Sunday, January 17, 2016

११ः५६ मै सुरु भयो पुनर्निर्माण महाअभियान

भीम गौतम / राजधानी
काठमाडौं, २ माघ
विनाशकारी भूकम्प गएको साढे ९ महिनापछि सरकारले शनिबार राष्ट्रिय पुनर्निर्माण महाअभियानको औपचारिक सुरुआत गरेको छ । ‘वैशाख १२ मा गइहाल्यो भुइँचालो, सुरक्षित पुनर्निर्माणमा जुट्ने हाम्रो पालो’ भन्ने नाराका साथ १८आंै राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर शनिबारदेखि काठमाडौं उपत्यकाबाट पुनर्निर्माण महाअभियान सुरुआत भएको हो । भूकम्प गएकै समय ११ बजेर ५६ मिनेटको समयमा रानीपोखरी पुगेर सांकेतिक रूपमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण महाअभियानको सुरुआत गरिन् । उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, प्रमुख दलका शीर्ष नेता, उच्च पदस्थ कर्मचारी, कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थितिमा राष्ट्रपति भण्डारीले रानीपोखरीको किनारमा वैदिक विधिअनुसार इँटा राखेर पुनर्निर्माण महाअभियानको शुभारम्भ गरेकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि शनिबार नै ललितपुरको बुङमती पुगेर अभियानको सुरुआत गरे ।

आगामी चैत्रदेखि नमुना तथा वैशाखदेखि व्यक्तिगत आवास निर्माण गर्ने लक्ष राखेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प दिवसकै दिन भूकम्प गएकै समय पारेर महाअभियान सुरुआत गरेको हो । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले १४ जिल्लालाई विशेष प्रभावित र १७ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरी प्राधिकरणले पुनर्निर्माण अघि बढाउन
लागेको छ । भूकम्पपछिको पुनर्निर्माणमा अनियमितता सह्य नहुने बताउँदै उनले जनतालाई दुःख नदिई राजनीतिक दलहरूलाई युवा स्वयंसेवी उतार्ने प्रतिस्पर्धा गर्न आग्रह गरे । पुनर्निर्माण महाअभियानमा प्रतिबद्धता जनाउन आएका प्रमुख प्रतिपक्षी दलका नेता एवं कांग्रेस सभापति सुशील कोइरालाले आफ्नो पार्टी प्रतिपक्षमा भए पनि पुनर्निर्माण अभियानमा सघाउने बताए ।
एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालले भूकम्पपछिको उद्धार चरणमा जस्तो कालोबजारी, भ्रष्टाचार नहुने र सम्पूर्ण रूपमा नैतिकता र इमानदारिता हुने गरी पुनर्निर्माण अघि बढाउने बताए । दुवै नेताले पुनर्निर्माणमा सरकारलाई सघाउन तयार रहेको बताएका थिए ।
रानीपोखरीको पुरातात्विक सम्पदा र बुङमतीको व्यक्तिगत घर निर्माण एकसाथ सुरु हुनु सांकेतिक भएको बताउँदै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मुलुकमा पुनर्निर्माणसँगै नवनिर्माण अभियान सुरु हुने उल्लेख गरे । हरेक गाउँमा प्राविधिकसहितको स्रोत र निर्माण सामग्रीको हब बनाइने भन्दै उनले पुनर्निर्माणमा स्थानीय जनताको नेतृत्व, अपनत्व र सहभागिता हुने दाबी गरे । आगामी तिन महिनाभित्र पुनर्निर्माणका लागि आवश्यक सबै नीति, नियम, कानुन, संरचना, दक्ष जनशक्ति, मोडालिटीको छनोटलगायत सकेर वैशाखदेखि व्यक्तिगत आवासको निर्माण गर्ने लक्ष्य राखेको उनको भनाइ छ । ‘सांकेतिक रूपमा पुनर्निर्माण महाअभियानको सुरुआत गरिएको छ, वर्षाअघि नै व्यक्तिगत आवास बनाउनका लागि सहज हुने गरी सबै तयारीका साथ अघि बढेका छौं,’ उनले भने । पुनर्निर्माण पाँच वर्षभित्र सक्ने लक्ष्य सरकारको छ । प्राधिकरणका अनुसार भूकम्पका कारण ६ लाख ८ हजार घर पूर्ण रूपमा र २ लाख ९८ हजार ९ सय घरगोठ आंशिक रूपमा क्षति भएका छन् । त्यसैगरी, भूकम्पबाट ७ खर्ब ४ करोडबराबरको क्षति र नोक्सान भएकामा ६ खर्ब ७० अर्ब पुनर्निर्माणका लागि आवश्यक रहेको राष्ट्रिय योजना आयोगले तयार पारेको विपद्पछिको आवश्यकता आँकलन (पीडीएनए) प्रतिवेदनले औंल्याएकामा १० असारमा गरेको दाता सम्मेलनमा ४ खर्ब १० अर्बबराबरको प्रतिबद्धता जनाएका थिए ।
सरकारले चालु आर्थिक वर्षमा प्राधिकरणका लागि ७४ अर्ब र विभिन्न मन्त्रालयलाई १७ अर्ब बजेट छुट्याएकामा ढिलो गरी प्राधिकरण गठन भएपछि आयोगले चालु वर्षको बाँकी अवधिका लागि ४९ अर्ब ३३ करोड बजेट छुट्याएको छ । प्राधिकरण गठनमा ढिलाइ तथा विभिन्न मन्त्रालयहरूलाई छुट्याएको रकमसमेत खर्च हुन नसक्दा हालसम्मको खर्च शून्य छ । प्राधिकरणका विशेष प्रभावित क्षेत्रमा ६ र बाँकी प्रभावित जिल्लाका लागि एक गरी सातओटा उपक्षेत्रीय कार्यालयका साथै दुई स्रोत केन्द्र स्थापना आगामी वैशाखभित्र गरिसक्ने लक्ष्य राखेको छ । हाल तथ्यांक विभागले भूकम्पपीडितको डिजिटल सर्वेक्षण जारी राखेकामा माघभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ । सरकारले भूकम्प प्रभावित क्षेत्रमा आवास बनाउनका लागि १७ नमुना घरको डिजाइन तयार गरेको छ ।
आगामी चैतदेखि पाँचओटा जिल्लामा नमुना तथा वैशाखदेखि प्रत्येक जिल्लाका कम्तीमा पाँच गाविस वा नगरपालिकामा व्यक्तिगत आवासको निर्माण सुरु गर्ने लक्ष्य प्राधिकरणको छ । प्रत्येक जिल्लामा सम्बद्ध जिल्लाका सरकारी कार्यालय पुनर्निर्माण एकाइ÷कार्यालय स्थापना गर्ने र त्यसमार्फत कार्यान्वयनका लागि सहजीकरण गर्ने लक्ष्य प्राधिकरणको छ ।

पुनर्निर्माणका लागि प्राधिकरणले प्रत्येक गाविस एक इन्जिनियर, सामाजिक परिचालक र एक तालिम प्राप्त निर्माणकर्मीको व्यवस्था गर्न लागेको छ । सरकारले भूकम्पपीडितको व्यक्तिगत आवास निर्माणका लागि २ लाख अनुदानसहित थप ३ लाख सामूहिक जमानीमा र धितो राखेर सहुलियत दरमा काठमाडौं उपत्यकामा २५ लाखसम्म र उपत्यकाबाहिर १५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ ।
पुनर्निर्माणमा अनियमितता सह्य छैन, सबै दलले स्वयंसेवक उतार्न प्रतिस्पर्धा गरौं :-  प्रधानमन्त्री
प्रतिपक्षी भए पनि पुनर्निर्माणमा सघाउँछौं:- सुशील कोइराला
पुनर्निर्माणमा नैतिकता र इमानदारी देखाऔं:- पुष्पकमल दाहाल
पुनर्निर्माणसँगै नवनिर्माण अभियान सुरु भयो :- सुशील ज्ञवाली

भूकम्प र पुनर्निर्माण

क्षति÷नोक्सान ७ खर्ब ४ करोड
आवश्यक रकम ६ खर्ब ७० अर्ब
हालसम्मको खर्च शून्य
आवास क्षति ९ लाख (पूर्ण÷आंशिक)
सात उपक्षेत्रीय र दुई स्रोत केन्द्र
वैशाखदेखि व्यक्तिगत आवास निर्माण
अनुदान रकम २ लाख (प्रति परिवार)
सामूहिक जमानीमा ऋण ३ लाख
धितोमा ऋण १५÷२५ लाख
http://rajdhani.com.np/article/0696627001452994532

No comments: