Thursday, March 19, 2015

सोलुखोला र प्राधिकरणबीच पीपीए

काठमाडौं÷रास– सोलुखुम्बुमा निर्माण हुन लागेको ८६ मेगावाटको सोलुखोला दूधकोसी जलविद्युत् आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ ।
हाइड्रो भेन्चर प्रालिद्वारा प्रवद्र्धित तथा साहस ऊर्जा लिमिटेडको मुख्य लगानीमा बन्न लागेको सो आयोजनाको पीपीए भएको हो । स्थानीय समुदायको समेत सहभागितामा निर्माण हुन लागेको सो आयोजना निजी क्षेत्रबाट निर्माण भएको सबैभन्दा ठूलो आयोजना भएको प्रालिले जनाएको छ । ९ अर्ब ६८ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको सो आयोजनाले वैशाखको दोस्रो साताभित्र वित्तीय व्यवस्थापन गरेर तीन वर्षभित्र आयोजना निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको कम्पनीका सचिव सीपी आचार्यले बताए । स्थानीयलाई ५ प्रतिशत सेयर दिन लागेको सो आयोजना निजी, सार्वजनिक र सहकारीसमेतको सहभागितामा बनाउन लागिएको हो ।
निजी समुदाय र सहकारीको सहकार्यमा साहस हाइड्रो पावर कम्पनी लिमिटेडले गुल्मी जिल्लास्थित माथिल्लो हुग्दी खोला जलविद्युत् परियोजना ५ मेगावाट आयोजना तोकिएको समयमै अगाडि नै बनाएको थियो ।
साहस ऊर्जामा व्यक्तिगत रूपमा न्यूनतम १ लाख र संस्थागत रूपमा ५ लाख तथा अधिकतम ५ करोडसम्म संस्थागत लगानी गर्न सकिने साहस कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिए । अध्यक्ष पाठकका अनुसार, सो लगानीमध्ये प्रथम किस्ता ६० प्रतिशत आगामी १५ वैशाखसम्म लगानी गर्न सकिनेछ ।
http://rajdhani.com.np/article/0993981001426736012

No comments: