Wednesday, July 29, 2015

२६ हजार मेगावाट विद्युत् निर्यात गुरुयोजना तयार

२ सय ८४ आयोजना निर्यातयोग्य

भीम गौतम /राजधानी
काठमाडौं, १२ साउन
छिमेकी राष्ट्र भारतबाट वर्षको १ अर्ब युनिटभन्दा बढी विद्युत् आयात गरिरहेको नेपालले आगामी २० वर्षभित्र २६ हजार मेगावाट विद्युत् निर्यात गर्ने गरी गुरुयोजनाको मस्यौदा तयार गरेको छ । आगामी २० वर्ष (सन् २०३५) भित्र नेपाल र भारतबिच ऊर्जा क्षेत्रको सहकार्यका लागि बनेको संयुक्त प्राविधिक समूहले सो गुरुयोजना तयार गरेको हो ।
विभिन्न ६ नाका हुँदै अन्तरदेशीय प्रसारण लाइन (क्रस बोर्डर ट्रान्समिसन लाइन) बनाएर २६ हजार मेगावाट बराबर विद्युत् निर्यात गर्ने उद्देश्यसहित नेपाल र भारतबिच ऊर्जा क्षेत्रको सहकार्यका लागि बनेको संयुक्त प्राविधिक समूहले आवश्यक अध्ययनपछि सो गुरुयोजना तयार गरेको हो । वर्षांैदेखि नेपालबाट भारतमा विद्युत् निर्यात गरेर नेपाललाई धनी बनाउने सपना देखाइरहेको र आर्थिक वर्ष २०७१÷०७२ मा मात्र नेपालले भारतबाट १ अर्ब ३६ करोड युनिट बराबरको विद्युत् आयात गरिरहेको बेला सरकारले भाषणभन्दा पनि गुरुयोजना निर्माण गरेरै अघि बढ्न लागेकाले यसको कार्यान्वयनमा दुई देश सक्रिय भएमा आगामी दिनमा विद्युत् निर्यातको सम्भावना बलियो देखिएको विज्ञहरूको बुझाइ छ ।
नेपाल र भारतबिच विद्युत् व्यापार सम्झौता (पीटीए) भएपछि विद्युत् निर्यात कार्यान्वयनका लागि भन्दै दुवै देशका संयुक्त प्राविधिक समूहले तयार पारेको गुरुयोजनाको नेपालतर्फको प्रारम्भिक मस्यौदालाई आगामी अक्टोबरभित्र अन्तिम रूप दिएर कार्यान्वयनमा लैजाने योजना सरकारको छ । गत मे महिनामै गुरुयोजनालाई अन्तिम रूप दिनुपर्ने भए पनि दुवै देशको यसबारे हेर्ने निश्चित अधिकारी नतोकिएको र आफ्नो जिम्मेवारीसमेत भ्याउनुपर्ने भएकाले तयारीमा ढिलाइ भएको ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले बताए ।
हालै भारतमा भएको सो समूहको बैठकले ६ नाका पहिचानसमेत गरेको छ । समूहले तिन ठुला आयोजना पञ्चेश्वर, कर्णाली चिसापानी र सप्तकोसी बुहउद्देश्यीय आयोजनाको निर्यातका लागि छुट्टै क्रस बोर्डर प्रसारण लाइन बनाउनुपर्ने निष्कर्ष निकाल्दै तीबाहेकका २ सय ८१ जलविद्युत् आयोजनाबाट विद्युत् निर्यात गर्न सकिने गरी गुरुयोजना तयार गरिएको नेपालको तर्फबाट बैठकमा सहभागी विद्युत् विकास विभागका उपमहानिर्देशक नवीनराज सिंहले जानकारी दिए । ‘तिन ठुला आयोजनासहित गरी ४४ हजार मेगावाट विद्युत् निर्यात गर्न सकिने र यीबाहेक २६ हजार मेगावाट बराबर २ सय ८१ आयोजनाबाट विद्युत् निर्यात गर्न सकिने गरी प्रारम्भिक गुरुयोजनाको मस्यौदा बनाएका छांै,’ सिंहले भने ।
समूहले क्रस बोर्डर बनाएर अत्तरिया नाकाबाट १ हजार ५ सय मेगावाट, कोहलपुरबाट १ हजार ५ सय, लम्कीबाट ६ हजार, नयाँ ढल्केबरबाट ५ हजार ५ सय, नयाँ बुटवलबाट ५ हजार ५ सय र न्यु दुहबीबाट ४ हजार मेगावाटभन्दा बढी विद्युत् निर्यात गर्न सकिने पहिचान गरेको हो ।
‘नेपालतर्फको निर्यातको प्रारूप तयार गरिएको छ, अब भारतले तयार गरेपछि यसलाई आगामी सेप्टेम्बरभित्र अन्तिम प्रारूप तयार गरिन्छ र अक्टोबरभित्र सकिन्छ,’ बैठकमा सहभागी नेपाल विद्युत् प्राधिकरणका निमित्त उपकार्यकारी निर्देशक राजीव शर्माले भने । उनका अनुसार अन्तिम प्रारूप नेपाल र भारतबिच रहेको संयुक्त समूहमा बुझाइनेछ भने त्यो समूहले पारित गरेर दुई देशबिचको सचिवस्तरीय स्टेयरिङ कमिटीबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । क्रस बोर्डर प्रसारण लाइन बनाउँदा आउन सक्ने कानुनी झन्झटको अन्त्य गरी सहज बनाउनका लागि दुई देशले छुट्टै समूह बनाएका छन् ।
गुरुयोजनालाई अन्तिम रूप दिएपछि सन् २०३५ भित्र नेपाल र भारत दुवैले विद्युत् निर्यातका लागि प्राविधिक रूपमा उपयुक्त आवश्यकताको आधारमा क्रस बोर्डर ट्रान्समिसन लाइन बनाइनेछ । समूहले तयार पारेको गुरुयोजनामा पञ्चेश्वर बहुउद्देश्यीय जलविद्युत् आयोजनाको नेपालतर्फको ३२ सय ४० मेगावाट, कर्णाली चिसापानीको १० हजार ८ सय मेगावाट र ३ हजार ४ सय मेगावाटको सप्तकोसी बहुउद्देश्यीय जलविद्युत् आयोजनाका लागि छुट्टै प्रसारण लाइन बनाउनुपर्ने औंल्याएको छ । २० वर्षका लागि बनाइन लागेको गुरुयोजनामा सन् २०२०÷०२१, सन् २०२५ र त्यसपछि सन् २०३५ भित्र बन्ने निर्यातमूलक जलविद्युत् आयोजनाहरूको पहिचान गरी त्यसको आधारमा अघि बढ्ने गरी गुरुयोजना तयारी गरिने उपमहानिर्देशक सिंहले जानकारी दिए । बैठकमा नेपालको तर्फबाट सिंह, शर्मा र प्राधिकरणका हितेन्द्रदेव शाक्य तथा भारतबाट सेन्टर इलेक्ट्रिसिटी अथोरिटीका रवीन्द्र गुप्ता, पावर ग्रिडका अशोक पाल र पोस्कोका डडवार पन्डा सहभागी थिए । समूहको अर्को बैठक आगामी सेप्टेम्बरभित्र बस्ने र सो बैठकले भारततर्फको गुरुयोजनासमेतलाई समेटेर अन्तिम रूप दिइने योजना छ ।
नाका    मेगावाट
अत्तरिया १५००
कोहलपुर १५००
लम्की ६०००
नयाँ बुटबल ५५००
नयाँ ढल्केबर ५५००
स्रोत ः संयुक्त प्राविधिक समूह
http://www.erajdhani.com/article/0489732001438129619

No comments: