Thursday, February 27, 2014

लोडसेडिङ घटाउन ऊर्जामन्त्रीको ६ बुँदे निर्देशन

फेरि महँगो डिजेल प्लान्ट

राजधानी समाचारदाता

काठमाडौं, १५ फागुन । नवनियुक्त ऊर्जामन्त्री राधा ज्ञवालीले ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीहरूलाई लोडसेडिङ घटाउन ६ बुँदे निर्देशन दिएकी छन् ।
बुधबार ऊर्जामन्त्रीको पदबहालीपछि नेपालमा लोडसेडिङको समस्या सबैभन्दा भयावह रहेको बताउँदै उनले कर्मचारीहरूलाई ६ बुँदे निर्देशन दिएकी हुन् । लोडसेडिङ घटाउनका लागि निर्माण सम्पन्न आयोजनाहरूको मर्मत सम्भार गर्न, नेपाल–भारत क्रस बोर्डर प्रसारण लाइन र निर्माणाधीन जलविद्युत् आयोजनाहरू छिटो निर्माण सम्पन्न गर्न, महँगो भए पनि थर्मल प्लान्टको व्यवस्थालाई ध्यान दिन, निजी क्षेत्रद्वारा निर्माणाधीन आयोजनाहरूलाई छिटो बनाउन सहुलियतको व्यवस्था गर्न र वैकल्पिक ऊर्जाको रूपमा सोलारलगायतको उपयोगमा ध्यान दिन उनले कर्मचारीहरूलाई आग्रह गरेकी हुन् ।
‘यी केही प्रयासहरू भएमा लोडसेडिङ घटाउन सकिन्छ भन्ने मलाई लागेको छ, लोडसेडिङ घटाउने काममा मेरो मुख्य फोकस रहन्छ,’ उनले निर्देशन दिँदै भनिन् ।
उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै छिट्टै एक घन्टा लोडसेडिङ घटाउने घोषणा गरिन् । ‘मिति तोक्दिन तर छिट्टै दैनिक एक घन्टा लोडसेडिङ घटाउँछु, विगतमा १२/१३ दिन ऊर्जामन्त्री हुँदा पनि घटाएको थिएँ,’ उनले भनिन् । हाल प्राधिकरणले दैनिक १२ घन्टा लोडसेडिङ हुँदै आएको छ ।
संसद्बाट पारित नभएर अलपत्र परेको विद्युत् विधेयक २०६५ संसद्बाट पारित गराउनका लागि आफ्नो प्रयास रहने उल्लेख गर्दै उनले जलविद्युत् बारेका सबै नीति प्रस्ट बनाउनु आफ्नो दायित्व  भएको बताइन् ।
आफूले साताको एक दिन मात्र साँझमा बत्ती देख्ने गरेको गुनासो पोख्दै ऊर्जामन्त्री ज्ञवालीले सबै जनताले पाएको यो समस्याबाट मुक्ति दिलाउनका लागि आफ्नो सम्पूर्ण प्रयास केन्द्रित हुने बताइन् । ऊर्जा संकटकै कारणले उद्योगधन्दा धराशायी भएको उल्लेख गर्दै उनले निर्माणाधीन कुलेखानी तेस्रो, चमेलियालगायतका जलविद्युत् आयोजनाहरू समयमै सक्न तथा निजी क्षेत्रलाई सहुलियत दिएर भए पनि छिटो उत्पादन गर्ने वातावरण बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताइन् ।
महँगो भए पनि तत्काल ऊर्जा संकट टार्नका लागि डिजेल प्लान्ट खरिद गर्नतिर ध्यान दिने उनको भनाइ थियो । विगतमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र डा।बाबुराम भट्टराईको पालामा ठूलो प्रयास गर्दा पनि प्रतियुनिट ४० रुपैयाँभन्दा बढी पर्ने डिजेल प्लान्ट स्थापना गर्ने सरकारको निर्णय कार्यान्वयन नभइरहेको बेला नयाँ आएकी ऊर्जामन्त्रीले पदभार ग्रहण गरेकै बेला सेतो हात्तीको रूपमा लिइने डिजेल प्लान्ट खरिदको कुरा उठाएकी हुन् ।
ऊर्जा मन्त्रालयभित्र सुशासन कायम गर्न आफू अग्रसर हुने बताउँदै उनले विद्युत्को लाइसेन्स ओगट्ने प्रवृत्तिको अन्त्य गरेर वास्तविक लगानीकर्ताको हातमा लाइसेन्स दिलाउनका लागि आफ्नो पहल हुने बताइन् ।
पदभारपछिको कार्यक्रममा ऊर्जा सचिव विश्वप्रकाश पण्डित, जल तथा ऊर्जा आयोगका सचिव डा।कृष्णचन्द्र पौडेललगायतले मन्त्रालय र आयोगले गर्ने कार्यबारे जानकारी गराएका थिए ।
http://erajdhani.com/en/business/23464-2014-02-26-23-46-57

ट्रान्सफर्मर प्रकरणमा मुछिएका सात कर्मचारी धरौटीमा रिहा

भीम गौतम/राजधानी

काठमाडौं, १५ फागुन । ट्रान्सफर्मर खरिदमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा विशेष अदालतमा मुद्दा दायर गरिएका नेपाल विद्युत् प्राधिकरणका सात कर्मचारीहरू धरौटीमा रिहा भएका छन् । सात कर्मचारीहरूसँग ५० हजारदेखि १३ लाख रुपैयाँसम्म धरौटी लिएर उनीहरूलाई रिहा गरिएको हो ।
प्राधिकरणको ठेक्का नम्बर डीसीएस–२०६६/६७–१४ अन्तर्गत चीनको ‘सिचुआन दोङफाङ ट्रान्सफर्मर कम्पनी’बाट खरिद गरिएका ५ सय ७५ थान ट्रान्सफर्मरमा संस्थागत भ्रष्टाचार गरेको भन्दै अख्तियारद्वारा शुक्रबार अदालतमा मुद्दा दायर गरेका १४ मध्ये सातजना कर्मचारी बुधबार धरौटीमा रिहा भएका हुन् । विशेष अदालतमा पूर्व तीन महाप्रबन्धकसहित १४ जनाविरुद्ध विशेÈ अदालतमा मुद्दा दायर भएको थियो ।
अख्तियारले ती ट्रान्सफर्मरको खरिददेखि भण्डारणसम्मका प्रक्रियामा भ्रष्टाचार भएको भन्दै अख्तियारले सबैबाट जनही ७ करोड ९१ लाख २८ हजार ५ सय ३८ रुपैया“ बिगो असुल गराई त्यति नै बराबरको जरिवाना सजाय भराउन माग गरेको थियो ।
विशेष अदालतले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक सचिवालयका निर्देशक अष्टरत्न शाक्य र उपप्रबन्धक त्रिपुरारीप्रसाद सिंहसँग जनही १३/१३ लाख प्रबन्धक कैलाशप्रसाद अटल धरौटी तोकेको छ । तत्कालीन सहनिर्देशक डिल्लीरमण दाहाललाई ५० हजार, सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरुसँग ७५ हजार, लेखा अधिकृत सुरेशकुमार कटुवालसँग ७५ हजार, केन्द्रीय भण्डारण प्रमुख तथा इन्जिनियर नारायणप्रसाद चौधरीसँग ७५ हजार र लेखा अधिकृत सुरेशकुमार कटुवालसँग ७५ हजार रुपैयाँ धरौटी मागेको छ ।
उनीहरू सबै धरौटी राखेर रिहा भएको विशेष अदालतले जनाएको छ । अख्तियारले सो प्रकरणमा ट्रान्सफर्मर खरिददेखि
भण्डारण प्रक्रियासम्म संलग्न तत्कालीन कार्यकारी निर्देशक जीवेन्द्र झा, महाप्रबन्धकहरू रामेश्वर यादव, युगलकिशोर शाह र चिरञ्जीवी शर्मा, सहनिर्देशक हरिशबहादुर पाल, सहायक लेखा अधिकृत सुशीलप्रसाद खनाल, भण्डारण सहायक सरोज श्रेष्ठलगायत विरुद्धसमेत विशेष अदालतमा मुद्दा दायर गरेको थियो । उनीहरूबारे भने विशेष अदालतले बयान लिइरहेको छ ।
अख्तियारले यसअघि तीन ट्रान्सफर्मर खरिद प्रकरणमा करिब १ अर्ब रुपैया बिगो दाबी गर्दै विशे अदालतमा ४६ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ ।
प्राधिकरणद्वारा गुणस्तरहीन ट्रान्सफर्मरबारे गठित पूर्वसञ्चालक डा.केपी दुलाल उपसमितिको छानबिनमै नपरेका पा“च कम्पनीमध्ये सिचुवान पनि एक हो । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीबारे छानबिन गर्न पूर्वसञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा अर्का पूर्वसञ्चालक सदस्य डा.दुलालको संयोजकत्वमा रहेको समितिले कम्पनीद्वारा खरिद ट्रान्सफर्मर छानबिनमा नपरेको उल्लेख छ ।
प्रतिवेदनमा सिचुवानसहित पिपल्स इलेक्ट्रिक एलायन्स ग्रुप चीन, एसभीआर इलेक्ट्रिकल्स कम्पनी भारत तथा जेके होल्डिङ चीन र द वेम्स गु्रप ट्रेडिङ र सहवान्त इलेक्ट्रिक कम्पनी थाइल्यान्डद्वारा खरिद गरिएका ट्रान्सफर्मरहरू छानबिनमा नपरेको उल्लेख भए पनि अख्तियारले ती सबै कम्पनीमार्फत खरिद ट्रान्सफर्मरबारे अनुसन्धान अघि बढाइसकेको छ ।
पूर्वसञ्चालक मुकेश काङ्खले र डा. दुलालको संयोजकत्वमा गठित समितिले २०६३ देखि २०६८ सम्म ६ कम्पनीद्वारा खरिद गरिएका ४ हजार ६ सय ५७ ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । दुलाल प्रतिवेदनमा पा“च कम्पनीबाट खरिद ट्रान्सफर्मरबारे छानबिन गरिएको छैन ।
http://erajdhani.com/en/business/23463-2014-02-26-23-45-37

Tuesday, February 25, 2014

प्राधिकरणमा ६ करोडका नयाँ सामान ‘म्याद गुजे्रका’

भीम गौतम/राजधानी

काठमाडौं, १३ फागुन । समयमै उपयोग नगर्दा र आवश्यकभन्दा बढी सामान किनेकै कारण नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयमा मात्र ६ करोड रुपैयाँ बराबरका उपयोगको म्याद गु्रजेका (ननमुभिङ) सामान थुप्रिएको छ ।
२ अर्ब रुपैयाँ बराबरको स्टक सम्पत्ति थुप्रिएको निर्देशनालयमा ६ करोड रुपैयाँ बराबरको नयाँ तर उपयोगविहीन म्याद गुज्रेको सामान थुप्रिएको हो । यस्ता २ सय थरी सामान प्राधिकरणका थुप्रिएर उपयोगविहीन अवस्थामा छन् । ती सबै नयाँ सामान भए पनि प्रविधि परिवर्तन, कमिसनको चक्करमा आवश्यकभन्दा बढी खरिदलगायतका कारण यस्तो सामान थुप्रिएको प्राधिकरण स्रोतले जनाएको छ ।
‘कमिसनका कारण आवश्यकताभन्दा बढी सामान थुप्रिएको छ, नयाँ सामान, टुटफुटसमेत छैन तर नयाँ सामान कौडीको भाउमा बेच्नुपर्ने अवस्था आएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘ग्राहक तथा वितरण निर्देशनालयले यसबारे देशभरिबाट तथ्यांक संकलन गरे पनि अन्य प्राधिकरण निकायले भने तथ्यांकसमेत संकलन गरेका छैनन् । प्राधिकरण व्यवस्थापनले खरिद गर्दा कडाइ गरेको भए यति धेरै थुप्रँदैनथ्यो ।’
प्राधिकरणका अनुसार निर्देशनालयअन्तर्गतको काठमाडौं क्षेत्रीय कार्यालयमा ७७ लाख, अत्तरिया ३५ लाख, नेपालगन्ज १ करोड, जनकपुरमा १ करोड ११ लाख ६५ हजार, विराटनगरमा १ करोड ३० लाख, पोखरामा ४० लाख, बुटवलमा ३९ लाख ७७ हजार र हेटौंडा क्षेत्रीय कार्यालयमा ४६ लाख ७४ हजार रुपैयाँ बराबरका यस्ता उपयोगको म्याद गुज्रिएका सामानहरू थुप्रिएका छन् ।
प्राधिकरणको २ अर्ब स्टक चालू सम्पत्तिमध्ये ६ करोड बराबर उपयोगविहीन म्याद गुज्रेका सामान छन् भने साढे ५ करोड रुपैयाँ मूल्य बराबरका कबाडी सामानसमेत छन् । प्राधिकरण स्रोतका अनुसार नयाँ तर उपयोगमा नरहेका यी सामानहरू अन्य कुनै क्षेत्रमा उपयोग भए दिने र नहुने अवस्थाका सामान रहेमा आगामी असारभित्र कौडीको भाउमा लिलामी गर्ने योजना प्राधिकरणको छ ।
ग्राहक तथा वितरण निर्देशनालय अर्थ महाशाखाका सहायक निर्देशक सूर्य शिवाकोटीले करिब ६ करोड रुपैयाँ बराबरको ननमुभिङ सामान रहेको स्विकारे । ‘प्रविधि परिवर्तनका कारण कतिपय सामानहरू नयाँ भएर पनि उपयोगका लागि म्याद गुज्रिने अवस्थामा छन्,’ उनले भने, ‘ती सामानहरू प्राधिकरणका कुनै निकाय वा शाखाहरूमा उपयोग हुने भएमा उपयोग गर्ने पक्षमा छौं ।’
ठूला–ठूला आयोजनाहरू सञ्चालन गर्दा तथा प्राधिकरणका कुनै निकायमा सामानहरू खरिद गर्दा वर्षको कति आवश्यक छ भन्ने यकिन अध्ययन नगरी बढी किन्दा बढी कमिसन पाउने आशामा अनावश्यक सामान बढी किन्ने गरेको प्राधिकरणका अधिकारीहरू बताउँछन् । सबैभन्दा बढी स्टक सामान रहेको ग्राहक तथा वितरण निर्देशानालयले भने स्टक सम्पत्ति घटाउनका लागि अभियान अघि बढाइसकेको छ ।
अन्तर्राष्ट्रिय मान्यताअनुसार एक प्रतिशतभन्दा बढी स्टक चालू सम्पत्ति हुनु हुँदैन तर यस निर्देशानालयमा सबैभन्दा बढी ६ प्रतिशत छ । समयमै स्टक सामान घटाउनेतर्फ पहल नगर्दा ६ करोड बराबरको नयाँ सामान कौडीको मूल्यमा बेच्नुपर्ने अवस्थामा प्राधिकरण पुगेको छ ।
http://erajdhani.com/en/business/23364-2014-02-24-23-48-55

Monday, February 24, 2014

कान्दाका चेपाङ बस्तीमा सोलारको उज्यालो

भीम गौतम/राजधानी

लोथर (चितवन), १२ फागुन । चितवन लोथर–९ का ६० वर्षीय जब्बरसिंह चेपाङले सोचेका पनि थिएनन्, गाउँमा बिजुली बाल्न पाइन्छ भनेर । तर, सोलार (सौर्य ऊर्जा) पाएपछि उनी खुसीले फुरुंग छन् । उनी मात्र होइन, जंगलमा पुगेर बल्लतल्ल ल्याउनुपर्ने मेताङ (चेपाङ भाषामा सल्लाको दियालो) को भरमा रहेका कान्दास्थित लोथर–९ र कोराक–४ का लोपोन्मुख जाति चेपाङमा सोलार पाएपछि खुसीको बहार आएको छ ।
‘मेताङको भर पर्नुपर्ने, त्यो पनि आङ्खनो जंगलमा नपाइने, टाढाटाढा जानुपर्ने, अब त सोलारले गाउँमै बिजुली बल्ने भो, योभन्दा खुसी अरू बढी के हुन सक्छ,’ जब्बरले सुनाए, ‘६ महिना पनि खान नपुग्ने र बाँकी ६ महिना गिठ्ठा, भ्याकुर, प्याकुना, जार खाएर बाँच्नुपर्ने हाम्रो गाउँमा उज्यालो आउँदा धेरै खुसी छौं ।’
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, ब्राइट लाइट फाउन्डेसन, ग्लोबल सस्टेनएबल इलेक्ट्रिसिटी पार्टनरसिप र एलएस सोलार एसिया प्रालि, मितेरी फाउन्डेसनलगायतको सहयोगमा लक्ष्मी प्रतिष्ठानले कान्दाका ५० घरधुरीमा निःशुल्क रूपमा सोलार उपलब्ध गराएपछि चेपाङ बस्तीमा खुसियाली छाएको हो । एउटाको झन्डै ११ हजार रुपैयाँ पर्ने भए पनि यी संस्थाहरूले चितवन भरतपुरबाट ४२ किलोमिटर कच्ची सडकपछि ८ घन्टा उकालो लागेर पुगिने विकट कान्दाका चेपाङलाई निःशुल्क रूपमा सोलार उपलब्ध गराएका हुन् ।
कोराकका सचिव चन्द्रकान्त न्यौपाने, लोथरका सचिव कुलप्रसाद आचार्य, लक्ष्मी प्रतिष्ठानका अध्यक्ष विष्णु गौतम, मितेरी फाउन्डेसनका अध्यक्ष एकल सिलवाललगायतले उनीहरूलाई लोथर पुगेर आइतबार सोलार वितरण गरेका थिए । सोलारबाट घरमा बत्ती बाल्नुका साथै मोबाइल, क्यामरा चार्ज गर्न पुग्छ । अति विकट कान्दामा मोबाइल चल्दैन भने यातायात, स्वास्थ्यलगायतको सुविधा पनि राम्रो छैन ।
कहिल्यै उज्यालो देख्न नपाएका र बत्तीकै अभावमा साँझ नपर्दै खाना खाएर सुत्नुपर्ने अवस्थामा रहेका चेपाङहरूमा सोलार पाएपछि आधा जीवनमा खुसियाली छाएको कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण थपलिया बताउँछन् ।
‘सल्लाको दियालो पनि टाढा लिन जानुपर्ने भएकाले अधिकांश चेपाङ ६ नबज्दै खाना खाइसक्छन्, बालबालिका रातिको समयमा पढ्न पनि सक्दैनन्, अब भने उनीहरूले साँझसम्म काम गरेर आङ्खनो जीविकोपार्जन गर्न सक्छन्,’ उनले भने ।
अँध्यारोमा कष्टकर जीवन बिताइरहेको देखेपछि विभिन्न संघ/संस्थालाई अनुरोध गरेर सोलार वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष गौतम बताउँछन् । ‘कान्दा साँच्चिकै अन्धकारमा थियो, अब उज्यालो पाएको छ,’ उनले भने । सोलारको उज्यालो पाएपछि सबैभन्दा बढी खुसी महिला र विद्यार्थी भएका छन् । ‘हामीले जहिले पनि खाना पकाउनुपर्छ, सोलार आएपछि हामी सबैभन्दा बढी खुसी छौं,’ कोराक–४ की सुकमाया चेपाङले भनिन् । कान्देश्वरी प्रावि ४ कक्षामा पढ्ने कुमार प्रजा सोलार बत्तीले आङ्खनो पढाइमा धेरै सजिलो पुग्ने बताउँछन् ।
लोपोन्मुख जातिमा पर्ने चेपाङको कुल ८१ प्रतिशत संख्या लोथर गाविसको विकट कान्दामा बसोबास गर्छन् । कान्दाका ८५ घरधुरीमध्ये ५० घरमा आइतबार सोलार वितरण गरिए पनि दोस्रो चरणमा बाँकी घरधुरीमा छिट्टै दिने योजना प्रतिष्ठानले बनाएको छ । लोथार गाविस सचिव कुलप्रसाद आचार्य सोलारमार्फत बिजुली पुगेपछि अब उनीहरूको आय आर्जनका लागि थप कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए । प्रतिष्ठानकै पहलमा कान्दाका ८५ घरधुरीकै लागि नयाँ घर बनाउने योजना पनि प्रतिष्ठानले बनाएको छ । योजनाअन्तर्गत एक दर्जन घर निर्माण भइसकेको प्रतिष्ठानले जनाएको छ ।
http://erajdhani.com/en/national/23321-2014-02-24-00-25-06

Friday, February 21, 2014

प्राधिकरणमा ‘स्टक’ सामान किने कर्मचारीलाई कारबाही


भीम गौतम/राजधानी

काठमाडौं, ९ फागुन । अन्तर्राष्ट्रिय मूल्य मान्यताअनुसार एक प्रतिशत मात्र हुनुपर्ने चालू सम्पत्ति ६ प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयले स्टक रहेका सामान किनेमा कर्मचारीलाई कारबाही गर्ने निर्णय गरेको छ ।
करिब २ अर्ब बराबरको स्टक सम्पत्ति रहेको निर्देशानालयले आगामी आर्थिक वर्ष २०७०/०७१ भित्र ३ प्रतिशतमा झार्ने लक्ष्यसहित अघि बढाएको स्टक सम्पत्ति न्यूनीकरण अभियानअन्तर्गत स्टक रहेको सामान खरिद गरेमा ती कर्मचारीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।
कमिसनको लोभमा सामानहरू स्टक रहेकै अवस्थामा नयाँ–नयाँ सामानहरू किन्ने क्रम बढेर चालू सम्पत्ति बढ्दै गएपछि निर्देशनालयले यस्तो निर्णय गरेको हो । ‘स्टक रहेकै अवस्थामा कुनै कर्मचारीले थप सामान किनेको पाइएमा कारबाही गर्ने निर्णय नै गरेका छौं ।’ निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘स्टक रहेका अवस्थामा सामान किन्ने जोसुकै कर्मचारीलाई पनि प्राधिकरणबाट प्राप्त अवसर बाट वञ्चित गर्ने र स्पष्टीकरणदेखि अवस्था हेरी विभागीय कारबाहीसमेत हुन सक्छ ।’
निर्देशनालयले स्टक रहेकै अवस्थामा त्यो नपुगेर थप किन्नुपर्ने मनासिब कारण देखिएमा उपकार्यकारी निर्देशकको स्वीकृतिमा मात्र किन्न पाउने व्यवस्था गरिएको छ । निर्देशनालयअन्तर्गतका निकायहरूले माग गरेपछि ठाडो आदेशमा तथा ती निकायका प्रमुखहरू सरुवा र अवकाशका साथै आर्थिक वर्ष सिद्धिने बेलामा अनावश्यक सामान किन्ने विकृति प्राधिकरणमा रहँदै आएकामा न्यूनीकरणका लागि प्राधिकरणले अभियान नै सुरु गरेको हो ।
चार/पाँच वर्ष चल्ने आयोजनाका लागि चाहिने सामान एकैपटक किन्ने प्रवृत्ति चालू सम्पत्ति थुप्रिँदै जानुको कारण बने पनि थप सामान किन्न निर्देशनालयले कडाइ गरेको छ । ‘माग फाराम भरेर स्टोर प्रमुखले स्टक नरहेको भनेर फाराममै उल्लेख गरेपछि र त्यो सामान बजेटमा समावेश भएपछि मात्र किन्ने व्यवस्था गरिएको छ ।’ निर्देशनालय अर्थ महाशाखाका सहायक निर्देशक सूर्य सिवाकोटी भन्छन्, ‘यसबाट स्टक रहेकै अवस्थामा ती सामान खरिद गर्ने सम्भावना छैन ।’
उनका अनुसार, प्राधिकरणले स्टक सामान न्यूनीकरणका लागि चलाइएको अभियानअन्तर्गत प्राविधिक र लेखा प्रमुखसहितको टोली क्षेत्रीय कार्यालयमा पुगेर आवश्यक निर्देशन दिने र छलफल गर्नेलगायतका कार्यक्रम अघि बढाइएको छ ।
‘पहिले स्टक सामानको विश्लेषण, खरिदयोजना र घटाउने कार्यक्रम थिएन ।’ उनले भने, ‘अब स्टक नरहेको स्टोर प्रमुखको स्वीकृतिपछि मात्र खरिद गर्ने नयाँ नियमले थुप्रिएको सम्पत्ति त्यही वर्ष उपयोग हुने र अनावश्यक नथुप्रिने देखिएको छ ।’
निर्देशनालयले सबै क्षेत्रीय कार्यालयहरूलाई स्टक सम्पत्ति न्यूनीकरणका लागि पत्र निर्देशनसमेत दिइसकेको छ । निर्देशनालयले टर्न कि कन्ट्याक्सका आधारमा मात्र आयोजनाको निर्माण गर्ने जिम्मेवारीसमेत दिन थालेको
छ । पहिले निर्माणको ठेक्काबाहेक अन्य सामानहरू प्राधिकरण आफंले किन्ने कारण कमिसनको लोभमा अनावश्यक चालू सम्पत्ति थुप्रिन थालेको भन्दै प्राधिकरणले सम्बन्धित ठेकेदारमार्फत नै सामान खरिद गर्ने टर्न कि कन्ट्याक्ट अघि बढाएको
हो ।
‘ठेकेदारबाटै सामान खरिद गराउँदा सामान मौज्दात रहँदैन, ढुवानी भाडा पनि लाग्दैन, सामान टुटेफुटे ठेकेदार जिम्मेवार हुन्छ, छुट्टै स्टोर किपिङ झन्झट पनि हुँदैन ।’ प्राधिकरणका एक अधिकारी भन्छन्, ‘प्राधिकरणले खाली गुणस्तरको अनुगमन मात्र गर्छ, मालसामान छुट्टै खरिद नगरी कार्य सम्पन्नताका आधारमा भुक्तानी दिने कार्यले सम्पत्ति थुपार्ने क्रम रोकिन्छ ।’
हाल स्टक रहेका सामानहरू प्राधिकरणभित्रका अन्य क्षेत्र, जिल्ला र आयोजनाका लागि आवश्यक देखिएमा उपयोग गर्नसमेत निर्देशनालयले ती निकायलाई पत्रचार गरेको छ । प्राधिकरणमा ग्राहक तथा वितरण निर्देशनालयका अलावा अर्थ, इन्जिनियरिङ, योजना, प्रसारण लाइन, प्रशासन र उत्पादन तथा निर्माण निर्देशनालयमा समेत २ प्रतिशत चालू सम्पत्ति थुप्रिएकामा यो वर्ष १ प्रतिशतमा झार्ने लक्ष्य प्राधिकरणको छ ।
तर, ती निर्देशानालयहरूले न्यूनीकरणका लागि ग्राहक तथा वितरण निर्देशनालयको जस्तो छुट्टै अभियान सञ्चालन गरेका छैनन् ।
http://www.erajdhani.com/en/business/23112-2014-02-21-00-02-17

प्राधिकरणका थप चार कर्मचारी हिरासतमा


राजधानी समाचारदाता

काठमाडौं, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका थप चार कर्मचारीलाई हिरासतमा लिएको छ ।
आर्थिक वर्ष २०६६/०६७ को लट नम्बर–१४ मा चीनको सिचुवान डङफङ ट्रान्सफर्मर कम्पनी लिमिटेडद्वारा खरिद गरिएका ५ सय ७३ थान ट्रान्सफर्मर प्रकरणमा उनीहरूलाई अख्तियारले हिरासतमा लिएको हो । प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरू, तत्कालीन भण्डारप्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाललाई बिहीबार हिरासतमा लिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चारैजनाविरुद्ध हुबेई सनलाइट चीनमार्फत खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरू धरौटीमा रिहा भएका थिए । सो मुद्दा विचाराधीन अवस्थामा छ ।
सिचुवानमार्फत खरिद ट्रान्सफर्मर प्रकरणमा ५ फागुनमा अख्तियारले प्राधिकरण कार्यकारी निर्देशक सचिवालयका निर्देशक अष्टरत्न शाक्य, सहनिर्देशक डिल्लीरमण दाहाल र उपप्रबन्धक त्रिपुरारीप्रसाद सिंहलाई हिरासतमा लिएको थियो । यसअघि, तीन ट्रान्सफर्मर खरिद प्रकरणमा करिब १ अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा ४६ जनाविरुद्ध दायर गरिसकेको छ ।
http://www.erajdhani.com/en/business/23109-2014-02-20-23-58-41

Thursday, February 20, 2014

बढयो विद्युत् उत्पादनसागै खारेज लाइसेन्स पनि

भीम गौतम/राजधानी

काठमाडौं, ८ फागुन । चालू आर्थिक वर्ष २०७०/७१ सुरु भएपछि मात्र २ हजार ९ सय ६९ मेगावाटका १ सय ९३ आयोजनाको सर्भे लाइसेन्स निवेदन र ३ सय १० मेगावाटका १० आयाजनाको सर्भे लाइसेन्स खारेज गरिएका छन् ।
यस अवधिमा ७ सय ५८ मेगावाटका २८ आयोजनाले सर्भे लाइसेन्सका लागि निवेदन दिएकोमा ३ सय ५१ मेगावाटको ९ आयोजनाले सर्भे अनुमतिपत्र पाएका छन् । यसैगरी ६ सय ६० मेगावाटका १९ आयोजनाले उत्पादन अनुमतिपत्रका लागि निवेदन दिएका छन् भने १ सय ८९ मेगावाटका १३ आयोजनाले उत्पादन अनुमतिपत्र पाएका छन् ।
विद्युत् विकास विभागका अनुसार आर्थिक वर्ष २०६९/७० मा सर्भे लाइसेन्सका लागि १ हजार ८७ मेगावाटका लागि ६५ आयोजनाले निवेदन दिए भने विस्तृत अध्ययन सकेर पाइने उत्पादनका लागि मात्र १ हजार ६ सय २ मेगावाटको ६३ आयोजनाले उत्पादन लाइसेन्सका लागि निवेदन दिएका थिए । नेपाल विद्युत् प्राधिकरणले विद्युत् खरिद सम्झौता (पीपीए) गर्न ढिलाइ गरे पनि उत्पादन अनुमतिपत्र मात्र ८ सय ६२ मेगावाटका लागि ३७ आयोजनाले पाएका थिए ।
विभागका अनुसार आर्थिक वर्ष २०६९/७० मा ६ हजार ४ सय २ मेगावाटका १ सय ८७ आयोजनाको सर्भे लाइसेन्स निवेदन र ९ सय ३३ मेगावाटबराबरका ३४ आयोजनाको सर्भे लाइसेन्स खारेज गरियो ।
१० वर्षअघि अर्थात् आर्थिक वर्ष २०६०/६१ मा १ हजार ६२ मेगावाट बराबर १९ आयोजनाले सर्भे लाइसेन्स पाएका थिए, तर उत्पादन लाइसेन्स पाउने ५ मेगावाटको एक आयोजना मात्र थियो ।
‘पहिला सर्भे लाइसेन्स लिने बढेका थिए, तर तुलनात्मक रूपमा उत्पादन लाइसेन्स लिने संख्या बढेको छ, यो शुभसंकेत हो,’ विभागका सूचना अधिकारी भन्छन्, ‘पहिला नक्साका आधारमा लाइसेन्स लिएर खोला ओगट्ने प्रवृत्ति निरुत्साहित हुन थालेको छ, खोलामा पुगी नापेर लाइसेन्स लिने क्रम बढेको छ ।’
आर्थिक वर्ष २०६५/६६ मा सबैभन्दा बढी ३८ सय ४१ मेगावाटका १ सय ५३ आयोजनाले सर्भे लाइसेन्स लिएका थिए भने उत्पादन लाइसेन्स भने सबैभन्दा बढी २१ सय ३८ मेगावाटका ११ आयोजनाले २०६३/६४ मा पाएका थिए ।
हालसम्मको अवस्था हेर्दा १ लाख ७ हजार २ सय १९ मेगावाट बराबरका २२ सय ७१ मेगावाटका २२ सय ७१ आयोजनाले सर्भे लाइसेन्सका लागि निवेदन दिएका छन् भने १५ हजार ७ सय ६ मेगावाट बराबरको ४ सय ८६ आयोजनाले सर्भे लाइसेन्स पाएका छन् ।
त्यसैगरी, ६ हजार ८ सय ७ मेगावाटका १ सय ५५ ले उत्पादन लाइसेन्सका लागि निवेदन र ६ हजार ९ सय ८२ मेगावाट बराबरका १ सय ८८ आयोजनाले उत्पादन लाइसेन्स लिएका छन् । ८४ हार ९१ मेगावाटको सर्भे लाइसेन्स निवेदन खारेज गरेको विभागले सर्भे लाइसेन्स पाइसकेका २४ सय ५६ मेगावाट बराबरका १ सय ६ आयोजनाको सर्भे लाइसेन्स नै खारेज गरिसकेको छ ।
‘१० वर्षअघि र जनआन्दोलनपछिको लाइसेन्सको अवस्था हेर्ने हो भने लाइसेन्स लिनेको भीड थियो, तर अहिले उत्पादन लाइसेन्स लिनेको संख्या बढ्दै छ,’ विभागका अधिकारी भन्छन्, ‘देशको मागभन्दा धेरै बढी लाइसेन्स अझै दिइएको छ, उत्पादनको अवस्था कमजोर छ ।’
१० वर्षमा १३ हजार मेगावाटभन्दा बढी उत्पादनका लागि अनुमतिपत्र लिए पनि २ सय मेगावाटभन्दा बढी उत्पादन भएको छैन । लोडसेडिङ भने दैनिक एक/दुई घन्टाबाट बढेर अहिले १२ घन्टा पुगेको छ ।
जनआन्दोलन २०६२/६३ को सफलतापछि आर्थिक वर्ष २०६४/६५ मा ५४ हजार ९ सय २४ मेगावाट बराबरका ५ सय ७० आयोजनाले जलविद्युत् आयोजनाको सर्भे लाइसेन्स लिन विद्युत् विकास विभागमा आवेदन दिए । जसमध्ये १ हजार ३ सय ५२ मेगावाट बराबरका ७९ आयोजनाले मात्र सर्भे अनुमतिपत्र पाए ।
विद्युत्को उत्पादनको अभावमा सर्वसाधारणले लोडसेडिङ भोग्नुपरिरहेको त्यो बेला विस्तृत अध्ययन सकेर दिइने उत्पादन लाइसेन्स १ हजार १ सय ८४ मेगावाटका २६ आयोजनाले मात्र पाएका थिए भने उत्पादनको लागि निवेदन दिने आयोजना १५ मेगावाटको एक मात्र आयोजना थियो । त्यतिबेला लाइसेन्स खारेजी त सुरु भएकै थिएन । तर अहिले भने उत्पादन लाइसेन्स र सर्भे लाइसेन्स खारेज गर्ने क्रम बढेको छ ।
http://erajdhani.com/en/business/23059-2014-02-20-00-10-40

Wednesday, February 19, 2014

राहुघाटको परामर्श दातामा वाकपोस नियुक्त

राजधानी समाचारदाता

काठमाडौं, ७ फागुन । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइनको परामर्शदाता पनि वाकपोसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिभिलको समेत परामर्शदाता रहेको वाकपोसलाई मंगलबार बसेको बैठकले इलेक्ट्रोमेकानिकल र ट्रान्समिसनको परामर्शदाता नियुक्त गर्ने निर्णय गरेको हो । आयोजनाका लागि ऋण सहयोग गरेको एक्जिम बैंक अफ भारत र भारतीय राजदूतवासको समेत पत्रको आधारमा दुवैमा परामर्शदाताका रूपमा वाकपोसलाई नियुक्त गरिएको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।
त्यसैगरी बैठकले ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको भर्टिकल लाइन क्रर्किट गर्ने निर्णय गरेको छ । स्टिल गर्ने कि क्रर्किट गर्ने भन्ने दुई अप्सन रहेकामा बैठकले क्रर्किट गर्ने निर्णय गरेको हो । चमेलियाको सुरुङ साँघुरिएपछि समस्या आएको थियो । विज्ञहरूको सिफारिसका आधारमा सो निर्णय गरिएको ती सञ्चालक सदस्यले जानकारी दिए ।
त्यसैगरी बैठकले चीन, भारत र थाइल्यान्डका कम्पनीबाट ल्याइएका ट्रान्सफर्मरको आर्बिटेसनका लागि विभिन्न व्यक्तिलाई नियुक्ति गर्नुका साथै चमेलिया, राहुघाट र ६० मेगावाटको त्रिशूली–३ ‘ए’ आयोजनामा ठेकेदार र प्राधिकरणबीच रहेको विवाद मध्यस्थताका लागि प्राधिकरणका प्रतिनिधिसमेत छनोट गरेको छ । बैठकले प्राधिकरणमा अवकाश कोष परिचालनबारेको कार्यविधि समेत पारित गरेको छ । प्राधिकरण सञ्चालक सदस्य सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा रहेको समितिले कार्यविधि तयार पारेको थियो ।
http://erajdhani.com/en/business/22998-2014-02-18-23-42-46

Tuesday, February 18, 2014

साढे १२ खर्ब लगानीका जलविद्युत् आयोजनाहरू बन्दै

भीम गौतम/राजधानी

काठमाडौं, ६ फागुन । विद्युत् विकास विभागको तथ्यांकअनुसार जलविद्युत् निर्माणका लागि १ सय ८८ जलविद्युत् आयोजनाले उत्पादन अनुमतिपत्र लिएका छन् । ६ हजार ९ सय ८२ मेगावाट बराबरका ती जलविद्युत् आयोजना निर्माणका लागि मात्र साढे १२ खर्ब रुपैयाँ बराबर लाग्ने विद्युत् विकास विभागले जनाएको छ ।
विभागका अनुसार आयोजना निर्माणका लागि प्रतिमेगावाट १८ करोड रुपैयाँ खर्च हुनेछ । यसका आधारमा सबै जलविद्युत् आयोजनाहरू समयमै बनाएमा अबको १० वर्षभित्र जलविद्युत् आयोजनाका लागि मात्र १२ खर्ब ५६ अर्ब ७६ करोड रुपैयाँ बराबरको लगानी हुनेछ । विभागबाट उत्पादन अनुमति लिएपछि क्षमताको आधारमा ५ देखि १० वर्षसम्मका लागि निर्माण अवधि दिइएको हुन्छ ।
‘प्रतिमेगावाट बराबर करिब १८ करोड रुपैयाँ लाग्ने अनुमान छ । यसको आधारमा निर्माणका लागि उत्पादन अनुमतिपत्र ६ हजार ९ सय ८२ मेगावाट बराबरका आयोजनाले लिएका छन्, जसको लागत खर्ब नाघ्छ,’ विभागका सूचना अधिकारी गोकर्णराज पन्थले भने ।
१ सय ८८ जलविद्युत् आयोजनामध्ये ९ सय मेगावाटका माथिल्लो कर्णाली र अरुण तेस्रो, ६ सय मेगावाटको तामाकोसी, ६ सय ५० मेगावाटको मस्र्याङ्दीलगायतका आयोजना झन्डै ६ खर्ब लगानीमा भारतमा निर्यात गर्ने गरी विदेशी कम्पनीले बनाउन लागेका हुन् ।
ती अधिकांश आयोजना लगानी बोर्डले आयोजना विकास सम्झौता (पीडीए) मा ढिलाइ गरेका कारण अनुमतिपत्र लिएर पनि निर्माणमा जान सकेका छैनन् । बाँकी ६ खर्बमध्ये १ खर्ब ८० अर्ब इक्वेटीको रूपमा प्रबन्धक कम्पनीले जुटाउनुपर्छ भने बाँकी ४ खर्ब २० अर्ब रुपैयाँ बैंकबाट ऋण लिनुपर्छ ।
जलविद्युत् विश्लेषक रवीन्द्रबहादुर श्रेष्ठ सबै उत्पादन अनुमतिपत्र लिएका आयोजनाले निर्माणको चरणमा नगएको र प्रत्येक वर्ष एक सय मेगावाट थप विद्युत् आवश्यक पर्ने हुनाले सो माग पूरा गर्नका लागि मात्र नेपाली लगानी जुट्न सक्ने बताए ।
‘१ सय मेगावाटमध्ये २० प्रतिशत मात्र निजी क्षेत्रले उत्पादन गर्छ भनेर सरकारले अनुमान गरेर बाँकी सरकार आफंले बनाउनुपर्छ,’ श्रेष्ठ भन्छन्, ‘२० मेगावाटको लागतका लागि मात्र इक्वेटी राख्न निजी क्षेत्र र बैंक सक्षम छन्, सरकारले ८० मेगावाट बनाउनका लागि विदेशीसँग सहुलियत ऋण र सञ्चयकोष, नागरिक लगानी कोष, सेनाको कल्याणकारी कोषलगायतलाई उपयोग गर्न सक्नुपर्छ,’ उत्पादनसँगै प्रसारण लाइन र वितरणलाई समेत उत्तिक्कै खर्च लाग्ने भए पनि निजी क्षेत्रको यसबारे खासै आकर्षण नहुँदा नेपाल विद्युत् प्राधिकरणलाई बढी भार परेको छ ।
विश्लेषक श्रेष्ठ उत्पादनका लागि खर्बौंको लगानी आवश्यक परेजस्तै वितरण र प्रसारण लाइनका लागि पनि आवश्यक रहेकोमा यसतर्फ निजी क्षेत्रको ध्यान नगएको र प्राधिकरणले पनि आवश्यकभन्दा बढी विद्युत् खरिद सम्झौता (पीपीए) गर्न नसक्ने भएकाले समस्या रहेको बताउँछन् ।
विभागमा मात्र ६ हजार ८ सय ७ मेगावाट बराबरका १ सय ५५ जलविद्युत् आयोजनाले अनुमतिपत्रका लागि निवेदन दिएका छन् । प्रतिमेगावाट बराबर १८ करोड रुपैयाँ बराबर ती आयोजनाका लागि मात्र १२ खर्ब २५ अर्ब २६ करोड रुपैयाँ बराबर लगानी लाग्नेछ ।
उत्पादन अनुमतिपत्र लिएका र उत्पादन अनुमतिपत्रका लागि निवेदन दिएका आयोजनाहरू पूर्ण रूपमा बनाउनका लागि करिब २५ खर्ब लाग्ने भए पनि सरकारले विदेशी लगानीकर्ताहरूलाई आकर्षित गर्ने तथा भविष्यमा बढी हुने विद्युत्का लागि छिमेकी राष्ट्रमा बेच्नका लागि पावर ट्रेड एग्रिमेन्ट नगरेको निजी क्षेत्रको गुनासो छ ।
उनीहरूका अनुसार नेपाली बैंक र सरकारले जलविद्युत् आयोजना निर्माणका लागि आवश्यक लगानी जुटाउन नसक्ने अवस्था रहे पनि विदेशी लगानी भिœयाउनका लागि उचित वातावरण नबनाउँदा अनुमतिपत्र लिएका आयोजनासमेत समयमै बन्न सक्ने अवस्थामा छैनन् ।
http://erajdhani.com/en/business/22952-2014-02-17-23-47-35

Sunday, February 16, 2014

प्राधिकरणका निर्देशकसहित तीन अधिकृत हिरासतमा

भीम गौतम/राजधानी
काठमाडौं, ५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका निर्देशक अष्टरत्न शाक्यसहित तीन अधिकृतलाई हिरासतमा लिएको छ ।
आर्थिक वर्ष २०६६/०६७ को लट नम्बर १४ मा चीनको सिचुवान डङफङ ट्रान्सफर्मर कम्पनी लिमिटेडद्वारा खरिद गरिएका ५ सय ७३ थान ट्रान्सफर्मर प्रकरणमा अख्तियारले कार्यकारी निर्देशकको सचिवालयका निर्देशक शाक्यसहित तीन अधिकृतलाई आइतबार पक्राउ गरी हिरासतमा लिएको हो ।
अख्तियारका सहायक प्रवक्ता केशव घिमिरेका अनुसार प्राधिकरण संस्थागत वित्तीय विभागका सहनिर्देशक डिल्लीरमण दाहाल र उपप्रबन्धक त्रिपुरारीप्रसाद सिंहलाई हिरासतमा लिइएको छ । ट्रान्सफर्मर खरिदबारे सोधपुछका लागि भन्दै बोलाइएका उनीहरूलाई अख्तियारले नियन्त्रणमा लिएको हो । अख्तियारले हिरासतमा लिएका तीनैजनाको वीर अस्पतालमा स्वास्थ्य परीक्षणसमेत गरेको छ ।
यसअघि अख्तियारले सिचुवानमार्फत नै खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा सो कम्पनीका नेपाली एजेन्ट इन्टर कन्टिनेन्टल बिजनेस नेटवर्कका प्रोपाइटर मणिनाथ ढकाललाई ५० लाख रुपैयाँ धरौटी मागेकोमा बुझाएपछि तारिखमा छाडिएको थियो । तीन ट्रान्सफर्मर खरिद प्रकरणमा करिब १ अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा ४६ जनाविरुद्ध मुद्दा दायर गरिसकेको अख्तियारले छानबिनमा नपरेका ट्रान्सफर्मर खरिदबारे समेत छानबिन अघि बढाएको छ ।
प्राधिकरणद्वारा गुणस्तरहीन ट्रान्सफर्मरबारे गठित पूर्वसञ्चालक डा.केपी दुलाल उपसमितिको छानबिनमै नपरेका पाँच कम्पनीमध्ये सिचुवान पनि एक हो । गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणमा संलग्न कर्मचारीबारे छानबिन गर्न पूर्वसञ्चालक सदस्य मोहनराज पन्तको संयोजकत्वमा गठित समितिले दिएको प्रतिवेदनमा अर्का पूर्वसञ्चालक सदस्य डा.दुलालको संयोजकत्वमा रहेको समितिले कम्पनीद्वारा खरिद ट्रान्सफर्मरहरू छानबिनमा नपरेको उल्लेख छ ।
प्रतिवेदनमा सिचुवानसहित पिपल्स इलेक्ट्रिक एलायन्स ग्रुप चीन, एसभीआर इलेक्ट्रिकल्स कम्पनी भारत तथा जेके होल्डिङ चीन र द वेम्स गु्रप ट्रेडिङ र सहवान्त इलेक्ट्रिक कम्पनी थाइल्यान्डद्वारा खरिद गरिएका ट्रान्सफर्मरहरू छानबिनमा नपरेको उल्लेख भए पनि अख्तियारले ती सबै कम्पनीमार्फत खरिद ट्रान्सफर्मरबारे अनुसन्धान अघि बढाइसकेको छ ।
पूर्वसञ्चालक मुकेश काङ्खले र डा.दुलालको संयोजकत्वमा गठित समितिले २०६३ देखि २०६८ सम्म ६ कम्पनीद्वारा खरिद गरिएका ४ हजार ६ सय ५७ ट्रान्सफर्मर गुणस्तरहीन भएको प्रतिवेदन दिएको थियो । कारबाहीका लागि प्राधिकरणले सो फाइल अख्तियारमा पठाएकोमा अख्तियारले उपसमितिले छानबिन नगरेका कम्पनीलाई समेत छानबिनको दायरामा ल्याएको हो ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22921-2014-02-17-00-31-31

ट्रान्सफर्मर प्रकरणले ट्रान्सफर्मर प्रकरणले उपकार्यकारी निर्देशक तर्सेपछि...

भीम गौतम/राजधानी
काठमाडौं, ४ फागुन । वीरेन्द्र पाठक नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हुन् । पदीय हिसाबले प्राधिकरणभित्रका कुनै निर्देशनालयको उपकार्यकारी निर्देशक बनेर दिनभरि व्यस्त हुनुपर्ने व्यक्तिभित्र उनी पनि पर्छन् । तर विडम्बना, हिजोआज पाठक बिहान हाजिर गरेर दिनभरि पत्रिका पढ्छन् र घर फर्कन्छन् ।
विनाकाम र विनाजिम्मेवारी उनले दिन बिताउन थालेको चार महिना नाघिसकेको छ । पाठक आयोजना विकास विभागको निर्देशकको कोठामा दिनभरि बसेर फर्कने गरेको तथा काम नै नगरेपछि के गर्ने भन्ने समस्या प्राधिकरणमा परेको एक उच्च अधिकारीले जानकारी दिए । ‘काम नै गर्न नमानेपछि उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो,’ ती अधिकारीले राजधानीसँग भने, ‘प्राधिकरण व्यवस्थापनले पनि उनलाई जिम्मेवारी नलिएमा के गर्ने भन्ने निर्णय गर्नुपर्ने हो, तर केही गर्न सकेको छैन ।’
प्राधिकरणभित्र गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणबाट तर्सिएकै कारण जिम्मेवारी लिन नमानेर र प्राधिकरण व्यवस्थापनले उनलाई विश्वस्त पारेर दिन नसकेकै कारण उनी यसरी भूमिकाविहीन भएका हुन् । उपकार्यकारी निर्देशकको भूमिका र शक्ति ठूलो हुने भए पनि कुनै डकुमेन्टमा सही गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्नुपर्ने त्रासकै कारण उनी अहिले कार्यकारी निर्देशकको सचिवालयमा थन्किएका छन् ।
२०६४ सालदेखि ०६९ सालसम्मको ट्रान्सफर्मर प्रकरणमा निरीक्षण गर्ने, टेन्डर डकुमेन्ट बनाउने, भुक्तानी दिनेदेखि भण्डार गर्नेसम्मलाई अख्तियारले दोषी देखाउँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेपछि त्यसबाट पाठक आफंै काम गर्न नमानेर भूमिकाविहीन भएका हुन् ।
प्राधिकरणमा मात्र पूर्वकार्यकारी निर्देशकसहित ४५ जनाले अहिले अख्तियारको मुद्दा खेपिरहेका छन् । गत कात्तिकमा कार्यकारी निर्देशक अर्जुन कार्कीले उनलाई सचिवालयमा तानेका थिए ।
‘ट्रान्सफर्मर प्रकरण चर्केपछि काम गर्दा सही गर्नुपर्ने र त्यसैको कारण अख्तियारमा पुग्नुपर्ने भन्दै सही गर्न नमानेपछि उपकार्यकारी निर्देशकलाई समेत सचिवालयमा ल्याइएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘बिहान आएर हाजिर गरेपछि दिनभरि पत्रिका पढेर बेलुका फेरि हाजिर गरेर फर्कनुहुन्छ, केही काम गर्नुहुन्न, यस्तो व्यक्तिले त राजीनामा दिएकै जाति हुन्छ ।’ कार्यकारी निर्देशकको सचिवालयमा रहेका अष्टरत्न शाक्य र ज्ञानेन्द्र कायस्थलाई कामको जिम्मेवारी दिइए पनि पाठकलाई कार्यकारी निर्देशकले कुनै काम र जिम्मेवारी दिइएको छैन ।
आठ महिनापछि अवकाश पाउन लागेका पाठक आफैंले कुनै पनि काम गर्न नमानेका कारण जिम्मेवारीविहीन भए पनि प्राधिकरणका कार्यकारी निर्देशक कार्कीले समेत उनलाई काम लगाउन नसकेका हुन् । कुनै डकुमेन्टमा सही गर्नेबित्तिकै अख्तियारको मुद्दा खेप्नुपर्ने भन्दै तर्सिएका उनले हेटौंडास्थित वर्कसपलाई ट्रान्सफर्मर परीक्षण गर्न सक्ने आधुनिक वर्कसपको टेन्डर डकुमेन्टमा सही गर्नसमेत नमानेर बिदा लिएपछि तत्कालीन ऊर्जामन्त्री उमाकान्त झाले तुरुन्तै टेन्डर आह्वान गर्न र नगरे राजीनामा दिन दबाब दिएका थिए ।
‘मन्त्री उमाकान्त झाले समेत टेन्डर डकुमेन्टमा सही गर्न नमानेपछि कि राजीनामा दिन कि काममा फर्कन निर्देशन दिएपछि १० दिनपछि बल्ल आह्वान गरेका थिए,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अहिले पनि प्राधिकरणका कार्यकारी निर्देशक बिदामा बसेर निमित्त कार्यकारी दिनुपर्ने भए पनि त्यो जिम्मेवारी लिनुपर्ला भनेर पहिल्यै बिदा लिने गरेका छन् ।’
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22866-2014-02-16-00-21-43

Saturday, February 15, 2014

दूधकोसी जलाशयको विस्तृत अध्ययन


भीम गौतम/काठमाडौं


नेपाल विद्युत् प्राधिकरणले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सुरु गरेको छ ।
आगामी नौ वर्षभित्र आयोजनाको निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित विस्तृत अध्ययन सुरु भएको हो । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको मारमा सर्वसाधारण परिरहेका बेला प्राधिकरणले यो आयोजनाको विस्तृत अध्ययन अघि बढाउन लागेको छ ।
‘विस्तृत अध्ययनका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको छ,’ आयोजनाका निर्देशक लीलानाथ भट्टराईले भने, ‘प्राधिकरणले अहिले सम्भाव्यता अध्ययनको अपग्रेड, डिटेल इन्जिनियर, विडिङ डकुमेन्ट निर्माण, वातावरणीय, सामाजिक अध्ययन र पुनर्बासको व्यवस्थापनलगायतको विस्तृत अध्ययन अघि बढाउन लागेका छां ।’ उनका अनुसार, परामर्शदाता नियुक्तिका लागि समेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका अनुसार आगामी सन् २०१६ को अन्त्यसम्ममा विस्तृत अध्ययन सकेर सन् २०१७ भित्र निर्माण सुरु गरे ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘हाम्रो लक्ष्य सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने भन्ने नै छ,’ निर्देशक भट्टराईले भने, ‘अति आकर्षक आयोजना भएकाले यस आयोजनाको विस्तृत अध्ययन गरेर अघि बढाउनका लागि प्राधिकरण अघि बढेको हो ।’
ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने सो आयोजनाको लागत करिब १ खर्ब रुपैयाँ रहेको छ । सन् १९९८ मा भएको सम्भाव्यता अध्ययनका क्रममा यसको लागत करिब ७० अर्ब अनुमान गरिएको थियो । ७५ घरधुरी मात्र विस्थापित हुने सो आयोजनालाई पूर्वाञ्चल क्षेत्रको जलविद्युत् प्रणाली सन्तुलन कायम राख्न सकिने आयोजनाका रूपमा लिइन्छ । लोडसेन्टर नजिक रहेको सो आयोजनामा मोटरबाटोलगायतका पूर्वाधारहरू पुगिसकेकोले छिट्टै र समयमै बन्ने आयोजनाको रूपमा लिइने गरिन्छ ।
जिओलोजिकल र जिओटेक्निकल अनुसन्धान, टोपोग्राफिकल म्यापिङ, पावर इभ्यालुसन, निर्माण योजना तालिका, आर्थिक/वित्तीय विश्लेषण र लिडर सर्भेलगायतबारे आयोजनाले थप अध्ययन गर्न लागेको छ । सो आयोजनाका लागि सरकारले कोरिया सरकारलाई अनुरोधसमेत गरेको थियो । तर, अहिले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा आयोजनाको विस्तृत अध्ययन अघि बढेको हो ।
आयोजनाको सम्भाव्यता अध्ययन भएको १६ वर्ष बितिसकेको छ । दूधकोसी सप्तकोसीको सहायक नदी हो । सो सम्भाव्यता अध्ययनले प्रतिकिलोबाट २३ सय डलर पर्ने देखाएको छ । विद्युत् विकास विभागले समेत ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको समेत विस्तृत अध्ययन अघि बढाउन लागेको छ । सरकारले विकास समितिमार्फत ६ सय मेगावाटको बूढीगण्डकी र लगानी बोर्डमार्फत ७ सय ५० मेगावाटको पश्चिम सेतीसमेत अघि बढाउन लागेको छ । यी सबै जलाशययुक्त आयोजना हुन् । कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटका मात्र जलाशययुक्त मात्र विद्युत् उत्पादन हुने तथा अन्य नदीप्रवाहमा आधारित (रन अफ द रिभर) जलविद्युत् आयोजना छन् ।
जलविद्युत्को कुल क्षमता ७ सय मेगावाट भए पनि अहिले हिउँदमा ३ सय मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । जसका कारण दैनिक १२ घन्टा लोडसेडिङ भएको छ । जलाशययुक्त आयोजनाकै अभावमा लोडसेडिङ बढेकाले प्राधिकरणले जलाशययुक्त आयोजनालाई महव दिएको जनाएको छ ।
http://erajdhani.com/en/business/22789-2014-02-14-23-39-32

Thursday, February 13, 2014

१० मिनेटको बिजुली खर्च ६० हजार


भीम गौतम/राजधानी
काठमाडौं, १ फागुन । संविधानसभा बैठक बुधबार १० मिनेट मात्र बस्यो तर सो बैठकका लागि हलहरू तताउन मात्र झन्डै ६० हजार रुपैयाँबराबरको बिजुलीको बिल उठेको छ । संविधानसभा र व्यवस्थापिका संसद् बैठक बस्दा प्रत्येक दिन एसी चलाउन ६० हजार रुपैयाँ बिजुलीमा मात्रै खर्च हुने गरेको हो ।
संविधानसभा र संसद् बैठक बसाउन नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा सगरमाथा, लोत्से, भीआईपी कोठालगायतका आठओटा हल छन् । ती हल बताउनै तीन घन्टाभन्दा बढी समय लाग्ने गर्छ ।
संविधानसभा सचिवालय स्रोतका अनुसार बैठक सुरु हुनुभन्दा तीन घन्टाअघिदेखि नै डिजेलमार्फत चल्ने एसीद्वारा हलहरू तताउने गरिएको छ । ‘एक घन्टा हल तताउन करिब १७ हजार रुपैयाँ लाग्छ भने प्रत्येक दिन कम्तीमा ३ घन्टा कोठा तताउनुपर्छ,’ अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिका एक अधिकृतले भने, ‘बैठक थोरै समय बस्दा त्यो खर्च बेकारमा खेर मात्र जान्छ ।’ विकास समितिबाट संसद् सचिवालयले भाडामा सम्मेलन केन्द्र लिई संविधानसभा बैठक राख्दै आएको छ ।
राजनीतिक दलहरूबीचको आपसी बेमेल तथा नयाँ संविधान निर्माणभन्दा पनि सरकार गठनको घनचक्करमा दलहरू परेकाले संविधानसभा र व्यवस्थापिका संसद् बैठक प्रभावित हुँदै आएका छन् । उनका अनुसार डेडिकेटेड फिडरमार्फत ल्याएको विद्युत्को खर्च मात्र प्रतिघन्टा २५ सय रुपैयाँ छ । भवनभित्र रहेका अधिकांश बत्तीसमेत तीन घन्टाअघिदेखि नै बालिने गरिएको छ । बैठक भएको दिनका लागि संसद् सचिवालयले कोठा तताउन मात्र दैनिक आधा दर्जन कर्मचारी बैठक सुरु हुनु तीन घन्टाअघिदेखि नै खटाउने गरेको छ ।
संसद् र संविधानसभासँगै राजनीतिक दलको सर्वदलीय बैठकसमेत भवनमै बस्ने गरेको छ । ‘सर्वदलीय बैठकका लागि कोठाहरू तताउने गरिन्छ,’ स्रोतले भन्यो, ‘तीन घन्टाभन्दा बढी समय लगाएर हलहरू तताए पनि ५/१० मिनेटमै बैठक सकिने हुनाले त्यो बिजुलीको खर्च बेकार भइरहेको छ ।’ संविधानसभाको पहिलो बैठक ८ माघमा बसेको थियो । सो बैठक १८ मिनेट बसेको थियो । त्यसयता संविधानसभाको बैठक तीन पटक बस्यो भने संसद् बैठकचाहिँ बसिरहेको छ । त्यसमा पनि नयाँ प्रधानमन्त्री निर्वाचनको दिनबाहेक अधिकांश दिन थोरै समय मात्र संसद् बैठक बसेको छ । बुधबारको बैठक १० मिनेटभन्दा बढी नबसेको संसद् सचिवालयले जनाएको छ । त्यसैगरी, १५ र २२ माघमा दुई÷दुई मिनेट मात्रै
संविधानसभा बैठक बसेको थियो ।
‘दिनभरिका लागि हलहरू तताइए पनि कम समयमै बैठक सकिएपछि तताउने प्रयोजनका लागि खर्च गरिएको बिजुली खर्चसमेत बेकारमा हुने गरेको छ, यसतर्फ राजनीतिक दलहरूले ध्यान दिएका छैनन्,’ ती कर्मचारीले भने । ५ हजारभन्दा बढी रकम भुक्तानी दिनुपरेमा तीन दिनसम्म वेबसाइटमा सार्वजनिक सूचना जारी गर्नुपर्ने प्रधानमन्त्री सुशील कोइरालाले पहिलो निर्णय गरे पनि बेकारमा दुई/चार मिनेट बसेर दैनिक ६० हजारभन्दा बढी बिजुलीका लागि खर्च गर्नुपरेको वास्तविकतातर्फ उनको ध्यान जानुपर्ने आवाज उठ्न थालेको छ ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22714-2014-02-13-00-18-45

Tuesday, February 11, 2014

बिजुली मिटर पाउन पनि ‘सोर्सफोर्स’

भीम गौतम/राजधानी

काठमाडौं, २९ माघ । काठमाडौ सतुंगलका सुमन नेपाल आफ्नो नयाँ घरमा मिटर जडानका लागि दुई महिनादेखि नेपाल विद्युत् प्राधिकरणमा धाइरहेका छन् । तर, मिटर लिने उनको प्रयास अहिलेसम्म पनि सफल हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार, अझै तीन महिना ग्राहकले बिजुली मिटर पाउने अवस्था छैन ।
झिलिमिलीका साथ नयाँ घरमा प्रवेश गर्ने उनको सपना मिटर अभावकै कारण अधुरो भएको छ । ‘आफ्नो घरमा मिटर राख्न चाहेमा पनि नपाउनु, यो कस्तो विडम्बना ’ नेपालले भने, ‘सरकारले हामी सर्वसाधारणलाई बिजुलीको मिटरसमेत दिन सक्दैन, यो भन्दा लाजमर्दा कुरा के होला ?’
उनी मात्र होइन, प्राधिकरणमा मिटर पाउनका लागि धाउनेहरूको संख्या धेरै छ । तीन महिना अघिदेखि प्राधिकरणसँग एउटा पनि मिटर नभएपछि बिजुली मिटरका लागि धाउनेको संख्या बढेको हो ।
प्राधिकरणका उच्च अधिकारीहरूलाई गुहार्दा समेत बिजुली मिटर नपाएपछि पहुँचवाला ग्राहकहरू भने प्रधानमन्त्री कार्यालयदेखि ऊर्जा मन्त्रालयसम्म पनि पुग्न थालेका छन् । ठूला–ठूला आयोजनाका लागि प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसम्म पुगेका पहुँचवाला ग्राहकहरूलाई ती कार्यालयमा बस्ने कर्मचारीहरूले प्राधिकरणका अधिकारीहरूलाई मिटर दिनका लागि फोन र अनुरोधसमेत गर्ने गरेका छन् । तर, कुनै पनि ग्राहकले मिटर पाएका छैनन् ।
‘मिटरको अभाव भएपछि माथिल्लो तहबाट समेत एउटा मिटरका लागि सोर्सफोर्स आउन थालेको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘कहिलेकाहीँ त प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयबाट बोलेको भन्दै फोनसमेत गर्न थालेका छन् तर हामीले एउटा पनि मिटर दिन सक्ने अवस्था छैन ।’
प्राधिकरणका अनुसार, प्रत्येक वर्ष २ लाख मिटरको आवश्यकता पर्दछ तर ट्रान्सफर्मर प्रकरण चर्केका कारण गत वर्ष प्राधिकरणले मिटर नै खरिद गरेन । ट्रान्सफर्मर प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रीय भण्डारमा कार्यरत इन्जिनियर नारायण चौधरी र सहायक सरोज श्रेष्ठ पक्राउ गरेपछि हेटौंडास्थित प्राधिकरण केन्द्रीय भण्डारसमेत बन्द भयो । भण्डारभित्र रहेको २४ हजार मिटर गत कात्तिकमा मात्र चौधरी धरौटीमा रिहा भएर बरबुझारथपछि ग्राहकलाई बाँडिए । ३० हजार मिटर माग रहेकोमा बल्ल २४ हजार मिटर बाँडिए । अहिले त प्राधिकरणमा देशभरिका ९० केन्द्रबाट करिब १ लाख मिटर माग भइसकेको छ ।
विशेषगरी, प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले २५ दशमलव शून्य ४ प्रतिशत रहेको चुहावट १ दशमलव ५ प्रतिशत घटाउने लक्ष्य राखिएपछि पाँचओटै विकास क्षेत्रमा चुहावट नियन्त्रण अभियान बढ्यो । अभियानपछि देशभरबाट ३० हजारभन्दा बढी मिटरको मागसमेत भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
गत वर्ष मिटर खरिद नगरेको प्राधिकरणले अहिले भने बल्ल प्रक्रिया अघि बढाएको छ । २ लाख २० हजार मिटर खरिद गर्ने प्रक्रियामा रहेको प्राधिकरणले ३ जनवरीमा खोलेको बोलपत्रमा मिडिल साउथ इलेक्ट्रिक चीन र झेजियाङ चिन्ट स्टुमेन्ट मिटर कम्पनीले खरिदका लागि आशय जनाएका छन् । एउटा कम्पनी छनोट अन्तिम चरणमा रहेको र आगामी तीन महिनाभित्र मात्र मिटर नेपाल आइपुग्ने प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका एक अधिकारीले जानकारी दिए । तीन महिनाभित्र १ लाख मिटर आइपुग्ने तथा त्यसपछिका तीन/तीन महिनामा दुईपटक ६०/६० हजार मिटर आउनेछन् । अर्को वर्षको अक्टुबरमा फेरि मिटर किन्ने तयारीसमेत प्राधिकरणले अघि बढाएको छ ।
‘एक वर्ष खरिद नहुँदा अहिले यस्तो मिटर चरम अभाव छ, अभाव हटाउन बिग्रेका मिटरहरूको मर्मत गरेर तत्कालीन समस्या समाधान गर्न भनेका छां तर मिटर अभावको चर्को समस्या छ,’ ती अधिकारीले भने ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22661-2014-02-12-00-14-36

Monday, February 10, 2014

प्राधिकरणका पाँचविरुद्ध विशेष अदालतमा आरोपपत्र

राजधानी समाचारदाता

काठमाडौं, २८ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणका पाँच कर्मचारीविरुद्ध सोमबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।
प्राधिकरण इटहरी केन्द्रका स्टोरकिपर अर्जुन कटुवाललगायतका पाँचजना कर्मचारीविरुद्ध अख्तियारले केन्द्रको जिन्सी सामानको भौतिक परीक्षण गरी प्रतिवेदत तयार गर्दा गलत विवरण भएको जिन्सी परीक्षण प्रतिवेदनलाई साँचो सत्य भनी कार्यालयमा पुष्टि गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोपपत्र दायर गरेको हो । अख्तियारले भ्रष्टाचार ऐन–२०५९ को दफा १९ को उपदफा २ का कसुरमा सोही ऐनको दफा १९ (२) बमोजिम कटुवालसहित इन्जिनियरद्वय मनोज ठाकुर र इम्तियाज आलम, लेखा अधिकृत हेमराज इटनी र सुभरभाइजर भेषराज घिमिरेलाई कारबाहीको माग गरिएको छ । पाँच सदस्यीय भौतिक परीक्षण समितिले गलत विवरण भएको जिन्सी परीक्षण प्रतिवेदनलाई साँचो सत्य भनी कार्यालयमा पुष्टि गरेको आरोपपत्रमा उल्लेख छ ।
आरोपपत्रमा कटुवालले सार्वजनिक संस्थाको सम्पत्तिको वदनियमतपूर्वक हिनामिना एवं हानिनोक्सानी गरी निवारण ऐन–२०५९ को दफा १७ बमोजिम कसुर गरेको गरेको पुष्टि गरिएको छ । उनलाई सो ऐनको दफा ३ को उपदफा १ को खण्ड ज बमोजिमको सजायका साथै दफा १७ बमोजिम नोक्सानी पु¥याएको ६० लाख ८८ हजार ३ सय ८४ रुपैयाँ भराउनुपर्ने माग गरिएको छ ।
http://erajdhani.com/en/business/22585-2014-02-10-23-55-07

सुनकोसी तेस्रो बनाउन जुर्मुराए काभ्रे र रामेछापवासी

राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न माग

भीम गौतम/राजधानी

काठमाडौं, २८ माघ । काभ्रे र रामेछापको सिमानामा बन्ने ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलासययुक्त जलविद्युत् आयोजना बनाउन दुवै जिल्लाका बासिन्दा सक्रिय भएका छन् । काठमाडौंबाट ६० किलोमिटर नजिक रहेको सो आयोजना समयमै बनाउन र त्यसका लागि सहजीकरणका लागि उनीहरू सक्रिय भएका हुन् ।
आइतबारदेखि जलासययुक्त आयोजनाका लागि सहयोग र सहजीकरणका लागि काठमाडौंमा बसोबास गर्ने अगुवासँग छलफल सुरु गरेका दुई जिल्लाका बासिन्दाले यसलाई अघि बढाउन राजनीति नेतृत्व, सभासद्, पूर्वसभासद्लगायतका साथै स्थानीयवासीसँग छलफल र अन्तरक्रिया अघि बढाउने बताए । उनीहरूले काठमाडौं उपत्यकासँग नजिक रहेकामध्ये सबैभन्दा कम चुनौती रहेको आयोजना सुनकोसी तेस्रो भन्दै उनीहरूले यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजना माग गरेका छन् ।
काभ्रे र रामेछापका सभासद् तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा सुरु भएको छलफलमा सहभागीले नेपालको आर्थिक समृद्धि तथा भविष्यसँग जोडिएको आयोजना भएकाले सबैले आयोजना अघि बढाउनका लागि सहजीकरण गर्ने बताए ।
‘सुनकोसी तेस्रो जलविद्युत् आयोजना बनाउनका लागि हामी जनताको तर्फबाट र विभिन्न क्षेत्रबाट सबै किसिमको सहयोग गर्न तयार छौं,’ काभ्रे क्षेत्र नम्बर–१ का सभासद् तीर्थ लामाले भने, ‘आयोजना छिटो बनाउनका लागि संसददेखि राष्ट्रिय योजना आयोगसम्मलाई झकझकाउँछौं ।’
अर्का रामेछाप क्षेत्र नम्बर–२ का सभासद् श्यामकुमार श्रेष्ठले आयोजना छिटो अघि बढाउनका लागि सामूहिक रूपमा दबाब दिने बताउँदै रामेछाप र काभ्रेका जनता आयोजना बनाउन एकजुट भएर अघि बढ्ने बताए ।
दुवै जिल्लाका सबै मिलेर आयोजना बनाउनका लागि विभिन्न छलफल र अन्तरक्रिया अघि बढ्नेभन्दै समन्वयका लागि भेलाले लालध्वज लामा, लेखराज गौतम, सलामसिंह लामा, जयराज भण्डारी, रामबहादुर लामा, जितराम लामा, रञ्जित तामाङ, टंक गौतमलगायत सहभागी समन्वय समितिसमेत गठन गरिएको छ । समन्वय समितिले बृहत् भेला गरी आयोजना अघि बढाउनका लागि उचित वातावरण निर्माणका साथै राष्ट्रिय गौरवको आयोजना बनाउनका लागि सहयोग गर्ने लेखराज गौतमले जानकारी दिए । छलफलमा चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कुलमान घिसिङले सुनकोसी दोस्रो, तेस्रोलगायतका आयोजना बनेपछि दोलालघाटसम्म भारतबाट पानी जहाजसमेत आउन सक्ने अवस्था रहेको बताउँदै आयोजना अघि बढाउँदा जलविद्युत् उत्पादनका साथै पर्यटकीय क्षेत्र निर्माणलगायतमा सहयोग पुग्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) ले सार्वजनिक गरेको १० उत्कृष्ट जलासययुक्त आयोजनामध्ये एक सुनकोसी तेस्रोको एसियाली विकास बैंकको सहयोगमा विद्युत् विकास विभागले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारसमेत गर्न लागेको छ । विभागले सन् २०१४ बाट सुरु गर्न लागेको सो सुनकोसी तेस्रो आयोजना सन् १९८३ मै पूर्वसम्भावना अध्ययन गरे पनि त्यसपछि अघि बढ्न सकेको थिएन । विभागले डीपीआर सुरु गर्न लागेपछि स्थानीयवासी खुसीसमेत भएका छन् ।
दुई वर्षभित्र डीपीआर सकेर निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन सके सन् २०२१ भित्रै आयोजनाको निर्माण पूरा गर्न सकिने अवस्था रहेको सोे आयोजना जलासययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या भयावह भइरहेका बेला उपत्यकाको लोड धान्न उपयुक्त आयोजनाका रूपमा हेरिएको छ । प्राधिकरणका अनुसार देशभरि खपत हुने विद्युत्मध्ये काठमाडौंलगायत मध्यमाञ्चल विकास क्षेत्रले करिब ५० प्रतिशत विद्युत् खपत गर्ने गरेको छ ।
डेढ खर्ब रुपैयाँ लागत रहेको सो आयोजनाबाट १६ सय घरधुरी डुबानमा पर्ने भए पनि बूढीगण्डकी आयोजनाको तुलनामा कम घर डुबानमा पर्छन् । उनीहरूलाई पा“चखाल, तिमाल र कोसीपारि क्षेत्रमा पुनस्थापित गर्न सकिने आयोजना सम्भाव्यता अध्ययनबाट देखिएको छ ।
आयोजना सम्पन्न भएपछि कोसीपारि, तिमालका क्षेत्र सेटलाइट सहरको रूपमा विकास हुने सम्भावना छ । ¥याङ्खिटङ, फिसिङ, सुन्दर होटलहरू निर्माणलगायत गरेर तिमाल, कोसीपारि र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ ।
http://erajdhani.com/en/business/22586-2014-02-10-23-55-56

यस्तो बनोस् ऊर्जा संरचना

 भीम गौतम

हालसम्म जलविद्युत् आयोजना मात्र बनाउँदै आएको नेपाल विद्युत् प्राधिकरण २० मेगावाटको सोलार ९सौर्य० ऊर्जा निर्माणको चरणमा छ । बढी नीतिनिर्माणमै केन्द्रित हुनुपर्ने ऊर्जा मन्त्रालय सिंहदरबारभित्रका छतछतमा सोलार जडान गरेर बिजुली निकाल्ने ध्याउन्नमा छ । विद्युत्को लाइसेन्स बाँड्ने अड्डाका रूपमा चिनिने विद्युत् विकास विभाग २२ मेगावाटको बुढीगंगा बनाउने प्रक्रिया अघि बढिसकेको छ । ऊर्जाको मुख्य स्रोत नेपालका लागि जलविद्युत्नै हो तर प्रशस्त सम्भावना रहेको वैकल्पिक ऊर्जाको उपयोगितालाई बिर्सनु हुँदैन । वैकल्पिक ऊर्जाको विकास र विस्तारका लागि अर्को वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र सक्रिय छ । सोलार, लघु जलविद्युत्, वायु, वायोमासलगायतका ऊर्जा प्रवद्र्धनमा सक्रिय केन्द्रले सोलारलगायतका नवीकरणीय ऊर्जा बनाउनुपर्ने हो । तर, अरू निकायले समेत बनाउन थालेका छन् । समग्र ऊर्जाको रणनीति बनाउनुपर्ने र सबैको समन्वय गर्नुपर्ने शक्तिशाली निकाय जल तथा ऊर्जा आयोग शक्तिहीन अवस्थामा छ । कुनै कर्मचारीलाई सबैभन्दा ‘कम आकर्षक’ क्षेत्रमा पठाउनुपर्‍यो भने आयोगमा पठाइन्छ ।
ऊर्जा संकटकै कारण उद्योग व्यवसायीले ७० अर्ब रूपैयाँभन्दा बढी घाटा बेहोर्नुपरेको तथा यही कारण वर्षमा १ खर्ब ११ करोड रूपैयाँबराबर ऊर्जा भारतबाट आयात गरिरहनु परिरहेका बेला नयाँ आएको सरकारले ऊर्जा क्षेत्रको पुनःसंरचना गर्नु आवश्यक छ । १ सय २ वर्षको जलविद्युत् इतिहासमा ७ सय मेगावाट मात्र विद्युत् उत्पादन भइरहेको, विद्युत्को माग जम्मा ११ सय मेगावाट मात्र रहेको तथा भएका उद्योगधन्दा तथा कारखाना ऊर्जा संकटलगायतका कारणले धराशयी हुँदै गएको र नयाँ
स्थापना हुन नसकेको परिदृश्यलाई हेरेर ऊर्जा क्षेत्रको पुनःसंरचना आवश्यक छ । रोजगारीको अभावमा दैनिक १५ सयभन्दा बढी युवा बिदेसिइरहेको र नेपालमै रोजगारी दिनका लागि नयाँ उद्योगहरू ऊर्जा संकटकै कारण खोल्न नसकिएको यथार्थतालाई नयाँ सरकारले दृष्टिगत गर्नैपर्छ । ऊर्जा संकट गहिरिँदै गएपछि जलविद्युत्को विकास र विस्तारका लागि संरचनाहरू थपिँदै गएका छन् तर ती संरचनाको मुख्य नियामक निकाय अझै छैन । जल तथा ऊर्जा आयोगमा कुनै सचिव सरुवा भएर आएपछि भोलिपल्टदेखि कसरी आकर्षक मन्त्रालयको सचिव भन्ने ध्याउन्नमै बित्छ । परिणाम ऊर्जासँग सम्बन्धित क्षेत्रहरूबीच समन्वय हुँदैन, आ–आफ्नो तालमा हिँड्छन् ।
जलविद्युत्को सम्भावनाको हिसाब गर्ने हो भने दुई छिमेकी राष्ट्र भारत र चीनभन्दा भौगोलिक आधारमा नेपाल जलविद्युत् उत्पादनको सम्भावना बढी नै देखिन्छ । सानो मुलुकमा जलविद्युत्को ठूलो सम्भावना छ । विडम्बना नेपालको विद्युत् माग जम्मा ११ सय मेगावाट छ भने छिमेकी मुलुक भारतमा ३ लाख मेगावाट र चीनमा १२ लाख मेगावाट पुग्न लागिसकेको छ । छिमेकी चीनले प्रत्येक हप्तामा १ हजार मेगावाट र भारतले प्रत्येक १५ दिनमा १ हजार मेगावाट विद्युत् उत्पादन हुन्छ तर नेपालमा लाजमर्दो १ सय २ वर्षमा ७ सय मेगावाट मात्र । अहिले हिउँदमा त ३ सय मेगावाट पनि उत्पादन हुँदैन । गलत संरचना र योजनाकै कारण नेपालले जलविद्युत्मा प्रगति गर्न नसकेको यथार्थतालाई अब नयाँ आउने सरकारले भुल्नु हुँदैन । पर्याप्त ऊर्जाकै कारण दुवै देशको आर्थिक वृद्धिदर र विकासक्रम यसरी अघि बढेको छ कि विश्वकै शक्तिशाली देशभित्र आफूलाई उभ्याउन सफलता नजिक पुगेका छन् । यो इतिहासबाट नेपालले पाठ सिक्नुपर्छ । छिमेकी राष्ट्र चीन र भारतको नकारात्मक राजनीतिक हावा यति छिटो फैलिन्छ कि नेपालका धेरै नेता र राजनीतिलाई त्यही हावाले टर्बाइनजस्तै घुमाइरहन्छ । छिमेकी राष्ट्रहरूजस्तै विकास निर्माणको हावा फैलिएर जलविद्युत्को मात्र विकास गरिएको भए प्राकृतिक स्रोतमा धनी नेपाल विश्वकै विकसित मुलुकभित्र पर्दथ्यो । यति धेरै छिमेकी राष्ट्रहरूसँग परनिर्भर हुनुपर्ने
अवस्था हाम्रो हुने थिएन । आयात र परनिर्भरता नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बाधक बनेको छ । यसलाई अन्त्य गर्ने नेपालको सन्र्दभमा अर्को क्षेत्र छैन, जलविद्युत् र वैकल्पिक ऊर्जा नै हो । विडम्बना जलविद्युत् आयोजना बनाउन नसकेर प्रत्येक दिन खर्बौं रुपैयाँ पानीसँगै बगिरहेको छ अनि उल्टो त्यही ऊर्जाका लागि भारतबाट प्रत्येक वर्ष १ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी खर्चनुपर्ने अवस्था छ ।
जलवायु परिवर्तनको कारणले भविष्यमा आउन सक्ने जलविद्युत् उत्पादनको कमीलाई दृष्टिगत गरी नवीकरणीय ऊर्जाको विकास पनि सँगसँगै गर्नु जरुरी भइसकेको छ । चाहे सोलार, वायु, लघुजलविद्युत्, बायोग्याँस नै होस्, यी प्रविधिको पनि उच्चतम उपयोग गर्नुपर्छ । जलविद्युत् त मुख्य ऊर्जा स्रोत हो, यसको विकासमा अब पनि ढिला गर्नु भनेको नेपालको सुन्दर भविष्यलाई चकनाचुर पार्नु हो । बहुदलीय प्रजातन्त्रका २४ वर्षमा जलविद्युत्मा नेपालले असफलता हासिल गरेको छ, अबको १०/१२ वर्षमा नेपालले देशभित्र अधिकतम उपयोग गरी खर्बौंको बिजुली बेच्न सक्षम हुनुपर्छ । बिदेसिएका नेपालीलाई स्वदेश फर्काएर नेपालको विकासमा समर्पित बनाउन सक्नुपर्छ । यसका लागि अहिलेको ऊर्जा संरचनाको पुनःसंरचना जरुरी छ ।
जल तथा ऊर्जा आयोग, ऊर्जा मन्त्रालय, विद्युत् विकास विभाग, प्राधिकरण, लगानी बोर्ड, वैकल्पिक केन्द्र, आयल निगम, कोइला कम्पनीलगायतका सबै ऊर्जासँग सम्बन्धित क्षेत्र हेर्ने हो भने एक दर्जनभन्दा बढी छन् । नयाँ सरकारले नेपालको जलविद्युत् क्षेत्रलाई अधिकतम उपयोग गरेर गरिब मुलुकबाट समृद्ध मुलुकु बनाउने हो भने अहिले ऊर्जा संरचनामा परिवर्तन गर्नैपर्छ । नेपाल समृद्धिको आधार जलविद्युत्, कृषि र पर्यटन हो । जलविद्युत्विना कृषि र पर्यटन दुवैको विकास असम्भव छ । जलविद्युत् विकासले कृषि र पर्यटनका लागि आवश्यक ऊर्जा मात्र दिँदैन, ठूल्ठूला जलासययुक्त आयोजनाहरू स्वयं सबैभन्दा बढी पर्यटकीय आकर्षण गर्ने केन्द्र बन्छन् भने यी जलासययुक्त आयोजनाबाट हुने सिँचाइले कृषि क्षेत्रको उत्पादनमा छलाङनै मार्न सक्छ । यसकारण नयाँ सरकारले सबै ऊर्जा क्षेत्रहरूको समग्र विकासका लागि जल तथा ऊर्जा आयोगलाई शक्तिशाली निकायका रूपमा विकास गर्नुपर्छ । राष्ट्रिय योजना आयोगको जस्तो ऊर्जा क्षेत्रका लागि यो निकाय बनाउनुपर्छ । जसले ऊर्जाको उत्पादन र माग मात्र होइन, स्वदेशी र विदेशी लगानीकर्तादेखि बिजुली बेच्नेसम्मका नीति बनाउनका लागि सहयोग गरोस् । अहिलेको ऊर्जा मन्त्रालयभित्रका केही संरचना परिवर्तन गरेर जलविद्युत् आयोजनाका लागि एकद्वार बनाई जलविद्युत् मन्त्रालय छुट्टै बनाउनुपर्छ । जसले जलविद्युत्बाहेक अन्य ऊर्जा क्षेत्रलाई फोकस गर्दैन । अर्कोतिर वैकल्पिक ऊर्जाहरूको प्रवद्र्धनका लागि नवीकरणीय ऊर्जा तथा वातावरण मन्त्रालय बनाउनुपर्छ । जुन मन्त्रालयले नेपालका आउने ऊर्जाहरूको आयातलाई न्यूनीकरणका लागि वैकल्पिक ऊर्जादेखि अन्य ऊर्जालाई प्रोत्साहित गर्न सकोस् । जसले आयात विस्थापनका लागि विशेष योजना र कार्यक्रम गरोस् । अहिले भएको लगानी बोर्डलाई उच्चतहसँग नीति निर्माण तथा उचित वातावरण बनाउनका लागि भूमिका खेल्ने शक्तिशाली संस्थाको विकास गर्नुपर्छ । आयल निगमलगायत उद्योग वाणिज्य मन्त्रालयअन्तर्गत नै राखे पनि ऊर्जा आयातका लागि राज्यले जति खर्च गर्छ, त्योभन्दा चौब्बर बढी खर्च लगाएर जलविद्युत् विकास गरी आयातलाई प्रतिस्थापन गर्दै जानुपर्छ । ऊर्जा आयात प्रतिस्थापनका लागि निश्चित योजना र कार्यक्रम बनाएर सरकार सक्रिय हुर्नैपर्छ, नत्र आयात घटाउने गफ राजनीति दल र मन्त्रीहरूले पटक–पटक जप्ने मन्त्रजस्तै हुन्छ । यसकारण ऊर्जा क्षेत्रको पुनःसंरचना गर्दा राजनीतिक र सिद्धान्तबाट माथि उठेर देशको आर्थिक विकासको मुख्य पूर्वाधार रहेको जलविद्युत्को विकासलाई बढी महत्त्व दिनुपर्छ ।
http://erajdhani.com/en/2012-06-26-14-07-48/22591-2014-02-11-00-01-39

Sunday, February 9, 2014

डेढ दशक बित्दा पनि बनेन पुनर्बास नीति



भीम गौतम/राजधानी

काठमाडौं, २६ माघ । सरकारद्वारा ल्याउने भनिएको पुनर्बास नीति डेढ दशक बित्दा पनि बन्न सकेको छैन । सरकारले २०५५ सालमा नै सो नीति ल्याउने भनेर स्थानीय पूर्वाधार तथा कृषि सडक विभाग ९डोलिडार० को स्थापनापछि दातृ निकाय एसियाली विकास बंक ९एडीबी० ले ऋण सहयोग गर्ने क्रममा क्षतिपूर्ति तथा पुनर्बास नीति बनाउन सर्तसमेत स्वीकारेको भए पनि नीति भने अझै आउन सकेको छैन ।
विकास आयोजनामा जग्गा प्राप्ति, क्षतिपूर्ति तथा पुनर्बाससम्बन्धी कार्यमा एकरूपता नभएपछि दाता निकायले क्षतिपूर्ति तथा पुनर्बाससम्बन्धी नीति बनाउन सर्त नै राखे पनि सरकारी निकाय, राजनीतिक दल र सरोकारवालाको बेवास्ताका कारण नीति अझै बन्न नसकेको हो ।
‘नीतिको मस्यौदालाई अन्तिम रूप दिइएको छ, अब आउने नयाँ सरकारले पारित गर्छ भन्नेमा विश्वास छ,’ आयोगका सह–सचिव गोपीनाथ मैनालीले भने, ‘नीति बनाउन सुरु गरेको त १४/१५ वर्ष भयो, अब अन्तिम चरणमा पुगेको छ, यो नीति बनेमा ठूलाठूला पूर्वाधार आयोजना निर्माणका लागि सहयोग पुग्छ ।’
समयमै यो नीति लागू भई कार्यान्वयनमा आउन नसक्दा विभिन्न आयोजनाको लागत र समयसमेत बढेको छ भने मुआब्जा तथा क्षतिपूर्ति वितरण, जग्गा प्राप्ति, पुनःस्थापना र पुनर्बासलगायतका समस्याका कारण अधिकांश ठूला पूर्वाधार आयोजनासमेत प्रभावित बनेका छन् । यही कारण लोडसेडिङको चरम समस्या बढिरहेको बेला ७ सय ५० मेगावाटको पश्चिम सेती, ६ सय मेगावाटको बूढीगण्डकी, २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइनलगायतका महत्त्वपूर्ण आयोजनाहरूमा समस्यासमेत देखिएको छ ।
सम्बद्ध मन्त्रालयका अनुसार, विशेष गरी ऊर्जासँग सडक, सिँचाई र खानेपानीलगायत विकास निर्माणका ठूला आयोजनाको समय र लागत दुवै बढिरहेको छ । चलनचल्तीको मूल्यभन्दा चार गुनासम्म बढी क्षतिपूर्ति मागी ठूला आयोजना निर्माणमा अवरोध, बन्द, हड्ताल गर्ने र राजनीतिक दलका नेताहरूले समेत जनताको माग भन्दै
अनावश्यक राजनीति गर्नेलगायतका समस्या छन् ।
ढिलो गरी सरकारले १० वर्षअघि नीति मस्यौदा सुरु गरेर २०६४ सालमा मस्यौदा तयार गरी मन्त्रिपरिषद्मा पठाइएको सो नीतिलाई दुई पटक मन्त्रिपरिषद्मा र तीन पटक प्रधानमन्त्री कार्यालयमा पुगिसकेको छ । अधिकांश पूर्वाधार सम्बद्ध मन्त्रालयहरूले ठूला आयोजनाको प्रगति नहुनुमा क्षतिपूर्ति तथा पुनर्बाससम्बन्धी अस्पष्ट नीति रहेको बताएपछि यसबारे प्रधानमन्त्री कार्यालयदेखि राष्ट्रिय योजना आयोग, ऊर्जा मन्त्रालय, सिँचाई विभाग र सडक विभागलगायतका दर्जनाँ पटक बैठकसमेत भइसकेको छ ।
आयोगका अनुसार, नीतिबारे अन्तिम रूप दिन जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजनमा पहिलो समिति गठन भएकामा त्यसपछि डिल्लीराम दाहाललगायतको विज्ञ टोली गठन भएको थियो । २०६४ सालमा आयोगका तत्कालीन उपाध्यक्ष डा। पीताम्बर शर्माको संयोजकत्वमा समिति, २०६५ सालमा अर्थ, भौतिक योजना र जलस्रोतलगायत संलग्न सुझाव समिति, २०६७ सालमा आयोगका सह–सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा समिति र हाल आयोगका सचिव युवराज भुसालको संयोजकत्वमा अर्को समिति गठन गरिएको छ ।
२०६४ र २०६८ सालमा गरी दुई पटक मन्त्रिपरिषद्मा पेस भएको नीति नहुँदा अहिले जग्गा प्राप्ति ऐन २०३४ अनुसार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिले मनोमानी रूपमा र शक्ति प्रदर्शनको आधारमा क्षतिपूर्ति दिँदै आएको छ । जसका कारण अधिकांश ठूला आयोजनाहरू समयमा नबेर अर्बौं लगानी समस्या परेकोबारे सरकारको नेतृत्व गर्ने नेताहरू अनभिज्ञ नभए पनि उनीहरूले बेवास्ता गर्दै आएका छन् ।
पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला आयोगका पदाधिकारीहरूले भेटेरै नीति पारित गर्न आग्रह गरेका थिए । आयोग मात्र होइन, पूर्वाधार सम्बद्ध मन्त्रालयका प्रतिनिधिहरूका साथै निजी क्षेत्रका प्रतिनिधिले समेत नीति छिटो बनाउन आग्रह गर्दै आएका छन् ।
http://erajdhani.com/en/business/22483-2014-02-09-00-03-13

Friday, February 7, 2014

व्यापार मेला र नवीकरणीय ऊर्जा सप्ताह सुरु

काठमाडौं/रास— बिहीबारदेखि १२औं राष्ट्रिय औद्योगिक व्यापार मेला र घरेलु उद्योग महोत्सव तथा नवीकरणीय ऊर्जा सप्ताह सुरु भएको छ । काठमाडांको भृकुटीमण्डपमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रद्वारा संयुक्त रूपमा आयोजित मेलामा घरेलु उद्योग तथा नवीकरणीय ऊर्जाका विभिन्न प्रविधि गरी ३ सय ४० स्टल रहेका छन् । २७ माघसम्म सञ्चालन हुने मेलामा १० करोड रुपैयाँबराबर कारोबार गर्ने लक्ष्य राखिएको छ ।
मेलाको उद्घाटन गर्दै मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले वैकल्पिक ऊर्जामार्फत घरेलु उद्योगको प्रवद्र्धन गर्न सकिने बताए । ‘घरेलु उद्योगको प्रवद्र्धनबाट मात्र देशको अर्थतन्त्र बलियो हुन्छ, देशमा औद्योगिक वातावरण अनुकूल/प्रतिकूल रहेको मापन घरेलु उद्योगको अवस्थाले संकेत गर्छ,’ उनले भने, ‘राजनीतिक परिवर्तनजसरी नेपालमा आर्थिक परिवर्तन हुन सकेको छैन, उद्योगमार्फत त्यो सम्भव छ ।’
अर्थ, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री शंकरप्रसाद कोइरालाले मुलुक यतिबेला सामाजिक र आर्थिक समृद्धिको मोडमा रहेकाले सरकार र निजीक्षेत्रबीच आर्थिक विकासमा सहकार्य हुनुपर्ने बताए । मुलुकलाई औद्योगीकरणमा लैजान लघु, मझौला र कुटीर उद्योगलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिँदै उनले यसका लागि नीतिगत, प्रक्रियागत र कानुनी सुधारको खाँचो रहेको बताए । ऊर्जा तथा विज्ञान प्रविधिमन्त्री उमाकान्त झाले सहरी क्षेत्र लोडसेडिङमुक्त र ग्रामीण भेगमा बिजुली पु-याउनु अहिलेको दायित्व भन्दै यो अभावपूर्ति गर्न निजी क्षेत्रको सहभागिता आवश्यक भएको बताए । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भाष्करराज राजकर्णिकारले देशको नियम कानुन बनाउँदा निजी क्षेत्रसँग छलफल गरेर मात्र अघि बढ्न सरकार र सभासद्सँग आग्रह गरे । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले ऊर्जासंकट न्यूनीकरणका लागि वैकल्पिक ऊर्जाको प्रवद्र्धन र विस्तारमा जोड दिनुपर्ने बताए ।
नेपाल घरेलु उद्योग महासंघका अध्यक्ष सुरेश प्रधानले स्वदेशी उत्पादनको प्रयोगलाई सरकारी निकायमा प्रयोग गरेर नेपाली श्रम र सीपको सम्मान गर्न आग्रह गरे ।

http://erajdhani.com/en/business/22385-2014-02-06-23-45-30

अब ‘खोला नापेर’ मात्र जलविद्युत् लाइसेन्स


पहिले नक्साकै भरमा / ‘झोले’ लाइसेन्स घटे

राजधानी समाचारदाता
काठमाडौं, २४ माघ । जलविद्युत् ऐन २०४९ ले निजी क्षेत्रलाई जलविद्युत् आयोजना बनाउन खुला गरेपछि नेपालमा अधिकांश खोलानालाको लाइसेन्स लिने होड नै चल्यो । धेरैले नेपालको नक्सा हेरेर जहाँजहाँ खोलानाला थिए, नक्साकै भरमा सर्भे लाइसेन्सको निवेदन दिए र पाए पनि । तर, अहिले पहिलेको जस्तो हावादारीका भरमा जलविद्युत् लाइसेन्स लिने क्रम रोकिएको छ ।
पहिले जलविद्युत् लाइसेन्स लिने लहैलहैमा लागेर करोडौं रुपैयाँ डुबाएपछि त्यसबाट पाठ सिकेर अहिले भने लगानीकर्तामा लाइसेन्स लिने प्रवृत्तिमा परिवर्तन भएको छ । नक्साकै भरमा खोलानालाको सर्भे लाइसेन्स लिने प्रवृत्ति अन्त्य भएर खोला तरेर मात्र लिने क्रम बढेको छ ।
नक्साकै भरमा लाइसेन्स लिनाका सट्टा जलविद्युत् लगानीकर्ताले सम्बन्धित नदी र खोलानालामै पुगेर जलविद्युत् लाइसेन्स लिन थालेको सरकारी अधिकारीहरूको पनि अनुभव छ । लाइसेन्स दिने ऊर्जा मन्त्रालयको विद्युत् विकास विभागका अनुसार यसैकारण पछिल्लो समयमा हावादारी रूपमा लाइसेन्स लिएर ‘झोलामा खोला’ राख्ने क्रम पनि घटेको छ । ‘पहिले नेपालको नक्सा हेरेर जहाँजहाँ खोला भेटिन्थे, त्यहींत्यहीं लाइसेन्स लिने गरिन्थ्यो तर अहिले सम्बन्धित खोलानालासम्म पुगेरै लाइसेन्स लिने क्रम बढेको छ,’ विभागका सिनियर डिभिजनल इन्जिनियर एवं सूचना अधिकारी गोकर्णराज पन्तले भने, ‘पूरा अध्ययन गरेर लाइसेन्स नलिँदा लाखौं रुपैयाँ विनाकारण खर्च गर्नुपरेपछि लगानीकर्ताले नक्साभन्दा पनि खोला तरेरै सबै जानकारी लिई लाइसेन्स लिन थालेका छन् ।’
विभागका अनुसार पछिल्लो समयमा लाइसेन्स लिन आउने लगानीकर्ताहरूले खोलाको पानी अवस्था, वातारणीय अध्ययन, स्थानीय समुदायको चाहना, वन, प्रसारण लाइन, नेपाल विद्युत् प्राधिकरणको विद्युत् खरिद सम्झौता (पीपीए) को अवस्था र पानीको अग्राधिकारलगायतबारे विस्तृत रूपमा अध्ययन गरेपछि मात्र सर्भे लाइसेन्स लिन थालेका छन् ।
पहिले हावादारीकै भरमा लाइसेन्स लिएकै कारण हालसम्म विभागले २४ सय ५६ मेगावाटका १ सय ६ आयोजनाको लाइसेन्स खारेज गरेको छ । जसका कारण ती लगानीकर्ताले २१ करोड रुपैयाँभन्दा बढी विनाकारण घाटा बेहोर्नुपरेको छ । सर्भे लाइसेन्सको अध्ययनका लागि समेत प्रतिआयोजना कम्तीमा २० लाख रुपैयाँ खर्च हुने गरेको छ । ‘अधिकांश अध्ययनका क्रममा आयोजनाहरू बन्न नसक्ने अवस्था देखिएकाले खारेज भएका छन्,’ सूचना अधिकारी पन्त भन्छन्, ‘पहिल्यै खोलानालाबारे विस्तृत जानकारी लिएर लाइसेन्स लिएको भए यसरी जलविद्युत् आयोजनाका सर्भे लाइसेन्स खारेज हुने थिएनन् ।’ विभागले सर्भे लाइसेन्सका निवेदनमध्ये हालसम्म ८४ हजार ९१ मेगावाटका ७ सय ४७ आयोजनाको लाइसेन्स खारेज गरिसकेको छ ।
पछिल्लो समयमा जलविद्युत्को सर्भे लाइसेन्स लिने लगानीकर्ताहरू घटेका छन् । विभागका अनुसार आर्थिक वर्ष २०६५÷६६ मा मात्र २८ हजार ६ सय ९८ मेगावाटको ७ सय ४४ आयोजनाका लागि सर्भे लाइसेन्सका लागि निवेदन दिएका थिए भने ३८ सय ४१ मेगावाटबराबरका १ सय ५३ आयोजनाले सर्भे लाइसेन्स पाएका थिए । जबकि, आर्थिक वर्ष २०६९÷७० मा १ हजार ८७ मेगावाटका ६५ आयोजनाले मात्र सर्भे लाइसेन्सका लागि निवेदन दिएका थिए भने अघिल्ला वर्षहरूमा समेत निवेदन दिएका गरी ४२ आयोजनाले मात्र सर्भे लाइसेन्स पाएका थिए । यो आर्थिक वर्षको ७ महिनासम्ममा ७ सय ५८ मेगावाटका २८ आयोजनाले मात्र सर्भे लाइसेन्सका लागि निवेदन दिएका छन् भने ३ सय ५१ मेगावाटका नौ आयोजनाले मात्र सर्भे लाइसेन्स पाएका छन् । ‘पछिल्लो समयमा आफ्नो आर्थिक क्षमता तथा जलविद्युत्का सबै सम्भाव्यता हेरेर मात्र सर्भे लाइसेन्सको निवेदन दिन थालिएको छ, पहिलाको तुलनामा कम छ,’ अधिकारी पन्तले भने ।
http://erajdhani.com/en/business/22386-2014-02-06-23-47-12

खाली जग्गामा २० मेगावाटको सोलार बनाउँदै प्राधिकरण


४ लाख वर्गमिटर जग्गा आवश्यक / सन् २०१५ भित्रै सम्पन्न गर्ने लक्ष्य

भीम गौतम/राजधानी
काठमाडौं, २४ माघ । लोडसेडिङको चरम समस्या बढेपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नो उपयोगहीन जग्गामा वैकल्पिक ऊर्जाका रूपमा लिइने सोलार (सौर्य ऊर्जा) निर्माण प्रक्रिया अघि बढाएको छ । ऊर्जाको मुख्य स्रोतका रूपमा लिइने जलविद्युत् उत्पादनका लागि नेपालको प्रमुख निकाय मानिने प्राधिकरणले छोटो समयमै निर्माण गर्न सकिने सोलार निर्माण प्रक्रिया अघि बढाएको हो ।
विश्व बैंकको सहयोगमा २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी सोलार निर्माणका लागि जग्गाको सर्भे कार्य अघि बढाइएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । प्राधिकरणका अनुसार विगतमा विभिन्न जलविद्युत् आयोजनाहरू निर्माणका क्रममा खरिद गरिएका र हाल उपयोगहीन अवस्थामा रहेका ती जग्गाहरूलाई उपयोग गरेर सोलार निर्माण गर्न लागिएको छ । हाल प्राधिकरणसँग यस्तो जग्गा ३१ हजार रोपनी छ । संरक्षणको अभावमा २ हजार रोपनीभन्दा बढी जग्गा विभिन्न संघ/संस्था र व्यक्तिहरूले अतिक्रमण गरिसकेका छन् भने बाँकी जग्गा उपयोगविहीन अवस्थामा छन् ।
प्राधिकरणका अनुसार २० मेगावाटबराबरको सौर्य ऊर्जा बनाउन कुलेखानी जलाशय जलविद्युत् आयोजना पहिलो र दोस्रो, त्रिशूली, देवीघाट, सुनकोसी, पनौती, फर्पिङ र हेलम्बुमा सोलारका लागि जग्गाको सर्भे सकिएको छ । त्यसैगरी, प्राधिकरणले कालीगण्डकी, मिडिल मस्र्याङ्दीलगायतका जलविद्युत् आयोजनाको समेत जग्गा सर्भे गर्न लागेको छ । १ मेगावाटका लागि २० हजार वर्गमिटर जग्गा चाहिने तथा २० मेगावाटका लागि ४ लाख वर्गमिटर जग्गा आवश्यक भएकाले एकै ठाउँमा नभई प्राधिकरणले खरिद गरेर हाल खाली रहेको जग्गाहरूमा सोलार जडान गर्न लागिएको अधिकारीहरूले जानकारी दिएका छन् । प्राधिकरणका अनुसार सोलार उत्पादनका लागि उपयोगी हुने जग्गाहरूको छनोटपछि विश्व बैंकले वातावरण अध्ययन गरी मात्र सोलार निर्माणका लागि बोलपत्र आह्वान गर्नेछ ।
आगामी अप्रिलदेखि निर्माण सुरु गरी १० मेगावाट अप्रिल २०१५ र थप १० मेगावाट डिसेम्बर २०१५ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको प्राधिकरणले जनाएको छ । जलविद्युत् आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा गर्दा १० देखि १२ वर्ष लाग्ने तथा सोलार एक/डेढ वर्षमै सम्पन्न गर्न सकिने भएकाले प्राधिकरण आफैं सोलार निर्माणमा जुटेको हो । ‘प्राधिकरणका जग्गाहरूमा सोलार जडान गर्दा प्रसारण लाइनको समस्या पनि नहुने तथा तत्कालीन लोडसेडिङ घटाउनमा समेत सहयोग पुग्ने देखिएकाले जलविद्युत् निर्माणमा सक्रिय हुने निकाय प्राधिकरणले नै सोलार निर्माणलाई जोड दिएको हो,’ प्राधिकरणका एक अधिकारीले भने ।
विश्व बैंकले सोलार, विद्युत् वितरण सुधार र प्राधिकरण महसुल संरचना अध्ययनका लागि ७० मिलियन डलर सहयोग गरेको छ । सो सहयोगपछि प्राधिकरणले सोलार निर्माण प्रक्रिया अघि बढाएको हो ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22416-2014-02-07-00-27-13

Thursday, February 6, 2014

विकासको एजेन्डा पूर्वाधार केन्द्रित हुनुपर्छ

Gopinath- गोपीनाथ मैनाली, सहसचिव, राष्ट्रिय योजना आयोग
साढे दुई दशकदेखि सरकारी सेवामा रहेका गोपीनाथ मैनालीसँग जनकपुर, धरान, राजविराज र धुलिखेल नगरपालिकाको कार्यकारी अधिकृतदेखि डोल्पा, नुवाकोटलगायतका जिल्लाको स्थानीय विकास अधिकारीको समेत कार्यानुभव छ । रक्षा, शिक्षा, राजस्व प्रशासन तालिम केन्द्र र लोकसेवा आयोगलगायतका निकायमा उपसचिवको रूपमा कार्य गरिसकेका मैनाली हाल भौतिक पूर्वाधार, खानेपानी, सडक, सहरी विकास, रणनीतिक पुल, सिँचाइ, ऊर्जा, सूचना, सञ्चार, वातावरण, विज्ञान, प्रविधिलगायत पूर्वाधार विकास हेर्ने महाशाखाका प्रमुख छन् । काभ्रेको कानपुरमा जन्मिएका ५० वर्षीय मैनालीसँग नेपालको पूर्वाधार विकास र राष्ट्रिय योजना आयोगको भूमिकाबारे राजधानीका लागि भीम गौतमले गरेको कुराकानी :
० नेपालको पूर्वाधार विकासलाई कसरी हेर्नु भएको छ ?
– सामाजिक एकीकरण र आर्थिक क्रियाकलापको गतिशीलता प्रवद्र्धन गर्ने आधारका रूपमा पूर्वाधारलाई लिनुपर्ने हुन्छ । नेपालको सन्र्दभमा सडक, ऊर्जा, सिँचाइ र विमानस्थलहरू आर्थिक पूर्वाधारका मुख्य आधार हुन् भने सञ्चार, सूचना प्रविधि, खानेपानी, सामाजिक विकास तथा सञ्जालीकरणका आधारको रूपमा लिनुपर्ने हुन्छ । यी दुवैको समग्रनै पूर्वाधार हो । तर, नेपालमा सडक, पुल तथा ऊर्जालाई प्रमुख पूर्वाधारको रूपमा लिने गरिन्छ ।
० पूर्वाधार विकासको अहिलेको अवस्था कस्तो छ ?
– नेपालको सन्दर्भमा कुरा गर्दा सडक पूर्वाधार विस्तार व्यापक रूपमा भइरहेको छ । हाल २५ हजार २ सय ६५ किलोमिटर सधैं मोटर चल्ने बाटो निर्माण भइसकेको छ भने हिउँदमा मात्र यातायात सञ्चालन हुने करिब ५३ हजार किलोमिटर स्थानीय सडकसमेत स्थानीय निकायबाट निर्माण भइसकेको छ । १६ सय नौ मोटरयोग्य पुलहरू बनिसकेका छन् भने करिब ४ हजार झोलुंगे पुल निर्माण भइसकेका छन् । चालू त्रिवर्षीय योजनामा थप ३ हजार किलोमिटर सडक निर्माण हुने लक्ष्य राखिएको छ भने हाल करिब ४ सय पुल निर्माणाधीन छन् । सडक पूर्वाधारलाई व्यवस्थित गर्न नेपाल सरकारले स्थानीय सडक र रणनीति सडक भनेर वर्गीकरण गरेको छ । जस अनुरूप रणनीतिक सडकको जिम्मेवारी भौतिक पूर्वाधार मन्त्रालयले निर्वाह गर्दै आएको हो भने स्थानीय सडक र पुलहरूको जिम्मेवारी स्थानीय विकास मन्त्रालयले निर्वाह गर्दै छ । जस्तो कि, उत्तर–दक्षिण लोकमार्ग, पुष्पलाल लोकमार्ग, हुलाकी मार्ग र यी सडकहरूलाई जोड्ने क्षेत्रीय र आर्थिक केन्द्र जोड्ने साना सडकहरू विस्तार हुने क्रममा छन् । तर, गुणस्तरको सन्दर्भमा विस्तार जत्तिकै प्रभावकारिता देख्न सकिएको छैन ।
दोस्रो पूर्वाधारको रूपमा रहेको ऊर्जा भने उत्साहप्रद रूपमा विकास हुन सकेको छैन । नेपालमा स्वच्छ तथा नवीकरणीय ऊर्जाको सम्भावना पर्याप्त भएर पनि परम्परागत तथा व्यापारिक ऊर्जामा निर्भरता बढ्दो छ । जडित क्षमताको आधारमा हेर्दा जम्मा ७ सय ५८ मेगावाट ऊर्जा मात्र उत्पादन गर्न सक्ने अवस्था छ भने तापीय ऊर्जा प्राविधिक तथा आर्थिक रूपमा भरपर्दो छैन । हाल उत्पादित ऊर्जामध्ये २ दशमलव शून्य ३ प्रतिशत मात्र जलविद्युत् क्षेत्रले ओगटेको छ । जबकि, नेपालका हिमनदीहरूको पानीको बहाव र मात्रा हेर्दा झन्डै २ लाख मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने सम्भावना रहेको अनुमान छ । सौर्य, बायोग्याँस र लघु जलविद्युत्लगायतका नवीकरणीय ऊर्जा विस्तार व्यापक भएको छ तर यसले व्यापारिक कारोबार गर्न सकिने अवस्था सिर्जना भइसकेको छैन । त्यस्तै, सिँचाइतर्फ १७ लाख ६६ हजार सिँचाइयोग्य भूमिमध्ये करिब १३ लाख हेक्टरमा सिँचाइ सुविधा पु¥याइसकेको छ तर गुणस्तर भने सबै ठाउँमा समान देखिएको छैन । अन्य भौतिक पूर्वाधारहरू जस्तो रोपवे, जलमार्ग, रेलमार्ग तथा सुरुङमार्गतर्फ सरकारले विभिन्न अध्ययन गरिरहेको छ र निजी क्षेत्र आकर्षणका लागि विभिन्न नीति तथा कानुनहरू निर्माण गरिएको छ तर हालसम्मको खासै उपलब्धि हासिल भने भएको छैन ।
० जलविद्युत्को ठूलो सम्भावना भएर पनि किन उत्पादन हुन सकेन ?
– अन्य क्षेत्रजस्तो जलविद्युत् तत्काल उत्पादन गर्न सकिने क्षेत्र होइन । यसका लागि विभिन्न प्रकारका पूर्वाधारहरू आवश्यक पर्दछ । जस्तो कि, भौगर्भिक जोखिमको विश्लेषण, आर्थिक राजनीतिक परिस्थितिको विश्लेषण, प्रसारण लाइनको विस्तार, जग्गा प्राप्तिको सुनिश्चितता, पुनर्वास योजना तर्जुमाका साथै विद्युत् खरिदको सुनिश्चितता आवश्यक पर्ने हुन्छ । नेपालमा ठूला आयोजनाको सञ्चालनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रबाट गरिने नीतिगत व्यवस्था भएता पनि हालसम्म केबल ४ सय ७३ मेगावाट सार्वजनिक क्षेत्रबाट र २ सय ३२ मेगावाट निजी क्षेत्रबाट उत्पादन भएको छ । १० हजारभन्दा बढी मेगावाट निजी क्षेत्रले इजाजत प्राप्त गरेयता पनि माथि उल्लेखित कारणले गर्दा निजी क्षेत्र उत्साहित रूपमा लगानी गर्न अघि सरेको छैन । साथै, वन क्षेत्रको उपयोग गर्ने सन्दर्भमा पनि विद्युत् नीति तथा वन नीतिबीच सामञ्जस्यता छैन । यी कारणले गर्दा नेपालको आर्थिक तथा सामाजिक विकासको प्रमुख मेरुदण्डको रूपमा रहेको ऊर्जालाई उपयोग गर्न सकेका छैनौ । आउँदा दिनहरूमा अरू समस्याहरू पनि थपिन सक्ने सम्भावना छन् । जस्तो कि, जलवायु परिवर्तनको असरले गर्दा हिमनदीहरूको पानीको बहाव केही वर्षपछि कम हुने सम्भावना छ ।
० जलविद्युत्को नेपालको क्षमता ८३ हजार मेगावाट मात्र भनिएको छ तर तपाईंले २ लाख मेगावाट छ भन्नुभयो, यसबारे आधिकारिक अध्ययन किन गर्न नसकेको हो ?
– ८३ हजार मेगावाट नेपालको जलविद्युत्को क्षमता भन्ने हामीले बुझ्दै आए पनि यो कुनै व्यक्तिको निजी विचार मात्र थियो । जसको प्राविधिक तथा तथ्यांकीय पुष्टि भएको थिएन । जलविद्युत् उत्पादन गर्दा पानीको कन्जम्टिभ युज नहुने हुनाले एक पटक प्रयोग पानीबाट फेरि बिजुली निकाल्न सक्ने सम्भावना बाँकी रहन्छ । यस अर्थ नेपालका अधिकांश नदीहरू पहाडी धरातलबाट बग्ने हिमनदी भएकाले पानीको बहाव तथा धार उच्च रहने हुनाले नेपालका नदीनालाबाट धेरै बिजुली निकाल्न सक्ने सम्भावना छ । कति निकाल्न सकिन्छ भन्ने कुरा प्रविधि, पुँजी र भौगर्भिक धरातलले निर्धारण गर्न सक्ने कुरा हो । तर, हालसम्म यति नै हाम्रो क्षमता हो भनेर यकिन पुष्टि गरेका छैनौं । यसका लागि ठूलो प्राविधिक तथा तथ्यांकीय आधार सिर्जना गर्नुपर्ने हुन्छ । अहिले यो काम जल तथा ऊर्जा आयोगले अध्ययन गर्दै छ ।
० नेपालमा योजनाहरू राम्रा बन्छन् तर कार्यान्वयन हुँदैनन् भनिन्छ नि ?
– सही हो । हाम्रा नीति तथा कार्यक्रमहरू विश्व समुदायले प्रशंसासमेत गरेका छन् । जस्तो कि, दसौं पञ्चवर्षीय योजना, विकेन्द्रीकरण ऐन, जलवायु परिवर्तन नीति आदि । तर, कार्यान्वयनका क्रममा तर्जुमाको जस्तो उत्साह देखिन सकेको छैन । यसको प्रमुख कारण नेपालमा योजन अनुशासनको अभाव हो । समयमा बजेट पारित हुन नसक्नु, पारित भएपछि पनि कार्ययोजना समयमै तयार नहुनु, खरिद तथा निर्माण बन्दोबस्त समयमा नहुनु, योजना तथा कार्यक्रमप्रति सरोकारवाला सहयोगको मात्रा कम हुनु, संस्थागत क्षमता कम हुनु र सरकारी निकायको कार्यप्रणाली न्यून हुनु जस्ता कारणले धेरै राम्रा योजनाहरू समयमै कार्यान्वयन हुन सकेका छैनन् । जसबाट सरकारले गरेको लगानी पनि नतिजामूलक र सामयिक हुन सकेन । यसलाई अनुगमन तथा नियमन गर्ने संयन्त्रले पूर्व क्रियाशीलता देखाउन सकेन । विगतमा भएका कमजोरीहरूबाट शिक्षा लिने गरी अध्ययन, अनुसन्धान तथा मूल्यांकन पनि गर्न सकेनौं । जसका कारण नेपालमा कार्यान्वयनमा आएका आवधिक योजनामध्ये आठौं पञ्चवर्षीय योजनाबाहेक अरूले अपेक्षित उपलब्धि दिन सकेनन् । यी कुराहरूलाई ध्यानमा राखेर हालै तर्जुमा भई कार्यान्वयनमा रहेको १३औं त्रिवर्षीय योजनाले अनुसन्धान, मूल्यांकन तथा अनुगमनलाई विशेष महव दिने अठोट गरेको छ ।
० राष्ट्रिय योजना आयोगले अघि सारेका लक्ष्य पूरा नहुनु त आयोगको असफलता होइन र ?
– वास्तवमा योजना आयोग भनेको सरकारको प्राविधिक सल्लाहकार मात्र हो । जसले आवधिक तथा वार्षिक योजना र कार्यक्रमहरू वस्तुनिष्ठ रूपमा तयार गरी कार्यान्वयनका लागि नेपाल सरकारका विभिन्न क्षेत्रगत निकायलाई दिने गर्दछ । योजना तर्जुमाको अगुवाइ मात्र योजना आयोगले गर्ने हो । यसका विभिन्न समिति तथा उपसमितिहरूमा क्षेत्रगत मन्त्रालय तथा सचिवालयहरूको प्रमुख भूमिका रहने गर्दछ । योजना आयोगले त समष्टिगत रूपमा मुलुकको आर्थिक, सामाजिक अवस्थाको विश्लेषण गर्ने र सो अनुरूप स्रोत साधन विनियोजनका लागि रणनीति तथा प्राथमिकता तय गर्ने हो । यस अर्थमा योजना वास्तविक, वस्तुनिष्ठ र सान्दर्भिक बनाउन आयोगको महŒवपूर्ण भूमिका रहेता पनि कार्यान्वयनको सन्र्दभमा विषयगत मन्त्रालयले नेतृत्व लिने गर्छन् । उनीहरूले लिएको नेतृत्व कति सफल भयो भएन भनेर आवधिक रूपमा आयोगले समीक्षा गर्ने र परेका समस्याहरू फुकाउने जस्ता कार्यहरू गरिआएको छ । मलाई लाग्छ, आयोगले खेलेको भूमिका पूर्णतया सान्दर्भिक र प्रभावकारी छ । यसको मतलब यो होइन कि, यसभित्र सुधारका गुन्जायस नै छैनन् ।
० उसो भए आयोगले हावादारी योजना बनाउँछ भन्ने कुरा आरोप मात्र हो ?
– यो पूर्णतया आरोप मात्र हो । योजना तर्जुमाको सिलसिलामा आयोगले संयोजनकारी भूमिका मात्र निर्वाह गर्छ । तर्जुमाको सन्र्दभमा विभिन्न तप्का, वर्ग, तह, भूगोलका मानिसको संलग्नता रहन्छ किनकि आयोगले राष्ट्रिय योजना बनाउने हो । यसका लागि योजना आयोग गठन तथा सञ्चालन आदेश २०६७ ले स्पष्ट कार्यविधि र अधिकारसमेत उल्लेख गरेको छ । साथै, वार्षिक विकास कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा आवधिक योजनाले रणनीति तथा प्राथमिकताहरूलाई विशेष जोड दिई आयोजनाको वर्गीकरण गर्ने र सोही अनुरूप स्रोत, साधन विनियोजन गर्ने र समयमै कार्यक्रम स्वीकृत गर्ने वस्तुनिष्ठ आधार स्थापित गरेकाले योजना आयोगले गरेका काम हावादारी भयो भन्ने कुरा गलत र आग्रही छ ।
० नेपालले हालसम्म रेलमार्ग, सुरुङमार्ग, जलमार्ग जस्ता महŒवपूर्ण पूर्वाधारमा किन विकास गर्न सकेन ?
– नेपालको सन्र्दभमा यातायातका प्रमुख माध्यमहरू सडक तथा हवाई मार्ग नै हो । रेल तुलनात्मक रूपमा प्रारम्भिक रूपमा महँगो पर्छ । साथै, नेपालको भूधरातलको कारणले पनि रेलवेको विकास, विस्तार तत्काल गर्न सकिने सम्भावना छैन । तर, तराई तथा उपत्यकाका केही स्थानमा आमजनताको यातायातको रूपमा रेललाई विकास गर्न के गर्नुपर्छ भन्ने सन्दर्भमा सरकारले अध्ययन गरी केही क्षेत्रमा प्रारम्भिक काम गरिरहेको छ । सुरुङमार्ग नेपालको सन्र्दभमा निकै उपयुक्त यस कारणले हो कि नेपालको भूधरातल उवडखावड खालको छ । वातावरण संरक्षणका दृष्टिले पनि सुरुङ मार्ग फाइदाजनक हुनु सक्छ तर नेपालमा हालसम्म यसको प्रविधि प्रयोग भइसकेको छैन भने लागतका दृष्टिकोणमा पनि यो किफायती नहुन सक्छ । जलमार्गको कुरा गर्दा तराईका क्षेत्रमा रिभर लिंकेज प्रणाली अवलम्बन नगरी यसलाई अघि बढाउन सकिने सम्भावना छैन । साथै, यसको तल्लोतटीय फाइदा र भौगर्भिक तथा प्राविधिक उपयुक्तता पनि यसलाई असर पार्ने पक्ष हुन् । तर, यसको सीमित अध्ययन नेपाल सरकारले गरिरहेको छ ।
० पूर्वाधारको विकाससँग आर्थिक लक्ष्य जोडिन्छ, नेपालको आर्थिक वृद्धिदर कमजोर हुनुमा यो कारण देखिन्छ कि देखिँदैन ?
– हो, पूर्वाधार आर्थिक विकासको पनि पूर्वाधार हो । धेरै सडक बन्नुको मतलब स्थानीय कच्चा पदार्थ उपयोग र सेवावस्तुको गतिशीलता पनि बढ्नु हो । ठूला विद्युत् आयोजना बन्नुको मतलब त्यो आफैं पनि आर्थिक क्रियाशीलताको आधार हो । यसले उद्योग, व्यापार, कृषि, स्वाथ्य, पर्यटन जस्ता क्षेत्रलाई स्पष्टतः सहजीकरण गर्छ । यस अर्थ पूर्वाधार विकास एवं विस्तारले आर्थिक वृद्धि तथा विकासलाई प्रत्यक्ष प्रभाव पार्ने गर्दछ । नेपालको विकासको एजेन्डा पूर्वाधार केन्द्रित हुनुपर्छ । कतिपय अल्पविकसित मुलुकहरूको आज विकसित अवस्थामा पुग्नुको पछि पूर्वाधार क्षेत्रमा गरिएको व्यापक लगानी नै प्रमुख कारण हो । यस अर्थ हामीले पनि सन् २०२२ सम्ममा नेपाललाई अति कमविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न पूर्वाधार क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने आवश्यकता छ । योविना प्रतिवर्ष झन्डै साढे ४ लाखको दरमा रोजगारीको खोजीमा श्रम बजारमा प्रवेश गर्ने युवाहरूलाई उपयोग गर्न, बाँझो रहेको जग्गाको व्यावसायिक उपयोग गर्न, दैनिक रूपमा विनाश हुँदै गएको वन तथा प्राकृतिक स्रोतको संरक्षण सम्भव नै हुँदैन ।
० आयोगले के कस्ता नयाँ योजना अघि बढाउन लागेको छ ?
– आयोगले योजनासम्बन्धी दुई प्रकारका कामहरू गरिरहेको छ । पहिलो १३औं योजनाको विस्तृत दस्तावेजलाई अन्तिम रूप दिने र यस अनुरूपको आगामी वर्षको वार्षिक विकास कार्यक्रम तयार गर्ने र अर्को केही नीतिगत आधार तथा सम्बन्धहरू तयार गर्ने, जसले नेपालले स्थापित गरेको दीर्घकालीन लक्ष्यलाई पूरा गर्न र दिगो विकास गर्न सहयोग पुयाउँछ । जस्तो कि, सबैका लागि दिगो ऊर्जा कार्यक्रमको खाका तयार गर्दै छ, हरित अर्थतन्त्रको कार्यखाका तयार गर्दै छ, नेपालको दीर्घकालीन सोचअन्तर्गतको रणनीतिलाई अन्तिम रूप दिँदै छ । अनुगमन तथा मूल्यांकन दिग्दर्शन २०७० लाई अन्तिम रूपमा दिइसक्यो । यी केही उदाहरणहरू हुन् । अरू थुप्रै नीतिगत कार्यहरू आयोगले सम्पादन गरिरहेको छ । केहीमा विश्व तहबाट प्रशंसा पनि पाएका छौं । जस्तो कि, आयोगको नेतृत्वमा सन् २०१० देखि गरिएको जलवायु परिवर्तन र वातावरणीय नीति खाकाका लागि संयुक्त राष्ट्रसंघीय प्रणालीबाट गत १ नोभेम्बरमा ग्लोबल लिडरसिप अवार्ड पनि प्राप्त ग-यो ।
http://erajdhani.com/en/interview/2014-02-05-23-37-21/22338

Tuesday, February 4, 2014

१४ उद्योगमा अख्तियारद्वारा छानबिन

 प्राधिकरणद्वारा पाँच कर्मचारीलाई नसिहत
भीम गौतम/राजधानी

काठमाडौं, २१ माघ । सर्वसाधारणले चर्को लोडसेडिङ भोगिरहेको बेला नेपाल विद्युत् प्राधिकरणले विराटनगर र आसपासका १४ उद्योगमा २४ घन्टा बिजुली उपलब्ध गराएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ ।
कर्मचारीहरूले आर्थिक प्रलोभनमा सर्वसाधारण जनतालाई लोडसेडिङको भार पर्ने गरी १४ ठूला उद्योगलाई डेडिकेटेड फिडरमार्फत बिजुली उपलब्ध गराएको भन्दै अख्तियारले छानबिन अघि बढाएको हो । ‘१४ उद्योगमा कसरी २४ घन्टा नै बिजुली उपलब्ध गरायो भनेर अख्तियारले ती उद्योगमा बिजुली वितरणबारे छानबिन अघि बढाएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘अख्तियारले ती १४ उद्योगकै फाइल प्राधिकरणसँग लिएर छानबिन अघि बढाइसकेको छ ।’ विराटनगर क्षेत्रका १४ उद्योगलाई अवैधानिक रूपमा २४ घन्टा बिजुली उपलब्ध गराएको भन्दै प्राधिकरणको आलोचना हुँदै आएको छ ।
प्राधिकरण स्रोतका अनुसार अख्तियारले धनकुटा वितरण केन्द्रअन्तर्गतको निगाले सिमेन्ट, इटहरीअन्तर्गतको रिलायन्स स्पिनिङ मिल्स, विराटनगरअन्तर्गतको बाबा जुट मिल, रघुपति जुट, हुलास वायर इन्डस्ट्रिज, कमला रोलिङ र शिवम प्लास्टिक इन्डस्ट्रिज तथा दुहबीअन्तर्गतको मैनबत्ती स्टिल इन्डस्ट्रिज, एसियन थाई फुड्स, अरिहन्त मल्टिफाइबर, अरिहन्त पोलिप्याक, पशुपति सिमप्याक र रिलायन्स स्पिनिङ मिल्सलगायतका उद्योगमा दिइएको डेडिकेटेड फिडरबारे छानबिन प्रक्रिया अघि बढाएको हो ।
डेडिकेटेड फिडरमार्फत दिइएको बिजुलीमा प्राधिकरणका उच्च अधिकारीहरूको समेत संलग्नता भएको भन्दै अख्तियारले तत्कालीन अवस्थाका सबै निर्णयहरू र यसबारेका प्रक्रियाबारे समेत प्राधिकरणसँग पत्र लेखी मागेको छ । १४ उद्योगमा डेडिकेटेड फिडरमार्फत बिजुली दिँदा बदमासी भएको भन्दै ऊर्जा मन्त्रालयले समेत विद्युत् विकास विभागका सुन्दरश्याम श्रेष्ठको संयोजकत्वमा एक समितिसमेत गठन गरेको थियो । समितिले फिडर वितरणमा प्रक्रियागत त्रुटि औंल्याएपछि प्राधिकरणले तत्कालीन प्राधिकरण विराटनगर क्षेत्रीय प्रमुख सुधीर सिंहसहित पाँच कर्मचारीलाई कारबाहीसमेत गरिएको छ ।
प्राधिकरणका अनुसार सिंह, विराटनगर प्रमुख सतीशकुमार कर्ण, इटहरीका प्रमुख मनोजकुमार यादव, धनकुटा प्रमुख श्यामप्रकाश सिंह र दुहबी प्रमुख चुटुनकुमार श्रीवास्वतलाई नसिहत दिइएको छ । अख्तियारले समेत यी कर्मचारीका साथै तत्कालीन प्राधिकरणका उच्च अधिकारीहरूबारे समेत छानबिन अघि बढाएको जनाएको छ ।
डलर पीपीएबारे पनि छानबिन

काठमाडौं/रास– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरणले विभिन्न कम्पनीसँग गरिएको विद्युत् खरिद सम्झौता (पीपीए) बारे समेत छानबिन अघि बढाएको छ ।
अख्तियार स्रोतका अनुसार प्राधिकरणले डलरमा पीपीए गरिएको बलेफी, तल्लो सोलु, लिखु–४, लोयर मस्याङ्दीलगायतका जलविद्युत् आयोजनाबारे छानबिन अघि बढाइएको हो । त्यसैगरी, डलरमा पीपीए गरेर निर्माण सम्पन्न भएका खिम्ती र भोटेकोसी जलविद्युत् आयोजनाबारे समेत अख्तियारले छानबिन गरिरहेको छ । अख्तियारले प्राधिकरणसँग यी आयोजनासँग भएका पीपीए निर्णयको प्रक्रिया, प्राधिकरण बोर्ड बैठकको निर्णयलगायतबारे कागजपत्र समेत मगाएको छ ।
डलरमा पीपीए गर्दा आर्थिक चलखेलको आशंका गर्दै अख्तियारले छानबिन अघि बढाएको एक प्रतिनिधिले जानकारी दिए । ‘डलरमा पीपीए गर्दा आर्थिक चलखेल भएको सूचनापछि ती आयोजनासँग प्राधिकरणले गरेको पीपीएबारे छानबिन अघि बढाएको हो,’ ती अधिकारीले भने ।
http://erajdhani.com/en/business/22240-2014-02-03-23-37-02