Thursday, March 26, 2015

धुलिखेल–ल्हासा सडक पनि ६ लेन


भीम गौतम\राजधानी
काठमाडौं, ११ चैत्र । सरकारले काभ्रेको धुलिखेलदेखि चीनको ल्हासासम्मको सडकलाई ६ लेन बनाउनका लागि चीनलाई पत्र लेखेको छ ।
व्यापारिक केन्द्र ल्हासा जोड्ने अरनिको राजमार्गको सो सडक नेपाल र चीनबीचको मुख्य व्यापारिक सडक हो । सडक साँघुरो भएपछि दुई देशबीचको व्यापारिक सहजीकरणका लागि सरकारले चीन सरकारलाई पत्र लेखेर आयोजना बनाउन पत्र लेखेको हो । दैनिक दुई हजारभन्दा बढी सवारी साधन ओहोरदोहोर गर्ने सो सडक हाल दुई लेन मात्र छ ।
सिन्धुपाल्चोकको बाह्रविसेदेखि ल्हासासम्मको सडक निर्माणका लागि चीन सरकार विस्तृत अध्ययन भने सुरु गरिसकेको र धुलिखेलदेखि बाह्रविसेसम्म पनि सडक निर्माण अघि बढाउन चीन सरकार सकारात्मक रहेको सडक विभागले जनाएको छ । सुर्यविनायकदेखि धुलिखेलसम्म जापान इन्टरनेशनल कोअपरेसन एजेन्सी (जाइका) ले ६ लेन सडक निर्माण गर्न लागेकोमा त्यहाँबाट चीनसम्म पुग्ने १ सय १६ किलोमिटर लामो सडक निर्माणका लागि पत्र लेखेको सडक विभाग वैदेशिक महाशाखा प्रमुख संजय श्रेष्ठले जानकारी दिए । ‘हामीले धुलिखेलदेखि बाह्रविसेसम्म ६ लेन सडक निर्माणका लागि पत्र लेखेका छौ, यसका लागि चीन सरकार सकारात्मक छ ।’–उनले भने–‘ठूलो व्यापारिक मार्ग भएकोले र पहिला चीन सरकारले नै अरनिको राजमार्ग बनाएकोले सडक चौडा बनाउनका लागि पनि अनुरोध गरेका हौ ।’
सडक विभागका अनुसार, बाह्रविसेदेखि ल्हासासम्मको २७ किलोमिटर सडकको सम्भाव्यता अध्ययन (सर्भे) सकेर चीनीयाँ अधिकारीहरुले विस्तृत अध्ययन सुरु गरिरहेका छन् । प्रमुख श्रेष्ठका अनुसार, सन् २०१६ देखिनै बाह्रविसेदेखि ल्हासासम्मको ६ लेन सडक निर्माण गर्ने गरी चीनीयाँ सरकारले विस्तृत अध्ययन गरिरहेको छ । तीन बर्षभित्र सो सडकको चौडा गरिसक्ने लक्ष्य चीन सरकारले राखेको छ । सडक लागतबारे भने विस्तृत अध्ययन सकिएपछि मात्र थाहा हुने र त्यसपछि सरकारसँग सम्झौता गरी आयोजना अघि बढ्नेछ ।
धुलिखेलदेखि बाह्रविसेसम्मको सडकलाई ६ लेन गर्नेबारे चीनीयाँ सरकार सकारात्मक भएपनि यसबारे सम्भाव्यता अध्ययन अघि बढाईसकेको छैन । चीन सरकार सकारात्मक बनिसकेकोले यो सम्भाव्यता अध्ययन समेत छिट्टै अघि बढाउने आशा सडक विभागको छ ।
भक्तपुरको सुर्यविनायकदेखि धुलिखेलसम्मको सडक भने जाइकाले सन् २०१६ भित्र सुरु गर्ने लक्ष्य राखेर विस्तृत अध्ययन अघि बढाईरहेको छ । तीन बर्षभित्र सो सडक बनिसक्ने र त्यहाँबाट ल्हासासम्म पुग्ने सडक समेत बनाउन सकेमा चीन र नेपालबीचको व्यापार आदानप्रदानमा सहज हुने देखिएपछि सरकारले चीन सरकारलाई ६ लन बनाउन प्रस्ताव गरेको हो । सडक ६ लेन बनेमा काठमाडौबाट खासासम्म पुग्न करिब पाँच घण्टा लाग्ने गरेकोमा बढीमा तीन घण्टाभित्र सवारी साधन ओहोरदोहोर गर्न सक्नेछन् ।


No comments: