Thursday, March 19, 2015

विद्युत् प्राधिकरण निमित्त प्रमुखलाई आयोगमा सरुवा

काठमाडौं÷रास– उर्जामन्त्री राधा ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक गोसाई केसीलाई जल तथा उर्जा आयोगमा सरुवा गरेकी छन् ।
विगतमा छुट्टै ऐनद्वारा स्थापित प्राधिकरणका कुनै उच्च अधिकारीलाई मन्त्रालयअन्तर्गतका निकायमा सरुवा गर्नुपरेमा बोर्ड बैठकबाट निर्णय गरी कार्यान्वयन गर्नुपर्नेमा सोमबार भने मन्त्रीले मन्त्रीस्तरीय निर्णयबाट उनलाई सरुवा गरेकी हुन् ।
चैतमा कर्मचारी सरुवा गर्न लागेको तथा त्यसमा उनी मन्त्रीको इच्छा अनुसार चल्न नसक्ने हुनाले प्राधिकरणका कार्यकारी निर्देशक मुकेश काफ्ले विदेश गएको मौका पारी सरुवा गरिएको हुन सक्ने प्राधिकरण स्रोतले जनायो । ‘प्राधिकरण छुट्टै निकाय भएकाले प्राधिकरणका प्रमुखको स्वीकृतविना सरुवा गर्न नपाइने हो तर मन्त्रीले स्वेच्छाचारी ढंगले सरुवा गरिन्,’ स्रोतले भन्यो, ‘पहिला प्राधिकरणमा तत्कालीन उच्च अधिकारी सन्तबहादुर पुनलाई बोर्डबाटै निर्णय गराएर सरुवा गरिएको थियो, अहिले त सिधै गरियो ।’
अवकाश पाउन ६ महिना मात्र बाँकी रहेकी केसी प्राधिकरणकी पहिलो महिला उपकार्यकारी निर्देशक हुन् । प्राधिकरणका जग्गा हडप्नेबारे बनेको समितिको संयोजकको रुपमा उनले देशभरका जग्गा प्राधिकरणको नाममा ल्याउन गरेको प्रयासलाई सबैले प्रशंसा गरेका थिए ।
प्राधिकरणलाई महिला मैत्री बनाउने घोषणा गरेकी उर्जामन्त्री ज्ञवालीले पहिलो महिला उपकार्यकारी निर्देशकलाई नै सरकारी कर्मचारीलाई थन्काउने निकायको रुपमा चिनिदै आएको आयोगमा सरुवा गरिएको छ ।
http://rajdhani.com.np/article/0806663001426642891

No comments: