Monday, January 11, 2016

माघदेखि वैशाखसम्म पुनर्निर्माण महाअभियान

२ वैशाखभित्र प्रत्येक गाविस र नपामा पुनर्निर्माणको सुरुआत

भीम गौतम / राजधानी
काठमाडौं, २६ पुस
भूकम्पपछिको पुनर्निर्माण प्राधिकरणले आगामी २ माघदेखि १२ वैशाखसम्मको अवधिलाई पुनर्निर्माण महाअभियानका रूपमा अघि बढाउने भएको छ ।भूकम्प गएको नौ महिनासम्म पुनर्निर्माणको काम अघि नबढेको भन्दै सरकारको आलोचना भइरहेका बेला प्राधिकरणले भने भूकम्पबाट क्षतिग्रस्त सबै गाविस र नगरपालिकामा पुनर्निर्माण कार्य गर्ने गरी महाअभियान अघि बढाउन लागेको हो । प्राधिकरणले यसअघि नै २ वैशाखदेखि पुनर्निर्माण कार्य सुरुआत गर्ने घोषणा गरिसकेको छ ।
सरकारले पाँच वर्षभित्र पुनर्निर्माण सक्ने लक्ष्य राखेकोमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने २ वैशाखभित्रै हरेक गाविस र नगरपालिकामा पुनर्निर्माणको सुरुआत गरिसक्ने महŒवाकांक्षी घोषणा गरेका छन् । ‘पुनर्निर्माण कार्यलाई गति दिने तथा राष्ट्रिय र स्थानीय तहका साथै अन्तर्राष्ट्रिय समुदायमा समेत नयाँ ऊर्जा सञ्चार गर्न २ माघदेखि १२ वैशाख २०७३ सम्मलाई राष्ट्रिय पुनर्निर्माण महाअभियानको शुभारम्भ कार्यहरू सञ्चालन गर्न लागिएको छ,’ उनले भने ।ज्ञवालीले भने ‘वैशाखसम्ममा भूकम्पबाट प्रभावित सबै जिल्लाका प्रत्येक गाविस र नगरपालिकामा पुनर्निर्माण कार्य सुरु भइसकेको अवस्था हुन्छ ।
१२ वैशाखसम्मलाई तिन चरणको अवधि तोकी सीईओ ज्ञवालीले पुनर्निर्माण महाअभियानलाई अघि बढाउन लागेका छन् । पहिलो अवधि २ माघदेखि ११ फागुनसम्म, दोस्रो १२ फागुनदेखि ११ चैतसम्म तथा तेस्रो १२ चैतदेखि १२ वैशाख रहनेछ । यी अवधिभित्र भूकम्पपछिको पुनर्निर्माण अघि बढाउन आवश्यक नीति, नियम, कानुन, जनशक्ति व्यवस्थापन, संरचनाहरूको विस्तार, आर्थिक व्यवस्थापन, स्पष्ट मोडालिटी लगायतबारे स्पष्ट व्यवस्था गर्ने लक्ष्य राखिएको छ ।
विस्तृत क्षति सर्वेक्षण कार्य सम्पन्न भएपश्चात् सो प्रतिवेदनका आधारमा पुनर्निर्माणसम्बन्धी राष्ट्रिय कार्ययोजना तयार पारी कार्यान्वयनमा ल्याइने लक्ष्य प्राधिकरणको छ । आगामी एक महिनाभित्र सबै जिल्लामा सर्वेक्षण कार्य सम्पन्न भएका गाविसहरूबाट क्रमशः आवास निर्माण कार्य अगाडि बढाउने, निर्माणकर्मीहरूलाई घर निर्माणसम्बन्धी तालिम प्रदान थालिएको तथा आवास निर्माणका साथसाथै गाउँ स्तरमै ‘अन द जब’ कार्यक्रम सञ्चालन गर्ने गृहकार्य भइरहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार तालिम सञ्चालन गर्दा पहिलो चरणमा स्थानीय तहमा उपलब्ध निर्माणकर्मीहरूलाई, दोस्रो चरणमा स्थानीय तहमा इच्छुक व्यक्तिहरूलाई र तेस्रो चरणमा भूकम्प प्रभावित क्षेत्र बाहिर रहेका निर्माणकर्मीहरूलाई तालिम दिने गरी समग्र अनुगमन र परिचालन गर्न भूकम्प अतिप्रभावित क्षेत्रका १४ ओटा जिल्लाका लागि ६ स्थानमा र प्रभावित अन्य जिल्लाका लागि एक स्थानमा गरी जम्मा सात ओटा पुनर्निर्माण प्राधिकरणका सात ओटा क्षेत्रीय कार्यालय स्थापना गर्ने गरी आवश्यक गृहकार्य अघि बढाइएको छ । पुनर्निर्माण ऐनमा व्यवस्था भएअनुसार प्रत्येक जिल्लामा ‘जिल्ला समन्वय समिति’ गठन गरी सचिवालय स्थापना गरिनेछ भने आवास पुनर्निर्माण कार्यमा स्थानीय जनतालाई सहयोग पु¥याउन निश्चित गाविस÷नगरपालिकालाई समेटी उपयुक्त पायक पर्ने स्थानमा स्रोत केन्द्रहरू स्थापना गर्ने लक्ष्य पनि प्राधिकरणले राखेको छ ।
एक इन्जिनियर, एक परिचालक र एक गाविस सचिवसहितको आवास तथा स्थानीय पूर्वाधार पुनर्निर्माण कार्यको अन्तिम कार्यान्वयन एकाइ गाविस तथा नगरपालिका तहमा रहने गरी प्राधिकरणले परिचालनसमेत गर्न लागेको छ ।
प्राधिकरणको संगठन संरचना र जनशक्ति व्यवस्थाका लागि खाका तयार भएको र आज सोमबार बस्ने निर्देशक समितिले यस सम्बन्धमा आवश्यक निर्णय लिने सीईओ ज्ञवालीले जानकारी दिए । उनका अनुसार भूकम्पपछि पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी नीतिको मस्यौदा तयारी अन्तिम चरणमा छ भने पुनर्निर्माण कार्यको कार्यान्वयन रणनीति तयारी कार्य अघि बढाइएको छ । प्राधिकरणको २९ पुसमा पुनर्निर्माण परामर्श समितिको बैठकसमेत बस्न लागेको छ ।
सीईओ ज्ञवालीले २ माघअघि नै पाँच बर्से कार्ययोजना सार्वजनिक गर्ने तयारीसमेत गरेका छन् । विशेष गरी जनताको आवास निर्माण, जलविद्युत्, वन, पर्यटन, यातायात, संस्कृति, कृषि, खानेपानी र सरसफाइलगायत प्रकोपपछिको क्षति आवश्यकता आँकलन (पीडीएन) ले समेटेको क्षेत्रका पुनर्निर्माणबारे कार्ययोजनाले लक्ष्य र उपलब्धिका सूचांकहरू समेट्नेछ । पुनर्निर्माण प्राधिकरणले यसका लागि कार्यान्वयन गर्ने सरोकारवाला मन्त्रालयहरूसँग छलफल अघि बढाउनुका साथै आवश्यक ऐन, नियम, कार्यविधि र नीतिबारे तयारी अघि बढाएको जनाएको छ । ‘बनाऊ राम्रो बलियो’ भन्ने उद्घोषसहित सरकारले ‘केन्द्रीकृत नीति र विकेन्द्रित कार्यक्रम’ को अवधारणासहितको राष्ट्रिय योजना आयोगले भूकम्पोत्तर पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी नीति तयार पारिसकेको छ ।
http://rajdhani.com.np/article/0382953001452474576

No comments: