Wednesday, January 13, 2016

तामाकोसी–३ बाट नर्वेली कम्पनीले हात झिक्यो

राजधानी समाचारदाता
काठमाडौं, २८ पुस
बिजुली बजारको सुनिश्चित नभएपछि नर्वेली कम्पनी स्ट्याटक्राफ्टले ६ सय ५० मेगावाटको तामाकोसी जलविद्युत्् कम्पनीबाट हात झिकेको छ ।भारतीय बजारमा विद्युत््मा आएको गिरावट तथा नेपालमा विद्युत्् बिक्रीका लागि पर्याप्त पूर्वाधार नभएको भन्दै तामाकोसी तेस्रोबाट नर्वेली कम्पनीले हात झिकेको हो । लगानी बोर्डमार्फत विद्युत् निर्यात गर्ने गरी अघि बढाइएको सो आयोजनाको प्रवद्र्धक कम्पनीले घुमाउरो भाषामा नेपाल सरकारले आयोजना निर्माणका लागि सहयोग नगरेको गुनासो गर्दै औपचारिक रूपमै तामाकोसी नबनाउने जानकारी दिएको हो ।
स्ट्याटक्राफ्टको तर्फबाट उपाध्यक्ष र देशीय निर्देशक डा. सन्दीप शाहले विज्ञप्ति जारी गर्दै निर्णय आयोजनाको व्यावसायिक, प्राविधिक र नियामक कारकहरूको विस्तृत मूल्यांकन गरेपछि मात्र लिएको उल्लेख गरेका छन् । ‘विद्युत् बिक्रीका लागि सम्भाव्य विकल्पको कमी, विद्युत्को मूल्य घट्न सक्ने पूर्वानुमान, विद्युत् निकासीका लागि अपर्याप्त प्रसारण क्षमता संरचना र विद्युत् बिक्रीका लागि आवश्यक नीति तथा नियम नहुनु यो निर्णयका प्रमुख कारकहरू हुन्,’ डा. शाहले भनेका छन्, ‘यसले वैदेशिक लगानीमा बढ्दो प्रशासनिक अवरोध, तरल राजनीतिक अवस्था र आयोजना विकासका लागि प्रतिकूल वातावरण सिर्जना गर्ने भू–राजनीतिक अवस्थालाई पनि दर्साउँछ ।’
स्ट्याटक्राफ्ट नेपालमा अझै पनि आयोजनाहरू विकास गर्न इच्छुक रहेको र यसका लागि त्यस्ता आयोजनाले लगानीको उत्कृष्ट प्रतिफल दिनुपर्ने र सञ्चालनका लागि दीर्घकालीन रूपमा कार्य गरिरहन अवस्था पनि स्थिर हुनुपर्ने उल्लेख छ ।
वार्षिक रूपमा २ दशमलव ४३ टेरावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको १ खर्ब ५० अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको थियो । ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको प्रवद्र्धक हिमाल पावर लिमिटेडमा मुख्य स्वामित्व भएकाले स्ट्याटक्राफ्ट तामाकोसी आयोजना अघि बढाउन जग्गा खरिदलगायतमा १ अर्ब १० करोड रुपैयाँ खर्च गरिसकेको छ । स्ट्याटक्राफ्टले सन् २००७ मा सो आयोजनाको सर्भे लाइसेन्स लिएर आयोजनाको सम्भाव्यता अध्ययन र वातावरण तथा सामाजिक प्रभाव मूल्यांकन सर्वेक्षण गरिसकेको छ । कम्पनीसँग लगानी बोर्डले आयोजना विकास सम्झौता (पीडीए) का लागि नेगोसिएसन गरिरहेका बेला हात झिकेको हो । ‘हाम्रो यो निर्णय तामाकोसी–३ आयोजनासँग मात्र सम्बन्ध राख्छ र यसले हाम्रो दक्षिण एसियाका क्रियाकलापहरूमा कुनै असर गर्नेछैन,’ स्ट्याटक्राफ्टकी वरिष्ठ उपाध्यक्ष तथा हिमाल पावर लिमिटेडकी अध्यक्ष टिमा उट्ने ऐयरले भनिन् । 
http://rajdhani.com.np/article/0373860001452650075

No comments: