Monday, August 31, 2015

पुनर्निर्माण प्राधिकरण स्वतः निष्क्रिय

६० दिनभित्र पारित भएन अध्यादेश, सीईओलगायतका सबै पद निष्क्रिय

भीम गौतम/राजधानीकाठमाडौं, १३ भदौ
भूकम्पपछिको पुनर्निर्माणका लागि गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्वतः निष्क्रिय भएको छ । व्यवस्थापिका संसद् सुरु भएको ६० दिनभित्र अध्यादेश पारित नभएपछि प्राधिकरण स्वतः निष्क्रिय भएको हो ।

सरकारले ल्याएको अध्यादेश संसद् बैठक सुरु भएको ६० दिनभित्र पारित नभएमा स्वतः निष्क्रिय हुने संवैधानिक व्यवस्था छ । अन्तरिम संविधान २०६३ को धारा ८८ को उपधारा २ (ग) को व्यवस्थाअनुसार पुनर्निर्माण प्राधिकरण स्वतः निष्क्रिय भएको हो ।
‘अन्तरिम संविधानअनुसार पुनर्निर्माण अध्यादेश संसद् सुरु भएको ६० दिनभित्र पारित गर्नुपर्नेमा नभएपछि पुनर्निर्माण प्राधिकरण स्वतः निष्क्रिय भएको छ,’ संविधानविद् डा.चन्द्रकान्त ज्ञवालीले राजधानीसँग भने ।
भूकम्पपछिको पुनर्निर्माणका लागि गत १० असारमा आयोजना गरिएको दाता सम्मेलनलाई लक्षित गरी ६ असारमा सरकारले हतार–हतार अध्यादेश ल्याएको थियो । तर, १५ असारमा व्यवस्थापिका संसद् सुुरु भएकोमा त्यसको ६० दिनभित्र अर्थात् १२ भदौभित्र संसद्बाट अध्यादेश पारित हुनुपथ्र्याे । तर, संसद्मा दर्ता भए पनि प्रक्रिया नै अघि नबढ्दा अध्यादेश पारित हुन सकेन ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ७ साउनमै संसद् सचिवालयमा अध्यादेश दर्ता गरेको जनाएको छ । ‘साउनको पहिलो साता अध्यादेश संसद् सचिवालयमा दर्ता गरेका थियौं, तर समयमै संसद्मा छलफल भएर पारित नभएपछि अध्यादेश स्वतः निष्क्रिय भएको छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले राजधानीसँग भने, ‘अब सरकारले अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउँछ र त्यसका आधारमा पुनर्निर्माण प्राधिकरण अघि बढ्छ ।’
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक अधिकारीले भने संसद् सचिवालयको बेवास्ताको कारण सार्वजनिक खरिद अध्यादेशजस्तै पुनर्निर्माण विधेयक पनि स्वतः निष्क्रिय भएको आरोप लगाए ।
अध्यादेश निष्क्रिय भएसँगै २८ साउनमा पूर्णता दिएको पुनर्निर्माण प्राधिकरणको पदाधिकारीहरूसमेत स्वतः निष्क्रिय भएका छन् । प्रधानमन्त्री अध्यक्ष तथा चार मन्त्री सदस्य रहने प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेल र सदस्यमा तारानिधि भट्टराईलाई नियुक्त गरिएको थियो । प्राधिकरणमा अझै दुई विज्ञ नियुक्त हुन बाँकी छन् ।
सो प्राधिकरणको पहिलो बैठक ८ भदौमा बसेर ३१ जिल्लालाई आङ्खनो कार्यक्षेत्र बनाउन सरकारलाई सिफारिस गरिसकेको छ । तर, अध्यादेश पारित नभएपछि मन्त्रिपरिषद्ले २८ साउनमा नियुक्त गरेको सीईओ डा.पोखरेल र विज्ञ सदस्य भट्टराईलगायतको पद स्वतः निष्क्रिय भएको छ ।
अध्यादेश स्वतः निष्क्रिय भएपछि प्राधिकरणमा नियुक्त गरेका पदाधिकारी रहने÷नरहने र पुनर्नियुक्ति गर्नुपर्ने÷नपर्नेबारे अन्योल देखिएको छ । ‘प्रतिस्थापन विधेयकमा खारेजी र बचाउको व्यवस्था राखेर पहिलाको नियुक्तिलाई निरन्तरता दिन पनि सकिन्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता खत्रीले भने, ‘प्रतिस्थापन विधेयक अबको संसद् बैठकमा प्रस्तुत हुन्छ ।’
भोलि (मंगलबार) देखि सुरु हुन लागेको संसद् बैठकमा छलफलका लागि भन्दै केही दिनअघि सरकारले प्रतिस्थापन विधेयक संसद् सचिवालयमा दर्ता गरिसकेको छ । संसद् सचिवालयमा प्रतिस्थापन विधेयक दर्ता गरिसकेकाले नियुक्ति गरिएका पदाधिकारी प्रतिस्थापन विधेयकको आधारमा कायम रहिरहने एमाले प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिए ।
गत १२ वैशाखको भूकम्प र त्यसपछिको निरन्तर परकम्पका कारण क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि सरकारले ढिलो गरी गठन गरेको प्राधिकरणसमेत काम गर्न नसक्ने अवस्था सिर्जना भएपछि पुनर्निर्माणको काममा झन् अन्योल बढेको छ । पुनर्निर्माणजस्तो विषयमा सरकार र संसद्ले चासो नदिएपछि जनतामा ठुलै असन्तुष्टि बढेको छ ।
प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नका लागि समय लाग्ने र त्यो अवधिभित्र प्राधिकरणले काम गर्न नसक्ने भएकाले यसबारे सरकारविरुद्ध हुन सक्ने आलोचनालाई सम्बोधन गर्ने गरी आज (सोमबार) बस्ने मन्त्रिपरिषद् बैठकले सम्बोधन गर्ने प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।
http://www.erajdhani.com/article/0606198001440990203

Saturday, August 29, 2015

‘दलाल’विहीन जलविद्युत् क्षेत्र कहिले ?

भीम गौतम

ऊर्जामन्त्री राधा ज्ञवालीले अहिलेको ऊर्जा सचिव राजेन्द्रकिशोर क्षत्रीलाई सचिवमा ल्याउनका लागि ठुलो कसरत गरिन् । राम्रो मान्छे ल्याउनका लागि आफूले दुई महिनासम्म संघर्ष गरेको धेरै सार्वजनिक कार्यक्रममा सगर्व बताइन्, पनि । यही कारण एउटै जिल्लाका मन्त्री ज्ञवाली र पूर्वमुख्य सचिव लीलामणि पौडेलबिच पानी बाराबारको अवस्था सिर्जना भयो । त्यसको असर ऊर्जा मन्त्रालयले मन्त्रिपरिषद्मा लाने प्रत्येक प्रस्तावहरूमा पनि प¥यो तर ती नै ऊर्जामन्त्री ज्ञवाली अहिले ऊर्जा सचिव हटाउनका लागि पहिलाको दुई महिनाभन्दा बढी संघर्ष गरिरहेकी छिन् । निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता नियुक्ति मन्त्रिपरिषद्सम्म पुगेर निर्णय गर्नुपर्ने विषय नै थिएन तर भयो । आर्थिक र प्राविधिक प्रस्ताव हेरेर सामान्य तरिकाले टुंग्याउन सकिन्थ्यो तर यसमा मन्त्रीदेखि प्रधानमन्त्रीसम्म पक्ष विपक्ष हुनुप¥यो ।
आर्थिक वर्ष २०७१÷०७२ मा सम्पन्न हुनुपर्ने १३२ केभीको सोलु कोरिडोरको प्रसारण लाइन अझै निर्माण सुरु भएको छैन । कुनै कम्पनीलाई ठेक्का दिलाउनका लागि सर्तहरू परिवर्तन गरियो । त्यति गर्दा पनि त्यो कम्पनी नपरेपछि ठेकेदार छनोट प्रक्रियामा ढिलाइ गरियो । जबकि त्यो आयोजना समयमा नबनेमा नेपाल विद्युत् प्राधिकरणले त्यस क्षेत्रमा निर्माणाधीन आयोजनालाई ४५ प्रतिशतसम्म जरीवाना तिर्नुपर्छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक दर्जन जलविद्युत् आयोजनाको लाइसेन्स खारेजीको निर्णय ग¥यो । यो विषयले संसदको समितिदेखि ऊर्जा मन्त्रालयसम्म हलचल मच्चायो । लाइसेन्स लिँदाको सर्त र प्रावधान कार्यान्वयन गरे नगरेको हेरेर कारबाही गर्ने अधिकार ऊर्जा मन्त्रालयमा थियो तर त्यो कार्यान्वयन गर्न मन्त्रालयले अख्तियारको निर्देशन कुर्नुपर्यो । खारेजीबारे यति चर्चा परिचर्चा भयोकि मन्त्रिपरिषदमै लगेर निर्णय गर्नुपर्यो । मन्त्रिपरिषदले ५ आयोजनाको भौतिक प्रगति हेरेर निर्णय गर्न मन्त्रालयलाई नै जिम्मा दियो र मन्त्रालयले विद्युत् विकास विभागको उपमहानिर्देशकको नेतृत्वको समितिले भौतिक प्रगतिको आधारमा एक वटाको मात्र लाइसेन्स ब्युँत्याउन मिल्ने प्रतिवेदन दियो । प्रतिवेदन कार्यान्वयन अहिले थन्किएको छ । प्रतिवेदन विपरित लाइसेन्स व्यूत्याउन खोजिएपछि उर्जा मन्त्री र कर्मचारीहरूबीच सम्बन्ध चिसिँदो छ ।
यी त केही उदाहरण मात्र भए, ऊर्जा मन्त्रालय र यसअन्तर्गतका विद्युत् प्राधिकरण र विद्युत् विकास विभागका हरेक योजना र कार्यक्रममा यस्ता लाचारी हर्कतहरू देखिन्छन् । यसमा प्राधिकरण व्यवस्थापन, ऊर्जा मन्त्रालयका अधिकारी, ऊर्जामन्त्री मात्र होइन, कतिपय अवस्थामा अन्य मन्त्रीहरू र प्रधानमन्त्रीसमेत जोडिन्छन् र मुछिन्छन् । १ सय चार बर्से जलविद्युत् इतिहासमा एक हजार मेगावाट पनि विद्युत् उत्पादन गर्न नसकेर लोडसेडिङको चरम समस्या भोगिरहेको र परनिर्भर बन्दै गएको नेपालका लागि यो विडम्बना हो तर ऊर्जा क्षेत्रमा दलाली प्रवृत्ति बढिरहेकै छन् । माथिका सबै हर्कतहरूमा सबैभन्दा बढी दलालहरूको हात छ अर्थात् ‘भैंसीले पुच्छर होइन, पुच्छरले भैंसी हल्लाइरहेको छ’ भन्ने उखान सबैभन्दा सान्दर्भिक जलविद्युत् क्षेत्रमा बनेको छ । नियम, कानुन, प्रकृया र पद्धति दलालहरूका अगाडी फिक्का बन्छन् र उनीहरूले लविङ कानुनभन्दा पनि उच्च हुन्छ । यो नेपालको यथार्थता हो ।
जलविद्युत क्षेत्रमा दलालहरू यति बलिया छन्कि प्रधानमन्त्री, मन्त्री क्वाटरदेखि कार्यालयहरूसम्मको उनीहरू पहुँच एकदम सहज छ । पीडा लिएर पुग्ने सर्वसाधारणलाई प्रधानमन्त्री, मन्त्री भेट्न एकदम कठिन छ, समय माग्न समेत सोर्सफोर्स लगाउनुपर्छ तर दलालहरूले सजिलै समय पाउँछन् । विगतदेखि वर्तमानसम्मको यथार्थता यही छ । उनीहरू यति शक्तिशाली हुन्छन्कि मन्त्रालय, प्राधिकरण वा विभागको एक शाखाले गर्न सक्ने निर्णयहरूलाई उनीहरूले आफ्नोअनुकूल बनाउन उथलपुथल गरिदिन्छन् । नमान्ने मन्त्री, कार्यकारी निर्देशकदेखि सामान्य कर्मचारीहरूलाई तत्काल हटाउन सक्ने क्षमता उनीहरूसँग छ । प्रधानमन्त्री, मन्त्रीसम्म मात्र होइन, उनीहरूको पहुँच हरेक राजनीतिक दलहरूसँग उत्तिक्कै छ । पददेखि पैसासम्मको सेटिङ मिलाउन सक्ने दलालहरूको घनचक्करभित्र जलविद्युत् क्षेत्र रुमलिरहेको छ । नत्र एक अध्ययनबाट ८३ हजार मेगावाट र अधिकत्तम उत्पादन गर्न सकेमा २ लाखसम्म जलविद्युत् उत्पादन गर्न सक्ने नेपालमा १ हजार मेगावाट पनि जलविद्युत् उत्पादन नभएर हामी किन लोडसेडिङ छौं ? किन भारतबाट आयात बढाएर परनिर्भर हुने अवस्था आएको छ ? किन हाम्रा जलविद्युत् आयोजनाहरू समयमै बन्दैनन् र नबनाउनेहरूले बारम्बार लाइसेन्सको म्याद थपिरहन्छन् ? किन पद्धति, प्रक्रिया र कानुनभन्दा माथि लाइसेन्स लिनेहरू हुन्छन् ? के जलविद्युत् उत्पादनका लागि सरकारसँग योजना छैन ?
हो, जलविद्युत् उत्पादनका लागि सरकारसँग धेरै योजना छन् तर खोलामा पानी बगिरहेकै छ तर त्यो करेन्ट भएर लोडसेडिङ अन्त्य भएको छैन । कार्यान्वयन पक्ष कमजोर छ । पाँच वर्षमा ५ हजार मेगावाट विद्युत् उत्पादन, १० वर्षमा १० हजार मेगावाट, २० वर्षमा २५ हजार मेगावाट, साढे चार वर्षमा लोडसेडिङ अन्त्य, तिन वर्षमा लोडसेडिङ अन्त्यलगायतका थुप्रै योजनाहरू सार्वजनिक भए । सरकारपिच्छे नै योजनाहरू आएका छन् । तर विद्युत्को उत्पादन सुध्रिएको छैन । २०६० सालदेखि लोडसेडिङको चार्ट बढिरहेको छ अनि विद्युत्को माग प्रत्येक वर्ष १ सय मेगावाटको हाराहारीमा बढीरहेको छ तर उत्पादन यो अवधिमा ४ सय मेगावाट पनि बढेको छैन । यसले पनि स्पष्ट रूपमा सरकारले विद्युत् उत्पादनका लागि अघि बढाएका अधिकांश आयोजनाहरू असफल भएको देखाउँछ । एकातिर लोडसेडिङको चार्ट बढिरहेको छ भने अर्कोतिर विद्युत् उत्पादन गर्ने महŒवकांक्षी योजनाहरूको चाङ बढिरहेको छ । किन सबै आयोजनाअघि बढेनन् ? बनाएका योजनाहरू कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयका नेतृत्व गर्ने मन्त्रीदेखि कर्मचारीहरूसम्म किन लागेनन् ? उनीहरूले के हेरेर बसे ? यी र यस्ता धेरै प्रश्नहरू अनुत्तरित छन् ।
योजना अघि बढ्ने हल्लाहरू धेरै छन् । पञ्चेश्वर बहुउद्देश्यीय, कर्णाली चिसापानी, माथिल्लो कर्णाली, अरूण तेस्रो आयोजना बनाउनका लागि सुरु भएको इतिहास एकादेशको कथा भइसकेको छ तर अहिलेसम्म बनेका छैनन् । लाइसेन्स लिने आयोजना बढी छन्, उत्पादन हुने कम छन् । यी सबैको कारणको पछाडि कतै कतै सरकारका नेतृत्व गर्नेहरूको ध्यान अर्कोतिर मोडिएको देखिन्छ । गम्भीर रूपमा जलविद्युत् आयोजनाहरू निर्माणका लागि सरकार लागेको भए सायद धेरै आयोजनाहरू बनिसक्थे तर अधिकांश आयोजनाको ठेक्का छनोटदेखि आर्बिटेसनसम्मको अवस्था हेर्ने हो भने उदेकलाग्दो छ । एउटा जलविद्युत् आयोजनाहरूले विनाझन्झट अघि बढाउन नपाउनुको पछाडि कतै त कतै एजेन्ट र दलालहरूको सक्रियता देखिन्छ । जबसम्म जलविद्युत् क्षेत्रमा दलालहरूको सक्रियता र पहुँच अन्त्य हुँदैन, कानुन, विधि र प्रक्रिया स्थापित हुँदैन, तबसम्म जलविद्युत् क्षेत्र लोडसेडिङको भयावह समस्यामा रहिरहन्छ । विदेशी परनिर्भरता बढ्दै जान्छ, विदेश जलविद्युत् आयोजना बेच्ने सपनाहरू सपनामै सीमित हुन्छन् । अहिले पनि जलविद्युत् क्षेत्र त्यही दलालविहीन अवस्था पर्खिरहेको छ तर कहिले दलालविहीन बन्छ भन्ने प्रश्न अनुत्तरित छ किनकि हरेक प्रधानमन्त्री, मन्त्री, सचिव, कर्मचारीको स्वार्थ पूर्ति गर्ने सशक्त र बलियो माध्यम यी नै बनेका छन् । यिनीहरूको अन्त्य नभएसम्म जलविद्युत् अनावश्यक घनचक्कर फसिरहन्छ । अनेक वाद र विवाद थिचिरहन्छ ।
journalistbhim@gmail.com
http://erajdhani.com/article/0956739001440727668

लोडसेडिङ ! कसलाई पत्याउने ?

सरकार भन्छ ८ घन्टा, प्राधिकरण १३

भीम गौतम /राजधानी
काठमाडौं, १० भदौ
नेपाल विद्युत् प्राधिकरणले आगामी हिउँदमा दैनिक १३ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरेको छ । तर, चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले भने दैनिक आठ घन्टामा सीमित गर्ने घोषणा गरेको छ ।

सरकार र प्राधिकरणको छुट्टाछुट्टै लोडसेडिङको घोषणापछि जनता भने अन्योलमा परेका छन् । अझ आगामी नोभेम्बरमा नेपाल–भारत अन्तरदेशीय (क्रस बोर्डर) प्रसारण लाइनमार्फत ९० मेगावाट थपिए तथा कुलेखानी जलाशय भरिए मात्र हिउँदमा आठ घन्टादेखि १३ घन्टासम्म लोडेसेडिङ हुने प्रक्षेपण प्राधिकरणको छ । तर, महोत्तरीको कविलास गाउँमा क्रस बोर्डर प्रसारण लाइनमा स्थानीयवासीले अवरोध गरेपछि डेढ महिनादेखि काम रोकिएको छ ।
विद्युत् प्राधिकरणका अनुसार आगामी हिउँदमा दैनिक आठ घन्टादेखि १३ घन्टासम्म लोडसेडिङ हुने प्रक्षेपण गरिएको छ । ‘आगामी हिउँदमा १३ घन्टासम्म लोडसेङिङ हुने प्रक्षेपण छ,’ विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षत्रीले भने । मंसिर र पुसमा आठ घन्टासम्म सीमित हुने लोडसेडिङ माघ, फागुन र चैतमा १३ घन्टा पुग्ने प्रक्षेपण छ । अहिले वर्षाको बेलामा समेत विद्युत् प्राधिकरणले दैनिक सात घन्टा लोडसेडिङ गरिरहेको छ । आगामी हिउँदमा सरकारले घोषणा गरेजस्तै दैनिक आठ घन्टामा लोडसेडिङ सीमित हुने अवस्था देखिँदैन । तर, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले दैनिक ९÷१० घन्टाबाट लोडसेडिङ नबढ्ने गरी विद्युत् प्राधिकरणले प्रयास अघि बढाएको बताउँछन् । ‘सरकारले हिउँदमा दैनिक आठ घन्टा लोडसेडिङ सीमित गरिने घोषणा गरेकाले त्यहीभित्र राख्न हाम्रो प्रयास हुन्छ,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘अघिल्लो वर्ष पनि दैनिक १६ घन्टासम्म पुग्ने प्रक्षेपण थियो तर त्यति भएन । दैनिक १० घन्टाको हाराहारीमा सीमित ग¥यौं ।
सबै अवयवलाई विश्लेषण गरेर नयाँ प्रक्षेपण गरिएको हो तर हामी त्योभन्दा कम गर्न सक्रियताका साथ लागेका छौं ।’ भूकम्पका कारण अहिले पनि झन्डै ८० मेगावाट विद्युत् विच्छेद भएकाले वर्षामा समेत बढी लोडसेडिङ गर्नुपरेको उनको तर्क छ ।
अघिल्लो वर्ष विद्युत्को माग ९० मेगावाट बढे पनि उत्पादन भने ४२ मेगावाट भयो । यो वर्ष निजी क्षेत्रबाट झन्डै ४० मेगावाट थपिने लक्ष्य राखिए पनि विद्युत् प्राधिकरण आफैंले बनाइरहेको १४ मेगावाटको कुलेखानी तेस्रो र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजना लक्ष्यअनुसार सम्पन्न हुने अवस्था देखिएको छैन । छिमेकी मुलुक भारतबाट थप विद्युत् आयात गरेर लोडसेडिङ घटाउने योजना प्राधिकरणको छ । हाल २ सय मेगावाट विद्युत् आयात गर्दै प्राधिकरणले विभिन्न नाकाबाट थपेर २ सय ८० मेगावाट पु¥याउने लक्ष्य राखेको छ भने भारतबाट क्रस बोर्डरमार्फत थप ९० मेगावाट थप्ने योजना छ । यो विद्युत् थपिए मात्र आठ घन्टादेखि १३ घन्टासम्म लोडसेडिङ सीमित रहने र आयात हुन नसके अझै लोडसेडिङ थपिने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
‘क्रस बोर्डर प्रसारण लाइन नबने मात्र पनि प्रक्षेपणभन्दा थप तिन घन्टा अर्थात् लोडसेडिङ दैनिक १६ घन्टासम्म पुग्न सक्छ,’ ती अधिकारी भन्छन् । हाल विद्युत्को माग १ हजार २ सय मेगावाट रहेकोमा प्राधिकरणमार्फत ३ सय ३० मेगावाट र निजी क्षेत्रबाट १ सय ८० मेगावाट उत्पादन भइरहेको छ भने बाँकी ५ सय मेगावाट लोडसेडिङ छ ।
http://erajdhani.com/article/0577679001440719454

Wednesday, August 26, 2015

पुनर्निर्माण प्राधिकरणद्वारा ३१ जिल्लालाई कार्यक्षेत्र तोक्न सिफारिस

भीम गौतम/राजधानीकाठमाडौं, ८ भदौ
भूकम्पपछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्नो कार्य क्षेत्र ३१ जिल्लालाई तोक्न सरकारलाई सिफारिस गरेको छ । १२ वैशाखमा गएको भूकम्पकोे झन्डै चार महिनापछि मंगलबार प्रधानमन्त्री एवं पुनर्निर्माण प्राधिकरणका अध्यक्ष सुशील कोइरालाको अध्यक्षतामा बसेको पहिलो बैठकले ३१ जिल्लालाई कार्य क्षेत्र तोक्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । पुनर्निर्माण प्राधिकरणलाई भने सरकारले दुई साताअघि मात्र पूर्णता दिएको थियो ।
पहिलो बैठकसँगै पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण कार्यलाई तीव्रता दिने निर्णय समेत गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेलले जानकारी दिए । ‘सिंहदरबारभित्र कार्यालय राखेर पुनर्निर्माण प्राधिकरणले काम सुरु गरेको छ, बैठकले पुनर्निर्माणको अध्यादेश अनुसार ३१ जिल्लालाई आफ्नो कार्यक्षेत्र बनाउन सिफारिस गरेको छ ।’–उनले भने ।
सरकारले निर्णय गरेपछि ३१ जिल्लामा प्राधिकरणले पुनर्निर्माण अघि बढाइनेछ । केन्द्रीय दैविक उद्धार समिति एवं गृह मन्त्रालयले भूकम्पबाट प्रभावित जिल्लाहरुमा पहिचान गरेको आधारमा कार्य क्षेत्र सिफारिस गर्ने निर्णय गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयका प्रवक्ता उत्तरकुमार खत्रीले जानकारी दिए ।
बैठकले भूकम्पबाट क्षतिग्रस्त जिल्लालाई अति प्रभावित (क), प्रभावित (ख) र कम प्रभावित (ग) मा वर्गीकरण गरी प्राथमिकीकरणसमेत गरेको छ । मन्त्रिपरिषद् कार्यालयका अनुसार, ‘क’ मा दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोट, रसुवा, धादिङ, काभ्रे, रामेछाप, भक्तपुर, ओखलढुंगा, सिन्धुली, ललितपुर, काठमाडांै र मकवानपुर जिल्ला तोकिएको छ । त्यसैगरी, ‘ख’ वर्गमा लमजुङ, चितवन, तनहुँ, खोटाङ, स्याङजा, पाल्पा, बागलुङ, गुल्मी, सोलुखुम्बु, कास्की र पर्वत जिल्लालाई तथा ‘ग’ वर्गमा म्याग्दी, अर्घाखाँची, नवलपरासी, भोजपुर, धनकुटा र संखुवासभा तोकिएको छ ।
बैठकले भूकम्पपश्चात् विभिन्न व्यक्ति, संस्था, विश्वविद्यालय, अनुसन्धान केन्द्र, अनुसन्धानकर्ताबाट तयार पाएका प्रतिवेदन, अभिलेख तथा विवरणहरू पुनर्निर्माण प्राधिकणलाई उपलब्ध गराउन अनुरोध गर्ने निर्णयसमेत गरेको छ । भूकम्पपछिको पुनर्निर्माणका लागि नीति तयार भइसकेको छ ।

‘नमुना’ पुनर्निर्माण योजना सुरु

काठमाडौं/रास— भूकम्पपछिको पुनर्निर्माणका लागि गठित प्राधिकरणको पहलमा नमुना योजना सुरु भएको छ । पुरानो सहर पाटनको तिलाछ्यामा कलाशैलीले भरिएका परम्परागत घरहरूको पुनर्निर्माण योजना सुरु भएको हो ।
मंगलबार पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा. गोविन्दराज पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य डा. स्वर्णिम वाग्ले, सभासद् चन्द्र महर्जन, संस्कृतिविद् सत्यमोहन जोशी, पूर्वमन्त्री बुद्धिरत्न ब्रजाचार्यका साथै ज्यापु समाजका प्रतिनिधिको उपस्थितिमा सो योजना सुरु भएको हो । समुदायको माग र सरकारको मापदण्डभित्र रहेर पुराना शैली नबिग्रने गरी ७५ घरहरू नमुना रूपमा पुनर्निर्माण गर्न लागिएको प्राधिकरणका सीईओ डा. पोखरेलले जानकारी दिए ।
‘पुरानो घरहरूलाई पुरातात्विक रूपमा पुनर्निर्माण गर्ने गरी नमुना योजना सुरु गरेका छौं,’ उनले भने । कार्यक्रममा तिलगंगा आँखा अस्पतालका डा. सन्दुक रुइतले पुराना शैलीका घर बनाउनका आफ्नो ट्रस्टका तर्फबाट ४ करोड सहयोग दिने घोषणासमेत गरेका थिए । कार्यक्रममा पुराना नेवारी शैली र पुरातŒवलाई नबिग्रने गरी पुनर्निर्माण गर्नका लागि आग्रह गरेका थिए ।
http://www.erajdhani.com/article/0826371001440560533

Tuesday, August 25, 2015

तमोर जलाशय आयोजना अध्ययन अन्योलमा

भीम गौतम/राजधानीकाठमाडौं, ६ भदौ
ऊर्जा मन्त्रालयको बेवास्ताका कारण ७ सय ६२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना अन्योलमा परेको छ । जलाशययुक्त आयोजनाको अभावमा लोडसेडिङको भयावह समस्या भइरहेका बेला ऊर्जा मन्त्रालयले आकर्षक आयोजनाका रूपमा लिइने तमोर आयोजना अघि बढाउन लाइसेन्स नदिँदा अध्ययनमै अन्योल देखिएको हो ।
हाल विद्युत् विकास विभागले २ सय ५२ मेगावाटको मात्र लाइसेन्स दिएको छ । तर, नेपाल विद्युत् प्राधिकरणले सो क्षमतामा बनाउँदा अयोग्य देखिने भन्दै थप अध्ययन अघि बढाएको छैन ।
प्राधिकरणको अध्ययन प्रतिवेदनअनुसार सो क्षमतामै तमोर बनाउँदा तीन÷चार वर्षभित्र आयोजना बाँध बालुवाले भरिनेछ । ‘७ सय ६२ मेगावाटबराबरको लाइसेन्स दिनेबारे स्पष्ट निर्णय भएको छैन, के गर्ने भन्ने अन्योल छ तर प्राधिकरणले मागिरहेको छ,’ ऊर्जा मन्त्रालयका सहप्रवक्ता गोकर्णराज पन्थले भने । प्राधिकरण सञ्चालक समितिबाट पारित भएर विद्युत् विकास विभागका लागि पूर्ण क्षमतामा लाइसेन्सका लागि आवेदन दिइएको छ ।
विद्युत् विभागले ३७ दशमलब ५ मेगावाटको काबेली ए र २१ दशमलव २ मेगावाटको लोअर हेवाखोला जलविद्युत् आयोजनामा असर पर्ने भन्दै ७ सय ६२ मेगावाटको क्षमता दिन अस्वीकार गर्दै आएको छ । तर, प्राधिकरणले क्षमता नबढाएर अध्ययन अघि बढाउनुको अर्थ नहुने भन्दै अध्ययन अघि बढाएको छैन ।
‘२ सय ५२ मेगावाटको क्षमतामा तमोर जलाशय बन्ने सक्ने अवस्था छैन, ७ सय ६२ मेगावाट क्षमताबराबरको लाइसेन्स दिएपछि मात्र अध्ययन अघि बढ्छ,’ प्राधिकरणका एक अधिकारीले भने । प्राधिकरणले अयोग्य भनेर ऊर्जामन्त्री राधा ज्ञवालीलाई प्रतिवेदन दिइसके पनि ऊर्जा मन्त्रालयले प्रत्येक वर्ष अध्ययनका लागि बजेट भने छुट्याउने गरेको छ ।
प्राधिकरणले विभागसँग समुद्री सतहबाट ६ सय मिटर माथिसम्मको अर्थात् ५ सय ३० मेगावाटबराबर बिजुली उत्पादन गर्न सक्ने गरी लाइसेन्सका लागि निवेदन दिएकामा विभागले काबेली ए डुब्ने भन्दै ४ सय ५० मिटरमाथिसम्मका लागि मात्र १६ साउन २०७० मा लाइसेन्स दिएको थियो । सोअनुसार अध्ययन अघि बढाउँदा २ सय ५२ मेगावाट मात्र विद्युत् उत्पादन हुने र बालुवाका कारण समस्या आउने अध्ययनका क्रममा देखिएपछि प्राधिकरणले गत वर्ष जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका) सँग मिलेर अध्ययन गरेको थियो ।
अध्ययनले ५ सय ३० मेगावाटभन्दा बढी ७ सय ६२ मेगावाट उत्पादन हुन सक्ने देखाएको थियो । विस्तृत अध्ययनले आयोजनाको क्षमता ८ सय मेगावाट पुग्न सक्ने देखिएको प्राधिकरणले जनाएको छ । अध्ययनले आयोजना अघि बढाउन सम्भव नभएको देखाएपछि गत वर्ष यो आयोजनाको सम्भाव्यता अध्ययनका लागि छुट्याएको २ करोड रुपैयाँ खर्च हुने सकेन ।
प्राधिकरणले भने ७ सय ६२ मेगावाट नै विद्युत् क्षमता हुने गरी सरकारले तमोरको लाइसेन्स दिनुपर्ने र काबेली (ए) लाई अहिले निर्माणमा जान दिएर भविष्यमा तमोर बन्न लागेमा सञ्चालन भएर बाँकी अवधिको नाफा तिरेर सरकारले काबेली र हेवा डुबाउने गरी अघि बढ्नुपर्ने तर्क गरेको छ । प्राधिकरण अधिकारीहरूका अनुसार प्राधिकरणले विद्युत् विकास विभागमा तमोरबारे अध्ययनको प्रस्तुतीकरण गरेर पुनः पूर्ण उत्पादन गर्ने गरी अध्ययनका लागि लाइसेन्स माग्ने र नदिएमा आयोजनाको अध्ययन नै रोक्ने पक्षमा छ ।
पाँचथर र तेह्रथुम जिल्लाको दोसाँधमा बन्ने आयोजनाबाट जम्मा दुई घरधुरी मात्र विस्थापित हुने तथा थोरै सामाजिक र वातावरण असर पर्ने हुनाले यो आयोजनालाई आकर्षक आयोजनाका रूपमा लिइएको छ । वार्षिक रूपमा ३३ सय गिगावाट विद्युत् उत्पादन गर्ने आयोजनाले हिउँदमा ११ सय गिगावाट बिजुली उत्पादन हुन्छ ।
यो आयोजनालाई १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाभन्दा आकर्षक आयोजनाको रूपमा लिइन्छ । सन् १९८५ मा जाइकाले सो आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेको थियो ।
http://www.erajdhani.com/article/0892585001440384487

Sunday, August 23, 2015

उत्पादन ४२ मेगावाट पीपीए खारेज ६७ मेगावाट

भीम गौतम /राजधानी
काठमाडौं, ५ भदौ
आर्थिक वर्ष २०७१\०७२ मा नेपाल विद्युत्् प्राधिकरणको केन्द्रीय ग्रिडमा ४२ मेगावाट विद्युत्् थपियो । तर, यही अवधिमा ६७ मेगावाटबराबरका विद्युत्् खरिद सम्झौता (पीपीए) भएका सात आयोजना खारेज भए ।
प्रत्येक वर्ष विद्युत्को माग ९० मेगावाटले बढ्ने भए पनि उत्पादन भने ४२ मेगावाट मात्र भएको हो । ‘अघिल्लो आर्थिक वर्षमा विद्युत्को उत्पादन ४२ मेगावाट मात्र बढ्यो,’ प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘आगामी वर्षमा विभिन्न जलविद्युत् आयोजना सम्पन्न गरेर लोडसेडिङ न्यूनीकरण गर्ने उद्देश्य छ ।’
विद्युत् प्राधिकरणका अनुसार गत आर्थिक वर्षमा ३ मेगावाटको अपर पुवा खोला १, २ दशमलव २ मेगावाटको जिरीखोला, २२ मेगावाटको माईखोला, ५ मेगावाटको अपर हुग्दी खोला, ९ दशमलव ४ मेगावाटको आँधीखोला र ५ सय १५ किलोवाटको बेल्खु खोला जलविद्युत् आयोजना सम्पन्न भएर उत्पादन सुरु गरेको छ ।
यही अवधिमा पीपीए गरेर छिट्टै उत्पादन गरिसक्नुपर्ने सात आयोजना भने वित्तीय व्यवस्थापन गर्न नसक्दा तथा ऐनकानुनमा उल्लिखित सर्तहरु पूरा नगर्दा रद्द भए । रद्द हुने आयोजनामा ९ दशमलव ९ मेगावाटको तल्लो सुनकोसी तेस्रो, १० मेगावाटको मादि–१, २ दशमलव ०२ मेगावाटको माथिल्लो चर्नावती खोला छन् ।
त्यसैगरी, पीपीए रद्द हुनेहरूमा १८ दशमलब ५ सय १४ मेगावाटको तल्लो बलेफी, १८ मेगावाटको अपर सोलु, ३ दशमलव ४ मेगावाटको मिदिम खोला र ५ दशमलव ३ सय २५ मेगावाटको मिडिल मादीखोला जलविद्युत् आयोजना छन् । यीमध्ये तल्लो सुनकोसी तेस्रो र माथिल्लो चर्नावती कम्पनीले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेको तथा मादी–१ विद्युत् विकास विभागले अनुमतिपत्र खारेज गरेपछि पीपीए रद्द भएको थियो । बाँकी सबै आयोजना वित्तीय व्यवस्थापन गर्न नसक्दा रद्द भएका थिए ।
सर्भे सिध्याएर अनुमतिपत्रसमेत पाइसकेका यस्ता आयोजनाहरू समयमै पूरा हुने र यसबाट विद्युत् मागमा सहज हुने भन्दै प्राधिकरणले समेत उत्पादन प्रक्षेपण गरेको हुन्छ तर वित्तीय व्यवस्थापन गर्न नसकेर रद्द हुँदा विद्युत् उत्पादनमा असर पर्ने प्राधिकरणका अधिकारी बताउँछन् ।
सन् २०१४ मा विद्युत् माग १ हजार २ सय १ मेगावाट रहेकामा बढेर सन् २०१५ को यो अवधिमा १ हजार २ सय ९१ मेगावाट पुगेको छ तर उत्पादन भने ४२ मेगावाट मात्र थपिएको छ ।
प्राधिकरण र निजी क्षेत्रमार्फत हाल ७ सय ७५ मेगावाट विद्युत् उत्पादन भइरहेकामा अझ करिब ५ सय मेगावाट अभाव छ भने झन्डै २ हजार मेगावाटबराबरका आयोजना निर्माणधीन अवस्थामा छन् । भारतबाट २ सय ५० मेगावाटको हाराहारीमा विद्युत् आयात गरेर बर्खामा समेत प्राधिकरणले दैनिक सात घन्टा लोडसेडिङ गरिरहेको छ ।
लोडसेडिङ न्यूनीकरणका लागि उत्पादनमा वृद्धि हुनुपर्ने भए पनि कम जलविद्युत् आयोजना समयमै सम्पन्न हुने र पीपीए भएका आयोजनामा समेत वित्तीय व्यवस्थापन गर्न नसक्दा खारेज हुन थालेपछि प्राधिकरणका लागि उत्पादन बढाउनु चुनौतीपूर्ण देखिएको अधिकारीहरू बताउँछन् । अघिल्लो वर्ष सुरु भएको त्रिवर्षीय योजनाअन्तर्गत ६ सय ६८ मेगावाट विद्युत् थप गर्ने लक्ष्य राखे पनि पहिलो वर्ष ४२ मेगावाट मात्र थपिएपछि पुरा हुनेमा समेत आशंका बढेको छ । 
http://www.erajdhani.com/article/0276897001440291560

Thursday, August 20, 2015

आयोगविना संघीयता असम्भव छ

रौतहटमा जन्मिएका लालबाबु यादवसँग २८ वर्ष प्राध्यापन गरेको अनुभव छ । अन्तर्राष्ट्रिय सम्बन्ध, समसामयिक राजनीति, संघीयता, समावेशिता लगायतका विषयका विज्ञका रूपमा समेत परिचित ५४ वर्षीय यादव संविधानसभाका सभासद् पनि हुन् । उनीसँग हालै प्रस्तावित ६ प्रदेश, सीमांकनबारे देखिएका विवाद, संघीयता, नयाँ संविधानलगायत विषयमा राजधानीका लागि भीम गौतमले गरेको कुराकानीको मूल अंश :

० अहिले प्रस्तावित ६ प्रदेशबारे तपाईंको के विश्लेषण छ ?
समयमै देशले नयाँ संविधान पाउनुपर्ने थियो तर पाएन । ढिलो भयो । यसको मूल कारण सीमांकनसहितको संघीयता हो । पहिलाको संविधानसभामा सबैभन्दा ठुलो पार्टीले एकल पहिचानसहितको संघीयता कुरा उठायो भने अर्कोतिर एक मधेस एक प्रदेशको कुरा उठ्यो । अर्को साझा पहिचान र बहुपहिचानको कुरा पनि उठेको थियो । दोस्रो संविधानसभाको चुनावमा जनताले एकल जातिको पहिचानसहितको संघीयता र एक मधेस एक प्रदेशको मुद्दालाई अस्वीकृत गरिदिए । संघीयताको कुरा हुँदा पहिला यसका लागि आयोग गठन गर्ने कुरा भएको थियो । हुनुपर्ने पनि त्यही थियो । विश्वका संघीयता भएका २८ ओटा देशमा आयोगमार्फत संघीयताको सीमांकन गरिएको छ । तर, नेपालमा के कारण वा के खेलले हो, सीमांकनसहितको संघीयताको कुरा आयो । यसका आधारमा मोटामोटी रूपमा खाका तयार गरियो । यो अन्तिम त होइन, यसैलाई संविधानसभामा छलफलका लागि लैजाने कुरा आयो । अहिले जुन ६ प्रदेशको कुरा आएको छ, यो व्यावहारिक र वैज्ञानिक दुवै भएन ।
 ० किन ?
यदि वैज्ञानिक भइदिएको भए यो ६ प्रदेशविरुद्ध किन यति धेरै आन्दोलन उठ्थे ? आज किन मधेसका जनताले पहाड हामीलाई चाहिन्छ किन भन्थे ? केही नेताले कर्णाली चाहिन्छ, केही नेताले अखण्ड चाहिन्छ किन भन्थे ? अखण्ड बाग्मती, जनकपुर, सुदूरपश्चिम किन भन्थे ? दबाबमा मोटामोटी रुपमा यो ६ प्रदेशको खाका बनाइएको हो । विवाद भएपछि सीमांकनसहितको संघीयता त आयोगमार्फत नै बनाउनुपर्छ ।
० चार दलका शीर्ष नेताहरूले ६ प्रदेशको खाका कोरिसके, अब पनि आयोगको आवश्यकता छ र ?
आयोगविना त संघीयता असम्भव छ । पहिला पनि यसबारे मैले सार्वजनिक रूपमै भनेको छु । यसबारे ४० भन्दा बढी विभिन्न फोरममा प्रस्तुतीकरण गरें पनि । राजनीतिक दलहरू, संविधानसभा सबैसामु बारम्बार भनेकै हुँ । उहाँहरूलाई मैले आयोगविनाको संघीयता बनेको विश्वको कुनै देश देखाइदिनोस् भनेर भनेकै हुँ । जबसम्म तपार्इंहरू आयोग बनाउनुहुन्न, तबसम्म संघीयता बन्दैन । आज पनि म त्यही भन्दै छु ।
६ प्रदेशसहित संघीयताको खाका नै सार्वजनिक भइसकेको अवस्थामा आयोग–आयोग भनिरहनु उचित होला र ?
सबै जनताले ६ प्रदेशलाई किन स्वीकार गरेनन् ? किन विरोध भइरहेको छ त ? पहिला १४ प्रदेशको प्रस्ताव गर्दा मैले विरोध गरेकै हुँ । त्यहाँ दलित, मुस्लिम आदिको समुचित प्रतिनिधित्व भएको थिएन । एक समुदायका लागि अर्काको पहिचान खत्तम हुन्छ भने कोही चुप लागेर त बस्दैनन् नि † ती समुदाय उत्रिहाल्छन् नि † आयोग भए त सबैलाई विश्लेषण गरेर गर्छ नि † अर्को कुरा, कुनै एउटा विज्ञले संघीयता बनाउन सक्दैन । यसमा राजनीतिदेखि अर्थ, पूर्वाधार, इतिहास, मानव शास्त्र, कानुन, स्रोतसाधन, भूगोललगायत सबै क्षेत्रका विज्ञ आवश्यक पर्छन् । आवश्यक परे विदेशी विज्ञसमेत ल्याएर बहुपक्षीय विश्लेषणमा आधारित भएर संघीयताका सीमांकन गर्नुपर्छ । उदाहरणका लागि भारतमा ब्रिटिस आएर संघीयतामा सहयोग गरेकै हो । यसमा सहयोग लिन किन लाज मान्ने ? जापानको संविधान त उसैको शत्रु मानिने अमेरिकाका विज्ञले बनाइदिएका हुन् ।
० उसो भए पहिचानका आधारमा संघीयता हुनुपर्छ भन्ने तपाईंको मान्यता हो ?
मैले पहिचानका आधारमा संघीयतामा जाने अवस्था मैले देखेको छैन । साझा पहिचानमा मात्र जान सकिन्छ । एकल र बहुजातीय पहिचानमा जान सकिँदैन । एकल जातीय पहिचान विष हो भने बहुजातीय पहिचान पानीविनाको विष हो । एकल र बहुजातीय पहिचान विष नै हुन् । साझा जातीय पहिचानका अन्य विकल्प छन् । अहिले ६ प्रदेशको नामकरण नगरी सीमांकन मात्र गरिएको हो । पहिला एक मधेस एक प्रदेशको कुरा गर्नेहरूले आज किन हामीलाई पहाड चाहिन्छ भनिरहेका छन् ? हिजो संघीयताको कुरा गर्नेहरूले किन अखण्ड सुदूरपश्चिमको कुरा उठाइरहनुभएको छ ? यसबारे विश्लेषण गर्नुपर्छ ।
० सुदूरपश्चिमकै कुरा गर्दा संघीयतामा जाने कुरा पनि गर्ने अनि अखण्डता पनि भन्ने, यो कत्तिको जायज छ ?
यो अचम्मको कुरा छ । एकातिर संघीयताको कुरा पनि गर्ने, अर्कोतिर अखण्डता पनि खोज्ने । संघीयताको कुरा गर्दा त राज्य बाँडिन्छ पनि । पहिला अध्ययन नै नगरी कुरा ग¥यांै तर अहिले अध्ययन गरेर व्यवहारमा जाँदाखेरि अन्योल बढेको छ । राजनीतिक दल र जनता दुवै अन्योलमा छन् । संघीयता देशका लागि हो । कुनै नेताको स्वार्थका लागि होइन । कुनै
दल वा समूहका लागि होइन । जहाँसम्म अखण्ड जायज वा नाजायज भन्ने छ, म त अखण्डको आवाजलाई जायज मान्छु । अहिले आएर जनकपुरमा मान्छेहरूले चितवन, मकवानपुर अर्थात् पहाड, हिमाल सबै चाहिन्छ भनेर मागिरहेका छन् । यसलाई राष्ट्रियताको प्रतीकका रूपमा लिनुपर्छ ।
० आयोग गठन गर्नतिर लाग्दा त नयाँ संविधान त झन् टाढिदै जाँदैन र ?
संविधान त छिट्टै बनाउनुपर्छ । नत्र, यसले ठुलो अप्ठ्यारो सिर्जना गर्छ । संघीयताबारे पछि आयोगमार्फत गर्ने हो । अहिले जम्बो संविधानसभा सदस्य लिएर संघीयता नमिलेको भन्दै देशको बजेट खर्च गरिरहने ? संविधान त छिट्टै जारी गर्नुपर्छ । संघीयताबारे भने अध्ययन गरेर विज्ञहरूलाई दिने हो । विज्ञलाई दिन किन डराउने ? विज्ञहरूले निर्णय गर्ने होइन नि, निर्णय त राजनीतिक दलहरू, सरकारले हो । अहिले तत्काल संघीयतासहितको संविधान मैले सम्भव देखेको छैन ।
० तपाईंले तत्काल संघीयता नै चाहिँदैन भनेर संकेत गर्न खोज्नुभएको हो कि ?
संघीयता नै चाहिँदैन त नभनौं, सबै यसमा सहमत छन् तर स्पष्ट कुरा के हो भने संघीयताले सबैलाई टुक्र्याउँछ कि भन्ने हो । उदाहरणका लागि संघीयता भएको ५०÷६० वर्षपछि हामी यो राज्यका भन्दा पनि भारतीयहरूमा हामी भारतका हौं भन्ने कुरामा गर्व गर्न थालेका छन् । उहाँहरूले हामी उत्तर प्रदेशी, बिहारी, गुजारातीभन्दा पनि भारतीय हौं भन्न थाल्नुभएको छ । नेपालमा पाँच वर्षमै के देखिसक्यो भने हामीलाई मधेस होइन, नेपाल चाहिन्छ भन्ने भावना बढ्न थालेको छ । हामीलाई जनजाति वा कुनै ठाउँ विशेष होइन, अखण्ड चाहिन्छ भन्न थाल्नुभएको छ । यो एकदम सकारात्मक कुरा हो । संघीयताको कुरा गर्दा जातीय हुँदैन । यो त ऐतिहासिक, भौगोलिकलगायतका धेरै क्षेत्रलाई विश्लेषण गरेर बनाउनुपर्छ । पहिला तराईका नेताहरूलाई हामीलाई एक मधेस एक प्रदेश चाहिन्छ भन्थे तर अहिले हामीलाई स्रोत साधनका लागि तराई चाहिन्छ भन्न थालेका छन् । तराईलाई पहाडको जलविद्युत् र हिमालको पर्यटनको सेयर चाहिन्छ भने पहाड र हिमाललाई तराईको कृषि उद्योगको सेयर पनि चाहिन्छ ।

विश्वका संघीयता भएका २८ देशमा आयोगमार्फत संघीयताको सीमांकन गरिएको छ। तर, नेपालमा के कारण वा के खेलले हो, सीमांकनसहितको संघीयताको कुरा आयो। यसका आधारमा मोटामोटी रुपमा खाका तयार गरियो।
मैले आयोगविनाको संघीयता बनेको विश्वको कुनै देश देखाइदिनोस् भनेर भनेकै हु“ । जबसम्म तपाईंहरू आयोग बनाउनुहुन्न, तबसम्म संघीयता बन्दैन। आज पनि म त्यही भन्दै छु।
भारतमा ब्रिटिस आएर संघीयतामा सहयोग गरेकै हो। यसमा सहयोग लिन किन लाज मान्ने? जापानको संविधान त उसैको शत्रु मानिने अमेरिकाका विज्ञले बनाइदिएका हुन् ।
एकल जातीय पहिचान विष हो भने बहुजातीय पहिचान पानीविनाको विष हो। एकल र बहुजातीय पहिचान विष नैहुन् । साझा जातीय पहिचानका अन्य विकल्प छन्।
जहा“सम्म अखण्ड जायज वा नाजायज भन्ने छ, म त अखण्डको आवाजलाई जायज मान्छु। अहिले आएर जनकपुरमा मान्छेहरूले चितवन, मकवानपुर अर्थात् पहाड, हिमाल सबै चाहिन्छ भनेर मागिरहेका छन्। यसलाई राष्ट्रियताको प्रतीककारुपमा लिनुपर्छ ।
के खराबी छ र पा“च विकास क्षेत्रमा ? यो त वीरेन्द्र, महेन्द्र वा सूर्यबहादुर थापा, कीर्तिनीधि विष्ट, पशुपति शमशेरले बनाएका होइनन् नि, यो त विज्ञहरूले बनाएका हुन् । हर्कबहादुर गुरुº संयोजक रहेको विज्ञ समूहले बनाएको हो ।
० उसो भए पहिला नै रहेका पाँच विकास क्षेत्रलाई संघीयताको आधार मान्दा पनि हुने रहेछ त ?
हो, एकदम राम्रो हो । के खराबी छ र पाँच विकास क्षेत्रमा ? यो त वीरेन्द्र, महेन्द्र वा सूर्यबहादुर थापा, कीर्तिनिधि विष्ट, पशुपति शमशेरले पनि बनाएका होइनन् नि ? यो त विज्ञहरूले बनाएका हुन् । हर्कबहादुर गुरुङ संयोजक रहेको विज्ञ समूहले बनाएको हो । यसलाई सहर्ष स्वीकार गरेर संघीयतामा जान सकिन्छ । कतिले मलाई मधेस विरोधी भन्छन् । के कारणले यादवको छोरा मधेस विरोधी भयो र ? मधेस मेरो आमा हो तर नेपाल मेरो आमाको पनि आमा हो । पहिला म नेपाली हुँ, त्यसपछि मधेसी र यादव हुँ । कुनै दिन एक मधेस एक प्रदेशभन्दा मधेसलाई घाटा हुन्छ भन्दा सबैले विरोध गरे तिनै नेताहरूले एक मधेस एक प्रदेश छाडिसके । मधेस मात्र राख्दा मात्र विकास हुन्छ भन्ने कुरा सेन्टिमेन्टल हो तर मधेस डेभलपमेन्टमा जानुपर्छ । कुनै मधेस नेताहरूले मधेसले मात्र विकास हुन्छ भन्न सक्नुहुन्छ ? उहाँहरू नेपाली टोपी, दौरा सुरुवाल लगाएर मन्त्रीको शपथ खाने । आफ्नो अफिस मधेसमा होइन, काठमाडांैमा राख्ने । घर काठमाडौंमा बनाउने, पहाडीयासँग विवाह गर्ने अनि छोराछोरी काठमाडौंमा पढाउने, संविधानसभामा नियुक्त गर्दा पहाडी मूलका बाबुराम पोखरेल, गीता राणाहरूलाई गर्ने । राज्य पुनःसंरचना आयोगमा काठमाडौंका कृष्ण हाछेथूलाई पठाउने अनि कुराचाहिँ मधेसको गर्ने ? यस्ता दुईजिब्रे कुरा गर्नुहुन्न । बाहिर र भित्र एउटै कुरा गर्नुपर्छ ।
० संघीयताको नाममा विवाद त देखिरहेको छ, यसको अन्त्यका लागि अब के हुनुपर्छ ?
सबै नेपाली दाजुभाइले आफ्नो देशको संस्कृति, इतिहास, संस्कारबारे अध्ययन गर्नुपर्छ । हाम्रो संस्कार शान्तिपूर्ण सहअस्तित्वको संस्कार हो । नेपाल इतिहासदेखि अहिलेसम्म स्वतन्त्रता, सार्वभौमसत्ता सम्पन्न र अखण्ड राज्य हो । अहिलेसम्म नेपालमा कुनै ठुलो जातीय, धार्मिक र भौगोलिक द्वन्द्व भएको छैन । २०६२ सालपछि केही कुरा आए, त्यो जायज पनि थिए । हामीले के सोच्यौं भने तोडफोड, आगजनी, तराई–पहाडबिचको झगडा हाम्रो संस्कार र संस्कृति होइन । यो प्रजातन्त्र होइन । हामीले के सोच्नुप¥यो भने देशको सम्पत्ति एउटा सियो पनि भाँच्नुहुन्न । दोस्रो कुरा, हामीले आन्दोलन गर्दा अहिंसात्मक आन्दोलन गरौं । अहिंसात्मक आन्दोलन विश्वका धेरै देशमा सफल भएका छन् तर हिंसात्मक आन्दोलन असफल भएका प्रशस्त उदाहरण छन् । हामी बुद्धका देशका बासिन्दाले त अरूलाई पनि शान्तिपूर्ण आन्दोलन सफल हुने उदाहरण विश्वमा दिनुपर्छ । अहिले हिमाल, पहाड, तराईमा मान्छेहरू बसिरहेका छन्, सबै स्वतन्त्रपूवर्क बस्न पाउनुपर्छ । म मधेसबाट आएको हुँ, मेरो र मेरा छोराछोरीको सुरक्षा काठमाडौं÷पहाडमा हुनुपर्छ । यसको जिम्मा राज्य वा नागरिक समाजले जिम्मा लिनुपर्छ ।
० संघीयता नभए पनि हुन्छ भन्ने तपाईंंको धारणा हो ?
के संघीयता नभएका मुलुक असफल मात्र भएका छन् र ? सफल पनि भएका छन् । जापानमा संघीयता छैन तर विकासमा धेरै सफल छ । चीनमा संघीयता छैन, विश्वमै चर्चित छ । तर, नेपालमा संघीयता चाहिँदैन भनेर त नजाऔं, हामीले सहमति गरिसक्यौ । पछाडि गयो भने धेरै गाह्रो हुन्छ । अहिलेको संघीयता नेपाल र नेपालीको बनाऔं । कुनै राजनीति दलको नबनाऔं । यसका लागि आयोगमार्फत संघीयता बनाउनुको विकल्प छैन ।
० अहिले प्रदेश नम्बर २ र ६ मा बढी विवाद देखिएको छ, किन यस्तो भयो त ?
म प्रदेश नम्बर २ को हुँ । न्यायसंगत नभएपछि विरोध भइहाल्छ नि । त्यहाँ जलविद्युत्, पर्यटकीय क्षेत्र छैन अनि हामीले के विकास गर्ने ? एउटा विकसित राज्यले अर्को अविकसित राज्यलाई पैसा दिँदैन ? यो विश्वका धेरै संघीय राज्यमा देखिएको छ । पहिला अध्ययनको कमीको आधारमा तत्कालीन फाइदा हेरेर नाराहरू बनायौं । यसले समस्या पा¥यो । आठ महिनाअघि मैले कांग्रेस, एमाले र मधेस दलका नेताहरूकै सामु मैले एक मधेस एक प्रदेश घाटा हुन्छ भनेर प्रस्तुतीकरण दिएँ । मैले सबै वृत्तान्त बताएपछि उहाँहरू विश्वस्त हुनुभयो । मैले पढेको हुनाले यसको विश्लेषण गर्न सकें । प्रदेश नं. २ को सीमांकन हेर्दा सेन्टिमेन्टल देखियो, डेभलपमेन्ट त देखिएन । केही छैन यो प्रदेशमा । किन मान्ने ? हाम्रो राज्यले अब अमेरिकासँग प्रतिस्पर्धा गर्ने हो नि, अफिकाको कुनै अविकसित देशसँग होइन नि । रुवान्डा बन्ने होइन, विकासमै जाने हो ।
० तपाईंजस्ता जानकार विज्ञहरूले आफ्ना नेताहरूलाई यसबारे बुझाउन नसक्नुभएकै हो ? यसमा तपाईको पनि गल्ती देखिन्छ नि †
हाम्रो यो गल्ती कमजोरी हो । हामीले यसबारे स्पष्ट बुझाउन नसकेकै हौं । मैले मेची–महाकाली पुग्दा बारम्बार भनेकै हुँ, जातीय, क्षेत्रीय छोड्नोस्, नेपाली बन्नोस्, नागरिक बन्नोस् । मलाई सिन्धुपाल्चोक, नुवाकोटमा तपाईं मधेसी छोड्नुहुन्छ भनेर भने तर मैले कहाँ मधेसी छोडेको छु र, पहिला त नेपाली हुँ, त्यसपछि मधेसी हुँ भने । मैले कुनै क्षेत्रीय र जातीय पार्टीबाट राजनीति गर्दिनँ भनेर प्रतिबद्धता पनि जनाएँ ।
० अब कसरी अघि बढ्नुपर्छ त ?
हिमाल, पहाड, तराई मिलेर जानुपर्छ । यसका विकल्प छैन । आर्थिक स्रोतसाधनमा सबैको पहुँच हुनुपर्छ । जुनसुकै क्षेत्रमा पनि नागरिकलाई सुरक्षा चाहिन्छ, स्वतन्त्रता चाहिन्छ । यसको जिम्मा केन्द्रीय सरकारले लिनुपर्छ । हालैको भारतीय स्वतन्त्रता दिवसमा भारतीय प्रधानमन्त्रीले जातीय र क्षेत्रीयता हाम्रा लागि विष भन्नुभएको छ । जातीय र क्षेत्रीयतालाई नेपालबाट निर्मूल पारौं । यसलाई निर्मूल पार्ने विकास मात्र हो ।
http://www.erajdhani.com/article/0354327001440037416

भूकम्पमा ज्यान गुमाउनेको सम्झना काठमाडौंमा स्मारक, जिल्लामा पार्क

भीम गौतम /राजधानी
काठमाडौं, २ भदौ
सरकारले १२ वैशाख र त्यसपछिको निरन्तर पराकम्पनबाट ज्यान गुमाएका र घाइतेको सम्झनामा काठमाडांै उपत्यकामा स्मारक निर्माण गर्ने भएको छ। राष्ट्रिय योजना आयोगले तयार पारेको भूकम्पोत्तर पुनःस्थापना तथा पुनर्निर्माणसम्बन्धी नीतिअनुसार भूकम्पबाट ज्यान गुमाएका सबै व्यक्तिको सम्झनामा सरकारले स्मारक निर्माण गर्ने भएको हो।

गृह मन्त्रालयको तथ्यांकअनुसार भूकम्पबाट ८ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् भने करिब २२ हजार घाइते भएका छन्। भूकम्पबाट ज्यान गुमाएका र घाइतेका साथै उद्धार, राहत तथा खोजी कार्यमा खटिँदा ज्यान गुमाएका, घाइते भएका सैनिक, प्रहरी, निजामती कर्मचारी, विदेशी सैनिक स्वयंसेवकहरूको सम्झनामा सो स्मारक निर्माण हुनेछ। ‘भूकम्पबाट ज्यान गुमाएका, घाइतेका साथै उद्धारको क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा स्मारक बनाउनका लागि नीतिले जोड दिएको छ,’ योजना आयोगका सहसचिव गोपी मैनालीले भने, ‘पुनर्निर्माण प्राधिकरणले पूर्णता पाएर यसका लागि आवश्यक जनशक्तिसहितको व्यवस्थापन गरेपछि स्मारक निर्माण कार्य अघि बढ्छ।’
त्यसैगरी, भूकम्पबाट ज्यान गुमाएका तथा घाइते जिल्लावासीहरूको सम्झनामा अति प्रभावित प्रत्येक जिल्ला सदरमुकाम वा अन्य उपयुक्त स्थानहरूमा समेत भूकम्प पार्क निर्माण गरिने नीतिमा उल्लेख छ। भूकम्पले ३१ जिल्लामा प्रभाव पारे पनि गोर्खा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, काभ्रे, रसुवा, नुवाकोट, धादिङलगायतका १४ जिल्ला विशेष प्रभावित बनेका छन्।
भूकम्पबाट ज्यान गुमाएका व्यक्तिहरूको नामसमेत रहने स्मारकले भविष्यमा समेत २०७२ सालको भूकम्प र त्यसबाट भएको जनधनको क्षतिबारे जानकारी दिनेछ । भावी पुस्ताका लागि भूकम्पको इतिहासलाई जानकारी गराई सहज बनाउनका लागि सहयोग गर्ने अपेक्षा आयोगको छ । नीतिमा भूकम्पपछिको उद्धार, राहत, खोजकार्य, पुनःस्थापना तथा पुनर्निर्माण कार्यका लागि खटिएका जंगी तथा निजामती कर्मचारी, विदेशी सैनिक तथा गैरसैनिक व्यक्ति, स्वदेशी, संघ÷संस्थालाई सम्मान गर्ने तथा जिम्मेवारी पूरा नगर्ने व्यक्ति र पदाधिकारीलाई कारबाही गर्ने पनि नीतिमा उल्लेख छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहेको पुनर्निर्माण प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत नियुक्त भइसकेका छन् । पुनर्निर्माण प्राधिकरणले काम अघि बढाउनका लागि आवश्यक जनशक्तिका साथै नियमावली, कार्यविधिलगायतका कार्य भइरहेको प्रधानमन्त्रीका विपद् सल्लाहकार डा. राम थपलियाले जानकारी दिए । प्राधिकरण सञ्चालनका लागि आवश्यक पूर्वाधारसहित कार्यविधि, नियमावली भएपछि भूकम्पबाट भएको क्षतिग्रस्त संरचनाहरूका साथै काठमाडौंमा स्मारक र जिल्लामा भूकम्प पार्क निर्माण अघि बढ्ने प्राधिकरणले जनाएको छ ।
http://www.erajdhani.com/article/0569494001440044272

Wednesday, August 19, 2015

विद्युत् प्राधिकरणको वर्षकै घाटा साढे ६ अर्ब

विद्युत्का लागि २० बर्से रणनीति  ऊर्जामन्त्री 

राजधानी समाचारदाता
काठमाडौं, १ भदौ
नेपाल विद्युत् प्राधिकरणको आर्थिक वर्ष २०७१÷०७२ को घाटा ६ अर्ब ५१ करोड ४० हजार रुपैयाँ भएको छ ।मंगलबार विद्युत् प्राधिकरणको वार्षिक प्रतिवेदन पेस गर्दै कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सो जानकारी दिएका हुन् । प्रतिवेदनअनुसार, हालसम्मको सञ्चित घाटा २६ अर्ब ७९ करोड ८६ लाख रुपैयाँ पुगिसकेको छ । प्राधिकरणको आर्थिक वर्ष २०६७÷०६८ मा सरकारले २७ अर्ब रुपैयाँ घाटा अपलेखन गरेको थियो । त्यसपछि मात्र प्राधिकरणको घाटा झन्डै २७ अर्ब पुगेको छ ।
वार्षिक प्रतिवेदन अनुसार, अन्य स्रोतहरूबाट भएको आम्दानी २ अर्ब ८ करोड ५४ लाख रुपैयाँसहित प्राधिकरणको कुल आम्दानी आर्थिक वर्ष २०७१÷०७२ मा ३२ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी प्राधिकरणको अघिल्लो वर्षसम्म सरकारप्रतिको दायित्व सेयर पुँजी ४९ अर्ब ६३ करोड १९ लाख रुपैयाँ पुगेको छ ।
प्राधिकरणका अनुसार, अघिल्लो आर्थिक वर्षमा ६ ओटा आयोजना निर्माण पूरा भई ४२ दशमलव १२ मेगावाट बिजुली थप भएको छ भने ४ सय ४२ मेगावाट बराबरका २३ आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको छ । कार्यक्रममा कार्यकारी निर्देशक काफ्लेले प्रतिवेदन पेस गर्दै ग्राहकलाई प्रदान गरिने सेवालाई सर्वसुलभ बनाउन तथा गुनासो व्यवस्थापन गर्न ग्राहक सेवा स्थापना गरिने जानकारी दिएका थिए । उनले रिमोट मिटर रिडिङ प्रणाली र इन्टरनेटमा आधारित विलिङ प्रणालीलाई कार्यान्वयनमा ल्याइने पनि उद्घोष गरे ।
वार्षिक उत्सवको उद्घाटन गर्दै ऊर्जामन्त्री राधा ज्ञवालीले जलविद्युत्को समग्र विकासका लागि मन्त्रालयले २० बर्से विद्युत् रणनीति बनाइरहेको जानकारी दिए । उनले लोडसेडिङ अन्त्यका लागि सरकारले विशेष फोकस गरिरहेको बताइन् । प्राधिकरण सानातिना आयोजना छोडेर ठुला जलविद्युत् आयोजना निर्माणतर्फ केन्द्रित हुनुपर्ने बताइन् । कार्यक्रममा प्राधिकरणका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डे, विद्युत् प्राधिकरण युनियनका अध्यक्ष रामप्रसाद रिमाल, संघका अध्यक्ष जनार्दन भट्टराई, परिषद्का अध्यक्ष अमृतबहादुर खापुङ, संगठनका अध्यक्ष खगेन्द्र शाही, राष्ट्रिय संगठनका अध्यक्ष सीताराम थापालगायतले विद्युत् प्राधिकरणको अवस्था र भविष्यबारे चर्चा गरेका थिए ।
http://erajdhani.com/article/0445238001439945495

बाजुराको ५९ प्रतिशत जमिन आवासका लागि अयोग्य

काठमाडौं÷रास— मानव सूचकांक आधारमा सबैभन्दा कमजोर बाजुरा जिल्लाको ५९ प्रतिशत जमिन आवासका लागि अयोग्य देखिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य प्रेमप्रसाद दंगालको संयोजकत्वमा रहेको उच्च पहाडी तथा हिमाली जिल्लामा ग्रामीण बस्ती विकास तथा भूउपयोगसम्बन्धी अध्ययन कार्यदलको प्रतिवेदनले यस्तो देखाएको हो । १६ जिल्लालाई लक्षित गरी बनाइएको प्रतिवेदनमा बाजुरा जिल्लाको नमुना रूपमा विस्तृत अध्ययनसमेत
गरिएको छ ।
‘१७ जिल्लामध्ये नमुनाका रूपमा बाजुराको अध्ययन गर्दा ५९ प्रतिशत जमिन आवासका लागि अयोग्य देखिएको छ, बाँकी ४१ प्रतिशत मात्र योग्य छ,’ सदस्य दंगालले भने, ‘प्रतिवेदनमा बस्तीका लागि अयोग्य गाविस तथा बस्नयोग्य बस्तीहरूको नाम स्पष्ट रुपमा किटान गरेका छौं ।’
दंगाल संयोजकत्वको समितिले तयार पारेर आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेललाई बुझाएको प्रतिवेदनमा भिरालोपन, उचाइ, भूगर्भ, वर्तमान भूउपयोग क्षेत्र, नदीनाला, पहिरो, पहुँच र जलस्रोतको आधारमा जमिनको वर्गीकरण गरिएको छ । स्थानीय राजनीतिक दल, सरकारी निकाय र सरोकारवाला निकायका प्रतिनिधिसँग अन्तक्र्रिया र छलफल तथा सम्बन्धित क्षेत्रमा पुगेर समितिले प्रतिवेदन तयार पारेको सदस्य दंगालले जानकारी दिए ।
प्रतिवेदनमा यी कारणले बाजुराका बिछाइएन, दाहाकोट, गोल्ट्री, मानाकोट, रुगिन र सपता गाविस पूर्णरूपमा बस्न अनुपयुक्त भनिएको छ । प्रतिवेदनमा बाजुराका अतिचौर, बाडु, बल, बाह्रबिसे, ब्रम्हतोला, बुढीगंगा, जुगाडा, जुकोट, कैलाशमान्डु, कान्दालगायतका गाविसका ७० गाउँमा एकीकृत बस्ती बसाउन सकिने उल्लेख छ ।
बाटोघाटोको पहुँचता, खानेपानी सुविधा, आयआर्जनका सम्भावना, प्रकोप जोखिम नभएको अवस्था, भौतिक पूर्वाधारको उपलब्धता, बजारको सम्भावना र जलवायु असरको आधारमा एकीकृत बस्तीका लागि प्रस्तावित गरिएको प्रतिवेदनमा उल्लेख छ । समितिले बाजुरा जिल्लाको भूगोल, जनसंख्या, जनघनत्व, खानेपानी, विद्यालय, स्वास्थ्य, पोषणको अवस्था, मानव सूचकांक, उत्पादकत्वको अवस्थाका साथै सरकारी तथा गैरसरकारी क्षेत्रले गरेको कार्यक्रमलाई समेत विश्लेषण गरेको थियो ।
नेपालको मानव विकास प्रतिवेदन २०१४ अनुसार बाजुरा सबैभन्दा कमजोर ७५ औं स्थानमा छ । १ लाख ३४ हजार जनसंख्या रहेको बाजुरामा २५ हजार घरधुरी रहेको छ । 
http://erajdhani.com/article/0549446001439945718

Tuesday, August 18, 2015

पुनर्निर्माण म्याराथन गतिमा दौडिन्छ


                    प्रा. डा. गोविन्दराज पोखरेल
                    प्रमुख कार्यकारी अधिकृत, पुनर्निर्माण प्राधिकरण
१२ वैशाखमा गएको विनाशकारी भूकम्पका कारण मुलुकले ठुलो धनजनको क्षति बेहोर्नुपरेको छ । भत्केका संरचना निर्माणका लागि पुनर्निर्माण प्राधिकरण बनाउनुपर्ने धारणा भूकम्पपछि नै आएको भए पनि करिब ८० दिनपछि मात्रै प्राधिकरणले पदाधिकारी पाएको छ । प्राधिकरणमा धेरैजनाको चासो रहेको अवस्थामा सरकारले हालै मात्र प्रा. डा. गोविन्द पोखरेललाई प्रमुख कार्यकारी अधिकृतका रूपमा नियुक्त गरेको छ । प्युठानको गाउँमा जन्मिई राष्ट्रिय योजना आयोगको उपाध्यक्षसमेत भएका उनलाई सरकारले प्राधिकरणको सीईओ बनाएको हो । त्रिभुवन विश्वविद्यालयको पुल्चोक इन्जिनियरिङ कलेजको प्राध्यापकको अनुभवसमेत प्राप्त गरेका प्रा. डा. पोखरेलसँग प्राधिकरणको आगामी कार्यदिशा तथा यसको पुनर्निर्माण कार्यबारे राजधानीका लागि भीम गौतमले गरेको संक्षिप्त कुराकानी ः
० भूकम्पपछि मुलुकमा पुनर्निर्माणको अवस्था के छ ?
– गत १२ वैशाखमा गोर्खाको बारपाक क्षेत्रमा केन्द्रबिन्दु भएको करिब ७.८ रेक्टर स्केलको भूकम्प र त्यसपछि आएका धेरै पराकम्पनले नेपालका १४ जिल्लामा विशेष क्षति भएको छ । झन्डै ३१ जिल्ला यस भूकम्पको धक्काबाट प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । गृह मन्त्रालयबाट प्राप्त तथ्यांकको आधारमा ८ हजार ७ सय ८९ जनाले ज्यान गुमाएका छन् भने २२ हजारभन्दा बढी घाइते भएका छन् । भूकम्पबाट क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणका लागि करिब ७ खर्ब बजेट आवश्यक पर्ने आयोगले तयार पारेको भूकम्पपछिको क्षति आँकलन (पीडीएनए) प्रतिवेदनमा उल्लेख छ । यस विपद्बाट मुलुकको समग्र राष्ट्रिय अर्थतन्त्रमा नै नकारात्मक असर परेको छ । यसकै आधारमा भूकम्पबाट भएको भौतिक संरचनाहरूको क्षतिलाई पुनर्निर्माणका लागि हामी अग्रसर भएका छौं । तत्कालीन राहत र उद्धार कार्य सकिएको छ भने अब अल्पकालीन र दीर्घकालीन रूपमा नेपालको पुनर्निर्माणलाई अघि बढाउनुपर्ने आवश्यकता छ ।
० पुनर्निर्माण नीति तयार भएको छ, यसमा मुख्य के छ ?
– ‘केन्द्रीकृत नीति र विकेन्द्रित कार्यक्रम’को अवधारणासहितको पुनर्निर्माण नीति तयार गरिएको छ । नीति केन्द्रमा तथा कार्ययोजनाहरू जिल्ला र स्थानीय स्तरमा तर्जुमा गर्ने गरी संयन्त्र बनाएर अघि बढाइने गरी तयार पारिएको नीतिमा ‘बनाऊ राम्रो बलियो’ भन्ने नेपाली मोडेललाई जोड दिइएको छ । पुनर्निर्माण गर्दा स्थानीय सामग्री र वास्तुकला तथा भूकम्प प्रतिरोधी निर्माण विधि अवलम्बन गर्ने नीतिमा उल्लेख छ । नीतिमा सम्भव भएसम्म स्थानीय सामग्री, सिप, श्रम र वास्तुकलाको प्रयोग गरी संरचना निर्माण गर्नुपर्ने तथा स्वनिर्माणको अवधारणाअनुसार निजी–आवासीय घर घरधनीद्वारा बनाउने र सार्वजनिक भवन सरकार वा दाताद्वारा बनाउनुपर्ने उल्लेख छ । आफ्नो घरको निर्माण घरधनी स्वयंले गर्ने र सरकारले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने, स्थानीय सामग्री र सिपको अधिकतम प्रयोग गर्ने । पुनर्निर्माणको कार्य स्थानीय रूपमा प्रचलित भवन निर्माणका सिप र स्थानीय रूपमा प्राप्त हुने निर्माण सामग्री प्रयोग गर्ने गरी गर्नेजस्ता कुरा नीतिमा उल्लेख छ । हामीले आफ्नो घर आफैंले बनाउने गरी नीति बनाएका छौं । अन्य सरकारी संरचना भने दाताहरूले बनाउने गरी अघि बढाउन लागेका छौं ।
स्थानीय सामग्री र सिपको अधिकतम प्रयोग गर्ने उल्लेख गर्दै नीतिमा स्थानीय स्तरमा प्राप्त हुने ढुंगामाटो, इँटा, काठ, बाँसको अधिकतम प्रयोग गर्ने तर यसो गर्दा राष्ट्रिय भवन संहितामा उल्लेख भएअनुसार भूकम्पबाट सुरक्षित हुने गरी घर निर्माण गर्नुपर्नेमा जोड दिएका छौं । सरकारबाट स्वीकृत डिजाइन र नक्साअनुसार घरहरू बने÷नबनेको निरीक्षण गर्न खटिने प्राविधिक टोलीको सिफारिसअनुसार किस्ताबन्दी रूपमा घरधनीलाई आर्थिक सहायता उपलब्ध गराउने गरी भूकम्प प्रतिरोधी निर्माण विधि र सरकारी आर्थिक सहायताबिच तालमेल मिलाउने कुरामा जोड दिएका छांै । जोखिममा रहेका ग्रामीण तथा सहरी बस्तीहरूको भौगोलिक तथा भौगर्भिक अध्ययन गर्न प्राविधिकहरूको घुम्ती टोली बनाई स्थानीय समुदायलाई सम्भावित जोखिमको जानकारी गराउने तथा बस्तीलाई स्थानान्तरण गर्नुपर्ने भएमा नजिकको सुरक्षित स्थानबारे सो समुदायलाई जानकारी गराउने कुरामा पनि नीतिमा जोड दिइएको छ ।
० प्राधिकरण गठन भए पनि लामो समयसम्म नेतृत्वविहीन रह्यो । यसले पूर्णता पनि पाइसकेको अवस्थामा अब पुनर्निर्माण कसरी अघि बढ्छ ?
– राष्ट्रिय योजना आयोगले तयार पारेको नीतिले भूकम्पपछिको पुनर्निर्माण तथा पुनः स्थापनका लागि निर्देश गर्छ । नीतिअनुसार अबको एक महिनाभित्र यसका आवश्यक नियमावली र कार्यविधि बनाउँछौं । सरकारले पुनर्निर्माण प्राधिकरण गठन गरिसकेकाले अब यो प्राधिकरणलाई आवश्यक स्रोतसाधन व्यवस्थापनमा हामी केन्द्रित हुन्छौं । पहिलो त अफिस नै चाहियो । अफिसपछि जनशक्ति व्यवस्थापन गर्छौं । आयोगले बनाएको भूकम्पपछिको क्षति आँकलन (पीडीएनए) प्रतिवेदनमा उल्लेख भएअनुसारको २१ क्षेत्रको छुट्टाछुट्टै कार्यायोजना बन्छ । भूकम्पपछिको पुनर्निर्माणका लागि दाताहरूले प्रतिबद्धता जनाएअनुसारको निश्चित क्षेत्र तोकेर समन्वयमा कार्यक्रम प्रस्ताव गर्छौं । त्यसैगरी भूकम्पबाट क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय संघसंस्था र व्यक्तिले सहयोग गर्न चाहेका छन् । उनीहरूलाई कार्यक्रमको दोहोरोपन नपर्ने गरी क्षेत्र तोक्छौं ।
० यी त योजना भए, कार्यावन्यन कहिले हुन्छ र जनताले कहिले अनुभूति गर्न पाउँछन् ?
– एक महिनाभित्र प्राधिकरणको व्यवस्थापनका लागि आवश्यक सबै संरचनाहरूको व्यवस्था गरिसक्छांै । यस अवधिमै आवश्यक नियमावली, कार्यविधि बनाउँछौं । दसैंतिहारलगत्तै पुनर्निर्माणका योजना कार्यान्वयनतिर जान्छन् । तत्काल अघि बढाउन सकिने काम हुन्छन् । भौगर्भिक र भौगोलिक अवस्थाको अध्ययन गरेर अघि बढाउने कामबाहेक अन्य अघि बढ्छन् । जनताले दसैंतिहारलगत्तै प्राधिकरणको कामको अनुभूति गर्न पाउँछन् । हुन त प्राधिकरणमा दुई विज्ञ नियुक्ति हुन बाँकी भए पनि छिट्टै प्राधिकरण बोर्ड बस्छ । अहिले कार्यालयको भवन खोजिरहेका छौं । भूकम्पपछिको अवस्था र जनताको चाहनाको आधारमा पुनर्निर्माण म्याराथनको गतिमा दौडाउँछौं र दौडिन्छ पनि । पाँच वर्षभित्र पुनर्निर्माण पूरा गर्नेमा हामी प्रतिबद्ध भएर लाग्छौं । स्थानीय स्रोत साधनको उपयोग, प्रभावकारी अनुगमन र पारदर्शितालाई हामीले पुनर्निर्माण गर्दा विशेष ध्यान दिन्छौं ।
० भूकम्पपीडित सरकारले पीडितलाई दिने भनेको तत्कालको राहतसमेत पाउन नसकेको अवस्था छ, अब जनताले राहत कहिलेसम्म पाइसक्छन् ?
– भूकम्पपीडितले दसैंतिहारलगत्तै स्थायी भवन निर्माणमा जान सक्ने गरी वातावरण बनाउँछौं । उनीहरूलाई सरकारको तर्फबाट दिइने राहत र सहुलियत दरको ऋण समेत कार्यान्वयनका लागि आवश्यक सबै प्रावधान पनि व्यवस्था गरिसक्ने लक्ष्य छ । उनीहरूलाई स्थानीय स्तरमा जीविकोपार्जनका लागि दिइने रोजगारीमूलक तालिमका साथै अन्य रोजगारीका अवसरसमेत क्रमशः सिर्जना गर्दै जान्छौं । 
http://www.erajdhani.com/article/0784555001439861505

Monday, August 17, 2015

जोखिममा रहेका १७ जिल्लामा एकीकृत बस्ती

भीम गौतम/राजधानीकाठमाडौं, ३१ साउन
राष्ट्रिय योजना आयोगले मानव सूचकांकको नेपालकै सबैभन्दा कमजोर बाजुरालगायतका उच्च पहाडी र उच्च हिमाली क्षेत्रका १७ जिल्लामा एकीकृत बस्तीका लागि अवधारणा अघि सारेको छ ।
सरकारबाट प्रवाह हुने सेवाको पहुँचमा कमजोर तथा भूकम्प, बाढी, पहिरोलगायतका प्राकृतिक प्रकोपबाट उच्च जोखिममा रहेका ती जिल्लाहरूमा एकीकृत विकास गर्ने गरी आयोगले यस्तो अवधारणा अघि सारेको हो । आयोगका सदस्य प्रेमप्रसाद दंगालको संयोजकमा रहेको उच्च पहाडी तथा हिमाली जिल्लाहरूमा ग्रामीण बस्ती विकास तथा भूउपयोगसम्बन्धी अध्ययन कार्यदलले आयोगका उपाध्यक्ष डा.गोविन्दराज पोखरेललाई बुझाएको प्रतिवेदनमा अविलम्ब कानुन बनाएर कार्यावन्यन गर्न सरकारलाई सुझाव दिइएको छ ।
बाजुरा जिल्लाको एकीकृत बस्तीबारे विस्तृत अध्ययन समेत गरेर बुझाइएको प्रतिवेदनमा आयोग र प्रधानमन्त्री कार्यालयको अनुगमन तथा स्थानीय विकास र भूमिसुधार मन्त्रालयको सहयोगमा सहरी विकास मन्त्रालयले आगामी असोजभित्र एकीकृत बस्ती विकास नीति र कानुन बनाइसक्ने गरी कार्ययोजनासमेत अघि सारिएको छ । प्रतिवेदनले ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, बझाङ र दार्चुला जिल्लाभित्र एकीकृत बस्ती विकासलाई जोड दिएको छ ।
‘सरकारी सेवाको पहुँच कमजोर र प्राकृतिक प्रकोपको जोखिममा रहेका हिमाली र उच्च पहाडी क्षेत्रहरूको एकीकृत विकासका लागि स्पष्ट कार्ययोजनासहितको प्रतिवेदन तयार गरेका छौं,’ आयोग सदस्य एवं कार्यदल संयोजक दंगालले भने, ‘यो प्रतिवेदन आयोगबाट पारित भएपछि सरकारले स्वामित्व लिएर कार्यान्वयनमा जानेछ, यसका लागि कुन मन्त्रालयले के गर्ने भनेर स्पष्ट कार्ययोजना बनाएका छौ ।’
कार्यदलले भूधरातलीय तथा भौगोलिक अवस्था, सडक सञ्जाल र यातायातको पहुँच, खानेपानीको सुविधा, जमिनको भिरालोपन, बजारको अवस्था, आयआर्जन तथा रोजगारीका सम्भावनाहरू, सरकारी सेवा प्रवाहको अवस्था, भूउपयोगको सम्भावना, प्रकोप जोखिम नभएको स्थान, भौतिक पूर्वाधारको उपलब्धता र जलवायु परिवर्तनको असरमा आधारित भएर अध्ययन गरेको थियो ।
व्यवस्थापिका–संसद्को विकास समितिले उच्च पहाडी तथा हिमाली जिल्लाको एकीकृत बस्ती विकास र भूउपयोगसम्बन्धी अध्ययन गरी कार्ययोजना तयार गर्न आयोगलाई निर्देशन दिएपछि अध्ययन सुरु भएको थियो । गरिबीको चपेटामा रहेका यस्ता बस्तीहरूमा राज्यको तर्फबाट दिनुपर्ने सेवा कमजोर रहेका कारण हिमाली क्षेत्रबाट पहाड र त्यहाँबाट क्रमशः तराईतर्फ आन्तरिक बसाइ–सराई बढेपछि र यसले छरिएका बस्तीहरू झन् पातलिँदै गएपछि आयोगले समेत यसलाई गम्भीर रूपमा लिएर अध्ययन अघि बढाएको हो ।
‘आयोगले पारित गरेर सरकारलाई बुझाएपछि यसको आधारमा एकीकृत बस्ती विकासको कार्यक्रम अघि बढ्छ,’ आयोगका सहसचिव गोपी मैनालीले भने, ‘एकीकृत बस्ती निर्माणबारे अहिले नीति र कानुन छैन, सो कारण कानुन निर्माणमा समेत प्रतिवेदनले जोड दिएको छ ।’
आयोगले बाजुराबाहेक अध्ययन गर्न बाँकी १५ उच्च पहाडी तथा हिमाली जिल्लाको एकीकृत बस्ती विकास तथा भूउपयोगसम्बन्धी अध्ययन गरी बस्तीयोग्य क्षेत्रको पहचिान गरी तिन महिनाभित्र सुझाव प्रस्तुत गर्न आयोगका सदस्य दंगालकै सहयोगमा अर्को कार्यदलसमेत बनाएको छ । बाजुरा अध्ययनले थप १५ जिल्लाको एकीकृत योजना बनाउन सहयोग पुग्ने अपेक्षा कार्यदलको छ ।
कार्यदलले प्रतिवेदन कार्यान्वयनका लागि आवश्यकअनुसारको कार्यविधि तथा निर्देशिकाको तर्जुमा गर्न तथा कार्यहरू सम्पादनका लागि आवश्यक विभाग तथा परियोजनाहरूको स्थापना गर्न पनि जोड दिएको छ ।
प्रतिवेदनका सिफारिस गरिएका सुझावहरूलाई भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माणको क्रममा गरिने एकीकृत बस्ती विकास गर्दा स्थानीय आवश्यकतालाई ध्यान दिई कार्यान्वयन गर्न पनि कार्यदलले सिफारिस गरेको छ ।
बस्ती विकास तथा भूउपयोग व्यवस्थापन कार्यक्रम कार्ययोजनामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् तथा आयोगको अनुगमनमा सरोकारवाला मन्त्रालयहरूको समन्वयमा नीति तथा कानुन तर्जुमा गर्ने उल्लेख छ । आयोगको सहयोगमा भूमिसुधार मन्त्रालयले भूउपयोग नीति आगामी असोजभित्र परिमार्जन गरिसक्नुपर्ने, कात्तिकभित्र भूमिसुधार र कानुन मन्त्रालयको सहयोगमा सहरी विकास मन्त्रालयले आगामी कात्तिकभित्रै एकीकृत बस्ती विकास कानुन र भवन तथा आवास निर्माण मापदण्ड बनाइसक्नुपर्ने कार्ययोजनामा उल्लेख छ ।
त्यसैगरी, कार्ययोजनामा आगामी भदौभित्र भूउपयोग विभागको स्थापना र भवन निर्माण र सहरी विकास विभागको सुदृढीकरणजस्ता संस्थागत संरचनाका साथै जिल्लागत तहमा एकीकृत बस्ती विकास आयोजना निर्माणमा जोड दिइएको छ ।
कार्ययोजनाले स्थानीय भूगोलको अवलोकन तथा खाका तयारी, बस्तीका लागि जग्गा प्राप्ति, मुआब्जा र शोधभर्ना तथा जग्गाको स्वामित्व हस्तान्तरणसहितको बस्ती व्यवस्थापन, आवश्यक सबै पूर्वाधार विकास र सार्वजनिक सेवा प्रवाहलाई चालु वर्षदेखि अघि बढाउन जोड दिइएको छ ।
प्रतिवेदनले एकीकृत बस्ती विकास कार्यक्रमलाई सफल पार्न लक्षित समुदायमा १ सय दिनका लागि एक परिवार एक रोजगार कार्यक्रम कार्यावन्यन, बस्ती विकासमा स्थानीय लक्षित समूहलाई परिचालन, कृषि उत्पादनलाई व्यवसायीकरण, विविधीकरण र व्यापारीकरणमा उत्प्रेरित गर्दै सहुलियत र अनुदानको प्रबन्ध गरी किसानलाई प्रोत्साहन गर्न, युवालाई १ लाख रुपैयाँसम्म विनाब्याज ऋण उपलब्ध गराउने लगायतका आय आर्जन, जीविकोपार्जन र रोजागरीसम्बन्धी व्यवस्था गर्न भनेको छ ।
त्यसैगरी, प्रतिवेदनमा एकीकृत बस्तीको प्रभावित क्षेत्रका सबै घरहरूलाई आवश्यकताका आधारमा सबै सरकारी उन्नत र आधुनिक सेवासुविधा पु¥याउन तथा भूमि र भूमि स्रोतको उच्चतम उपयोगका लागि कृषि, आवास, व्यावसायिक, औद्योगिक, वन, सार्वजनिक उपयोग क्षेत्रको वर्गीकरण गरी एकीकृत विकास गर्ने उल्लेख छ ।
एकीकृत ग्रामीण बस्तीका लागि आवश्यक जमिनको व्यवस्थापन सरकार गर्ने तथा यसका लागि सरकारी जग्गा उपलब्ध हुन नसकेमा व्यक्तिगत स्वामित्वमा रहेको जग्गा अधिग्रहण गर्ने, एक जग्गाधनी र अर्कोबिच जग्गा साटासाट कार्यक्रम ल्याउने, आङ्खनो जमिन र घर नहुने गरिब र सीमान्तकृत समुदायमा छुट्टै व्यवस्था गर्ने प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी, एकीकृत बस्तीमा निर्माण गरिने सबै घरधुरीमा सडक सञ्जाल पु¥याउने, आवासमा पहुँच मार्ग १६ फिट तथा सार्वजनिक भवनमा ३२ फिट चौडाइ हुनुपर्ने तथा १ सय घरधुरीको माझमा एक खुला क्षेत्र बनाउने तथा यस्ता क्षेत्रहरूमा जलविद्युत्, सौर्य र वायु ऊर्जालाई प्राथमिकता दिई आधुनिक सूचना प्रविधिमा आधारित हुने दु्रतगतिको इन्टरनेटका लागि अप्टिकल फाइबर तथा भिस्याट प्रविधिको विकास गर्ने उल्लेख छ ।
http://www.erajdhani.com/article/0136535001439782408

Sunday, August 16, 2015

पुनर्निर्माणमा केन्द्रीकृत नीति, विकेन्द्रित कार्यक्रम

  • स्वनिर्माणको अवधारणा
  • स्थानीय सामग्री र वास्तुकला प्रयोग
  • विदेशी व्यक्ति र संस्थालाई निजी घर निर्माणमा रोक
  • आलोपालो घर निर्माण गर्ने
  • प्राविधिक टोलीको सिफारिसमा मात्र सहायता
  • घरविहीनलाई डेराभाडाको व्यवस्था
  • आपत्कालीन सामुदायिक भवन निर्माण
भीम गौतम/राजधानीकाठमाडौं, ३० साउन
सरकारले केन्द्रीकृत नीति र विकेन्द्रित कार्यक्रमको अवधारणासहित पुनर्निर्माण नीति तयार गरेको छ । गत १२ वैशाखको भूकम्प र त्यसपछिको निरन्तर परकम्पनका कारण क्षतिग्रस्त संरचनाहरूका लागि राष्ट्रिय योजना आयोगले भूकम्पोत्तर पुनस्थापना तथा पुनर्निर्माणसम्बन्धी नीति तयार पारेको हो ।
नीति केन्द्रमा तथा कार्ययोजनाहरू जिल्ला र स्थानीयस्तरमा तर्जुमा गर्ने गरी संयन्त्र बनाएर अघि बढाइने योजनाका साथ तयार पारिएको अवधारणामा ‘बनाऔं राम्रो बलियो’ भन्ने नेपाली मोडेललाई जोड दिइएको छ । पुनर्निर्माण गर्दा स्थानीय सामग्री र वास्तुकला तथा भूकम्प प्रतिरोधी निर्माण विधि अवलम्बन गर्ने नीतिमा उल्लेख छ ।
‘नीतिका आधारमा अब नियमावली, कार्यविधि र कार्ययोजना अघि बढाएर कार्यान्वयन हुन्छ,’ प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.गोविन्दराज पोखरेलले राजधानीसँग भने, ‘नीतिले प्राधिकरणलाई काम अघि बढाउन बाटो खुलेको छ ।’
आयोगले तयार गरी कार्यान्वयनका लागि शुक्रबार पुनर्निर्माण प्राधिकरणमा पठाउने निर्णय गरिएको नीतिमा सम्भव भएसम्म स्थानीय सामग्री, सीप, श्रम र वास्तुकलाको प्रयोग गरी संरचना निर्माण गर्नुपर्ने तथा स्वनिर्माणको अवधारणाअनुसार निजी आवासीय घर घरधनीद्वारा बनाउने र सार्वजनिक भवन सरकार वा दाताद्वारा बनाउनुपर्ने उल्लेख छ । ‘अब प्राधिकरणले आयोगले पठाएको नीतिलाई पारित गरेर पुनर्निर्माणका लागि अघि बढ्छ,’ आयोगका सहसचिव गोपी मैनालीले भने, ‘नीतिमा सो व्यवस्थालाई प्रस्टसाथ किटान गरिएको छ ।’
‘आङ्खनो घरको निर्माण घरधनी स्वयंले गर्ने र सरकारले आर्थिक तथा प्राविधिक सहायता उपलब्ध गराउने, स्थानीय सामग्री र सीपको अधिकतम प्रयोग गर्ने, पुनर्निर्माणको कार्य स्थानीय रूपमा प्रचलित भवन निर्माणका सीप र स्थानीय रूपमा प्राप्त हुने निर्माण सामग्री प्रयोग गर्ने गरी गर्ने,’ नीतिमा भनिएको छ ।
नीतिले स्वनिर्माण विधिलाई प्रोत्साहन गर्दै ग्रामीण र सहरी क्षेत्रका निजी घरहरू घरधनी स्वयंले नै निर्माण गर्ने र सरकारबाट आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने, विदेशी नागरिक वा संस्थाहरूलाई निजी घर निर्माणमा रोक लगाउने उल्लेख छ । यस्तै एकल महिला, असक्त, वृद्धवृद्धा आदि मात्र भएको परिवारलाई समुदायको सहयोगमा घर निर्माण गरिने तथा ग्रामीण र अर्धसहरी क्षेत्रमा स्थानीयको समूह बनाई पालैपालो गरी घर निर्माण गर्ने पद्धति बसाल्ने नीतिमा उल्लेख छ ।
स्थानीय सामग्री र सीपको अधिकतम प्रयोग गर्ने उल्लेख गर्दै नीतिमा स्थानीय स्तरमा प्राप्त हुने ढुंगा, माटो, इँटा, काठ, बाँसको अधिकतम प्रयोग गर्ने तर यसो गर्दा राष्ट्रिय भवन संहितामा उल्लेख भएअनुसार भूकम्पबाट सुरक्षित हुने गरी घर निर्माण गर्नुपर्ने उल्लेख छ । नीतिमा स्वदेशभित्र उत्पादन हुने गुणस्तरयुक्त जस्तापाता, सिमेन्ट, फ्mलामे छडजस्ता निर्माण सामग्रीलाई प्रोत्साहन गर्ने तर विदेशबाट आयात हुने प्रिफेव्रिकेटेड घर, त्यसको अंशको प्रयोगलाई निरुत्साहित गर्ने उल्लेख छ ।
यस्तै, स्थानीय कच्चा पदार्थबाट तयार हुने सुधारिएका निर्माण सामग्री जस्तै कंक्रिट ब्लक, माटो ब्लक, प्रिकास्ट बिम, स्ल्याव उत्पादन गर्न व्यक्ति र औद्योगिक संस्थालाई प्रोत्साहन गर्ने तथा पुरानो भवन भत्की प्राप्त हुने निर्माण सामग्रीको अधिकतम प्रयोग गर्ने उल्लेख छ ।
सरकारबाट स्वीकृत डिजाइन र नक्साअनुसार घरहरू बने÷नबनेको निरीक्षण गर्न खटिने प्राविधिक टोलीको सिफारिसअनुसार किस्ताबन्दी रूपमाघरधनीलाई आर्थिक सहायता उपलब्ध गराउने गरी भूकम्प प्रतिरोधी निर्माण विधि र सरकारी आर्थिक सहायताबिच तालमेल मिलाउने नीतिमा उल्लेख छ ।
नेपाल सरकारद्वारा उपलब्ध गराइए विभिन्न विकल्पमध्येबाट छनोट गरी निर्माण गरिने भवनको प्रमुख भाग (कोर हाउजिङ) निर्माणार्थ आर्थिक सहयोग उपलब्ध गराउने तथा आवास निर्माणको प्रगतिका आधारमा किस्ताबन्दीका रूपमा बैंकमार्फत आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख गर्दै नीतिमै अन्य क्षेत्रमा घर नभएकाले मात्र आर्थिक सहयोग पाउन सक्ने उल्लेख छ ।
निजी क्षेत्रबाट निर्माण भएका एकल वा संयुक्त आवासीय भवनहरूको क्षतिको प्राविधिकहरूबाट जाँच गराई जीर्णोद्धार वा प्रबलीकरण गर्ने र अस्थायी रूपमा बाहिर बसेका अपार्टमेन्ट धनी परिवारलाई आङ्खनो आवास एकाइमा फर्काउने तथा घरबारविहीन भएका घरवाला तथा डेरावालाहरूलाई अर्को व्यवस्था नभएसम्म मासिक घरबहालबापत एकमुष्ट रकम उपलब्ध गराउने नीतिमा उल्लेख छ ।
त्यसैगरी, नीतिमा काठमाडांै उपत्यकाका सबै नगरपालिकाहरूमा र भूकम्पबाट अति प्रभावित जिल्ला सदरमुकाममा कम्तीमा एउटा आपतकालीन सामुदायिक भवन निर्माण गर्ने र यसलाई विपद्को अवस्थामा बासस्थलका रूपमा र अन्य अवस्थामा विभिन्न सामुदायिक प्रयोजनका लागि उपयोग गर्ने गरी आपतकालीन भवनहरू निर्माण गर्ने उल्लेख छ । विभिन्न बहानामा खुला चौर, नदी किनार वा सार्वजनिक स्थल अतिक्रमण गरी बसेका व्यक्तिलाई विकल्प दिई हटाउने र त्यस्ता स्थानहरू सार्वजनिक प्रयोजनका लागि मात्र प्रयोग गर्ने उल्लेख छ ।
यस्तै, जोखिममा रहेका ग्रामीण तथा सहरी बस्तीहरूको भौगोलिक तथा भौगर्भिक अध्ययन गर्न प्राविधिकहरूको घुम्ती टोली बनाई स्थानीय समुदायलाई सम्भावित जोखिमको जानकारी गराउने तथा बस्तीलाई स्थानान्तरण गर्नुपर्ने भएमा नजिकको सुरक्षित स्थानबारे सो समुदायलाई जानकारी गराउने नीतिमा उल्लेख छ । यस्तै, नीतिमा बस्तीहरू स्थानान्तरण गर्दा सकेसम्म नजिकै नभए सम्बन्धित निर्वाचन क्षेत्र र त्यो पनि सम्भव नभए जिल्लाभित्रै नयाँ बस्ती बसाल्ने तर अर्को जिल्लामा स्थानान्तरण नगर्ने उल्लेख छ ।
नयाँ स्थानमा बस्ती बसाल्दा भूउपयोग योजना तयार गरी स्थानीय बासिन्दालाई सहमति लिई सम्बन्धित निकायले स्वीकृत गर्ने तथा भौतिक तथा सामाजिक सेवा सुविधाहरू सरकारले व्यवस्था गर्ने र निजी घरहरू स्थानीय बासिन्दाले निर्माण गर्ने गरी जग्गा विकास तथा भूउपयोग योजना नीति बनाइएको छ ।
घडेरीको हकमा सरकारले उपलब्ध गराएको घडेरी वा घरधनीले आपूmखुसी खरिद गर्न सक्ने तथा प्रचलित ऐनबमोजिम स्थानीय आवश्यकताअनुसार निर्देशित जग्गा विकास कार्यक्रम वा जग्गा एकीकरण (ल्यान्ड पुलिङ) लागू गर्ने पनि नीतिमा उल्लेख छ ।
नीतिमा राजनीतिक दलहरू, स्वदेशी गैरसरकारी संस्थाहरू, पेसागत संघ÷संस्थाहरू, सामाजिक र धार्मिक संघ÷संस्थाहरू, मित्रराष्ट्रहरू, अन्तर्राष्ट्रिय दातृ निकायहरू, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई सरकारले अवलम्बन गरेको नीतिअन्तर्गत परिचालन गर्ने उल्लेख छ । विपत्तिको फाइदा उठाउँदै राहत, पुनर्निर्माण र सहयोगका नाममा राजनीतिक, धार्मिक र साम्प्रदायिक विचारधारा लाद्ने प्रवृत्ति अन्त्य गर्ने उद्घोष पनि नीतिमा उल्लेख छ ।
http://www.erajdhani.com/article/0433474001439692603

Saturday, August 15, 2015

पुनर्निर्माण प्राधिकरणको सीईओमा पोखरेल

भीम गौतम/राजधानीकाठमाडौं, २८ साउन
भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा. गोविन्दराज पोखरेल नियुक्त भएका छन् । प्रधानमन्त्रीको अध्यक्षतामा रहेन सो शक्तिशाली प्राधिकरणको सीईओमा राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत रहेका डा. पोखरेललाई चार वर्षका लागि नियुक्त गरिएको हो ।

सत्ता साझेदार दल कांग्रेस र एमालेबिच सीईओ कसलाई बनाउने भन्ने विषयमा विवाद देखिएपछि १० असारको दाता सम्मेलनलगत्तै नियुक्ति गर्नुपर्ने प्राधिकरणको सीईओ बल्ल नियुक्त भएका हुन् । सूचना तथा सञ्चारमन्त्री डा. मीनेन्द्र रिजालले भूकम्पपछिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा बिहीबारको मन्त्रिपरिषद् बैठकबाट पोखरेललाई नियुक्त गरिएको जानकारी दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यकारी निर्देशक रहेका प्युठानका पोखरेललाई कोइराला प्रधानमन्त्री भएलगत्तै योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
प्राधिकरणको सीईओका लागि कांग्रेस र एमालेका धेरै व्यक्तिलाई बनाउन प्रधानमन्त्रीलाई आन्तरिक र बाह्य रूपमा दबाब रहे पनि पोखरेललाई सीईओ बनाएका हुन् । सूचना तथा सञ्चारमन्त्री डा. रिजालका अनुसार अर्को व्यवस्था नभएसम्मका लागि आयोगको उपाध्यक्षका रूपमा समेत पोखरेलले नै जिम्मेवारी सम्हाल्नेछन् ।
त्यसैगरी, प्राधिकरण सदस्यहरूमा उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम, अर्थमन्त्री डा. रामशरण महत, सहरी विकासमन्त्री डा. नारायण खड्का र पर्यटनमन्त्री कृपासुर शेर्पा नियुक्त भएका छन् । मन्त्री रिजालका अनुसार प्राधिकरणको विज्ञ सदस्यका रूपमा भूभर्गविद् तारानिधि भट्टराईलाई मन्त्री परिषद्ले नियुक्ति गरेको छ ।
अझै दुई विज्ञ र सहायक सीईओ नियुक्त हुन बाँकी छ । कांग्रेसको तर्फबाट पोखरेल सीईओ नियुक्ति भएकाले सहायक सीईओ एमालेको तर्फबाट नियुक्ति गर्ने सत्ता साझेदार दलबिच सहमति भएपछि उनलाई प्रधानमन्त्रीले नियुक्त गरेका थिए । यही विषयमा मन्त्रिपरिषद्मा केहीबेर विवादसमेत भएको थियो ।
सीईओ नियुक्त भएपछि राजधानीसँग कुरा गर्दै पोखरेलले भूकम्पपछिको पुनर्निर्माण तथा नवनिर्माणलाई लक्ष्य गरी स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने बताए । ‘आवश्यक जनशक्तिको व्यवस्थापन गरेर भूकम्पपछिको पुनर्निर्माण योजना अघि बढाउँछु,’ पोखरेलले भने, ‘सरकारले नवनेपाल निर्माणलाई लक्ष्य गरेर पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेको छ, त्योअनुसार अघि बढ्छ ।’ उनले पुनर्निर्माणका लागि आवश्यक सबै सरोकारवाला निकायहरूसँग समन्वय गरेर पुनर्निर्माणलाई दु्रतताका साथ अघि बढाउने बताए ।
तर, पोखरेलले भनेजस्तो पुनर्निर्माण योजना अघि बढाउन सहज नभएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरू बताउँछन् । सबै मन्त्रालयसँग समन्वय गर्नुपर्ने तथा मन्त्रालयकै रूपमा स्थापना भएको शान्ति तथा पुनर्निर्माण मन्त्रालयले सहज रूपमा काम गर्न नसकेका बेला सबै मन्त्रालयलाई रिझाएर प्राधिकरणमार्फत पुनर्निर्माण योजना अघि बढाउनु सहज नभएको उनीहरूको तर्क छ । यद्यपि, पोखरेल पक्षधर भने विदेशी दाताहरूसँगको सुमधुर सम्बन्ध तथा देशभित्र समेत समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने क्षमता र दक्षता रहेको आयोग उपाध्यक्षका रूपमा खेलेको भूमिकाबाट प्रस्ट देखिएकाले उनलाई तुलनात्मक रूपमा सहज हुने धेरैको दाबी गर्छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईदेखि पूर्वगृहमन्त्री माधव घिमिरे, पूर्वअर्थमन्त्री शंकर कोइरालालगायत धेरैले प्राधिकरणको सीईओका लागि इच्छा जाहेर गरेको भए पनि अन्त्यमा पोखरेलको नाम प्रस्ताव गरिएको थियो । प्रधानमन्त्री कोइराला पोखरेललाई बनाउने पक्षमा खुलेका थिए भने आफ्नै जिल्लावासीको नाताले उपप्रधानमन्त्री गौतमले पनि उनको पक्षमा उभिएका थिए । पाकिस्तान, बंगलादेश, इन्डोनेसियालगायत देशमा बसेर वैकल्पिक ऊर्जाको क्षेत्रमा काम गरिसकेका पोखरेल ऊर्जा विज्ञका रूपमा समेत चिनिन्छन् । आयोग उपाध्यक्ष भएपछि डा. गोविन्द केसीको अनशन तोडाउने, नेपाल र भारतका दुई कम्पनीद्वारा निर्माण हुन लागेको माथिल्लो कर्णाली र अरुण तेस्रोसँग आयोजना विकास सम्झौता (पीडीए) गर्नेजस्ता कार्यमा महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए भने भूकम्पपछिको क्षति आँकलन (पीडीएन) प्रतिवेदनको नेतृत्व पनि उनैले गरेका थिए ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने शक्तिशाली प्राधिकरणमा चार मन्त्रीका अलावा मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष सदस्य रहनेछन् । भूकम्पपछिको क्षतिको तत्काल उद्धार र राहत, पुनरुत्थान लगायतका कार्य सकेको सरकारले अब पुनर्निर्माण अघि बढाउनुपर्ने भए पनि प्राधिकरण गठन नहुँदा र यसमा थप पहलकदमी नगर्दा आयोगले बनाएको पुनर्निर्माणसम्बन्धी नीतिसमेत आयोगमै थन्किएको छ ।
क्षेत्री प्रधानसेनापति
बिहीबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका रथी राजेन्द्र क्षेत्रीलाई २४ भदौबाट लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्न सिफारिस गरेको छ । प्रधानसेनापति गौरवशमशेर जबरा २४ भदौबाट सेवा निवृत्त हुन लागेपछि सरकारले क्षेत्रीलाई प्रधानसेनापतिमा बढुवा गर्न सिफारिस गरेको हो । राणा गत २४ साउनदेखि बिदामा बसिसकेका छन् । उनी बिदामा बस्ने भएपछि सरकारले क्षेत्रीलाई कायम मुकायम प्रधानसेनापति नियुक्त गर्न सिफारिस गरेको थियो ।
http://www.erajdhani.com/article/0813517001439521441

प्राधिकरणको बेवास्ताले सोलु करिडोर निर्माण अन्योलमा

एक दिन ढिला हुँदा ५० करोड हर्जाना

राजधानी समाचारदाताकाठमाडौं, २८ साउन
नेपाल विद्युत् प्राधिकरणको बेवास्ताका कारण १३२ केभीको सोलु करिडोर प्रसारण लाइन अन्योलमा परेको छ । टेन्डर आह्वान गरेर कम्पनी छनोटमा प्राधिकरण सञ्चालक समिति र व्यवस्थापनले बेवास्ता गरेपछि ९० किलोमिटर लामो सोलु करिडोरको निर्माण अन्योलमा परेको हो ।
सोलु करिडोर समयमै नबनाउँदा यस क्षेत्रमा निर्माणाधीन ५ जलविद्युत् आयोजनालाई विद्युत् प्राधिकरणले ४५ प्रतिशतसम्म हर्जाना तिर्नुपर्ने भए पनि प्राधिकरण व्यवस्थापनले बेवास्ता गर्दै आएको हो ।
टेन्डर आह्वान गर्नुअघि प्राधिकरण आफैंले बनाएको सर्तहरूलाई नरम बनाएर टेन्डर आह्वान गरेर अनावश्यक स्वार्थको कारण निर्माण कम्पनी छनोटमा ढिलाइ भएको हो । ७ कम्पनी टेन्डरमा सहभागी भएकोमा परामर्शदाता ल्याहेमेयरले ६ कम्पनीलाई योग्य ठहठह¥याएर त्यसमध्ये सबैभन्दा कम रकम कबुल गर्ने एक कम्पनीको सूची २२ मेमै प्राधिकरणलाई बुझाएको छ ।
एक कम्पनीलाई अनावश्यक रूपमा अयोग्य ठह¥याएको भन्दै प्राधिकरण सञ्चालक समितिकै सदस्यहरूबिच स्वार्थका लागि मत बाझिएपछि हालसम्म सञ्चालक समितिमै पेस गरिएको छैन । ‘सञ्चालक सदस्यहरूको स्वार्थका कारण हालसम्म प्राधिकरणभित्रै फाइल घुमिरहेको छ, परामर्शदाताले प्रतिवेदन दिइसकेकाले दुई मिनेटभित्र हुने काम डेढ महिना बितिसक्दा पनि सञ्चालक समितिमा पेस नहुनु विडम्बना हो,’ प्राधिकरणका एक अधिकारीले भने, ‘समयमै प्रसारण लाइन नबनाउने हो भने विद्युत् प्राधिकरणले दैनिक ५० लाख घाटा बेहोर्नुपर्छ ।’
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काङ्खले भने कम्पनी छनोटको चरणमा रहेको र छिट्टै छनोट हुने दाबी गर्छन् । तर, २२ मेमा परामर्शदाता कम्पनीले प्राधिकरणमा प्रतिवेदन बुझाए पनि हालसम्म सञ्चालक समितिमा पेस समेत नभएको एक अधिकारीले जानकारी दिए । आर्थिक वर्ष २०७१÷०७२ मै निर्माण सम्पन्न हुनुपर्ने सोलु करिडोर विवादका कारणले हालसम्म सुरु हुन सकेको छैन । तत्काल प्रसारण लाइन निर्माण सुरु गर्दा पनि साढे दुई वर्ष लाग्ने प्राधिकरणले जनाएको छ ।
समयमै प्रसारण लाइन नबनेमा १८ मेगावाटको सोलु जलविद्युत् आयोजना २०७४ माघमा निर्माण गरिसक्ने लक्ष्य छ भने ५ दशमलब २ मेगावाटको जुनवेशी २०७४ साउन, ८२ मेगावाटको लोअर सोलु २०७५ साउन, २३ दशमलव ५ मेगावाटको सोलुखोला २०७५ साल साउन तथा ८६ मेगावाटको सोलुखोला (दूधकोशी) जलविद्युत् आयोजना २०७६ चैतमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
समयमै प्रसारण लाइन बनाउन नसकेमा प्राधिकरणले लोअर सोलु र सोलुखोला जलविद्युत् आयोजनालाई ४५ प्रतिशत हर्जना तिर्नुपर्छ । ‘अहिलेको सुस्तगतिले ती जलविद्युत् आयोजनाहरू निर्माण हुने बेलामा प्रसारण लाइन बन्ने सम्भावना छैन, हर्जना कम्तीमा दैनिक ५० हजार तिर्नुपर्ने भए पनि प्राधिकरण सञ्चालक समिति गम्भीर बनेको छैन,’ एक अधिकारीले भने ।
http://www.erajdhani.com/article/0604573001439526523

Thursday, August 13, 2015

प्राधिकरणको सीईओमा पोखरेल, घिमिरे र शर्मा मुख्य प्रतिस्पर्धी

भीम गौतम/राजधानीकाठमाडौं, २७ साउन
भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि तिनजना मुख्य प्रतिस्पर्धी देखिएका छन् । प्राधिकरणको पदाधिकारी नियुक्ति गर्न नसकेर आलोचित बनेको सरकारले सम्भवतः आज (बिहीबार) बस्ने मन्त्रिपरिषद्बाट नियुक्ति गर्न लागेको सीईओमा तिन प्रतिस्पर्धी देखिएका हुन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्राधिकरणका सीईओका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, पूर्वमुख्य सचिव तथा पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मुख्य प्रतिस्पर्धी छन् । कसलाई सीईओ बनाउने भन्ने विवादमा रहेका सत्ता साझेदार दलमध्ये कांग्रेसले आयोग उपाध्यक्ष पोखरेल र शर्माको नाम अघि सारेको छ भने एमालेले मुख्य सचिव घिमिरेको नाम अघि सारेको छ । ‘सम्भवतः बिहीबार बस्ने मन्त्रिपरिषद् वा विवाद देखिएमा अर्को मन्त्रिपरिषद्बाट सीईओ नियुक्ति भइसक्छ,’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का एक अधिकारीले भने, ‘रिक्त रहेका विश्वविद्यालयहरूका उपकुलपति तथा प्राधिकरणका सीईओबारे सत्ता साझेदार दलबिच भागबन्डाका लागि छलफल भइरहेको छ ।’
प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारीका अनुसार प्रधानमन्त्री सुशील कोइराला योजना आयोगका उपाध्यक्ष पोखरेललाई प्राधिकरणको सीईओ बनाउने पक्षमा छन् । उपप्रधानमन्त्री वामदेव गौतम पनि आफ्नै जिल्लावासी पोखरेलको पक्षमा छन् । अर्थमन्त्री डा. रामशरण महत भने पोखरेलको विपक्षमा उभिएर घिमिरेलाई सीईओ बनाउन लबिङ गरिरहेको स्रोतले जनाएको छ ।
मुख्य सचिवका लागि कांग्रेसले विश्वप्रकाश पण्डितको नाम अघि सारेकोमा उनको नभई डा. सोमलाल सुवेदीलाई बनाइएपछि कांग्रेस प्राधिकरणको सीईओ आफूले पाउनुपर्ने दाबी गरिरहेको छ । तर, एमालेले भने पुनर्निर्माणका लागि प्रशासनिक अनुभवीको नाताले घिमिरेलाई बनाउनुपर्ने तर्क गरिरहेको छ ।
विदेशी दाताहरूसँग समन्वय गर्न सक्ने तथा भूकम्पपछिको क्षति आँकलन (पीडीएन) प्रतिवेदन निर्माण र दुई भारतीय कम्पनीद्वारा निर्माण हुन लागेको माथिल्लो कर्णाली र अरुण तेस्रोसँग आयोजना विकास सम्झौता (पीडीए) मा महŒवपूर्ण भूमिका निर्वाह गरेका कारण पोखरेलले प्राधिकरण हाक्न सक्ने तर्क प्रधानमन्त्रीले गर्दै आएका छन् । गत १० असारमा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले गरेको दातृ तथा विकास साझेदारहरूको सम्मेलनमा छिट्टै प्राधिकरणलाई पूर्णता दिने प्रतिबद्धता जनाएर डेढ महिना लागिसक्दा पनि सीईओलगायत नियुक्ति गर्न नसकेपछि सरकारप्रति दातृ निकाय असन्तुष्ट बनेका छन् । दाताहरूले समेत सम्मेलनमा कबुल गरेको रकम प्रदानका लागि प्राधिकरण गठनमै ढिलाइ गरेको भन्दै आलोचना गर्न थालेपछि प्रधानमन्त्री पनि छिट्टै सीईओ नियुक्ति गर्ने मनस्थितिमा पुगेका छन् ।
‘प्राधिकरणको सीईओ नियुक्तिमा ढिलाइ भएको भन्दै स्वयं प्रधानमन्त्री चिन्तित हुनुहुन्छ, छिट्टै नियुक्ति हुँदै छ,’ प्रधानमन्त्रीका विपद् व्यवस्थापन सल्लाहकार डा. राम थपलियाले भने, ‘विदेशी दाताहरूसँग समेत समन्वय गरेर प्राधिकरणलाई हाँक्न सक्ने योग्य र सक्षम व्यक्ति नियुक्ति गर्न लाग्नुभएको छ ।’ थपलियाले प्राधिकरणमा सीईओ नियुक्ति नभइरहेको बेलामा समेत प्राधिकरणले काम गर्नका लागि आवश्यक नीति, नियम, निर्देशिका निर्माण गरिरहेको र अर्थ मन्त्रालयसमेत दाताले कबोल गरेको रकमका लागि नेगोसिएसन गरिरहेको दाबी गरे ।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने शक्तिशाली प्राधिकरणमा चार मन्त्री, मुख्य सचिव र राष्ट्रिय योजना आयोगका उपाध्यक्षबाहेक प्रमुख कार्यकारी अधिकृत तिन विज्ञ नियुक्ति गर्नुपर्ने भए पनि ६ असारमा भूकम्पपछिको पुनर्निर्माणका लागि दातालाई देखाउन हतारमा अध्यादेश ल्याएको सरकारले हालसम्म प्राधिकरणलाई पूर्णता दिन सकेको छैन । भूकम्पपछिको क्षतिको तत्काल उद्धार र राहत, पुनरुत्थानलगायतका कार्य सकेको सरकारले अब पुनर्निर्माण अघि बढाउनुपर्ने भए पनि त्यो अघि बढ्न सकेको छैन । योजना आयोगले बनाएको पुनर्निर्माणसम्बन्धी नीतिसमेत आयोगमै थन्किएको छ ।
http://www.erajdhani.com/article/0605976001439433099

जलविद्युत् आयोजना अनुमतिपत्र निर्देशिका संशोधन सुरु

भीम गौतम /राजधानी
काठमाडौं, २७ साउन
ऊर्जा मन्त्रालयले खारेजीमा परेर बास्केटमा पुगेका जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) विनाप्रतिस्पर्धा निजी क्षेत्रलाई दिनका लागि हतारमा कार्यविधि संशोधन गर्न लागेको छ । ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीको निर्देशनमा समयमै जलविद्युत् आयोजनाको कार्य सम्पन्न नगरी खारेजीमा परेर बास्केटमा पुगेका ती जलविद्युत् आयोजना प्रतिस्पर्धामार्फत मात्र दिन मिल्ने भए पनि विनाप्रतिस्पर्धा दिने गरी जलविद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी निर्देशिका संशोधन गरिन लागिएको हो ।
ऊर्जा मन्त्रालयले बनाइरहेको विद्युत् विधेयकमा बास्केट लगायत सबै जलविद्युत् आयोजनाका लाइसेन्स प्रतिस्पर्धामार्फत दिन मिल्ने गरी मस्यौदा तयार गरिएको छ । तर, त्यही मन्त्रालयले संशोधन गर्न लागेको कार्यविधिमा भने बास्केटमा रहेका जलविद्युत्का लाइसेन्सविना प्रतिस्पर्धा दिन मिल्ने व्यवस्था गर्न लागिएको छ । विद्युत् विकास विभागका अनुसार, सरकारसँग बास्केटमा १० हजार १ सय २५ मेगावाट बराबरका २ सय १० जलविद्युत् आयोजना छन् ।
संसद्को कृषि तथा जलस्रोत समितिले विद्युत् विधेयकको मस्यौदा पटक पटक समितिमा पेस गर्न निर्देशन दिए पनि अटेर गर्दै आएको मन्त्रालयले त्यसलाई लत्याएर विधेयकसँग बाझिने गरी लाइसेन्स कार्यविधि संशोधनका लागि प्रक्रिया अघि बढाएको हो । छिट्टै संसद्मा प्रस्तुत गर्न लागिएको भनिएको विधेयकमै बाझिने गरी लाइसेन्सको कार्यविधि बनाउन लागेपछि ऊर्जा र विद्युत् विकास विभागका कतिपय अधिकारीहरू रुष्ट समेत बनेका छन् ।
उनीहरूले विधेयक आउने बित्तिक्कै तत्काल परिवर्तन गर्नुपर्ने गरी हतारमा लाइसेन्स कार्यविधि संशोधनमा मन्त्रीले चासो दिएर निर्देशन दिएपछि उनीहरू सशंकित बनेका छन् । ‘मन्त्रीले मौखिक रूपमा बास्केटका आयोजना निजी क्षेत्रलाई दिन मिल्ने गरी कार्यविधि बनाउन निर्देशन दिएपछि हतारहतारमा कार्यविधि संशोधन गर्न लागिएको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘नयाँ संविधान आएपछि सरकार परिवर्तन गर्ने कारण विद्युत् विधेयकलाई पूरै बेवास्ता गरेर क्षणिक फाइदाका लागि यस्तो गरिन लागेको हुन सक्छ, यो गलत छ तर मन्त्रीलाई हुन्न भनेर मुख खोल्न कसैले सकेको छैन ।’
खारेजीमा परेर बास्केटमा रहेका सबै जलविद्युत् आयोजनालाई प्रतिस्पर्धामार्फत दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको छ । यही निर्देशनको आधारमा मन्त्रालयले समेत बास्केटमा रहेका सबै जलविद्युत् आयोजनाहरू प्रतिस्पर्धामार्फत दिने भन्दै अनुमतिपत्र दिन रोकेको छ । तर मंगलबार लाइसेन्सको कार्यविधि संशोधनबारे मन्त्रालयका अधिकारीहरूले छलफल समेत सुरु गरेका छन् ।
‘लाइसेन्स कार्यविधिबारे संशोधनका लागि भर्खर छलफल मात्र सुरु भएको हो, कार्यविधिलाई थप स्पष्ट बनाउन लागिएको छ,’ ऊर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थले भने, ‘बास्केटमा भएका जलविद्युत आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे पनि छलफल हुन्छ तर निर्णय भइसकेको छैन ।’
छलफलमा सहभागी केही अधिकारीले जलविद्युत् आयोजनाका अनुमतिपत्र बास्केटमा राख्दा सरकारले ओगटेको जस्तो देखिने कारण यसको विकल्प खोज्नुपर्ने भन्दै योग्य निजी क्षेत्रलाई दिँदा उपयुक्त हुन सक्ने तर्कसमेत गरेका थिए ।
केही निजी क्षेत्रका प्रवद्र्धकहरूले धेरै अध्ययन भइसकेका आकर्षक आयोजनाको अनुमतिपत्रमा आँखा लगाएर मन्त्री ज्ञवालीसँग लबिङ गरेपछि तत्कालीन हुन सक्ने फाइदालाई दृष्टिगत गरी मन्त्रीले विद्युत् विधेयकमा भएको व्यवस्थालाई प्रवाह नगरी कार्यविधि परिवर्तन गर्न लागेको र विद्युत् विकास विभागका अधिकारीलाई दबाबसमेत दिएको एक अधिकारीले जानकारी दिए ।
जलविद्युत् आयोजनाको रद्द र नवीकरणको अवस्थाका साथै जलविद्युत् तथा सोलार, बायोग्याँसस्ता ऊर्जा आयोजनाको अनुमतिपत्रबारे थप स्पष्ट पार्नुपर्ने कारण कार्यविधि संशोधनको आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ । 
http://www.erajdhani.com/article/0528814001439430842

Wednesday, August 12, 2015

पुनर्निर्माणका लागि विश्वका १५ हजार इन्जिनियर नेपालमा

भीम गौतम /राजधानी
काठमाडौं, २५ साउन
नेपालको पुनर्निर्माण र नव निर्माणका लागि इन्जिनियर्स विथआउट बोर्डरले विश्वका १५ हजार इन्जिनियर नेपालमा ल्याउने गरी सरकारसमक्ष प्रस्ताव गरेको छ ।१२ वैशाख र त्यसपछिको निरन्तर पराकम्पनका कारण भएको क्षतिको पुनर्निर्माण र नव निर्माणका लागि सहयोग गर्न बोर्डरले १५ हजार इन्जिनियर नेपालमा ल्याउने गरी प्रस्ताव गरेको हो ।
पाँच दिनअघि नेपाल आएर आइतबार मात्र फर्केका विथआउट बोर्डरका संस्थापक अध्यक्ष प्राध्यापक आमादे वर्ननाडले सरकारका विभिन्न निकायसँग भेटेर सो प्रस्ताव गरेका थिए ।
भूकम्पपछिको प्रकोपको पुनर्निर्माण तथा नवनिर्माणका लागि विश्वको अनुभवसहित प्राविधिक रूपमा सहयोग गर्ने गरी प्रस्ताव आएको प्रधानमन्त्रीका विपद् व्यवस्थापन सल्लाहकार डा. राम थपलियाले जानकारी दिए ।
भूगर्वविद्, वातावरणविद्, जलविद्युत्विद्, संरचनाविद्लगायत समेत इन्जिनियरिङ टिमले नेपालका इन्जिनियर तथा प्राविधिक जनशक्तिहरूलाई विश्वको अनुभवसहित प्राविधिक दक्षता र क्षमता अभिवृद्धिमा सहयोग गर्ने गरी प्रस्ताव गरेको छ ।
डा. वर्ननाडले डा. थपलियासहित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोखरेल, नास्टका उपाध्यक्ष डा. जीवराज पोखरेल, समाज कल्याण परिषद्का राकेश हमालका साथै नेपाल इन्जिनियरिङ एसोसिएसन, काठमाडौं विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग भेटेर इन्जिनियर्स विथआउट बोर्डर नेपालको पुनर्निर्माण र नव निर्माणका लागि प्राविधिक रूपमा सहयोग गर्न तयार रहेको बताएका थिए । संस्थापक अध्यक्ष वर्ननाड अमेरिकी राष्ट्रपति बाराक ओवामाका दक्षिण एसियाका दूतसमेत हुन् ।
अधिकांश अमेरिका, बेलायतलगायत विकसित राष्ट्रहरूका प्राविधिक जनशक्ति सहभागी हुने बोर्डर टिमले भूकम्पबाट अति प्रभावित गोर्खा, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, नुवाकोटलगायत १४ जिल्लाका इन्जिनियरसँग सहकार्यमा पुनर्निर्माणका लागि सहयोग गर्नेछन् ।
सरकारले भूकम्पपछिको क्षति आँकलन गरी पाँच वर्षभित्र पुनर्निर्माण गरिसक्ने लक्ष्य राखेको छ भने पुनर्निर्माणका लागि तत्कालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाइसकेको छ । राष्ट्रिय योजना आयोगले बनाएको सो कार्ययोजना अहिले मन्त्रिपरिषद्मा विचाराधीन अवस्थामा छ ।
त्यसैगरी, भूकम्प प्रतिरोधी संरचनाहरू मात्र निर्माण गर्ने उद्देश्यसहित सहरी विकास मन्त्रालयले भवन संहिता तथा मापदण्ड तयार गरिसकेको छ ।
भविष्यमा आउन सक्ने सम्भावित भूकम्पको जोखिमतालाई मध्यनजर राखेर अब बनाइने सबै संरचनाहरू भूकम्पप्रतिरोधी बनाउने सरकारी लक्ष्य रहेकोमा प्रस्ताव स्वीकार गरेर सरकारले अनुमति दिएमा विश्वभरका इन्जिनियर नेपाल आउनेछन् ।
‘विथआउट बोर्डरले प्रस्ताव गरेपछि अब कसरी उनीहरूलाई पुनर्निर्माणको सहयोगका लागि लगाउन सकिन्छ भनेर छलफल भइरहेको छ, उनीहरूलाई नेपालका इन्जिनियरसँग कसरी उपयोग गर्ने भनेर हामी छलफल गरेर प्रस्तावबारे निर्णय गर्छौं,’ विपद् सल्लाहकार डा. थपलियाले भने ।
http://www.erajdhani.com/article/0034478001439258792

Monday, August 10, 2015

बल्ल खिम्ती–ढल्केबर प्रसारण लाइन निर्माण सुरु

भीम गौतम /राजधानी
काठमाडौं, २४ साउन
पाँच वर्Èअघि निर्माण सम्पन्न भइसक्नुपर्ने नेपालकै पहिलो २२० केभीको खिम्ती–ढल्केबर प्रसारण लाइनको निर्माण कार्य बल्ल सुरु भएको छ । स्थानीयवासीको अवरोधका कारण निर्माण रोकिएको नेपालकै प्रमुख प्रसारण लाइनमध्येको एक खिम्ती–ढल्केबर प्रसारण लाइनको आइतबारदेखि निर्माण कार्य सुरु भएको हो ।
५० पटकभन्दा बढी स्थानीय अवरोधका कारण नेपाल विद्युत् प्राधिकरणले पटकपटक प्रयास गर्दा पनि निर्माण हुन नसकेको प्रसारण लाइन विश्व बैंकको नयाँ निर्देशन तथा स्थानीय प्रशासन, स्थानीयवासी र राजनीतिक दलहरूको सहमतिमा सुरु भएको हो ।
‘बहुप्रतीक्षित खिम्ती–ढल्केबर प्रसारण लाइनको काम खुर्कोट खण्डबाट सुरु भएको छ,’ विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भने, ‘अब कुनै अवरोध नभएमा आगामी चार महिनाभित्र निर्माण कार्य पूरा गर्नेछौं ।’ खिम्तीदेखि ढल्केबरसम्मको ७५ किलोमिटर प्रसारण लाइनका ६ टावरको निर्माण पूरा गर्न नसक्दा ५ वर्षदेखि २ सय ५० किलोमिटरको लामो दुरी हुँदै पूर्व क्षेत्रमा विद्युत् प्रवाह गर्नुपर्ने बाध्यता प्राधिकरणको छ । जसकारण प्राधिकरणले बर्सेनि १ अर्बभन्दा बढी घाटा बेहोर्नुपरेको छ भने लोडसेडिङसमेत बढेको छ । खुर्कोटमा दुई र सिन्धुली बजारमा चार टावर निर्माण हुन बाँकी छ । यही कारण बहुचर्चित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् यो प्रसारण लाइनको अभावमा खेर जाने भन्दै चिन्ता प्रकट भइरहेका बेला निर्माण सुरु हुनुले अरू प्रसारण लाइनलाई समेत सकारात्मक सन्देश दिएको कार्यकारी निर्देशक काफ्लेले बताउँछन् । ‘म कार्यकारी निर्देशक हुँदा नै लोडसेडिङ न्यूनीकरणका लागि अत्यावश्यक मानिएको प्रसारण लाइनको निर्माणलाई मूल लक्ष्य राखेको थिएँ, सुरु भएकामा यसले धेरै सकारात्मक सन्देश दिएको छ भने यसबाट विद्युत्मा देखिएको चुहावट कम गर्न तथा पूर्वीय क्षेत्रको लोड धान्न सहज हुन्छ,’ उनले भने ।
निर्माण कार्यमा अवरोध गरेका स्थानीयवासीले त्यसविरुद्ध विश्व बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेपछि बैंकले सो उजुरी सम्बन्धमा छानबिन गर्नका लागि भन्दै टोली खटाएको थियो तर टोलीले प्रतिवेदन दिन झन्डै साढे दुई वर्ष लगायो । हालै विश्व बैंक सञ्चालक समितिले स्थानीयलाई सूचना दिनुपर्नेलगायतका केही निर्देशनसहित उजुरीका आधारमा काम रोक्नुनपर्ने भन्दै निर्णय गरेपछि प्रसारण लाइन निर्माणमा बाटो खुलेको प्राधिकरणका प्रसारण लाइन निर्देशानालयका उपकार्यकारी निर्देशक कन्हैया मानन्धरले जानकारी दिए ।
आयोजनाका अधिकारीले २०६८ सालदेखि अवरोध नभए तीन महिनाभित्रै प्रसारण लाइन निर्माण गरि सक्ने लक्ष्य रहेको बताउँदै आएका थिए तर विश्वको प्रतिवेदन नआउँदा र स्थानीयवासीले अवरोध जारी राख्दा आयोजना निर्माण अन्योलमा परेको थियो । प्रसारण लाइन आयोजनाका अनुसार २०६८ सालपछि आयोजना निर्माण कार्यमा ५० पटकभन्दा बढी स्थानीयवासीले अवरोध गरिसकेका छन् । ऊर्जा मन्त्रालय र प्राधिकरणका अधिकारीले पटकपटक वार्ता र छलफल गर्दा पनि स्थानीयवासीले निर्माणमा अवरोध गर्दै आएका थिए । सरकारले सुरक्षाकर्मी परिचालन गरेर भए पनि प्रसारण लाइन बनाउने निर्णय गरेपछि स्थानीयवासीले जबरजस्ती बनाउनु खोज्नु अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मूल्यमान्यताविपरीत भएको भन्दै विश्व बैंकको केन्द्रीय कार्यालयमा उजुरी गरेका थिए ।
प्राधिकरणले टावरमुनिको भागको क्षतिपूर्ति मात्र दिन मिल्ने व्यवस्था भए पनि अवरोध गरेको क्षेत्रमा सडक विभागमार्फत सबै जग्गा अधिग्रहण गरी सोबापतको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक सूचना जारी गरिसकेको छ । १ सय ५९ कित्ता जग्गामध्ये अधिकांशले सोबापतको रकम बुझिसकेका छन् । खिम्ती–ढल्केबर प्रसारण लाइन नबनेका कारण अहिले यस Ôेत्रमा उत्पादित विद्युत् काठमाडांै, चितवन हु“दै करिब २ सय ५० किलोमिटर पार गरी लैजानुपर्ने अवस्था छ । तर, यो प्रसारण लाइन बनेपछि ७५ किलोमिटरमै ढल्केबर पु¥याउन सकिने प्राधिकरणले जनाएको छ । यही कारण अहिले दैनिक १० मेगावाट विद्युत् चुहावट भएको छ भने बर्खामा सिप्रिङखोला जलविद्युत् आयोजनामार्फत उत्पादित विद्युत् खेर जाने गरेको छ ।
प्रसारण लाइन बनेमा भने सिन्धुपाल्चोक, दोलखा र रामेछापलगायतका Ôेत्रमा जलविद्युत् आयोजनामार्फत १ हजार मेगावाट विद्युत् सजिलै ओहोरदोहोर हुनेछ । प्राधिकरणका अनुसार प्रसारण लाइन आयोजनाको ९५ प्रतिशत काम पूरा भइसकेको छ । सन् २००७ देखि निर्माण सुरु गरिएको सो लाइन सुरुमा दुई वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । 
http://erajdhani.com/article/0032433001439180986

Sunday, August 9, 2015

अब टेलिकमको रिचार्जबाटै बिजुलीको बिल भुक्तानी

भीम गौतम /राजधानी
काठमाडौं, २३ साउन
नेपाल टेलिकमको रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्न सम्भव देखिएको छ ।नेपाल विद्युत् प्राधिकरणले टेलिकमको रिचार्ज कार्डबाट बिजुलीको बिल तिर्न सम्भव ÷असम्भवबारे धारणा मागेकामा प्राविधिक रूपमा सम्भव भएको देखाएको हो । बिजुलीको बिल तिर्न घन्टौं टाढा जानुपर्ने र लाइन बस्नुपर्ने अवस्था अन्त्यका लागि अत्यावश्यक मानिएको जुनसुकै ठाउँबाट रिचार्जमार्फत बिल तिर्न सक्ने गरी दुई वर्षअघि प्राधिकरणले छुट्टै रिचार्ज कार्डमार्फत सेवा दिन सक्ने गरी प्रक्रिया अघि बढाएको थियो । सो गर्दा झन्झटिलो हुने भन्दै प्राधिकरणले टेलिकमकै रिचार्ज कार्डबाट सम्भव भए अझ प्रभावकारी हुने उल्लेख गर्दै पत्र पठाएको थियो ।


‘नेपाल टेलिकमले रिचार्ज कार्डमार्फत बिजुली बिल तिर्न प्राविधिक रूपमा सम्भव भएको जनाएको छ,’ प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले भने, ‘छुट्टै रिचार्ज कार्ड अब आवश्यक परेन, अब हामी यसबारे कार्यविधि निर्माणलगायत कार्य अघि बढाउँछौं ।’ कार्यविधि र यसका लागि आवश्यक हार्डवेयर सफ्टवेयरको प्रबन्ध गरेपछि विद्युत् प्राधिकरण सञ्चालक समितिबाट पारित गरी बिजुलीको बिल रिचार्ज कार्डमार्फत तिर्न सक्ने गरी सेवा विस्तार गर्ने प्राधिकरणको लक्ष्य छ ।
जनतालाई प्रत्यक्ष र सर्वसुलभ रूपमा सेवा दिन सक्ने भए पनि यो प्रविधिमार्फत सेवा दिन ढिलाइ गरिरहेको प्राधिकरणले यो सेवा दिएमा मोबाइलमा जस्तो पिन कोड हालेर घरमै बसी बसी जुनसुकै बेला पनि बिजुलीको बिल तिर्न सकिन्छ । नयाँ वर्ष २०७१ सालदेखि नै लागू गर्ने गरी प्रक्रिया अघि बढाए पनि बिजुलीको बिल तिर्नका लागि सास्ती खेपिरहेका जनताका लागि प्रभावकारी मानिएको यो सेवा प्राधिकरण व्यवस्थापनको बेवास्ताका कारण ढिलाइ भएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले भने रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्ने सेवाका लागि आन्तरिक तयारी गरिरहेको बताउँछन् । ‘प्राधिकरणले यो सेवाका लागि आन्तरिक तयारी गरिरहेको छ, हामी छिट्टै गर्छौं,’ उनले भने । तर प्राधिकरणका अधिकारीहरू जनतालाई प्रत्यक्ष सेवा दिने प्रविधि निर्माणमा प्राधिकरण व्यवस्थापन र सञ्चालक समितिका पदाधिकारी कसैले ध्यान नदिएको बताउँछन् । ‘दुई वर्षअघि धेरै दुःख गरेर रिचार्ज कार्डमार्फत सेवा दिन सक्रिय भयौं तर प्राधिकरण व्यवस्थापनले खासै चासो दिएन,’ ती अधिकारीले भने,
‘आर्थिक चलखेल हुने ठाउँमा ठूला मान्छेहरूको ध्यान छ, यता जनतालाई सेवा दिनेप्रति कुनै चासो छैन ।’
प्राधिकरणका अनुसार, मोबाइलको स्टार ४१०० वा ४१०१ स्टार जिल्ला र वितरण केन्द्रको कोर्ड, ग्राहकको नम्बर हाली ह्यास गरेर रिचार्ज गरेपछि त्यो रकम बिजुलीको बिल तिर्ने प्रणालीमा गई बिल भुक्तानी हुनेछ भने रिचार्ज बढी भएमा अर्को महिनाको बिल तिर्नका लागि रकम सञ्चित हुन जान्छ । प्राधिकरणले पाइलट परियोजनाका रूपमा अघि बढाउन लागेको यो प्रविधि परीक्षणका क्रममा सफल भइसकेको छ ।
रिचार्ज कार्डमार्फत बिल तिरेपछि कति बिल तिरिएको भन्ने जानकारी आउने तथा ग्राहकको तिर्न कति बाँकी छ भन्ने समेत थाहा हुनेछ । प्राधिकरणका अनुसार, रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिर्नका लागि अघि बढाइएको आयोजनाका लागि ५९ लाख रुपैयाँ मात्र लाग्ने छ । यो नयाँ प्रविधिमार्फत बिल तिर्नका लागि आवश्यक हार्डवेयरतर्फ भास सर्भर, वेभ सर्भर र डाटाबेस सर्भरका लागि २३ लाख २५ हजार, सफ्टवेयरतर्फ एसएमएस पेमेन्ट भास मोडुल र रिचार्ज कार्ड मोडुलका लागि १८ लाख, नेटवर्किङतर्फ ब्यान्डविथ र म्यानाजड स्विचका लागि २ लाख ७० तथा क्षमता अभिवृद्धिका लागि १५ लाख रुपैयाँ खर्च हुनेछ ।
पहिलो चरणमा घरेलु ग्राहकलाई लक्ष गरी अघि बढाउन लागिएको सो परियोजनाबाट सर्वसाधारणले ठूलो फाइदा पाउन सक्ने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार करिब २५ लाख घरेलु ग्राहक छन् । कुल घरेलु ग्राहकमध्ये १५ प्रतिशतले रिचार्ज कार्डमार्फत बिजुलीको बिल तिरेमा मात्र मासिक रूपमा ३ करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष फाइदा पुग्ने प्राधिकरणको दाबी छ । ८० रुपैयाँको बिल तिर्नका लागि सहरी क्षेत्रमा न्यूनतम ४० रुपैयाँदेखि ग्रामीण क्षेत्रमा ३ सय रुपैयाँसम्म थप खर्च गर्नुपर्ने अवस्था भए पनि प्राधिकरणले भने एक ग्राहकले सरदर एक महिनाको बिल तिर्नका लागि १ सय रुपैयाँ खर्च गर्ने उल्लेख गरेको छ । प्राधिकरणको यो आधारमा ५० प्रतिशतले मात्र रिचार्ज कार्ड उपयोग गरेमा मासिक रूपमा सर्वसाधारणको १२ करोड रुपैयाँभन्दा बढी जोगिनेछ । रिचार्ज कार्डबाट बिजुलीको बिल तिर्दा ग्राहक तथा प्राधिकरणलाई फाइदा पुग्ने भएकाले प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ ।
नेपाल टेलिकम र एनसेलमार्फत बिजुलीको बिल तिर्न सक्ने गरी अघि बढाउन लागिएको यो नयाँ प्रविधिमा पनि प्राधिकरणको बिलिङ शाखामा जस्तै सात दिनभित्र तिरे ४ प्रतिशत छुट, २० दिनभित्र तिरेमा छुट हुँदैन भने ढिलो गरी तिरेमा २५ प्रतिशत जरिवाना गर्ने प्रस्ताव गरिएको छ । 
http://www.erajdhani.com/article/0089894001439089538

Thursday, August 6, 2015

प्राधिकरण कर्मचारीलाई सवा ८ करोडको बिजुली निःशुल्क

भीम गौतम/राजधानीकाठमाडौं, २० साउन
नेपाल विद्युत्् प्राधिकरणका कर्मचारीहरूले वर्षको ८ करोड २१ लाख ६८ हजार बराबरको बिजुली सित्तैमा पाउने गरेको पाइएको छ । २७ अर्ब घाटा पुगेको नेपाल विद्युत्् प्राधिकरणका कर्मचारीहरूले वर्षभरिमा यति ठुलो रकम बराबरको बिजुली सित्तैमा पाउने गरेका हुन् ।
प्राधिकरणले विद्युत्् महसुल निर्धारण समितिमा पेस गरेको प्रतिवेदनमा संस्थामा काम गर्ने कर्मचारीहरूको उत्प्रेरणा जगाउने अभिप्रायले विद्युत्् सुविधा उपलब्ध गराएको उल्लेख गर्दै शून्य विद्युत् महसुल नभएको उल्लेख गरिएको छ । प्राधिकरणका अनुसार करिब ११ हजार कर्मचारीले हिउँदको मंसिरदेखि वैशाखसम्म बढीमा ७५ युनिट तथा वर्षायामको जेठदेखि कात्तिकसम्म बढीमा १ सय २५ युनिट बिजुली सुविधाका रूपमा पाउने गरेका छन् । हिउँदमा मासिक ५ सय ८० का दरले ६ महिनाको ३ हजार ४ सय ८० तथा वर्षामा मासिक १ हजार १० रुपैयाँका दरले ६ हजार ६० रुपैयाँ गरी प्रतिकर्मचारीले वार्षिक रूपमा ९ हजार ५ सय ४० रुपैयाँ विद्युत् सुविधाबापत पाउने प्रतिवेदनमा उल्लेख छ । कर्मचारीको तलबबापत झन्डै ५ अर्ब तथा सवारी साधन खर्चबापत झन्डै ४० करोड बराबरको खर्च हुने प्राधिकरणमा विद्युत् चुहावट मात्र १० अर्ब रुपैयाँ बराबर रहेको छ । त्यसैगरी, प्राधिकरणमा रहेका पाँच कर्मचारी युनियनहरूका केन्द्रीय, क्षेत्रीय र जिल्ला कार्यालयहरूमा मात्र प्राधिकरणले टेलिफोन, फ्याक्स बराबर झन्डै १ करोड खर्च गर्ने गरेको पाइएको छ । प्राधिकरणले सबै कर्मचारी युनियनहरूको खर्च बेहोर्दै आएको छ । त्यसैगरी, प्राधिकरणले भारतबाट आयात विद्युत्को मूल्यान्तरमा मात्र प्रतियुनिट दुई रुपैयाँ घाटा छ ।
प्राधिकरण घाटामा गइरहेकाले सुविधा दिन नहुनेबारे बहस चलिरहेका बेला प्राधिकरण व्यवस्थापनले भने यसतर्फ चासो नदिएको भन्दै आलोचना हुँदै आएको छ । विद्युत् प्राधिकरणको कुल सम्पत्ति ८४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ भने ऋण ८२ अर्ब ७० करोड छ । त्यसैगरी, प्राधिकरणले आफ्ना जलविद्युत् आयोजनाहरूमा ४७ अर्ब तथा सहायक कम्पनीहरूमा १२ अर्ब २९ करोड लगानी गरेको छ । हाल नेपालमा ७ सय १८ मेगावाट जलविद्युत् उत्पादन हुँदै आएकोमा निजी क्षेत्रबाहेक विद्युत् प्राधिकरणबाट मात्र ४ सय ५० मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । विद्युत् प्राधिकरणसँग विकल्पका रूपमा १४ मेगावाटको हेटौंडामा डिजेल प्लान्ट र ३९ मेगावाटको दुहबी मल्टिफ्युल पनि रहेको छ ।
http://www.erajdhani.com/article/0837814001438826906

Wednesday, August 5, 2015

तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाताद्वारा काम सुरु

राजधानी समाचारदाता
काठमाडौं, १९ साउन
परामर्शदाता छनोटकै क्रममा ठुलो विवादमा परेको तनहुँ (माथिल्लो सेती) जलविद्युत् आयोजनाको परामर्शदाताले काम सुरु गरेको छ । तनहुँ जलविद्युत् आयोजनाको परामर्शदातामा नियुक्त ल्याहमेर र मनितोबाको संयुक्त कम्पनी परामर्शदाता कम्पनीले काम सुरु गरेको हो ।

‘तनहुँ जलविद्युत् आयोजनाको परामर्शदाता कम्पनीले आफ्नो काम सुरु गरेको छ,’ आयोजनाका प्रमुख सुनिल ढुंगेलले भने, ‘आगामी १० अगस्टमा ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, तनहुँ जलविद्युत् आयोजनालगायतका सरोकारवालासँग छलफल गरेर सुरुआती प्रतिवेदन तयार गरी सोहीअनुसार कार्यान्वयन अघि बढाउनेछ ।’
आयोजनाका अनुसार, सरोकारवाला निकायहरूले दिने सुझावका आधारमा बन्ने सो प्रतिवेदनको आधारमा परामर्शदाताले गर्ने कामको तय र कार्यान्वयन विधि अघि बढ्नेछ । छनोटको जिम्मा पाएको एसियाली विकास बैंक (एडीबी) ले छनोट गरेको परामर्शदातालाई ऊर्जा मन्त्रालयले अस्वीकार गरेपछि मन्त्रिपरिषद्बाटै ठुलो विवादबिच ल्याहमेर र मनितोबा क्यानाडाको संयुक्त कम्पनीलाई छनोट गरिएको थियो ।
यही विवादका कारण सन् २०२० भित्र आयोजना सम्पन्न गर्ने गरी २०१४ को जनवरीमा ठेक्का सम्झौता गरेर फेब्रुअरीदेखि परामर्शदातालाई काममा खटाइसक्ने लक्ष्य राखिएकोमा झन्डै डेढ वर्षपछि सम्झौता ढिलाइ भएको हो । एक महिनाअघि मात्र तनहुँ हाइड्रो पावर कम्पनी र परामर्शदाताबिच सम्झौता भएको थियो । पहिला सन् २०१८ मै सम्पन्न गर्ने लक्ष्य राखिए पनि सरकारकै कारण दुई वर्ष ढिलाइ भएको सो आयोजनामा निर्माणमा कुनै अवरोध नआएमा सन् २०२२ भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
१२ वर्षका लागि भएको सो परामर्शदाता कम्पनीले परामर्श सेवाका लागि १ करोड ३४ लाख २१ हजार १ सय ९० युरो तथा ८१ लाख ५६ हजार २० अमेरिकी डलर पाउनेछ । सम्झौताअनुसार, तिन चरणमा परामर्श सेवा कार्यान्वयन हुनेछ ।
एक वर्ष आयोजना पूर्वाधारको निर्माण, विस्तृत इन्जिनियरिङ अध्ययन तथा डिजाइनसम्बन्धी प्रतिवेदन अध्ययन (रिभ्यू) तथा मुख्य निर्माण कार्यका लागि टेन्डर आह्वान गरी ठेकेदार छनोटलगायतमा परामर्शदाता सक्रिय हुनेछ ।
यसैगरी सम्झौता अनुसार, परामर्शदाताले दोस्रो चरणको ६ वर्ष आयोजनाको मुख्य निर्माण कार्यको अनुगमन तथा सुपरीवेक्षण कार्य गर्नु तथा अन्तिम चरणको पाँच वर्षमा विद्युत् उत्पादनको सञ्चालन तथा सम्भारका कार्य हुनेछ । यी सबै कार्य सुरुआती प्रतिवेदनको आधारमा हुनेछ ।
एसियाली विकास बैंक (एडीबी) ले ल्याहमेरलाई छनोट गरेकामा त्यसप्रति असन्तुष्ट जनाउँदै ८ असोजमा ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले सो छनोटलाई रद्द गरेकी थिइन् । त्यसपछि एडीबीले आयोजनाबाट हात समेत झिक्ने चेतावनी दिएपछि १७ पुसमा मन्त्रिपरिषद्ले ऊर्जामन्त्रीको निर्णय उल्टाएर ल्याहमेरलाई दिने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णय भएको सात दिनभित्रै तनहुँले नेगोसेसनका लागि ल्याहमेरलाई पत्र लेखेको थियो । पटक पटक वार्ता भए पनि आयकर नेपालले नै तिर्नुपर्ने सर्त राखेकामा कम्पनीले त्यसलाई अस्वीकार गरेपछि प्राधिकरण र परामर्शदाता कम्पनीबिच विवाद भएको थियो । त्यसपछि तनहुँ बोर्डले १५ दिनभित्र ठेक्का सम्झौताका लागि गत चैतको दोस्रो साता १५ दिनभित्र सम्झौतामा नआए ठेक्का तोडेर विकल्पमा जाने चेतावनी दिएको थियो । सो चेतावनीपछि परामर्शदाता कम्पनी ठेक्का सम्झौताका लागि आएको थियो ।
५ सय ५ मिलियन अमेरिकी डलर अर्थात् झन्डै ५० अर्ब रुपैया“ लागत भएको सो आयोजनामा जापानको अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका) को १८ अर्ब रुपैया“ (१८४ मिलियन डलर), एडीबीको करिब १५ अर्ब रुपैया“ (१५० मिलियन डलर) र युरोपियन इन्भेस्टमेन्ट बैंक (ईआईबी)को करिब साढे ६ अर्ब (८५ मिलियन डलर) सहयोग रहनेछ ।
जापान सरकारलाई जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को प्राविधिक सहयोगअन्तर्गत स्तरवृद्धि सम्भाव्यता अध्ययनका लागि आग्रह गरेपछि जाइका अध्ययन टोलीले २०६२ सालको हिउँदबाट सो अध्ययन सुरु गरेको थियो ।
हाल यस आयोजनाको विस्तृत इन्जिनियरिङ अध्ययन र डिजाइन कार्य एसियाली विकास बैंकको आर्थिक सहयोगमा जापानिज अन्तर्राष्ट्रिय परामर्शदाता जे पावरले गरेको थियो । नयाँ परामर्शदाताले जे पावरको अध्ययनमा आधारित भएर आयोजनालाई कार्यान्वयनका लागि अघि बढाउने छ ।
http://www.erajdhani.com/article/0614411001438736624