भीम गौतम/राजधानी
काठमाडौं, २९ माघ । काठमाडौ सतुंगलका सुमन नेपाल आफ्नो नयाँ घरमा मिटर जडानका लागि दुई महिनादेखि नेपाल विद्युत् प्राधिकरणमा धाइरहेका छन् । तर, मिटर लिने उनको प्रयास अहिलेसम्म पनि सफल हुन सकेको छैन । नेपाल विद्युत् प्राधिकरणका अनुसार, अझै तीन महिना ग्राहकले बिजुली मिटर पाउने अवस्था छैन ।
झिलिमिलीका साथ नयाँ घरमा प्रवेश गर्ने उनको सपना मिटर अभावकै कारण अधुरो भएको छ । ‘आफ्नो घरमा मिटर राख्न चाहेमा पनि नपाउनु, यो कस्तो विडम्बना ’ नेपालले भने, ‘सरकारले हामी सर्वसाधारणलाई बिजुलीको मिटरसमेत दिन सक्दैन, यो भन्दा लाजमर्दा कुरा के होला ?’
उनी मात्र होइन, प्राधिकरणमा मिटर पाउनका लागि धाउनेहरूको संख्या धेरै छ । तीन महिना अघिदेखि प्राधिकरणसँग एउटा पनि मिटर नभएपछि बिजुली मिटरका लागि धाउनेको संख्या बढेको हो ।
प्राधिकरणका उच्च अधिकारीहरूलाई गुहार्दा समेत बिजुली मिटर नपाएपछि पहुँचवाला ग्राहकहरू भने प्रधानमन्त्री कार्यालयदेखि ऊर्जा मन्त्रालयसम्म पनि पुग्न थालेका छन् । ठूला–ठूला आयोजनाका लागि प्रधानमन्त्री तथा ऊर्जामन्त्रीसम्म पुगेका पहुँचवाला ग्राहकहरूलाई ती कार्यालयमा बस्ने कर्मचारीहरूले प्राधिकरणका अधिकारीहरूलाई मिटर दिनका लागि फोन र अनुरोधसमेत गर्ने गरेका छन् । तर, कुनै पनि ग्राहकले मिटर पाएका छैनन् ।
‘मिटरको अभाव भएपछि माथिल्लो तहबाट समेत एउटा मिटरका लागि सोर्सफोर्स आउन थालेको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘कहिलेकाहीँ त प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयबाट बोलेको भन्दै फोनसमेत गर्न थालेका छन् तर हामीले एउटा पनि मिटर दिन सक्ने अवस्था छैन ।’
प्राधिकरणका अनुसार, प्रत्येक वर्ष २ लाख मिटरको आवश्यकता पर्दछ तर ट्रान्सफर्मर प्रकरण चर्केका कारण गत वर्ष प्राधिकरणले मिटर नै खरिद गरेन । ट्रान्सफर्मर प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केन्द्रीय भण्डारमा कार्यरत इन्जिनियर नारायण चौधरी र सहायक सरोज श्रेष्ठ पक्राउ गरेपछि हेटौंडास्थित प्राधिकरण केन्द्रीय भण्डारसमेत बन्द भयो । भण्डारभित्र रहेको २४ हजार मिटर गत कात्तिकमा मात्र चौधरी धरौटीमा रिहा भएर बरबुझारथपछि ग्राहकलाई बाँडिए । ३० हजार मिटर माग रहेकोमा बल्ल २४ हजार मिटर बाँडिए । अहिले त प्राधिकरणमा देशभरिका ९० केन्द्रबाट करिब १ लाख मिटर माग भइसकेको छ ।
विशेषगरी, प्राधिकरणका कार्यकारी निर्देशक अर्जुन कार्कीले २५ दशमलव शून्य ४ प्रतिशत रहेको चुहावट १ दशमलव ५ प्रतिशत घटाउने लक्ष्य राखिएपछि पाँचओटै विकास क्षेत्रमा चुहावट नियन्त्रण अभियान बढ्यो । अभियानपछि देशभरबाट ३० हजारभन्दा बढी मिटरको मागसमेत भएको प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।
गत वर्ष मिटर खरिद नगरेको प्राधिकरणले अहिले भने बल्ल प्रक्रिया अघि बढाएको छ । २ लाख २० हजार मिटर खरिद गर्ने प्रक्रियामा रहेको प्राधिकरणले ३ जनवरीमा खोलेको बोलपत्रमा मिडिल साउथ इलेक्ट्रिक चीन र झेजियाङ चिन्ट स्टुमेन्ट मिटर कम्पनीले खरिदका लागि आशय जनाएका छन् । एउटा कम्पनी छनोट अन्तिम चरणमा रहेको र आगामी तीन महिनाभित्र मात्र मिटर नेपाल आइपुग्ने प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका एक अधिकारीले जानकारी दिए । तीन महिनाभित्र १ लाख मिटर आइपुग्ने तथा त्यसपछिका तीन/तीन महिनामा दुईपटक ६०/६० हजार मिटर आउनेछन् । अर्को वर्षको अक्टुबरमा फेरि मिटर किन्ने तयारीसमेत प्राधिकरणले अघि बढाएको छ ।
‘एक वर्ष खरिद नहुँदा अहिले यस्तो मिटर चरम अभाव छ, अभाव हटाउन बिग्रेका मिटरहरूको मर्मत गरेर तत्कालीन समस्या समाधान गर्न भनेका छां तर मिटर अभावको चर्को समस्या छ,’ ती अधिकारीले भने ।
‘एक वर्ष खरिद नहुँदा अहिले यस्तो मिटर चरम अभाव छ, अभाव हटाउन बिग्रेका मिटरहरूको मर्मत गरेर तत्कालीन समस्या समाधान गर्न भनेका छां तर मिटर अभावको चर्को समस्या छ,’ ती अधिकारीले भने ।
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22661-2014-02-12-00-14-36
No comments:
Post a Comment