन गरिएको छ । त्यसैगरी ९ क्षेत्रमा लोडसेडिङ नहुने पनि प्राधिकरणले जनाएको छ । चितवन, काठमाडौ, ललितपुर र बाँकेमा डेडीकेटेड फिडरमार्फत तथा धनुषा, महोत्तरी, सर्लाही, उदयपुर, ओलखढुंगा, रुपन्देही, नवलपरारी जेनेरेटरको व्यवस्थापन गरेर ती क्षेत्रका फिडरमार्फत लोडसेडिङ नहुने गरी व्यवस्थापन गरिएको छ ।
त्यसैगरी प्राधिकरणले ४३ जिल्लामा वैकल्पिक फिडरको व्यवस्था नभएको भन्दै साविककै स्थानबाट लोडसेडिङ नहुने व्यवस्था गरिएको जनाएको छ । निर्वाचन आयोगका अनुसार, देशभरका अधिकांश मतगणनास्थल जिल्ला विकास समितिका सभासक्ष, विद्यालय, क्याम्पस, निर्वाचन कार्यालय, नगरपालिका लगायतमा व्यवस्था गरिएको छ ।
दोलखामा नेपाल बार एशोसियसन, रामेछापमा जिल्ला वन कार्यालय, गोरखा, वैतडी, डोटी र सल्यानमा जिल्ला अदालत, पाल्पामा दरबारभित्र, अछाममा जिल्ला कारागारको भवनमा मतगणना गर्ने व्यवस्था मिलाइएको छ । आयोगले अधिकांश क्षेत्रका मतपेटिका मंगलबार अबेरसम्म सदरमुकामको तोकिएको मतगणनास्थलमा आईसक्ने जनाएको छ ।

No comments: