–उपाध्यक्ष रावलले बैठकमा पुगेर पीडीए नगर्न दबाब दिए
भीम गौतम\राजधानी
काठमाडौं, ३० भदौ । एमालेभित्रको आन्तरिक विवादको कारणले भारतीय कम्पनी जीएमआरसँग हुन लागेको बहुचर्चित आयोजना विकास सम्झौता (पीडीए) तत्कालका लागि रोकिएको छ ।
माथिल्लो कर्णाली जलविद्युत आयोजना प्रवद्र्धक जीएमआरसँगको सम्झौता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको क्रममा ४५ दिनभित्र अर्थात आज मंगलबारसम्ममा हुने समझदारी भएपनि तत्कालका लागि रोकिएको हो । सोमबार लगानी बोर्डले निर्णय गर्न नसकेपछि समयसीमाभित्र हुन नसकेको सो पीडीए कहिले हुने भन्ने अन्योलता बढेको छ ।
सम्झौता गर्ने अन्तिम समयमा आएर एमालेले पीडीए मस्यौदाका १४ बुँदा अस्पष्ट र सुधार गर्नुपर्ने बताएपछि सोमबारको लगानी बोर्डले समेत स्पष्ट निर्णय गर्न नसकेको हो । एमालेको तर्फबाट पीडीएमा गर्नुपर्ने शंसोधनको बुँदा लिएर एमाले उपाध्यक्ष भीम रावल लगानी बोर्डको बैठकमै पुगेका थिए । उनले बैठकमा भ्याट, ट्याक्स, सिञ्चाई असर लगायतका बुँदाहरु अस्पष्ट र शंसोधन गर्नुपर्ने बताएको बैठकमा सहभागी एक सदस्यले बताए । उनका अनुसार, बैठकमा प्रश्तुत भएर छलफलको क्रममा सहमति नजुटेपछि बोर्डले कुनै निर्णय गर्न नसक्दा कहिले टुंगो लगाउने भन्ने अन्योलता बढेको छ ।
आइतबारकै बोर्ड बैठकबाट पीडीए प्रस्ताव पारित गरेर समयसीमाभित्रै पीडीए गर्ने लक्ष्य बोर्डको थियो । त्यो असफल भएपनि सोमबारको बैठकबाट पारित गरेर मंगलबार मन्त्री परिषदबाट पारित गरी निर्धारित समयभित्रै पीडीए गर्ने लक्ष्य सरकारको थियो । मंगलबारनै प्रवद्र्धक कम्पनी जीएमआरसँग विवादित देखिएका बुँदाहरुमा पुनः सहमति गर्ने, बोर्ड बैठक बस्ने र मन्त्री परिषद बैठकबाट पारित गरेर सम्झौता हुने सम्भावना नरहेको एक सदस्यले जानकारी दिए ।
एमालेभित्र पीडीए गर्ने र नगर्नेबारे विवाद भएपछि सोमबारको एमाले पदाधिकारी बैठकले १४ बुँदाबारे थप शंसोधन र स्पष्ट गर्नुपर्ने भन्दै यथास्थितीमा पीडीए गर्न नहुने निर्णय गरेको छ । एमाले सचिव पृथ्वी सुब्बा गुरुङले पदाधिकारी बैठकले पीडीए मस्यौदामा भएका केही बुँदा शंसोधन र सुधार गर्नुपर्ने कारण यथास्थितीमा राष्ट्रघात र जनघात हुने गरी पीडीए गर्न नहुने निर्णय गरेका जानकारी दिए । एमालेभित्र रावल तत्काल पीडीए गर्न नहुने पक्षमा देखिएपनि अन्य केपी ओली निकट नेताहरु समयसीमाभित्रै पीडीए गर्नुपर्ने पक्षमा उभिएका थिए । लगानी बोर्डले पटक पटक मस्यौदा तयार गरेर त्यसमा शंसोधन, परिमार्जन गरेपनि अन्तिम समयमा आएर विवाद गर्न नहुने पक्षमा एमालेका केही नेताहरु उभिएपनि रावल लगायतका नेता भने सबै कुरा स्पष्ट नपारी पीडीए गर्दा राष्ट्रघात हुने भन्दै विपक्षीमा उभिएका थिए । उर्जा मन्त्री राधा ज्ञवालीले भने बैठकमा सौहार्दपूर्ण वातावरणमा पीडीएबारे छलफल भएको जानकारी दिइन् । ‘एमाले नेता रावल समेत आएर केही पक्षबारे प्रष्ट हुन खोज्नुभयो, यसबारे विस्तृत रुपमा सकारात्मक तरिकाले छलफल भयो ।’–उनले भनिन्–‘समयसीमा भन्दा पनि राष्ट्रको हितमा हुने गरी निर्णय गर्ने हो, ४५ दिनभित्रै गरिसक्नुपर्छ भन्ने छैन ।’
राष्ट्रिय योजना आयोगका उपाध्यÔ डा. गोविन्दराज पोखरेल नेतृत्वको उच्चस्तरीय समितिले पीडीएबारे दुई साता अघि प्रधानमन्त्री सुशील कोइरालालाई पीडीए मस्यौदाको अन्तिम खाका बुझाएको थियो । त्यस खाकाकै आधारमा लगानी बोर्डले वार्ता गरी पीडीए अन्तिम चरणमा पुर्याएपनि फेरि विवादको कारणले तत्कालका लागि रोकिएको हो ।
No comments:
Post a Comment