भीम गौतम/राजधानीकाठमाडौं, १६ माघ
बहुचर्चित
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि गठित पञ्चेश्वर विकास
प्राधिकरण गभर्नेन्स काउन्सिलको बैठक फेरि स्थगित भएको छ । आगामी २० र २१
माघका लागि काठमाडौंमा तय भएको बैठक फेरि स्थगित भएको हो ।
गत
२३ पुसदेखि बैठक बस्ने तय भएकोमा त्यो समयमा भारतीय जलस्रोत मन्त्रालयका
सचिव अस्ट्रेलिया भ्रमणमा जाने कार्यक्रम तय भएपछि स्थगित भएको थियो ।
काउन्सिल बैठकमा नेपालको तर्फबाट ऊर्र्जा मन्त्रालयका सचिव सुमन प्रसाद
शर्मा र भारतको तर्फबाट जलस्रोत मन्त्रालयका सचिव शशी शेखरले नेतृत्व गर्ने
तय भएको थियो । प्राधिकरणका अनुसार बैठकमा बहुउद्देश्यीय आयोजना अघि बढाउन
गठित प्राधिकरणलाई कार्य अघि बढाउन अधिकार प्रत्यायोजनलगायतका विषय बैठकका
एजेन्डा थिए ।
‘भारतीय जलस्रोत
मन्त्रालयका सचिवको व्यस्तताका कारण बैठक स्थगित भएको हो,’ ऊर्र्जा सचिव
शर्माले भने, ‘स्थगित बैठक फेब्रुअरीभित्रै बस्छ, यसबारे छलफल भइरहेको छ ।’
साउन
२०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा १९
वर्षपछि पञ्चेश्वर विकास प्राधिकरणको कार्यादेश (टीओआर) पारित भएपछि
पञ्चेश्वर बहुउद्देश्यीय आयोजना द्रुतगतिमा अघि बढ्ने अपेक्षा गरिएको थियो ।
तर, पटक पटक बैठक स्थगित भएपछि आयोजनाको गतिमा फेरि अन्योल देखिएको छ ।
६
महिनाअघि काउन्सिलको दोस्रो बैठक भारतमा बसेको थियो भने पहिलो बैठक
अघिल्लो वर्षको असोजमा नेपालमा बसेको थियो । गत मंसिरमै बस्नुपर्ने भए पनि
ढिलो गरी पुसको अन्तिम साता तय गरेको बैठक फेरि स्थगित गरेर आगामी बुधबार र
बिहीबार तोकिएको थियो । अर्को बैठकको मिति भने तय भएको छैन ।
आयोजना
अघि बढाउन गभर्नेन्स र एक्जुकेटिभ गरी छुट्टाछुट्टै संयन्त्रको व्यवस्था
गरिएको छ । बैठकमा कार्यकारीतर्फ प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत
(सीईओ), सहायक सीईओ लगायतका नियुक्तिलाई सदर गरेर अधिकार प्रत्यायोजन
गर्नुका साथै प्राविधिक, आर्थिक, संस्थागत संरचना, बजेट व्यवस्थापन
लगायतबारे छलफल गर्ने कार्यक्रम थियो । पञ्चेश्वरको जग्गा अधिग्रहण र
ब्रह्मदेव–पञ्चेश्वर अध्ययनको विषयमा समेत बैठकमा छलफल गर्ने कार्यक्रम
थियो ।
यसैगरी, पञ्चेश्वर परामर्शदाता
वापकोसले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्तुतीकरण गरी त्यसलाई
कसरी अघि बढाउने र प्राधिकरणको संस्थागत संरचना र सन् २०१६ को कार्यक्रम
स्वीकृतिबारे छलफल बैठकमा हुन लागेको थियो । यी निर्णयहरूविना पञ्चेश्वर
बहुउद्देश्यीयको आयोजना अघि बढ्न नसक्ने भएकाले ढिलाइ हुँदा आयोजना
निर्माणमा ढिलाइ भई समयमै बनाउने योजनामा असर पर्ने एक अधिकारीले जानकारी
दिए ।
२०५२ माघमा नेपाल र भारतबिच
महाकाली सन्धिका क्रममा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख भए पनि
१९ वर्षपछि साउन २०७१ मा भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदा टीओआर
पारित भएसँगै नेपाल र भारत दुवैलाई फाइदा हुने गरी आयोजना अघि बढ्न
सकारात्मक वातावरण बनेको छ । ६ हजार ४ सय ८० मेगावाट विद्युत् उत्पादन
गरिने लक्ष्य राखिएकोमा नेपालले आधा अर्थात् ३ हजार २ सय ४० मेगावाट
विद्युत् पाउनेछ ।
भारतीय परामर्शदाता
कम्पनी वाकपोसले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डीपीआरको अद्यावधिक
गर्ने कार्य आगामी ६ महिनाभित्र पूरा गर्ने र यसकै आधारमा आयोजना अघि बढ्ने
प्राधिकरणको लक्ष्य छ । परियोजनाको कुल लागत २९ हजार ७ सय ४ करोड रुपैयाँ
अनुमान गरिएको छ ।
http://rajdhani.com.np/article/0622328001454214359