Thursday, September 25, 2014

दशैको मुखमा ६० हजार विजुली मिटर बाँडफाँड

–दशै अघिनै विजुली मिटर पाउने
भीम गौतम\राजधानी
काठमाडौं, ८ असोज । नेपाल विद्युत प्राधिकरणले दशैको मुखमा ६० हजार विजुली मिटर आफ्नो क्षेत्रीय कार्यालयहरुलाई बाँडफाँड गरेको छ ।
देशभरिबाट ५ लाख विजुली मिटर सर्वसाधारणले माग गरेर निवेदन दिएपनि हालै ६० हजार मिटर मात्र आईपुगेकोले प्राधिकरणले आठ क्षेत्रीय कार्यालयलाई  बाँडफाँड गरेको हो । अघिल्लो आर्थिक बर्षमा ट्रान्सफर्मर प्रकरण चर्केसँगै प्राधिकरण व्यवस्थापनले विजुली मिटर समेत खरिद नगरेपछि प्राधिकरणमा यसको हाहाकार मच्चिएको छ । मागभन्दा धेरै कम मिटर आएपछि प्राधिकरणले भागवण्डा लगाएर त्यो अनुसार वितरण गर्न केन्द्रीय भण्डार हेटौडालाई परिपत्र समेत गरेको छ ।
प्राधिकरण ग्राहक तथा वितरण निर्देशानालयका अनुसार, २७ लाख ग्राहक रहेको प्राधिकरणले विराटनगर क्षेत्रीय कार्यालयलाई ९ हजारका साथै काठमाडौ, जनकपुर, बुटबल र नेपालगञ्जलाई ८÷८ हजार, पोखरालाई ७ हजार तथा हेटौडा र अत्तरियालाई ६÷६ हजार सिंगल फेजका विजुली मिटर वितरणका लागि परिपत्र गरिएको हो । दशै सुरु हुनै लाग्दा ढिलो गरी बाँडफाँड गरिएपनि एक बर्षदेखि विजुलीको मिटर नपाएर अध्यारोमा बस्नुपर्ने वाध्यतामा रहेका सर्वसाधारणलाई भने यसले केही राहत दिएको छ । प्राधिकरणका एक अधिकारीका अनुसार, क्षेत्रीय कार्यालयले केन्द्रीय भण्डारमा तोकिएका विजुली मिटर लगेपछि क्षेत्रीय कार्यालयबाट जिल्ला जिल्लामा मिटर वितरण गरिनेछ ।
निर्देशानालय अन्तर्गतको जिन्सी व्यवस्थापन महाशाखाका उपप्रबन्धक नुतनदेव भट्टराईले प्राधिकरणले ग्राहकको आधारमा क्षेत्रीय कार्यालयहरुमा मिटर बाँडफाँड गरी परिपत्र गरिसकेकोले दशैअघिनै पाउने बताए ।
चीनको मिडिल साउन इलेक्ट्रिक कम्पनीमार्फत प्राधिकरणले २ लाख २० हजार मिटर नेपाल ल्याउन लागेको छ । प्रत्येक बर्ष २ लाख मिटर माग रहेपनि प्राधिकरणभित्र चर्केको ट्रान्सफर्मर प्रकरणस“गै प्राधिकरणले मिटर नकिन्दा देशभरिनै विजुली मिटरको अभाव समेत चर्केको थियो । प्राधिकरणका अनुसार देशभरका लागि ९० वितरण केन्द्रबाट तत्काल झन्डै ५ लाख बिजुली मिटरको माग आएको छ । मिटर नपाएपछि सर्वसाधारण ग्राहकले पहुँचको आधारमा प्रधानमन्त्री कार्यालयदेखि उर्जा मन्त्रालयका अधिकारीहरुलाई समेत विजुली मिटरको लागि सोर्सफोर्स लगाउने गरेका थिए तर मिटर अभावको समस्या प्राधिकरणले समाधान गर्न सकेको थिएन । ६० हजार मिटर आएपछि केही राहत भएपनि सबै ग्राहकले भने पाउनेछैनन् ।
गत फागुनमा चीनको मिडिल साउथसँग भएको सम्झौताअनुसार अब सेप्टेम्बरको अन्त्यमा १ लाख मिटर तथा नोभेम्बरको अन्त्यमा ६० हजार मिटर नेपाल आइपुग्ने प्राधिकरणले जनाएको छ । अहिले आउने मिटरबाट सर्वसाधारणको माग पूरा हुन नसक्ने भएपछि फेरि अर्को लट मिटर खरिद गर्ने प्रक्रिया समेत प्राधिकरणले अघि बढाईसकेको छ ।


No comments: