Sunday, February 16, 2014

ट्रान्सफर्मर प्रकरणले ट्रान्सफर्मर प्रकरणले उपकार्यकारी निर्देशक तर्सेपछि...

भीम गौतम/राजधानी
काठमाडौं, ४ फागुन । वीरेन्द्र पाठक नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक हुन् । पदीय हिसाबले प्राधिकरणभित्रका कुनै निर्देशनालयको उपकार्यकारी निर्देशक बनेर दिनभरि व्यस्त हुनुपर्ने व्यक्तिभित्र उनी पनि पर्छन् । तर विडम्बना, हिजोआज पाठक बिहान हाजिर गरेर दिनभरि पत्रिका पढ्छन् र घर फर्कन्छन् ।
विनाकाम र विनाजिम्मेवारी उनले दिन बिताउन थालेको चार महिना नाघिसकेको छ । पाठक आयोजना विकास विभागको निर्देशकको कोठामा दिनभरि बसेर फर्कने गरेको तथा काम नै नगरेपछि के गर्ने भन्ने समस्या प्राधिकरणमा परेको एक उच्च अधिकारीले जानकारी दिए । ‘काम नै गर्न नमानेपछि उनले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने हो,’ ती अधिकारीले राजधानीसँग भने, ‘प्राधिकरण व्यवस्थापनले पनि उनलाई जिम्मेवारी नलिएमा के गर्ने भन्ने निर्णय गर्नुपर्ने हो, तर केही गर्न सकेको छैन ।’
प्राधिकरणभित्र गुणस्तरहीन ट्रान्सफर्मर प्रकरणबाट तर्सिएकै कारण जिम्मेवारी लिन नमानेर र प्राधिकरण व्यवस्थापनले उनलाई विश्वस्त पारेर दिन नसकेकै कारण उनी यसरी भूमिकाविहीन भएका हुन् । उपकार्यकारी निर्देशकको भूमिका र शक्ति ठूलो हुने भए पनि कुनै डकुमेन्टमा सही गरेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुग्नुपर्ने त्रासकै कारण उनी अहिले कार्यकारी निर्देशकको सचिवालयमा थन्किएका छन् ।
२०६४ सालदेखि ०६९ सालसम्मको ट्रान्सफर्मर प्रकरणमा निरीक्षण गर्ने, टेन्डर डकुमेन्ट बनाउने, भुक्तानी दिनेदेखि भण्डार गर्नेसम्मलाई अख्तियारले दोषी देखाउँदै पक्राउ गरेर विशेष अदालतमा मुद्दा दायर गरेपछि त्यसबाट पाठक आफंै काम गर्न नमानेर भूमिकाविहीन भएका हुन् ।
प्राधिकरणमा मात्र पूर्वकार्यकारी निर्देशकसहित ४५ जनाले अहिले अख्तियारको मुद्दा खेपिरहेका छन् । गत कात्तिकमा कार्यकारी निर्देशक अर्जुन कार्कीले उनलाई सचिवालयमा तानेका थिए ।
‘ट्रान्सफर्मर प्रकरण चर्केपछि काम गर्दा सही गर्नुपर्ने र त्यसैको कारण अख्तियारमा पुग्नुपर्ने भन्दै सही गर्न नमानेपछि उपकार्यकारी निर्देशकलाई समेत सचिवालयमा ल्याइएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘बिहान आएर हाजिर गरेपछि दिनभरि पत्रिका पढेर बेलुका फेरि हाजिर गरेर फर्कनुहुन्छ, केही काम गर्नुहुन्न, यस्तो व्यक्तिले त राजीनामा दिएकै जाति हुन्छ ।’ कार्यकारी निर्देशकको सचिवालयमा रहेका अष्टरत्न शाक्य र ज्ञानेन्द्र कायस्थलाई कामको जिम्मेवारी दिइए पनि पाठकलाई कार्यकारी निर्देशकले कुनै काम र जिम्मेवारी दिइएको छैन ।
आठ महिनापछि अवकाश पाउन लागेका पाठक आफैंले कुनै पनि काम गर्न नमानेका कारण जिम्मेवारीविहीन भए पनि प्राधिकरणका कार्यकारी निर्देशक कार्कीले समेत उनलाई काम लगाउन नसकेका हुन् । कुनै डकुमेन्टमा सही गर्नेबित्तिकै अख्तियारको मुद्दा खेप्नुपर्ने भन्दै तर्सिएका उनले हेटौंडास्थित वर्कसपलाई ट्रान्सफर्मर परीक्षण गर्न सक्ने आधुनिक वर्कसपको टेन्डर डकुमेन्टमा सही गर्नसमेत नमानेर बिदा लिएपछि तत्कालीन ऊर्जामन्त्री उमाकान्त झाले तुरुन्तै टेन्डर आह्वान गर्न र नगरे राजीनामा दिन दबाब दिएका थिए ।
‘मन्त्री उमाकान्त झाले समेत टेन्डर डकुमेन्टमा सही गर्न नमानेपछि कि राजीनामा दिन कि काममा फर्कन निर्देशन दिएपछि १० दिनपछि बल्ल आह्वान गरेका थिए,’ प्राधिकरणका एक कर्मचारीले भने, ‘अहिले पनि प्राधिकरणका कार्यकारी निर्देशक बिदामा बसेर निमित्त कार्यकारी दिनुपर्ने भए पनि त्यो जिम्मेवारी लिनुपर्ला भनेर पहिल्यै बिदा लिने गरेका छन् ।’
http://erajdhani.com/en/component/content/article/40-2013-01-07-17-38-33/22866-2014-02-16-00-21-43

No comments: