राजधानी समाचारदाता
काठमाडौं, २५ फागुन
काठमाडौं, २५ फागुन
सरकारले
राष्ट्रिय गौरवको आयोजना घोषणा गरेको बुढीगण्डकी जलाशययुक्त जलविद्युत्
आयोजना निर्माणबारे ऊर्जामन्त्री राधाकुमारी ज्ञवाली र ऊर्जासचिव
राजेन्द्रकिशोर क्षत्रीबीच नै दुईथरी कुरा सार्वजनिक भएको छ ।
स्वदेशी
क्षमताकै आधारमा नेपालबाट लोडसेडिङ हटाउने र ऊर्जा मन्त्रालयको समन्वयविना
अघि बढ्न नसक्ने सो आयोजना निर्माणको ढाँचाबारे ऊर्जामन्त्री र सचिवका
दुईथरी विचार सार्वजनिक भएको हो । बुढीगण्डकी र नलसिंहगाड जलविद्युत्
आयोजनाबारे सोमबार संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा ऊर्जामन्त्री
ज्ञवालीले अहिलेकै ढाँचा विकास समितिमार्फत अघि बढाउनुपर्ने बताएकी थिइन्
भने सचिव क्षत्रीले कम्पनीमार्फत निर्माण अघि बढाउनुपर्ने बताएका थिए । यी
भनाइसँगै बुढीगण्डकी जलविद्युत् आयोजना कुन विधिबाट निर्माण गर्ने र लगानी
कसरी जुटाउने भन्ने कुरामा सरकारी निकायमै अन्योलता देखिएको छ । सचिव
क्षत्रीले भने विकास समितिको ढाँचामा बुढीगण्डकी अघि बढ्न नसक्ने बताएका
थिए ।
परामर्शदाता कम्पनी ट्राकबेलले
बुढीगण्डकी आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिरहेको र
आगामी पाँच महिनाभित्र पूरा गर्नुपर्ने सम्झौता सरकारले गरेको छ । तर,
डीपीआर तयार हुन्जेलसम्म आयोजनाको वित्तीय व्यवस्थापनदेखि जग्गा
अधिग्रहणलगायत कार्य दु्रतगतिमा अघि बढाउनुपर्नेमा ऊर्जा मन्त्रालयबीच नै
दुईथरी कुरा सार्वजनिक भएपछि आयोजनाको भविष्यसमेत अन्योलमा परेको छ ।
सरकारले
भारतबाट थप बिजुली ल्याएर आगामी साढे दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने
लक्ष्य राखेको छ । तर, स्वदेशी उत्पादनकै आधारमा लोडसेडिङ अन्त्य गर्न भने
१२ सय मेगावाट क्षमताको यस आयोजना निर्माण सम्पन्न भएपछि मात्र सम्भव भएको
नेपाल विद्युत् प्राधिकरणका अधिकारी बताउँछन् । झन्डै २ खर्ब ५० अर्ब
रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाले गोरखा र धादिङका २० हजार पूर्ण
रूपमा विस्थापित हुनेछन् भने विस्थापितका साथै डुबानमा पर्ने जग्गाको
क्षतिपूर्तिका लागि मात्र झन्डै ६० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान विकास
समितिको छ । जलस्रोत समितिको बैठकमा समेत गोरखा र धादिङका सभासद्ले ठूलो
स्रोतको व्यवस्थापन कसरी गर्ने भन्ने कुराको टुंगो लाग्न नसक्दा प्रभावित
क्षेत्रका जनता अन्योलमा परेको गुनासो
गरेका थिए ।
प्रभावित
दुई जिल्लाका २७ ओटा गाविसवासीले विगत दुई वर्षदेखि घरजग्गाको खरिदबिक्री
गर्न नपाएको तथा जग्गाको भाउ पनि अकासिँदै गएको भन्दै उनीहरूले सरकारलाई
तुरुन्तै मुआब्जा र पुनर्बासको काम चाँडै थाल्न सुझाव दिएका थिए । धादिङ र
गोरखाका सभासद्हरू चीनकाजी श्रेष्ठ, कमला पन्त, धनबहादुर घले, एकराज
पाण्डेलगायतले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना, ऊर्जा संकलन
न्यूनीकरण र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने यस आयोजनाको निर्माणमा भएको
ढिलाइप्रति असन्तुष्टि जनाएका थिए । सभासद् आनन्द पोखरेल, अमृत बोहोरा,
ज्ञानेन्द्र कार्कीलगायतले बुढीगण्डकी निर्माणका लागि आन्तरिक रूपमा
प्रशस्त लगानी जुट्नसक्ने सम्भावना रहेको भन्दै स्वदेशी लगानीमा छिटोछरितो
बनाउन सुझाव दिएका थिए ।
जलस्रोत
समितिले सरकारको नीति तथा कार्यक्रममा यसै वर्ष निर्माण कार्य थाल्ने भनिए
पनि विद्यमान प्रगति र तयारी हेर्दा निकट भविष्यमा आयोजनाको निर्माण कार्य
प्रारम्भ हुनसक्छ भन्ने कुरामा आफू पूर्ण आश्वस्त हुन नसकेको निष्कर्ष
निकालेको छ । समितिले पश्चिम सेती, नलसिंङगाडजस्ता अन्य जलाशययुक्त आयोजना र
प्रसारण लाइन निर्माणको विषयमा प्रधानमन्त्रीलाई नै आमन्त्रण गरी छलफल
गर्ने निर्णय गरेको छ ।
समितिका
सभापति गगन थापाले बुढीगण्डकीको अहिलेको काम र अन्योल हेर्दा अझै एक÷दुई
वर्ष आयोजना बन्ने छाँट नदेखिएको बताए । आगामी असारभित्र विस्तृत अध्ययन
सम्पन्न गरी सन् २०१७ मा निर्माण सुरु गरेर २०२२ भित्र निर्माण पूरा गर्ने
लक्ष्य राखिएको छ ।
http://rajdhani.com.np/article/0527375001425955885
No comments:
Post a Comment