Thursday, January 7, 2016

बेत्रावती–स्याफ्रुबेंसी सडक निर्माण सुरु गर्दै सेना

भीम गौतम\राजधानीकाठमाडौं, २२ पुस
आगामी सोमबारदेखि नेपाली सेनाले छिमेकी राष्ट्र चीनको रसुवागढी नाकालाई छोटो पार्ने बेत्रावतीदेखि रसुवागढीसम्मको मोटरबाटो निर्माण सुरु गर्ने भएको छ । काठमाडौं–गल्छी–बेत्रावती हुँदै रसुवागढी पुग्ने बाटोलाई स्तरोन्नति गर्दै चीनसँगको व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित १७ मंसिरमा मन्त्रिपरिषद्ले बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्मको सडक नेपाली सेनालाई निर्माणको जिम्मा दिएकामा आगामी सोमबारदेखि सुरु गर्न लागेको हो ।
रसुवा स्याफ्रुबेंसी हुँदै जाँदा भन्दा झन्डै २३ किलोमिटर नजिक पर्ने सोमध्ये १२ किलोमिटर माथिल्लो त्रिशूली ३ को प्रवद्र्धन कोरियन कम्पनीले निर्माण गरेकामा हाल भूकम्पको कारण पूर्ण रूपमा क्षति छ भने नेपाली सेनाले यसअघि ६ किलोमिटर ट्रयाक खोलिसकेको छ भने १० किलोमिटर बाटो खन्न बाँकी छ । काठमाडांैलाई चीनको नाकासँग जोड्ने मुख्य मार्गका रूपमा लिएर सरकारले स्तरोन्नति गर्न लागेको सो सडक बेत्रावतीदेखि स्याफ्रुबेंसीसम्म निर्माण सम्पन्न गर्न मन्त्रालयबिच समन्वय र सहजीकरण भएमा १८ महिनाभित्र पूरा गर्न सकिने नेपाली सेनाले जनाएको छ ।
गत १२ वैशाख र त्यसपछि आएको निरन्तरको पराकम्पको कारण मैलुङ स्याफ्रुबेंसी सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि त्यो ट्रयाक खोल्ने काम अघि बढाउन लागिएका नेपाली सेना विकास निर्माण निर्देशानालयका सहायक रथी उद्धव विष्टले जानकारी दिए । ‘दुई वर्षभित्र पूरा गर्ने गरी हाल पहिरोले क्षतिग्रस्त सडकको ट्रयाक निर्माणको जिम्मा समेत दिएकाले नेपाल सेनाले सोमबारदेखि काम सुरु गर्न लागेको हो,’ उनले भने, ‘सडक निर्माण अघि बढाउनका लागि तत्काल ५ करोड मागेका छौं तर पाएका छैन तैपनि सडक निर्माण अघि बढाउँछौं, ६ ठाउँबाट एकैपटक सडक निर्माण गर्ने लक्ष्य छ ।’ उनका अनुसार सेनाले निर्माण गर्नेमध्ये ४ किलोमिटर खण्ड लाङटाङ राष्ट्रिय निकुञ्जबाट स्वीकृतिका लागि वन मन्त्रालयबाट सहजीकरण गर्नुपर्ने, सडक निर्माण गर्न १ सय ४३ टन विस्फोटक पदार्थ चाहिनेमा अभाव रहेको, दुई वर्षका लागि ३ सय २३ किलोलिटर इन्धन आवश्यक रहेको जस्ता समस्या छन् ।
‘ऊर्जा मन्त्रालयअन्तर्गतको त्रिशूली–३ एक जलविद्युत् आयोजनासँग ४३ टन र कोरियन कम्पनीसँग ५० टन विस्फोटक पदार्थ रहेकाले त्यसलाई उपलब्ध गराउने व्यवस्था सरकारले गरिदिनुपर्छ,’ सहायक रथी विष्टले संसद्को विकास समितिको बैठकमा भने, ‘आयोजना छिटो बनाउनका लागि कुनै झन्झट नहुने गरी यो क्षेत्रलाई संकटकालीन कोरिडोर घोषणा गर्नुपर्छ, नत्र अहिलेको जस्तो मन्त्रालय धाउँदाधाउँदै हैरान हुने अवस्था भयो भने समयमै पूरा गर्न कठिन छ ।’
बैठकमा उपप्रधान एवं रक्षामन्त्री भीम रावलले व्यापार विविधीकरणका लागि चीनसँगको राजमार्गलाइ स्तरोउन्नति गर्न लागिएको र उपप्रधान एवं परराष्ट्र मन्त्री कमल थापाको चीन भ्रमणको बन्द रहेको तातोपानी नाका समेत खुलाउने सहमति भएको जानकारी दिए । बैठकमा रक्षा सचिव जयमुकुन्द खनालले सेनाले बनाउन सडक निर्माणका लागि सबै किसिमको समन्वय र सहजीकरण गर्ने बताएका थिए ।
बैठकमा वन तथा भूसंरक्षण सचिव उदयचन्द्र ठाकुर, वातावरण मन्त्रालयका सचिव विजय मल्लिक, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सचिव केदार अधिकारी, अर्थ मन्त्रालयका सह–सचिव वैकुण्ठ अर्याल, सडक विभागका महानिर्देशक माधव कार्कीलगायतले आयोजना निर्माणमा सहजीकरण गर्ने बताएका थिए । बैठकमा सभासद् ले प्रक्रियागत झन्झटको अन्त्य गरी छिटो सडक निर्माणका लागि मन्त्रालयबिच समन्वय र सहजीकरण गर्नुपर्ने बताए । विकास समितिको बैठकले उत्तरी सीमानाका जोड्ने प्रमुख सडक स्तरोन्नति गर्ने र ट्रयाक खोल्नेलगायतका काममा नेपाली सेनालाई परिचालन गरी छिटो निर्माण सक्न निर्देशन दिएको छ ।
विकास समितिका सभापति रवीन्द्र अधिकारीले सेना निर्माण विभागको संगठन विस्तार र सुदृढीकरण गरी आवश्यक प्राविधिक जनशक्ति, उपकरण, तालिमलगायतका क्षेत्रमा क्षमता अभिवृद्धि गरी दु्रतगतिमा सडक निर्माणका लागि निर्देशन दिएको जानकारी दिए ।
समितिले जग्गा प्राप्ति, मुआब्जा, रुखको कटानलगायतका विविध पक्षलाई सम्बोधन गर्दै नियमित प्रक्रियाबाट कार्य सम्पादन गर्दा लामो समय लाग्ने भएकाले अति महŒवपूर्ण सडक निर्माण कार्यलाई खास गरी गल्छिदेखि रसुवागढी नाकासम्मको सडक निर्माणकार्यलाई फास्ट ट्रयाक प्रक्रियामा लैजान सरकारलाई निर्देशन दिएको छ । साथै समस्या समाधान गर्ने व्यवस्था मिलाउन र युद्धस्तरमा कार्य सम्पादन गर्न सोसम्बन्धी विस्तृत कार्ययोजनाको जानकारीसमेत १५ दिनभित्र उपलब्ध गराउन समितिले सरकारलाई निर्देशन दिएको छ । उत्तरी सीमानाका जोड्ने सडक तथा पहुँच मार्गहरूको सम्बन्धमा विभिन्न मितिमा गरेको स्थलगत अध्ययन प्रतिवेदन कार्यान्वयनका लागि नेपाल सरकारलाई उपलब्ध गराइएको उल्लिखित प्रतिवेदनको कार्यान्वयनको प्रगति विवरणसमेत समितिले सम्बद्ध मन्त्रालयसँग समितिले मागेको छ ।
गछी(रसुवागढी सडकमार्गमा रहेका सानासाना घुम्ती तत्काल विस्तार गर्न, यस सडकमार्ग निर्माण तथा विस्तार कार्यका लागि आवश्यक पर्ने विस्फोटक पदार्थ ऊर्जा मन्त्रालयअन्तर्गत त्यस क्षेत्रमा निर्माणाधीन रहेका जलविद्युत् आयोजनामा स्टकबाट भए पनि उपलब्ध गराउन र अन्य स्थानीय समस्या तत्काल समाधान गर्न समितिले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन दिएको छ ।
http://rajdhani.com.np/article/0399692001452156967

No comments: