Wednesday, February 19, 2014

राहुघाटको परामर्श दातामा वाकपोस नियुक्त

राजधानी समाचारदाता

काठमाडौं, ७ फागुन । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ३२ मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको इलेक्ट्रोमेकानिकल र ट्रान्समिसन लाइनको परामर्शदाता पनि वाकपोसलाई नियुक्त गर्ने निर्णय गरेको छ ।
सिभिलको समेत परामर्शदाता रहेको वाकपोसलाई मंगलबार बसेको बैठकले इलेक्ट्रोमेकानिकल र ट्रान्समिसनको परामर्शदाता नियुक्त गर्ने निर्णय गरेको हो । आयोजनाका लागि ऋण सहयोग गरेको एक्जिम बैंक अफ भारत र भारतीय राजदूतवासको समेत पत्रको आधारमा दुवैमा परामर्शदाताका रूपमा वाकपोसलाई नियुक्त गरिएको प्राधिकरण सञ्चालक समितिका एक सदस्यले जानकारी दिए ।
त्यसैगरी बैठकले ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको भर्टिकल लाइन क्रर्किट गर्ने निर्णय गरेको छ । स्टिल गर्ने कि क्रर्किट गर्ने भन्ने दुई अप्सन रहेकामा बैठकले क्रर्किट गर्ने निर्णय गरेको हो । चमेलियाको सुरुङ साँघुरिएपछि समस्या आएको थियो । विज्ञहरूको सिफारिसका आधारमा सो निर्णय गरिएको ती सञ्चालक सदस्यले जानकारी दिए ।
त्यसैगरी बैठकले चीन, भारत र थाइल्यान्डका कम्पनीबाट ल्याइएका ट्रान्सफर्मरको आर्बिटेसनका लागि विभिन्न व्यक्तिलाई नियुक्ति गर्नुका साथै चमेलिया, राहुघाट र ६० मेगावाटको त्रिशूली–३ ‘ए’ आयोजनामा ठेकेदार र प्राधिकरणबीच रहेको विवाद मध्यस्थताका लागि प्राधिकरणका प्रतिनिधिसमेत छनोट गरेको छ । बैठकले प्राधिकरणमा अवकाश कोष परिचालनबारेको कार्यविधि समेत पारित गरेको छ । प्राधिकरण सञ्चालक सदस्य सन्तोषनारायण श्रेष्ठको संयोजकत्वमा रहेको समितिले कार्यविधि तयार पारेको थियो ।
http://erajdhani.com/en/business/22998-2014-02-18-23-42-46

No comments: