Thursday, September 4, 2014

सीमान्तकृतलाई निःशुल्क विजुली जडान

भीम गौतम\राजधानी
काठमाडौं, १८ भदौ । नेपाल विद्युत प्राधिकरणले सीमान्तकृत समुदायलाई निःशुल्क विजुली जडान गर्ने भएको छ ।
चालु आर्थिक बर्ष २०७१\०७२ का लागि आठ करोड रुपैयाँ बजेट बिनियोजन गरेर दलित, अति विपन्न लगायतका सीमान्तकृत समुदायलाई निःशुल्क विजुली जडान गर्ने भएको हो । प्राधिकरणको आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत सीमान्तकृतका लागि कार्यक्रम गर्न लागेको जनाएको छ ।
प्राधिकरणले वितरण लाइन विस्तार तथा मिटर जडान सहुलियत आयोजना अन्तर्गत देशभरिका सीमान्तकृत समुदायका लागि निःशुल्क विजुली जडान कार्यक्रम अघि सारिएको निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । ‘तारदेखि मिटर जडानसम्म प्राधिकरणले निःशुल्क रुपमा जडान गर्ने कार्यक्रम छ ।’–उनले भने–‘ ग्राहक तथा वितरण निर्देशानालय अन्तर्गतका आठ क्षेत्रीय कार्यालयहरुमा एक÷एक करोड रुपैया छुट्याएर कार्यक्रम अघि बढाउँछौ ।’ प्राधिकरणका अनुसार, आठ क्षेत्रीय कार्यालयले आफ्ना वितरण केन्द्रहरुको मागको आधारमा बजेट दिएर ती समुदायमा निःशुल्क विजुली जडान गर्ने प्रबन्ध गर्नेछ ।
कार्यक्रम अन्तर्गत दलित, निरपेक्ष समुदायले पोल, तार, मिटर लगायतका विजुली जडानका लागि सबै उपकरण र आवश्यक खर्च प्राधिकरणले निःशुल्क रुपमा दिने योजना छ । प्राधिकरणका अनुसार, स्टील पोल राखिने क्षेत्रमा सरदर २५ हजार तथा सिमेन्ट पोल राखेको क्षेत्रमा सरदर १२ हजार रुपैयाँ बराबरका उपकरण सीमान्तकृत समुदायले निःशुल्क पाउनेछन् ।
प्राधिकरणले सीमान्तकृत जातजातीका सर्वसाधारणले निःशुल्क विजुली जडानको सुविधाका लागि ती समुदायसँग सम्बन्धित संघसंस्था तथा निकायमा समेत पत्र पठाएर अनुरोध गर्ने प्राधिकरणले जनाएको छ । ‘विजुली पुगेका वा पुग्न लागेका क्षेत्र तथा वस्तीहरुमा निःशुल्क रुपमा विजुली जडानका लागि प्राधिकरणले अभियान सञ्चालन गर्नेछ भने सम्बन्धित जातीका संघसंस्थामा समेत प्राधिकरणले पत्र पठाएर अनुरोध गर्नेछ ।’–निमित्त कार्यकारी निर्देशक पाण्डेले भने ।
प्राधिकरणसँग विद्युतीकरण उन्मुख दलित वस्तीहरु तथा ती समुदायबारे ऐकिन तथ्यांक भने छैन । यहीकरण प्राधिकरणसँग कतिलाई निःशुल्क वितरण गर्ने भन्ने ऐकिन लक्ष्य पनि छैन । प्राधिकरणले सीमान्तकृत समुदायबाट जति माग आएपनि उनीहरुलाई निःशुल्क रुपमा विजुली जडानका लागि पहल गर्ने प्राधिकरणले जनाएको छ । हाल प्राधिकरणसँग २८ लाख ग्राहक छन् भने झण्डै २५ लाख घरायासी छन् ।

No comments: