भीम गौतम/काठमाडौं
नेपाल विद्युत् प्राधिकरणले ३ सय मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सुरु गरेको छ । आगामी नौ वर्षभित्र आयोजनाको निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित विस्तृत अध्ययन सुरु भएको हो । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको मारमा सर्वसाधारण परिरहेका बेला प्राधिकरणले यो आयोजनाको विस्तृत अध्ययन अघि बढाउन लागेको छ । ‘विस्तृत अध्ययनका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको छ,’ आयोजनाका निर्देशक लीलानाथ भट्टराईले भने, ‘प्राधिकरणले अहिले सम्भाव्यता अध्ययनको अपग्रेड, डिटेल इन्जिनियर, विडिङ डकुमेन्ट निर्माण, वातावरणीय, सामाजिक अध्ययन र पुनर्बासको व्यवस्थापनलगायतको विस्तृत अध्ययन अघि बढाउन लागेका छां ।’ उनका अनुसार, परामर्शदाता नियुक्तिका लागि समेत प्रक्रिया अघि बढाइएको छ । प्राधिकरणका अनुसार आगामी सन् २०१६ को अन्त्यसम्ममा विस्तृत अध्ययन सकेर सन् २०१७ भित्र निर्माण सुरु गरे ६ वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । ‘हाम्रो लक्ष्य सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने भन्ने नै छ,’ निर्देशक भट्टराईले भने, ‘अति आकर्षक आयोजना भएकाले यस आयोजनाको विस्तृत अध्ययन गरेर अघि बढाउनका लागि प्राधिकरण अघि बढेको हो ।’ ओखलढुंगा र खोटाङ जिल्लाको बीचमा पर्ने सो आयोजनाको लागत करिब १ खर्ब रुपैयाँ रहेको छ । सन् १९९८ मा भएको सम्भाव्यता अध्ययनका क्रममा यसको लागत करिब ७० अर्ब अनुमान गरिएको थियो । ७५ घरधुरी मात्र विस्थापित हुने सो आयोजनालाई पूर्वाञ्चल क्षेत्रको जलविद्युत् प्रणाली सन्तुलन कायम राख्न सकिने आयोजनाका रूपमा लिइन्छ । लोडसेन्टर नजिक रहेको सो आयोजनामा मोटरबाटोलगायतका पूर्वाधारहरू पुगिसकेकोले छिट्टै र समयमै बन्ने आयोजनाको रूपमा लिइने गरिन्छ । जिओलोजिकल र जिओटेक्निकल अनुसन्धान, टोपोग्राफिकल म्यापिङ, पावर इभ्यालुसन, निर्माण योजना तालिका, आर्थिक/वित्तीय विश्लेषण र लिडर सर्भेलगायतबारे आयोजनाले थप अध्ययन गर्न लागेको छ । सो आयोजनाका लागि सरकारले कोरिया सरकारलाई अनुरोधसमेत गरेको थियो । तर, अहिले एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा आयोजनाको विस्तृत अध्ययन अघि बढेको हो । आयोजनाको सम्भाव्यता अध्ययन भएको १६ वर्ष बितिसकेको छ । दूधकोसी सप्तकोसीको सहायक नदी हो । सो सम्भाव्यता अध्ययनले प्रतिकिलोबाट २३ सय डलर पर्ने देखाएको छ । विद्युत् विकास विभागले समेत ११ सय १० मेगावाटको सुनकोसी दोस्रो र ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलविद्युत् आयोजनाको समेत विस्तृत अध्ययन अघि बढाउन लागेको छ । सरकारले विकास समितिमार्फत ६ सय मेगावाटको बूढीगण्डकी र लगानी बोर्डमार्फत ७ सय ५० मेगावाटको पश्चिम सेतीसमेत अघि बढाउन लागेको छ । यी सबै जलाशययुक्त आयोजना हुन् । कुलेखानी पहिलो र दोस्रो गरी ९२ मेगावाटका मात्र जलाशययुक्त मात्र विद्युत् उत्पादन हुने तथा अन्य नदीप्रवाहमा आधारित (रन अफ द रिभर) जलविद्युत् आयोजना छन् । जलविद्युत्को कुल क्षमता ७ सय मेगावाट भए पनि अहिले हिउँदमा ३ सय मेगावाट मात्र विद्युत् उत्पादन हुँदै आएको छ । जसका कारण दैनिक १२ घन्टा लोडसेडिङ भएको छ । जलाशययुक्त आयोजनाकै अभावमा लोडसेडिङ बढेकाले प्राधिकरणले जलाशययुक्त आयोजनालाई महव दिएको जनाएको छ ।
http://erajdhani.com/en/business/22789-2014-02-14-23-39-32
|
Saturday, February 15, 2014
दूधकोसी जलाशयको विस्तृत अध्ययन
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment