Thursday, March 19, 2015

स्थानीयको सहभागितामा सेलाङ जलविद्युत् बन्दै

काठमाडौं÷रास–स्थानीयवासीको सहभागितामा सिन्धुपाल्चोक जिल्लाको सेलाङ र गोच्छे गाविसमा सेलाङ खोला साना जलविद्युत् आयोजना निर्माण हुने भएको छ । आयोजना र स्थानीयवासीबीचको सहमतिमा ९ सय ९० किलोवाटको सो आयोजना बन्ने भएको हो । प्रवद्र्धक राइजिङ हाइड्रोपावर कम्पनी प्रालिका अनुसार १९ करोड ९ लाख रुपैयाँ लागत रहेको आयोजनामा ६७ प्रतिशत ऋण रहेको र बाँकी ३३ प्रतिशत स्वपुँजी (इक्वेटी) रहेको छ ।
इक्वेटीमध्ये दुई गाविसका स्थानीयवासीले सक्नेजति सेयर हाल्ने सहमति भएको कम्पनीका कार्यकारी अध्यक्ष विनोद भट्टचनले जानकारी दिए । ‘स्थानीयवासीसँग आयोजना अघि बढाउन आयोजनाले स्थानीयवासीलाई न्यूनतम १० हजारदेखि माथि सेयर हाल्न सक्ने कुरामा सहमति भएको छ,’ उनले भने, ‘सहमतिअनुसार उत्पादन भएको पहिलो वर्षमा स्थानीयलाई २० लाख तथा त्यसपछि उत्पादन अवधिभर २ लाख रुपैयाँ दिने सहमति भएको छ ।’ ७५ जना स्थानीयवासीको उपस्थितिमा कम्पनीले आयोजनामा स्थानीयवासीलाई सहभागी गराउने गरी सहमतिपत्रमा हस्ताक्षरसमेत गरेको छ । सहमतिअनुसार आयोजना निर्माणमा सबै कार्यमा स्थानीयवासीले कुनै अवरोध गर्ने र सहयोग गर्ने उल्लेख छ । आयोजना अघि बढाउन स्थानीय दोमादोर्जे लामाको संयोजकत्वमा समन्वय समिति समेत गठन गरिएको छ ।
सानिमा बैंकको ऋण १२ करोड ७५ लाखबाहेकको करिब ६ करोड ३४ लाख रुपैयाँ इक्वेटी छ । २०७२ चैत्रभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट बर्सेनि ७० लाख युनिट बराबरको विद्युत् उत्पादन हुने लक्ष्य राखिएको छ । आयोजनाले निर्माणाधीन आठ किलोमिटर पहुँच सडकमध्ये हालसम्म चार किलोमिटर बनाइसकेको छ ।
http://rajdhani.com.np/article/0261847001426642845

No comments: