Saturday, September 13, 2014

दुई जलविद्युत आयोजनाको पीपीए खारेज


–तीनको पीपीए
–साढे दुई लाख मिटर र १६ सय ट्रान्सफर्मर खरिद गरिने
राजधानी समाचारदाता
काठमाडौं, २६ भदौ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको बैठकले सम्झौता अनुसार काम नगरेको भन्दै दुई जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खारेज गरेको छ ।
बुधबार बसेको सञ्चालक समितिले वैण्णुदेवी जलविद्युत कम्पनी प्रवद्र्धक रहेको ९ दशमलब ९ मेगावाटको लोवर सुनकोशी तेस्रो र अन्नपूर्ण गु्रप प्रालि प्रवद्र्धक रहेको १० मेगावाटको मादी–१ जलविद्युत आयोजनाको पीपीए खारेज गरिएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।  विद्युत विकास विभागले २०६६ साल मंसीर १९ गते पीपीए गरिएको सुनकोशी तेस्रोको उत्पादन अनुमतिपत्र निवेदन तथा २०६० साल मंसीर १८ गते पीपीए गरिएको मादी–१ को हालै उत्पादन अनुमतिपत्र खारेज गरेपछि प्राधिकरणले पनि पीपीए खारेज गरेको हो । सुनकोशी तेस्रोले १५ मंसीर २०७१ मा उत्पादन गर्ने लक्ष्य छ भने मादीले ३० मंसीर २०६५ मै विद्युत उत्पादन गरिसक्नुपर्ने थियो ।
त्यसैगरी बैठकले हाइड्रो इमपायर प्रालि प्रवद्र्धक रहेको २० मेगावाटको म्याग्दीको अपर म्याग्दी, लमजुङ इलेक्ट्रिसीटी डिभप्लपमेन्ट कम्पनी (लेट्को) प्रवद्र्धक रहेको १० दशमलब ३ मेगावाटको लमजुङको दोर्दी–१ र शक्ति उर्जा कम्पनी प्रवद्र्धक रहेको ९५० किलोवाटको सिन्धुपाल्चोकको तौथली खोला जलविद्युत आयोजनाको भने पीपीए गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले आगामी बर्षका लागि २ लाख ३० हजार विजुली मिटर र १ हजार ६ सय ट्रान्सफर्मर खरिद गर्ने निर्णय गरेको छ । ट्रान्सफर्मर प्रकरणको कारण विगत दुई बर्षदेखि ट्रान्सफर्मर र एक बर्षदेखि मिटर खरिद नगर्दा अहिले हाहाकार छ । मिटर भर्खर आईपुगेको छ भने ट्रान्सफर्मर छिट्टै नेपाल आउन लागेको छ । मिटर र ट्रान्सफर्मर दुवै खरिदका लागि सबै प्रकृया पुरा गर्दा १० महिना लाग्ने भएकोले आगामी बर्षका लागि अभाव हुन नदिन भदौमै निर्णय गरिएको निमित्त कार्यकारी निर्देशक पाण्डेले जानकारी दिए ।  साथै बैठकले सामुदायिक विद्युतीकरण नियमावली र बाह्य सेवा प्रदाहकबाट विजुली महशुल संकलन गर्ने योजनालाई समेत स्वीकृति दिएको छ ।

No comments: