भीम गौतम/राजधानीकाठमाडौं, १९ असार
वर्षायाममा
खोलामा पानीको सतह बढेसँगै लोडसेडिङ घट्दै जानुपर्ने हो, तर निर्धारित
तालिकाभन्दा पनि निकै बढी लोडसेडिङ हुन थालेपछि सर्वसाधारण मारमा परेका छन्
। नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको तालिकाअनुसार प्रत्येक दिन
सात घन्टा मात्र लोडसेडिङ हुनुपर्ने हो । तर, अहिले तालिकाभन्दा धेरै
लोडसेडिङ हुन थालेको छ । बढ्दो लोडसेडिङसँगै नेपाली जनजीवन तालिकाअनुसार
चल्न थालेको बेला तोकिएको भन्दा बढी लोडसेडिङ भएपछि यसले सर्वसाधारणदेखि
व्यवसायीहरू सम्मलाई झनै पीडा थपेको छ ।
‘यति
बजे बत्ती आउँछ भनेर सर्वसाधारण, उद्योगी व्यवसायी सबैले बिजुलीबाट गर्ने
कामको योजना बनाएका हुन्छन् तर तालिकाभन्दा धेरै बढी हुन थालेपछि यसले ठुलो
पीडा दिएको छ,’ राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जन
भन्छन्, ‘भूकम्पको बेला केही राहत पाएका सर्वसाधारणले अहिले प्राधिकरणले
गर्ने जथाभावी लोडसेडिङको मार खेप्नु परेको छ ।’
अधिकांश
नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजना भएको नेपालमा वर्षामा
उत्पादन बढ्नुपर्ने हो तर लोडसेडिङको तालिका जथाभावी भएपछि सबै उपभोक्ता
अचम्मित भएका छन् । ‘अधिकांश आयोजना रन अफ रिभर भएकाले वर्षामा झन्
लोडसेडिङ घट्दै जानुपर्ने हो तर बढ््दै छ, प्राधिकरणको किन यस्तो बदमासी
गरिरहेको छ, अचम्मित भएका छौं,’ महर्जनले राजधानीसँग भने ।
प्राधिकरणले
सार्वजनिक गरेको लोडसेडिङ तालिकामा लोडसेडिङ एक घन्टा तलमाथि गर्न सकिने
उल्लेख छ तर उपभोक्ताहरूले दैनिक सात घन्टासम्म बढी लोडसेडिङ
बेहोर्नुपरिरहेको गुनासो गरेका छन् । ‘चार दिन त बिहानभरि बत्ती नै आएन,
प्राधिकरणले मनलाग्दी तरिकाले लोडसेडिङ गरिरहेको छ, यसले हामीलाई ठुलो
समस्या परेको छ,’ गौशालाकी माया श्रेष्ठले भनिन्, ‘तालिकाअनुसार बत्ती आउँछ
भनेर विश्वास नगर्दा हुने अवस्था सिर्जना भइसक्यो ।’
विद्युत्
प्राधिकरणका अधिकारीहरू भने सकेसम्म तालिकाअनुसार नै लोडसेडिङ गरेको भूmटो
दाबी गर्छन् । भूकम्पपछि अझै ९० मेगावाट विद्युत् केन्द्रीय ग्रिडमा
नजोडिएकाले मागलाई धान्न समस्या परेको उनीहरूको भनाइ छ ।
‘अहिले
विद्युत्को माग पूरा १ हजार २ सय मेगावाट छ, तैपनि तालिकाकै वरिपरि रहेर
लोडसेडिङ गरिरहेका छौं,’ विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख
भुवन क्षत्रीले राजधानीसँग भने, ‘बेला बेलामा नदीमा बर्षाको कारण हिलो
आउने, पहिरो चर्केर आयोजनामाथि खतरा हुने तथा बेलाबेलामा ट्रिप भएर
पेट्रोलिङ गर्न जाँदा समस्या पर्ने भएकाले कहिलेकाहीँ थप लोडसेडिङ
गर्नुपर्ने बाध्यता छ ।’
१ सय ४४
मेगावाटको कालीगण्डकी, ६९ मेगावाटको मस्याङ्दी, ७० मेगावाटको
मध्यमस्याङ्दीलगायतका ठुला आयोजनाहरू यस्तो जोखिममा रहेकाले बेलाबेलामा
बन्द गर्नुपर्दा लोडसेडिङ बढाउनुपरेको प्राधिकरणका अधिकारीहरूको भनाइ छ । ७
सय १८ मेगावाट विद्युत् उत्पादन क्षमता भएको नेपालमा कुलेखानी प्रथम र
द्वितीय गरी ९२ मेगावाटबाहेक सबै आरओआर आयोजना हुन् । हिउँदमा हुन सक्ने
लोडसेडिङको भयावह समस्यालाई दृष्टिगत गरी प्राधिकरणले वर्षामा कुलेखानी
जलाशय सञ्चालन गर्ने गरेको छैन । त्योबाहेक दोलखा र सिन्धुपाल्चोकका
भोटेकोसी, सुनकोसीलगायतका अधिकांश आयोजनाहरूबाट उत्पादन हुने करिब ९०
मेगावाटको विद्युत् भूकम्पपछि केन्द्रीय ग्रिडबाट विच्छेद छन् ।
प्राधिकरणका
अनुसार हाल प्राधिकरणका विभिन्न आयोजनाबाट ३ सय ५० मेगावाट, निजी
क्षेत्रका आयोजनाबाट १ सय ६० मेगावाट र भारतबाट १ सय ८० मेगावाट विद्युत्
उत्पादन हुँदै आएको छ । कतिपय आयोजनाहरू मर्मत अभावलगायतको कारणले विद्युत्
उत्पादन हुन सकेको छैन । भारप्रेषण केन्द्रका प्रमुख क्षत्रीले झन्डै ५ सय
मेगावाटको लोडसेडिङ अझै रहेको जानकारी दिए ।
जलविद्युत्को
१ सय ४ वर्षको इतिहासमा जम्मा ७ सय १८ मेगावाट मात्र उत्पादन हुन सक्नु
तथा माग प्रत्येक वर्ष सरदर १ सय मेगावाट बढ्दै जानु तर उत्पादन कम हुनुको
कारण समेत लोडसेडिङको समस्या बढ्दै गएको हो । समाजशास्त्रीहरू लोडसेडिङले
सहरवासीको जीवनशैली परिवर्तन भएको र हरेक मान्छे आङ्खनो रुटिनभन्दा
लोडसेडिङको रुटिनअनुसार चल्नुपर्ने बाध्यता रहेको बताउँछन् ।
विद्युत्
विकास विभागका अनुसार निजी क्षेत्रहरूसँग ८ हजारभन्दा बढी सर्भे लाइसेन्स
छन् भने निर्माणाधीन अवस्थामा १५ सय मेगावाट बराबरका आयोजना छन् । विद्युत्
प्राधिकरणले बनाइरहेका चमेलिया, राहुघाट, कुलेखानी तेस्रो र त्रिशूली–३
‘ए’ समेत समयमै सम्पन्न हुन सकेका छैनन् ।
जलाशययुक्त
आयोजनाविना लोडसेडिङ अन्त्य हुन नसक्नेबारे ऊर्जा मन्त्रालय जानकार भए पनि
यसका लागि महŒवपूर्ण आयोजनाहरू मानिएका बुढीगण्डकी, पश्चिम सेती,
नलसिंहगाढ, सुनकोसी तेस्रोलगायतका आयोजना निर्माणमा ढिलाइ हुँदै गएको छ ।
स्रोतका
अनुसार पछिल्लो पटक लोडसेडिङ बढ्नुमा ऊर्जामन्त्री राधा ज्ञवाली र
विद्युत् प्राधिकरणका उच्च अधिकारी जिम्मेवार छन् । उनीहरूले जानाजान
वर्षायाममा समेत अति धेरै लोडसेडिङ गराइरहेको स्रोतको दाबी छ ।
http://www.erajdhani.com/article/0132690001436062772
No comments:
Post a Comment