आजदेखि काठमाण्डौमा बैठक
भीम गौतम\राजधानी
काठमाडौं, २० साउन । बहुचर्चित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउनका लागि नेपाल र भारतले संयुक्त रुपमा कार्ययोजना बनाउने भएको छ ।
आज सोमबारदेखि काठमाडौमा हुन लागेको पञ्चेश्वर विकास प्राधिकरणको पहिलो बैठकले परियोजना अघि बढाउनका लागि कार्यायोजना बनाउन लागेको हो । २०५२ साल माघ २९ गते नेपाल र भारतबीच महाकाली सन्धीको क्रममा ६ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजना अघि बढाउने सहमति भएको थियो तर अघि बढ्न सकेको थिएन । डेढ महिना अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको क्रममा पञ्चेश्वरको कार्यादेश (टीवोआर) पारित भएसँगै प्राधिकरण गठन भएको हो ।
पञ्चेश्वर विकास प्राधिकरणको पहिलो बैठक आज सोमबारदेखि सुरु हुँदैछ ।’–पञ्चेश्वर परियोजना प्रमुख चिरञ्जीवी चटौतले भने–‘ दुई दिने बैठकले विशेष गरी आयोजना कसरी अघि बढाउने भन्ने कार्यायोजना तयार गर्नेछ । उनका अनुसार, बैठकमा नेपालको तर्फबाट उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री तथा भारतको तर्फबाट जलस्रोत सचिव आलोक रावले नेतृत्व गर्नेछन् । प्राधिकरणमा नेपाल र भारतबाट १०÷१० प्रतिनीधि छन् ।
प्रमुख चटौतका अनुसार, बैठकले पञ्चेश्वर आयोजनाको निर्माण कार्यतालिकाका साथै आयोजनाका लागि आवश्यक कर्मचारी व्यवस्थापनसहित लागत लगायतका विविध पक्षबारे छलफल हुनेछ ।
लामो समयदेखि अघि बढ्न नसकेको ६४ सय ८० मेगावाट जलविद्युत उत्पादन समेत गर्ने यो परियोजना एक बर्षभित्र सुरु गर्ने भारतीय प्रधानमन्त्री मोदीले आफ्नो नेपाल भ्रमणको क्रममा गरेका थिए ।
महाकाली सन्धीको क्रममा ६ महिनाभित्र विस्तृन अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरिसकेर अघि बढाउने उल्लेख भएपनि अघि बढ्न नसकेको यो परियोजना निर्धारित समयभित्रै सम्पन्न हुने दाबी उर्जा मन्त्रालयको छ । नेपाल र भारतले संयुक्त लगानीमा अघि बढ्ने आयोजना सुरुमा सम्झौता हुँदा सो आयोजनाको कुल उत्पादन ६४ सय ८० मेगावाटमध्ये नेपालले ३२ सय ४० मेगावाट पाउनेछ भने बाँकी भारतले पाउनेछ । प्राधिकरणको मुख्य कार्यालय महेन्द्रनगरमा स्थापना गर्ने दुवैबीच सहमति पनि भैसकेको छ । परियोजना सम्पन्न भएमा विद्युत, कार्बन व्यापार, मत्स्य पालन, सिञ्चाई लगायत गरी झण्डै ५३ दशमलब ४१ अर्ब रुपैया प्रत्येक बर्ष फाइदा हुने परियोजनाको दाबी छ ।
No comments:
Post a Comment