Friday, February 21, 2014

प्राधिकरणका थप चार कर्मचारी हिरासतमा


राजधानी समाचारदाता

काठमाडौं, ९ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ट्रान्सफर्मर खरिदमा अनियमितता गरी भ्रष्टाचार गरेको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका थप चार कर्मचारीलाई हिरासतमा लिएको छ ।
आर्थिक वर्ष २०६६/०६७ को लट नम्बर–१४ मा चीनको सिचुवान डङफङ ट्रान्सफर्मर कम्पनी लिमिटेडद्वारा खरिद गरिएका ५ सय ७३ थान ट्रान्सफर्मर प्रकरणमा उनीहरूलाई अख्तियारले हिरासतमा लिएको हो । प्राधिकरणका तत्कालीन प्रबन्धक कैलाशप्रसाद अटल, तत्कालीन सहायक प्रबन्धक सुरेन्द्रप्रसाद पनेरू, तत्कालीन भण्डारप्रमुख नारायणप्रसाद चौधरी र तत्कालीन लेखा अधिकृत सुरेशकुमार कटुवाललाई बिहीबार हिरासतमा लिएको अख्तियारका प्रवक्ता श्रीधर सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । चारैजनाविरुद्ध हुबेई सनलाइट चीनमार्फत खरिद गरिएको ट्रान्सफर्मर प्रकरणमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरू धरौटीमा रिहा भएका थिए । सो मुद्दा विचाराधीन अवस्थामा छ ।
सिचुवानमार्फत खरिद ट्रान्सफर्मर प्रकरणमा ५ फागुनमा अख्तियारले प्राधिकरण कार्यकारी निर्देशक सचिवालयका निर्देशक अष्टरत्न शाक्य, सहनिर्देशक डिल्लीरमण दाहाल र उपप्रबन्धक त्रिपुरारीप्रसाद सिंहलाई हिरासतमा लिएको थियो । यसअघि, तीन ट्रान्सफर्मर खरिद प्रकरणमा करिब १ अर्ब रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा ४६ जनाविरुद्ध दायर गरिसकेको छ ।
http://www.erajdhani.com/en/business/23109-2014-02-20-23-58-41

No comments: