Monday, March 30, 2015

तामाकोशीमा १९ अर्बको शेयर आवेदन


भीम गौतम\राजधानी
काठमाडौं,  १५ चैत्र । स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै पहिलो र ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा १९ अर्ब रुपैयाँ बराबरको शेयर आवेदन परेको छ ।
अन्तिम दिन आइतबारसम्म १ लाख ८० हजार जनाले १९ अर्ब बराबरको शेयर आवेदन दिएको तामाकोशीको शेयर विक्री प्रबन्धक नागरिक लगानी कोषका प्रवक्ता शुशील अर्यालले जानकारी दिए । तामाकोशीले ऋण प्रदायक र प्रवद्र्धक कम्पनीका लागि २४ प्रतिशत अर्थात २ अर्ब ५५ करोड रुपैयाँ बराबरको शेयर आवेदन आह्वान गरेको थियो । आह्वान गरिएको रकमभन्दा झण्डै आठ गुणा बढी शेयर आवेदन परेको छ ।
प्रवक्ता अर्यालका अनुसार, सञ्चयकर्ताको ऐकिन संख्या आउन बाँकी रहेपनि शुक्रबारसम्म १ लाख १५ हजार ६ सय जनाले १४ अर्ब ८३ करोड बराबरको शेयर आवेदन गरेकोमा आइतबार थप ५० हजार बराबरले ३ अर्ब रुपैयाँ शेयर आवेदन गरेको अनुमान छ । ‘सञ्चयकर्ताहरुको आइतबार हालेको शेयर विवरण आउने बाँकी छ ।’–उनले भने ।
लगानी कोषका अनुसार, शेयरका नेपाल विद्युत प्राधिकरणका ८ हजार ९ सय कर्मचारीले ७९ करोड ८१ लाख, नेपाल टेलिकमका ४ हजार ६ सय ३९ कर्मचारीले ९ करोड २ लाख, संचय कोषका ४ सय ७७ कर्मचारीले १५ करोड २७ लाख, नागरिक लगानी कोषका १ सय ९ कर्मचारीले ३ करोड ५ लाख तथा राष्ट्रिय वीमा संस्थानका १ सय ९२ कर्मचारीले ३ करोड ५ लाख रुपैयाँ बराबरको शेयर आवेदन गरेका छन् ।
३५ अर्ब २९ करोड रुपैयाँ लागत रहेको तामाकोशीमा ऋण सम्झौता हुँदा बखतको कर्मचारीबाहेकका सञ्चयकर्ताका लागि १७ दशमलब २८ प्रतिशत र यस समयमा रहेका सञ्चय कोष लगायतका कर्जा प्रवाह गर्ने कर्मचारीलाई कर्जाको आधारमा २  दशमलब ८८ प्रतिशत, प्राधिकरण र तामाकोशी कम्पनीका कर्मचारीका लागि ३ दशमलब ८४ प्रतिशत, दोलखाका स्थानीयबासीलाई १० प्रतिशत र सर्वसाधारण नागरिकका लागि १५ प्रतिशत शेयर छुट्याइएको छ । त्योमध्ये स्थानीयलाई दिने शेयर विवादका कारण स्थगित भएको छ भने सर्वसाधारणको शेयर आह्वान गर्न बाँकी छ ।

No comments: