राष्ट्रिय गौरवको आयोजना घोषणा गर्न माग
भीम गौतम/राजधानी
काठमाडौं, २८ माघ । काभ्रे र रामेछापको सिमानामा बन्ने ५ सय ३६ मेगावाटको सुनकोसी तेस्रो जलासययुक्त जलविद्युत् आयोजना बनाउन दुवै जिल्लाका बासिन्दा सक्रिय भएका छन् । काठमाडौंबाट ६० किलोमिटर नजिक रहेको सो आयोजना समयमै बनाउन र त्यसका लागि सहजीकरणका लागि उनीहरू सक्रिय भएका हुन् ।
आइतबारदेखि जलासययुक्त आयोजनाका लागि सहयोग र सहजीकरणका लागि काठमाडौंमा बसोबास गर्ने अगुवासँग छलफल सुरु गरेका दुई जिल्लाका बासिन्दाले यसलाई अघि बढाउन राजनीति नेतृत्व, सभासद्, पूर्वसभासद्लगायतका साथै स्थानीयवासीसँग छलफल र अन्तरक्रिया अघि बढाउने बताए । उनीहरूले काठमाडौं उपत्यकासँग नजिक रहेकामध्ये सबैभन्दा कम चुनौती रहेको आयोजना सुनकोसी तेस्रो भन्दै उनीहरूले यसलाई सरकारले राष्ट्रिय गौरवको आयोजना माग गरेका छन् ।
काभ्रे र रामेछापका सभासद् तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिको सहभागितामा सुरु भएको छलफलमा सहभागीले नेपालको आर्थिक समृद्धि तथा भविष्यसँग जोडिएको आयोजना भएकाले सबैले आयोजना अघि बढाउनका लागि सहजीकरण गर्ने बताए ।
‘सुनकोसी तेस्रो जलविद्युत् आयोजना बनाउनका लागि हामी जनताको तर्फबाट र विभिन्न क्षेत्रबाट सबै किसिमको सहयोग गर्न तयार छौं,’ काभ्रे क्षेत्र नम्बर–१ का सभासद् तीर्थ लामाले भने, ‘आयोजना छिटो बनाउनका लागि संसददेखि राष्ट्रिय योजना आयोगसम्मलाई झकझकाउँछौं ।’
अर्का रामेछाप क्षेत्र नम्बर–२ का सभासद् श्यामकुमार श्रेष्ठले आयोजना छिटो अघि बढाउनका लागि सामूहिक रूपमा दबाब दिने बताउँदै रामेछाप र काभ्रेका जनता आयोजना बनाउन एकजुट भएर अघि बढ्ने बताए ।
दुवै जिल्लाका सबै मिलेर आयोजना बनाउनका लागि विभिन्न छलफल र अन्तरक्रिया अघि बढ्नेभन्दै समन्वयका लागि भेलाले लालध्वज लामा, लेखराज गौतम, सलामसिंह लामा, जयराज भण्डारी, रामबहादुर लामा, जितराम लामा, रञ्जित तामाङ, टंक गौतमलगायत सहभागी समन्वय समितिसमेत गठन गरिएको छ । समन्वय समितिले बृहत् भेला गरी आयोजना अघि बढाउनका लागि उचित वातावरण निर्माणका साथै राष्ट्रिय गौरवको आयोजना बनाउनका लागि सहयोग गर्ने लेखराज गौतमले जानकारी दिए । छलफलमा चिलिमे जलविद्युत् कम्पनीका प्रमुख कुलमान घिसिङले सुनकोसी दोस्रो, तेस्रोलगायतका आयोजना बनेपछि दोलालघाटसम्म भारतबाट पानी जहाजसमेत आउन सक्ने अवस्था रहेको बताउँदै आयोजना अघि बढाउँदा जलविद्युत् उत्पादनका साथै पर्यटकीय क्षेत्र निर्माणलगायतमा सहयोग पुग्ने बताए ।
नेपाल विद्युत् प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) ले सार्वजनिक गरेको १० उत्कृष्ट जलासययुक्त आयोजनामध्ये एक सुनकोसी तेस्रोको एसियाली विकास बैंकको सहयोगमा विद्युत् विकास विभागले विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारसमेत गर्न लागेको छ । विभागले सन् २०१४ बाट सुरु गर्न लागेको सो सुनकोसी तेस्रो आयोजना सन् १९८३ मै पूर्वसम्भावना अध्ययन गरे पनि त्यसपछि अघि बढ्न सकेको थिएन । विभागले डीपीआर सुरु गर्न लागेपछि स्थानीयवासी खुसीसमेत भएका छन् ।
दुई वर्षभित्र डीपीआर सकेर निर्माण कार्य तीव्र गतिमा अगाडि बढाउन सके सन् २०२१ भित्रै आयोजनाको निर्माण पूरा गर्न सकिने अवस्था रहेको सोे आयोजना जलासययुक्त आयोजनाको अभावमा लोडसेडिङको समस्या भयावह भइरहेका बेला उपत्यकाको लोड धान्न उपयुक्त आयोजनाका रूपमा हेरिएको छ । प्राधिकरणका अनुसार देशभरि खपत हुने विद्युत्मध्ये काठमाडौंलगायत मध्यमाञ्चल विकास क्षेत्रले करिब ५० प्रतिशत विद्युत् खपत गर्ने गरेको छ ।
डेढ खर्ब रुपैयाँ लागत रहेको सो आयोजनाबाट १६ सय घरधुरी डुबानमा पर्ने भए पनि बूढीगण्डकी आयोजनाको तुलनामा कम घर डुबानमा पर्छन् । उनीहरूलाई पा“चखाल, तिमाल र कोसीपारि क्षेत्रमा पुनस्थापित गर्न सकिने आयोजना सम्भाव्यता अध्ययनबाट देखिएको छ ।
आयोजना सम्पन्न भएपछि कोसीपारि, तिमालका क्षेत्र सेटलाइट सहरको रूपमा विकास हुने सम्भावना छ । ¥याङ्खिटङ, फिसिङ, सुन्दर होटलहरू निर्माणलगायत गरेर तिमाल, कोसीपारि र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलका रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना छ ।
http://erajdhani.com/en/business/22586-2014-02-10-23-55-56
No comments:
Post a Comment