Tuesday, March 3, 2015

दूतावासको बेवास्ताले दुई वर्षदेखि साउदी जेलमा

भीम गौतम /राजधानी
काठमाडौं, १८ फागुन
साउदी अरबस्थित नेपाली राजदूतावासले बेवास्ता गर्दा एक नेपाली युवा जेलमा अलपत्र परेका छन्। १ मार्च २०१३ मा गाडी चलाउने क्रममा दुर्घटना गराएर त्योबापत अदालतले तोकेको सजाय र जरिवाना तिरेपछि पनि गोर्खा नगरपालिका–५ बेलडाँडाका २५ वर्षीय युवा सन्दीप बस्नेत जेलमा अलपत्र परेका हुन्।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका उनले साथीको गाडी सिक्ने क्रममा एटीएम अफिसमा ठक्कर दिएका थिए। सो मुद्दामा त्यहाँको अदालतले ५ महिना ६ दिनपछि तीन महिना जेल सजाय सुनाएको थियो भने गाडी धनीले समेत उनीविरुद्ध मुद्दा हालेका थिए। सो मुद्दामा उनलाई १५ हजार रियाल जरिवाना तोकेको थियो। १५ महिनाको अवधिमा उनले सबै जरिवाना भुक्तानी गरे पनि हालसम्म साउदीको दमाम फैसलिया जेलमा दर्दनाक जीवन बिताइरहेका छन्। उनले निकै पटक जेलबाट मुक्त हुनका लागि साउदीस्थित नेपाली दूतावास तथा त्रिपुरेश्वरस्थित परराष्ट्र मन्त्रालयका काउन्सिलरलाई आग्रह गर्दा पनि बेवास्ता गरेपछि आफू जेलमै बस्न बाध्य भएको बताए।
‘मैले तोकिएको सजाय र जरिवाना भुक्तान गरिसकेको छु तर दूतावास र परराष्ट्र मन्त्रालयलाई पटक–पटक पत्र लेख्दा पनि बेवास्ता गरेकाले जेलमै बस्न बाध्य भएको छु,’ उनले राजधानीसँगको कुराकानीमा भने, ‘नेपाली दूतावासले पत्र लेख्ने हो भने तुरुन्तै छुट्छु तर हालसम्म कुनै वास्ता नै गरेन, न्याय दिएन।’ उनका अनुसार पहिलो दूतावासका कर्मचारी हरि घिमिरेले जेलमै गएर भेटेको र सबै फाइल बुझाएपछि पटक–पटक फोन गर्दा पनि कुनै वास्ता नगर्दा सजाय भुक्तान गरेर पनि जेल पर्नुपरेको हो।
बस्नेतले साउदी अरबस्थित दूतावासमा जरिवाना तिरेको भन्दै गाडी साहुले स्पष्ट पारेको फाइलसमेत बुझाएका छन्। बस्नेतकी बहिनी सन्ध्याका अनुसार दूतावासका हरि घिमिरेसँग ती सबै फाइल छन् भने एक पटक जेलमै गएर उनले भेटेका पनि थिए। ‘अहिले पटक–पटक घिमिरेलाई फोन गर्दा पनि बेवास्ता गर्दा दाइ जेलमा हुनुहुन्छ, दूतावासले सहयोग गरेन, जेलमै आत्महत्या गर्छुु भनेर निराश व्यक्त गर्नुहुन्छ,’ सन्ध्याले भनिन्, ‘परराष्ट्र मन्त्रालयमा निवेदन दिएर पटक–पटक धायौं, दूतावासले चासो दिएको भए जेल परेको छोटो समयमै छुटिसक्नुहुन्थ्यो।’
अल्फाफोर इन्टरनेसनल ओभरसिजमार्फत साउदी पुगेका बस्नेत परिवारले गत पुसमा परराष्ट्र मन्त्रालयमा निवेदन दिएको थियो। उनीहरूले वैदेशिक रोजगार विभागमा समेत निवेदन दिएका छन्। उनीहरूले परराष्ट्र सचिव शंकरदास बैरागीलाई समेत एक पटक फोन गरेर यसबारे जानकारी दिएको र सचिव बैरागीले काउन्सिलर अफिसलाई भन्न आग्रह गरेका थिए। दूतावासले बेवास्ता गरेपछि परराष्ट्र मन्त्रालयमा जाँदासमेत खासै परिवारले राहत पाउन सकेनन्। ‘काउन्सिलर अफिसमा चार–पाँच पटक जाँदा एकजनाले मन्त्री÷नेता भए पावर लगाउनुहोस् भने, कहाँ नेता खोजेर पावर लगाउनु ?’ सन्ध्याले गुनासो पोखिन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरू भने बस्नेत जेल परेकोबारे विस्तृत जानकारी लिएर दूतावासमार्फत पहल गरेमा छुट्ने अवस्था भए सक्दो सहयोग गर्ने बताउँछन्।
‘खोइ, उनको बारेमा व्यक्तिगत रूपमा बुझेका छैनौं, दूतावासकै कारण यस्तो समस्या हो भने पहल गर्छौं,’ मन्त्रालयका एक अधिकारीले भने।
५ कक्षा मात्र पढेका सन्दीपको परिवारको आर्थिक अवस्था दयनीय नै छ। उनका दाजुसमेत वैदेशिक रोजगारीमा छन्। उनको परिवारमा ५६ वर्षीय बुबा कमलबहादुर, आमा अम्बिकालगायत ६ जना छन्। कमाउनका लागि विदेश गएको छोरा नफर्केपछि र जेल परेको खबरपछि परिवारमा रुवाबासी छ।
http://rajdhani.com.np/article/0405278001425353739

No comments: