Sunday, August 2, 2015

प्रसारण लाइन राजमार्गको २० बर्से गुरुयोजना

२३ हजार मेगावाटका लागि ८ हजार किमी प्रसारण लाइन 

भीम गौतम /राजधानी
काठमाडौं, १६ साउन
भविष्यलाई बेवास्ता गरी तत्कालीन आवश्यकताको आधारमा जथाभावी रूपमा प्रसारण लाइन बनाइरहेको नेपाल विद्युत् प्राधिकरणले देशभरलाई समेटेर प्रसारण लाइन प्रणाली गुरुयोजनाको मस्यौदा तयार गरेको छ । प्रसारण लाइनको अभावमा उत्पादित बिजुली खेर गइरहेको र जलविद्युत् प्रवद्र्धकसमेत अन्योलमा परिरहेको बेला व्यवस्थित रूपमा २० वर्षका लागि प्रसारण लाइन बनाउन प्रारम्भिक मस्यौदा तयार भएको हो ।
आगामी सेप्टेम्बरसम्म अन्तिम रूप दिइने सो गुरुयोजनामा देशभर प्रसारण लाइनको राजमार्ग बनाउने व्यवस्थित मार्गचित्रसहितको योजना समावेश छ । ‘देशभर निर्माणाधीन र निर्माण हुन सक्ने सबै आयोजनालाई लक्षित गरी आगामी २० वर्ष (आर्थिक वर्ष २०३५÷०३६) का लागि प्रसारण लाइनको गुरुयोजना तयार भइरहेको छ,’ गुरुयोजनाका आयोजना प्रमुख गोपालबाबु भट्टराईले भने, ‘गुरुयोजनाको प्रारम्भिक मस्यौदा तयार भइसकेको छ, आगामी सेप्टेम्बरभित्र अन्तिम रूप दिएर योजनाबद्ध रूपमा प्रसारण लाइन निर्माण अघि बढाउँछौं ।’
यसअघि नर कसल्ट्यान्टको सहयोगमा सन् १९९४ र सन् २००४ मा गुरुयोजना बनाइएको भए पनि तत्कालीन बन्ने जलविद्युत् आयोजनाहरूका लागि मात्र लक्षित रहेको थियो । विश्व बंैकको सहयोगमा बनिरहेको पछिल्लो गुरुयोजनाले देशभरको स्पष्ट प्रसारण लाइनको मार्गचित्र कोर्नेछ ।
परामर्शदाता फ्रान्सको ईडीएफ इलेक्ट्रिक डेले बनाइरहेको प्रसारण लाइनको गुरुयोजनामा पहिचान भएका सबै आयोजनालाई प्राथमिकतामा राखिएको छ । ‘पहिलाको गुरुयोजनाले देशभरका सबै जलविद्युत् आयोजनालाई समेटेको थिएन, देशभित्रका निर्यात र घरेलु खपतका लागि निर्माण हुन सक्ने आयोजनालाई पनि समेटिएको छ,’ आयोजना प्रमुख भट्टराईले भने ।
गुरुयोजनामा बेसिनवाइज प्रसारण लाइन निर्माणलाई जोड दिइएको छ । जलविद्युत् आयोजनाहरू बढी निर्माण हुने पहाड र खपत बढी हुने तराई सँगसँगै गुरुयोजनाले निर्यात हुने सम्भावनालाई लक्षित गरी कुन करिडोरमा कति क्षमताका कस्ता प्रसारण लाइन बनाउने भन्ने स्पष्ट पारिएको छ ।
गुरुयोजनामा २० वर्षभित्र २३ हजार मेगावाट बिजुली उत्पादनका लागि ८ हजार किलोमिटर प्रसारण लाइन बनाउने उल्लेख छ । सोका लागि करिब ५ अर्ब लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । हाल करिब २ हजार ६ सय किलोमिटर मात्र प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।
गुरुयोजनाले प्रसारण लाइनको स्पष्ट मार्गचित्र तयार भएर दाताले आपूmखुसी टुक्रेटुक्रे आयोजनाहरूमा ऋण दिने गलत परिपाटीको अन्त्य हुने अपेक्षा विद्युत् प्राधिकरणको छ । गुरुयोजनाले एउटा क्षेत्रमा एकभन्दा बढी प्रसारण लाइन बनाउन नसक्ने अवस्था रहेकाले विशेषगरी २ सय २० केभी, ४ सय केभी र सोभन्दा बढी क्षमताका प्रसारण लाइन निर्माणमा जोड दिइएको छ ।
प्राधिकरण अधिकारीहरूका अनुसार जलविद्युत् आयोजनाहरूको बढी सम्भावना भएको क्षेत्रमा ४ सय केभीका प्रसारण लाइन बनाए पनि त्यसका लागि आवश्यक बिजुली नभएसम्मका लागि १ सय ३२ केभी, २ सय २० केभीमै चार्ज गर्ने गरी ठुला प्रसारण लाइन बनाउन लागिएको छ ।
गुरुयोजनामा देशभर प्रसारण लाइनको राजमार्ग नेटवर्क पु¥याउने गरी ६ बेसिन पहिचान गरी २ सय २० केभी र ४ सय केभी तथा सोभन्दा माथिका प्रसारण लाइनहरू निर्माणलाई जोड दिइएको विद्युत् प्राधिकरण ग्रिड विभागका निर्देशक हितेन्द्रदेव शाक्यले बताए । उनका अनुसार प्रस्तावित बेसिनहरूमा कर्णाली–महाकाली, राप्ती–भेरी (भेरीदेखि उत्तरगंगा), कालीगण्डकी–मस्र्याङ्दी, त्रिशूली–बुढीगण्डकी–वलेफी, तामाकोसी–सोलु तथा कोसी–मेची छन् ।
सेप्टेम्बरभित्र गुरुयोजनालाई अन्तिम रूप दिएपछि यसका आधारमा विस्तृत अध्ययन गरी आर्थिक जुटाउने लगायतका कार्य सुरु गर्ने लक्ष्य रहेको छ । गुरुयोजना तयार भएसँगै कार्यान्वयन प्रक्रिया अघि बढ्ने निर्देशक शाक्यले जानकारी दिए ।
विद्युत् प्राधिकरणका अनुसार हाल १ सय ३२ केभीका २१ सय ३० किलोमिटर, ६६ केभीको ५ सय १२ किलोमिटर, १ सय ३२ केभीको १३ सय ७६ एमबीए र ६६ केभीको ४ सय ६४ एमबीएको प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ भने ४ सय केभीको ५ सय ७० किलोमिटर, २ सय २० केभीका ४ सय ४६ किलोमिटर र १ सय ३२ केभीको ७ सय ९३ किलोमिटर प्रसारण लाइन निर्माणाधीन अवस्थामा छन् ।
प्रसारण लाइन क्षेत्रमा विभिन्न माग राखी स्थानीयवासीहरूले अवरोध गरेपछि अधिकांश प्रसारण लाइन निर्माणमा अवरोध देखिएको छ । प्रसारण लाइनबारे स्थानीय सर्वसाधारणसँग सहकार्य गरेर प्राधिकरण अघि बढ्न सकेको छैन । ससाना प्रसारण लाइन एउटै क्षेत्रबाट बनाउँदा जग्गा प्राप्ति तथा मुआब्जा वितरणमा समस्या देखिएकाले गुरुयोजनाले ठुला मात्र प्रसारण लाइन बनाउँदा एकीकृत रूपमा अघि बढ्न सहज हुने प्राधिकरणका अधिकारीहरू बताउँछन् ।
http://erajdhani.com/article/0979674001438478115

No comments: