Tuesday, August 30, 2016

सुनकोशी तेस्रो जलाशयको अध्ययन पुसदेखि

    कारोबार संवाददाता    + -

काठमाडौं  : विद्युत् विकास विभागले ५३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको आउँदो पुस महिनादेखि सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ ।
काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको यो आयोजना काभ्रे र रामेछापको सिमानामा पर्छ । आयोजनाको सम्भाव्यता अध्ययन एक वर्षअघि नै हुने भनिए पनि बल्ल सुरु भएको हो । 
विभागले सम्भाव्यता अध्ययनका लागि परामर्शदाताका लागि टेन्डर आह्वान गरेकोमा सोमबारसम्ममा ११ परामर्शदाता कम्पनीले आशयपत्र दिएका छन् ।
विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले आशयपत्र दिइएका परामर्शदाता कम्पनीबाट प्रस्ताव मागेर परामर्शदाता छनोट गरी अध्ययन गरी बढाइने जानकारी दिए ।
“आगामी मंसिरसम्ममा परामर्शदाता छनोट गरेर सन् २०१७ अर्थात् आगामी पुसदेखि सम्भाव्यता अध्ययन सुरु हुन्छ,” उनले भने, “तीन वर्षभित्र अध्ययन सकेपछि आयोजना योग्य देखिएमा मात्र विस्तृत अध्ययन अघि बढ्छ ।”
प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रो एक हो ।
विद्युत् बढी खपत हुने राजधानी र तराईको बीचमा बन्ने र काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको सुनकोशीलाई आकर्षक आयोजनाको रूपमा लिइन्छ ।
राजधानीबाट ६० किलोमिटरमात्र नजिक रहेको सो  आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रशारण लाइनको पनि खासै समस्या छैन । सुनकोशी मरिन डाइभर्सनमार्फत् बृहत् सिँचाइको आयोजना अघि बढ्न लागेकोले त्यसको लागि पनि सुनकोशी धेरै आकर्षक मानिएको छ ।
सुनकोशी जति छिटो आयोजना बनाउन सक्यो, त्यति नै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको लोड थेग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी आयोजना निर्माण गर्न सकेमा उक्त आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न सकिने अवस्था पनि छ ।
¥याफ्टिङ, फिसिङ, सुन्दर होटल निर्माणलगायत गरेर तिमाल, कोशीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताइन्छ ।
प्राधिकरणका अनुसार सन् १९८३ मै पूर्व सम्भाव्यता अध्ययन भइसकेको आयोजनाको क्षमता ५३६ मेगाबाटबाट १५ सय मेगावाटसम्म पु¥याउन सकिने विज्ञहरू बताउँछन् । आयोजना निर्माणको क्रममा दोलालघाट क्षेत्रसम्मका करिब एक हजार घर डुबानमा पर्ने अनुमान छ ।
अध्ययनको क्रममा ६२ करोड २० लाख डलर लागत लाग्ने अनुमान गरिए पनि अहिले करिब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना निर्माण भएमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
http://www.karobardaily.com/%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A4%95%E0%A5%8B%E0%A4%B6%E0%A5%80-%E0%A4%A4%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%9C%E0%A4%B2%E0%A4%BE%E0%A4%B6%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AF%E0%A4%A8-%E0%A4%AA%E0%A5%81%E0%A4%B8%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF

ऊर्जा बहुपक्षीय सम्झौता अनुमोदन

     कारोबार संवाददाता   

काठमाडौ : नेपालले दक्षिण एसियाली सहयोग संगठन (सार्क) भित्र बिजुली आदानप्रदानका लागि महत्वपूर्ण मानिएको ऊर्जाको बहुपक्षीय क्षेत्रीय सम्झौता अनुमोदन गरेको छ । 
सार्क क्षेत्रभित्रको ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता अनुमोदनका लागि व्यवस्थापिका संसद्मा पेस गरिएकोमा संसद्ले सोमबार पारित गरेसँगै नेपालले बहुपक्षीय क्षेत्रीय सम्झौता अनुमोदन गरेको हो ।
२७ नोभेम्बर २०१४ मा नेपालमा भएको सार्क सम्मेलनमा परराष्ट्र मन्त्रीहरूले हस्ताक्षर गरेको सो सम्झौता सम्बन्धित राष्ट्रले अनुमोदन नगरेसम्म कार्यान्वयनमा आउँदैन । सार्क राष्ट्रहरूमध्ये यसअघि भारत र भुटानले सो सम्झौता अनुमोदन गरिसकेको छ । 
आइतबार ऊर्जामन्त्री जनार्दन शर्माले सार्क राष्ट्रभित्र बिजुली आदानप्रदान खुल्ला गर्नका लागि अत्यावश्यक मानिएको सो ऊर्जामा सहकार्यका लागि बहुपक्षीय क्षेत्रीय सम्झौता संसद्मा पेस गरेका थिए । मन्त्री शर्माले सार्क राष्ट्रभित्र ऊर्जा व्यापारका लागि महत्वपूर्ण मानिएको सम्झौता संसद्ले अनुमोदन गरेको जानकारी दिए । 
नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानले संयुक्त रूपमा सार्क सम्मेलनमा सो सम्झौता गरेका थिए । हाल नेपाल र भारतबीच मात्र विद्युत् आदानप्रदानका लागि विद्युत् व्यापार सम्झौता (पीटीए) भएकोमा सम्झौता कार्यान्वयनका लागि सहज भएको छ ।
ऊर्जासचिव सुमनप्रसाद शर्माले सार्क राष्ट्रमा नेपालले बिजुली बिक्रीका लागि भारतको स्वीकृतिबिना असम्भव भइरहेको बेला बहुपक्षीय सम्झौताले भारत हुँदै अन्य राष्ट्रसँग बिजुली किनबेचका लागि सहज भएको बताए ।
“बिजुली सार्क राष्ट्रबीचमा व्यापारिक वस्तुको रूपमा किनबेचका लागि खुल्ला गरेको छ, यसले भारत हुँदै अन्य राष्ट्रसँग पनि बिजुलीको कारोबार गर्न सहज बनाएको छ ।” उनले भने, “यसले सार्क राष्ट्रबीच ऊर्जा क्षेत्रको नीतिगत, प्रक्रिया र संरचनागत सुधार गरी व्यापारका लागि बाटो खोलेको छ ।”
भारतलाई बिजुली बेच्ने बताउँदै आएको नेपालले भारतबाट १६ अर्ब बराबरको आयात गरिरहेको छ भने अन्य देशसँग बिजुली बेच्नका लागि प्रसारण लाइनलगायतका पूर्वाधार छैनन् ।
सन् २०१० तिरै बंगलादेशले नेपालसँग ५ सय मेगावाट बिजुली किन्ने प्रस्ताव गरेको थियो भने पछिल्लो समयमा हजारौं मेगावाट किन्न तयार रहेको बताउँदै आएको छ ।
तर आदानप्रदानका लागि सहज वातावरण बन्न सकेको छैन । सम्झौतापछि द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय विद्युत् आदानप्रदानका लागि सहज हुने ऊर्जा मन्त्रालयका सहसचिव गोपालचन्द्र सुवेदीले जानकारी दिए । 
http://www.karobardaily.com/%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE-%E0%A4%AC%E0%A4%B9%E0%A5%81%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%9D%E0%A5%8C%E0%A4%A4%E0%A4%BE-%E0%A4%85%E0%A4%A8%E0%A5%81%E0%A4%AE%E0%A5%8B%E0%A4%A6%E0%A4%A8

Monday, August 29, 2016

ऊर्जाको बहुपक्षीय क्षेत्रीय सम्झौता संसद्‌मा

    भीम गौतम    -

फाइल स्केच

काठमाडौं: दक्षिण एसियाली मुलुकभित्र विद्युत् आदानप्रदानका निमित्त महत्वपूर्ण मानिएको ‘ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता’ अनुमोदनका लागि संसद्मा पेस गरिएको छ । 
संसद्ले यो सम्झौता अनुमोदन गरेमा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) आवद्ध मुलुकभित्र द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय विद्युत् आदानप्रदानका लागि सहज हुने ऊर्जा मन्त्रालयले जनाएको छ । 
ऊर्जामन्त्री जनार्दन शर्माले सो सम्झौता संसद्मा पेस गरेका हुन् । सन् २०१४ नोभेम्बरमा काठमाडौंमा भएको सार्क सम्मेलनमा परराष्ट्र मन्त्रीहरूले हस्ताक्षर गरेको सो सम्झौता अनुमोदनका लागि ऊर्जा मन्त्रालयले संसद्मा पेस गरेको थियो ।
ऊर्जासचिव सुमनप्रसाद शर्माले सम्झौता अनुमोदनका लागि संसद्मा पेस गरिएको जानकारी दिए । नेपाल, भारत, बंगलादेश, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र अफगानिस्तानले संयुक्त रूपमा सार्क सम्मेलनमा भएको सो सम्झौता सम्बन्धित मुलुकहरूले संसदबाट अनुमोदन गरेपछि मात्र लागू हुन्छ । 
हाल नेपाल र भारतबीच मात्र विद्युत् आदानप्रदानका लागि विद्युत् व्यापार सम्झौता (पीटीए) भएकोमा सम्झौता कार्यान्वयनमा आएपछि सार्क राष्ट्रबीच विद्युत् आदानप्रदानमा सहज हुने ऊर्जा मन्त्रालयका सह–सचिव गोपालचन्द्र सुवेदीले जानकारी दिए । उनका अनुसार सो सम्झौता भारत र भुटानको संसद्ले अनुमोदन गरिसकेका छन् । 
भारतलाई बिजुली बेच्ने बताउँदै आएको नेपालले भारतबाट १६ अर्ब बराबरको आयात गरिरहेको छ भने अन्य देशसँग बिजुली बेच्नका लागि प्रसारण लाइनलगायतका पूर्वाधार छैनन् । सन् २०१० मा बंगलादेशले नेपालसँग ५ सय मेगावाटको बिजुली किन्ने प्रस्ताव गरेको थियो भने पछिल्लो समयमा समेत हजारांै मेगावाट किन्न तयार रहेको बताउँदै आएको छ । 
सार्कभित्र द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय विद्युत् आदानप्रदानका लागि सहज  हुने
तर, आदानप्रदानका लागि सहज वातावरण बन्नसकेको छैन । सम्झौतापछि द्विपक्षीय, त्रिपक्षीय र बहुपक्षीय विद्युत् आदानप्रदानका लागि सहज हुने सह–सचिव सुवेदीले जानकारी दिए । 
संसद्मा अनुमोदनका लागि सम्झौताको प्रारुप पेस गर्दे ऊर्जामन्त्री शर्माले सम्झौताले सार्क राष्ट्रबीच सीमा वारपार विद्युत् व्यापार गर्न मार्ग प्रशस्त गर्ने तथा यसका लागि आईपर्ने प्राविधिक अवरोधहरूमा कमी आउने उल्लेख गरे । 
उनले विद्युत् ऐन २०४९ तथा सोअन्तर्गत बनेको विद्युत् नियमावली २०५० बमोजिम सम्झौता कार्यान्वयन गर्न सकिने अवस्था रहेको उल्लेख गर्दै यसका लागि छुट्टै कानुन बनाउन नपर्ने पनि संसद्मा जानकारी गराएका थिए । 
सम्झौतामा मुख्य प्रावधानहरूका आधारमा सम्बन्धित मुलुकहरूले सरकारी संयन्त्रअन्तर्गत वार्ताद्वारा सर्तहरू तयार गर्न, भुक्तानी सुरक्षा संयन्त्र एवं विद्युत् व्यापारको अवधि तय गर्न सहयोग गर्न सक्ने उल्लेख छ । 
त्यसैगरी सार्क राष्ट्रभित्र विद्युत्को आदानप्रदान गर्ने निकायलाई आयात, निर्यात, शुल्क, महसुल आदि छुट दिने सम्बन्धमा कार्य गर्न सक्ने व्यवस्था गर्नुका साथै सरकारी प्रसारण निकायलाई सीमावारपार विद्युत् प्रसारण लाइनको जडान वा आवद्धता (ग्रीड कनेक्सन) गर्न, आपसी सहमतिमा निर्धारण गरिएका प्रसारण लाइनका प्रणालीको निर्माण, स्वामित्व ग्रहण, सञ्चालन तथा मर्मतका कार्य गर्न सहयोग पुर्याउने व्यवस्था प्रावधानमा रहेको छ । 
प्रावधानमा आफ्नो राष्ट्रको कानुन तथा द्विपक्षीय व्यापार सम्झौताको आधारमा बिना भेदभाव प्रसारण लाइनको पहुँच हुने व्यवस्था गर्नुपर्ने तथा सम्बन्धित राष्ट्रहरूबीच प्रसारण लाइनको सुरक्षित र विश्वसनीय सञ्चालन तथा ऊर्जा लेखांकन, तालिकीकरण, सम्प्रेषण तथा हिसाब मिलानसम्बन्धी संयुक्त समन्वयात्मक कार्यविधि बनाउन सहयोग गर्ने व्यवस्था प्रावधानमा छ । 
http://www.karobardaily.com/%E0%A4%8A%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%AC%E0%A4%B9%E0%A5%81%E0%A4%AA%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%80%E0%A4%AF-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%AF-%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%9D%E0%A5%8C%E0%A4%A4%E0%A4%BE-%E0%A4%B8%E0%A4%82%E0%A4%B8%E0%A4%A6%E0%A5%8D%E2%80%8C%E0%A4%AE%E0%A4%BE

उर्जा क्षेत्रको खर्च बार्षिक ३६ प्रतिशत मात्र

बजेट ४८ अर्ब खर्च १७ अर्ब
कारोबार संवाददाता
काठमाडौं,  १२ भदौ । आर्थिक बर्ष २०७२÷२०७३ मा उर्जा मन्त्रालयले एक तिहाई मात्र बजेट खर्च गर्न सफल भएको छ ।
कमजोर विद्युत उत्पादनको कारण लोडसेडिङको समस्या बढ्दै गएपछि सरकारले प्राथमिकतामा राखेर बजेट विनियोजन गरेपनि एकतिहाई जति मात्र खर्च भएको हो । उर्जा मन्त्रालयका अनुसार, शंसोधितसहित ४८ अर्ब ५१ करोड ३५ लाख बजेट रहेकोमा १७ अर्ब २८  करोड ९ लाख रुपैयाँ मात्र खर्च भएको हो । गत बर्षमा पहिलो प्राथमिकतामा ३०, दोस्रोका २ र तेस्रो प्राथमिकता ३ गरी ३५ कार्यक्रम रहेको उर्जा मन्त्रालयको जनताको जलविद्युतको लागि २० करोड बजेट विनियोजन गरिएकोमा खर्च हुन सकेन भने १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त आयोजनाका लागि ३ अर्ब ३७ करोड ४३ लाख बजेट छुट्याइएकोमा १७ करोड अर्थात ५ दशमलब ११ प्रतिशत मात्र भौतिक प्रगति भएको थियो । त्यसैगरी ६८ करोड ७२ लाख बजेट रहेको उर्जा मन्त्रालयको भौतिक प्रगति ८२ दशमलब २५, जल तथा उर्जा आयोगको बजेट १० करोड ४७ लाख रहेकोमा ६९ दशमलब २२ प्रतिशत तथा  विद्युत विकास विभागको २ अर्ब ५० करोड ३९ लाख बजेट रहेकोमा ४६ दशमलब ९ प्रतिशत भौतिक प्रगति भएको छ । त्यसैगरी नलसिंहगाढ जलाशययुक्त आयोजनाको ४७ करोड ५२ लाख रहेकोमा ८१ दशमलब ८५ प्रतिशत र नेपाल विद्युत प्राधिकरणको ३८ अर्ब ३७ करोड १५ लाख रुपैयाँ रहेकोमा ३९ दशमलब ४३ प्रतिशत तथा जलविद्युत लगानी तथा विकास कम्पनी लिमीटेड (एचआईडीसीएल) को लागि ६० करोड बजेट रहेकोमा काबेलीको लागि विनियोजन गरिएकोले शत प्रतिशत भौतिक प्रगति भएको छ ।
मन्त्रालयका अनुसार, गत आर्थिक बर्षमा १ सय ८३ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकोमा ३१ मेगावाट थप भएको, २५ मेगावाट सौर्य (सोलार) उर्जामार्फत थप गर्ने लक्ष्य राखिएकोमा प्रगति शुन्य रहेको, ४ सय किलोमिटर प्रशारण लाइन निर्माण गर्ने लक्ष्य राखिएकोमा १ सय १८ किलोमिटर मात्र बन्न सम्पन्न भएको, चुहावट नियन्त्रण ० दशमलब ९६ प्रतिशत घटाउने लक्ष्य राखिएकोमा १ दशमलब ३४ प्रतिशत बढेको तथा १ लाख ५० हजार विजुलीका उपभोक्ता बढाउने लक्ष्य राखिएकोमा २ लाख ८३ हजार बढेका छन् ।
बक्समा
नाम भौतिक प्रगति (प्रतिशत)
एचआईडीसीएल १००
उर्जा मन्त्रालय ८२.२५
नलसिंहगाढ ८१.८५
जल तथा उर्जा आयोग ६९.२२
विद्युत विकास विभाग ४६.९
नेपाल विद्युत प्राधिकरण ३९.४३
बुढीगण्डकी ५.११
स्रोतः उर्जा मन्त्रालयष्


Sunday, August 28, 2016

बिजुली थपिए पनि काठमाडौंमा वितरण गर्नै कठिन

   भीम गौतम   

फाइल फोटो

काठमाडौंः काठमाडौं उपत्यकाभित्रको जीर्ण प्रणालीका कारण उपलब्ध विद्युत्समेत वितरण गर्न कठिन हुने देखिएको छ । 
भारतबाट आयात गरिए वा स्वदेशकै आयोजनाबाट बढी विद्युत् ल्याउनु परे पनि उपत्यकाको वर्तमान संरचनाले नधान्ने अवस्था देखिएको विद्युत् प्राधिकरण स्रोतले जनाएको छ । 
मागको आधारमा आवश्यक वितरण प्रणाली सुधार नगर्दा प्राधिकरणको वर्तमान प्रणालीबाट थप बिजुली वितरण गर्न कठिनाइ हुने देखिएको हो । 
आगामी हिउँदमा भारतबाट ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको ८० मेगावाटसहित २ सय मेगावाट विद्युत् काठमाडौं ल्याउने तयारी छ । यसका लागि ऊर्जा मन्त्रालयले दु्रतगतिमा पूर्वाधार निर्माण अघि बढाइरहेको बेला काठमाडौं भित्रकै वितरण प्रणाली भने कमजोर देखिएको छ । 
काठमाडौंभित्र ६ सय मेगावाटको हाराहारीमा विद्युत्को माग भए पनि ४०५ मेगावाटबराबर मात्र वितरण गर्न सक्ने क्षमता छ । प्राधिकरणका अनुसार, ११ केभीमा भोल्टेज झार्न सक्ने पावर ट्रान्सफर्मर काठमाडांै उपत्यकाभित्र ४५० एमभीए मात्र छ । 
नयाँ बानेश्वर र पाटनको पावर ट्रान्सफर्मर ओभरलोडको अवस्थामा पुगिसकेका छन् भने अन्य पावर ट्रान्सफर्मरहरूसमेत बिजुली थपिँदा धान्न सकिने अवस्थामा छैनन् । पावर ट्रान्सफर्मरबाहेक वितरण गर्नका लागि आवश्यक तारहरूसमेत धान्न सक्ने क्षमताका छैनन् । 
“अहिले काठमाडौंबाट थप बिजुली काठमाडौं ल्याएर लोडसेडिङ घटाउने कुरा भइरहेको छ तर बिजुली थपिँदा वितरण गर्न एकदम कठिन छ, अहिलेको विद्यमान प्रणालीमा परिवर्तन गर्नु आवश्यक छ,” प्राधिकरणका एक अधिकारीले भने, “बिजुली थपिँदै जाने तर वितरण प्रणाली नसुधार्ने हो भने बिजुली थपिएर वितरणमा समस्या हुन्छ ।”प्राधिकरणका केही अधिकारीहरू भने थप आयात हुने बिजुलीलाई काठमाडौंको वितरण प्रणालीले धान्न सकिने बताउँछन् । 
काठमाडौंभित्र ६ सय मेगावाटको हाराहारीमा विद्युत्को माग भए पनि ४०५ मेगावाटबराबर मात्र वितरण गर्न सक्ने क्षमता
“केही सुधारका कामहरूसमेत भइरहेका छन्, तत्काल बिजुली थपिँदा वितरण प्रणालीमा समस्या हुँदैन,”  कार्यकारी निर्देशक मुकेशराज काफ्ले भन्छन्, “थप बिजुलीको आधारमा यसलाई सुधार गरिरहेका छौं ।” 
१० महिनाअघि नाकाबन्दीको कारण विद्युत्को खपत अत्यधिक बढी हुँदा ट्रान्सफर्मर पड्कने र तारहरू जलेको कारण विद्युत्को माग बढी हुँदा यस्तो समस्या आएको थियो तर अहिले बढी बिजुली वितरण गर्दा अहिले रहेको प्रणाली धान्न सक्ने अवस्था नदेखिएको भन्दै यसप्रति समेत चिन्ता गर्न थालिएको छ । 
ग्रीड विभागका प्रमुख मनोज सिलवाल पनि नयाँ बानेश्वरबाहेक अन्य सवस्टेसनमा बिजुली थपिँदासमेत समस्या नहुने बताउँछन् । “नयाँ बानेश्वरमा ओभरलोडको समस्या देखिएको छ, त्यसको सुधार्दै छौं तर अन्य ठाउँमा धेरै समस्या नहोला,” उनले भने । 
वर्षामा समेत लोडसेडिङ हुने भएकाले माग र आपूर्तिको एकिन परिमाण नभएकाले काठमाडौंका लागि कस्तो वितरण प्रणाली आवश्यक छ भनेर हालसम्म स्पष्ट सुधारको कार्यक्रम अघि बढाइएको छैन । 
प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैया मानन्धर भारतबाट थप बिजुली आउँदा काठमाडौंको माग पूरै पूर्ति नहुने भएकाले अहिलेको वितरण प्रणाली ठूलो समस्या नबन्ने बताउँछन् । 
हाल काठमाडौं उपत्यकामा विभिन्न ९ सवस्टेसनमार्फत बिजुली वितरण भइरहेको छ । प्राधिकरणका अनुसार, पावर ट्रान्सफर्मरहरू बालाजुमा ४५ एमभीए, स्युचाटारमा ३६, नयाँ चाबहिलमा ६७ दशमलव ५, लैनचौरमा ४५, नयाँ पाटनमा र  टेकुमा ५४-५४, सिंहदरबारभित्र (के३) मा ४५, बानेश्वरमा ३६, भक्तपुरमा ४५ र मातातीर्थमा २२ दशमलव ५ केभीएको पावर ट्रान्सफर्मर छ । 
यी सबै पावर ट्रान्सफर्मरमार्फत ४०५ मेगावाट मात्र विद्युत् वितरण गर्न सम्भव देखिएकाले बिजुली थप गर्दा समस्या हुने देखिएको हो । 
अर्कोतर्फ भारतबाट बिजुली आयातका लागि प्राविधिक रूपमा नेपाल र भारतबीचको बिजुली प्रणाली मिलाउन (सिंक्रोनाइज) र वर्तमान वितरण प्रणालीको कारण सवस्टेसन र प्रसारणलाइन बने पनि बिजुली काठमाडौं ल्याउन कठिनाइ हुने देखिएको विज्ञहरूले बताउँदै आएका छन् ।  
http://www.karobardaily.com/%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A5%81%E0%A4%B2%E0%A5%80-%E0%A4%A5%E0%A4%AA%E0%A4%BF%E0%A4%8F-%E0%A4%AA%E0%A4%A8%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%82%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%88-%E0%A4%95%E0%A4%A0%E0%A4%BF%E0%A4%A8

Saturday, August 27, 2016

भूकम्प प्रभावितलाई महसुल छुट दिन प्राधिकरणद्वारा अस्वीकार

    भीम गौतम    0 + -

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणले भूकम्प प्रभावितहरूलाई विद्युत् महसुलमा छुट दिन अस्वीकार गरेको छ । साउनदेखि लागू हुने गरी बिजुलीको भाउ २० प्रतिशत बढाएको  विद्युत् महसुल निर्धारण आयोगले भूकम्पबाट पूर्ण क्षति भएका घरधुरीले उपयोग गर्ने बिजुलीमा छुट दिने निर्णय गरेकोमा प्राधिकरणले त्यसलाई अस्वीकार गरेको हो । 
दुई वर्षसम्मका लागि सेवा शुल्कमा छुट दिने निर्णय गरे पनि प्राधिकरणले भूकम्प प्रभावितहरूलाई छुट नदिई बिजुली बिल पठाएको छ ।
स्पष्ट निर्णय नभइसकेको कारण हाल सेवा शुल्कसमेत राखेर बिजुलीको बिल पठाइएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समितिले भूकम्प प्रभावितलाई छुट दिन नसकिनेबारे अध्ययन गर्न समिति भने गठन गरेको छ । कार्यकारी निर्देशक मुकेश काफ्ले प्राधिकरणले यसबारे समिति गठन गरिसकेकाले समितिको प्रतिवेदनको आधारमा मात्र निर्णय गरिने बताउँछन् । 
विद्युत् ऐनअनुसार, विद्युत् महसुल निर्धारण आयोगले गरेको निर्णय अन्तिम मानिने व्यवस्था छ तर प्राधिकरणले आयोगको निर्णयअनुसार शुल्क बढाए पनि छुट भने दिएको छैन ।
आयोग अध्यक्ष जगत भुसाल आगामी दुई वर्षका लागि सेवा शुल्क नराखी इनर्जी शुल्कदर कायम हुने निर्णय गरिएको र प्राधिकरणले अनिवार्य रूपमा लागू गर्नुपर्ने बताउँछन् ।
“विद्युत् प्राधिकरणले अनिवार्य रूपमा आयोगको निर्णय कार्यान्वयन गर्नुपर्छ, नगरेर भूकम्प प्रभावितबाट सेवा शुल्कसमेत लिएको पाइएमा त्यो पैसा फिर्ता गर्नुपर्छ,” उनले भने । उनका अनुसार, सामुदायिक विद्युतीकरणमा भने कार्यान्वयनका लागि केही समस्या देखिएको छ । 
प्राधिकरण व्यवस्थापनले छुट दिँदा ५० करोडभन्दा बढी घाटा हुने र प्राविधिक रूपमा समेत बिल पठाउन कठिनाइ हुने देखिएको छ । प्राधिकरणका एक अधिकारीले छुट्टै प्रणाली बनाउन कठिनाइ रहेकाले सरकारले यसमा छुट दिनुपर्ने बताउँछन् ।
भूकम्प प्रभावितको पहिचान गर्न गाह्रो भएकाले सरकारबाटै व्यवस्था गर्दा उपयुक्र्त हुने उनको तर्क छ । प्राधिकरण स्रोतका अनुसार, यो निर्णय कार्यान्वयन गर्दा प्राधिकरणलाई ५० करोडभन्दा बढी घाटा हुने भएकाले यसको परिपूर्तिका लागि ऊर्जा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पत्र लेख्ने तयारी भइरहेको छ ।
आयोगको निर्णय कार्यान्वयन भएमा न्यूनतम २० युनिटसम्म खपत हुने भूकम्प प्रभावित ग्राहकले प्रतियुनिट ३ रुपैयाँ तिरे पुग्नेछ । यो निर्णयअनुसार, ग्राहस्थ वर्गका ग्राहकले एम्पियरको आधारमा सेवा शुल्कमा ३० रुपैयाँदेखि २७५ रुपैयाँसम्म छुट पाउनेछन् ।
५ एम्पियरको सिंगल फेज लिएका ग्राहकले २० युनिटसम्मको ३० रुपैयाँ, २१–३० युनिटसम्मकाले ५०, ३१–५० युनिटसम्मकाले ७५, ५१–१५० युनिटसम्मकाले १ सय, १५१–२५० युनिटसम्मकाले १२५, २५१–४०० युनिटसम्मकाले १५० र ४ सयभन्दा बढी युनिट खपत गर्नेले १७५ रुपैयाँसम्म छुट पाउनेछन् ।
यस्तै, १५, ३० र ६० एम्पियरको सिंगल फेज लिएका ग्राहकले २० युनिटसम्मको क्रमशः ५०, ७५ र १२५, तथा २१–३० युनिटसम्मकाले क्रमशः ७५, १ सय र १५० छुट पाउनेछन् ।
त्यसैगरी सोही एम्पियरको सिंगल फेज लिने ग्राहकले ३१–५० युनिटसम्मकाले क्रमशः १ सय, १५० र १७५, ५१–१५० युनिटसम्मकाले क्रमशः १२५, १५० र २ सय, १५१–२५० युनिटसम्मकाले क्रमशः १५०, १७५ र २२५ छुट पाउनेछन् ।
२५१–४०० युनिटसम्मका ग्राहकले क्रमशः १७५, २ सय र २५० तथा ४ सयभन्दा बढी युनिट खपत गर्नेले क्रमशः २ सय, २२५ र २७५ रुपैयाँसम्म छुट पाउने आयोगले निर्णय गरेको छ ।
http://www.karobardaily.com/%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%B9%E0%A4%B8%E0%A5%81%E0%A4%B2-%E0%A4%9B%E0%A5%81%E0%A4%9F-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%85%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A4%BE%E0%A4%B0

Thursday, August 25, 2016

ढल्केबरबाट बिजुली ल्याउनै कठिन

    भीम गौतम  

फाइल स्केच

यो हिउँदमा पनि भारतको विद्युत् काठमाडौं अाउन कठिन

काठमाडौंः ढल्केबर सबस्टेसन र खिम्ती–ढल्केबर प्रसारण लाइन दुवै निर्माण निर्धारित समयमै भए पनि आगामी हिउँदमा भारतको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन नै कठिन हुने देखिएको छ । 
विद्युत् आयातका लागि प्राविधिक रूपमा नेपाल र भारतबीचको प्रणाली मिलाउन (सिंक्रोनाइज) र वर्तमान वितरण प्रणालीका कारण यस्तो समस्या हुने देखिएको विद्युत् प्राधिकरण स्रोतले जानकारी दिएको छ । 
सबस्टेसन र प्रसारण लाइन बने पनि बिजुली काठमाडौं ल्याउन कठिनाइ हुने देखिएकाले तत्काल अन्य प्राविधिक विषय हल गर्नुपर्ने उनीहरूको भनाइ छ । 
गत फागुनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको बेला साविकभन्दा थप ८० मेगावाटसहित २ सय मेगावाट आयात गर्ने सम्झौता भएको थियो । 
सम्झौता कार्यान्वयनमा पूर्वाधार अभावले समस्या हुने भन्दै चिन्ता प्रकट भइरहेको बेला ऊर्जामन्त्री जनार्दन शर्माको पहलमा ढल्केबर सबस्टेसनको काम आगामी मंसिरअघि नै सम्पन्न गर्न चिनियाँ ठेकेदार कम्पनी सहमत भएको छ । 
सन् २००९ मै सम्पन्न हुनुपर्ने खिम्ती–ढल्केबर प्रसारण लाइन अबको डेढ महिनामा पूरा गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले जनाइसकेको छ । काठमाडौंमा बिजुली ल्याउनका लागि मातातीर्थ–स्यूचाटार प्रसारण लाइनको दोस्रो सर्किटको काम सकिए पनि क्षतिपूर्ति विवादका कारणले चार्ज हुन सकेको छैन । 
यो नबनेसम्म पनि पनि बिजुली ल्याउन असम्भव छ तर विद्युत् प्राधिकरण प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक कन्हैया मानन्धर विवाद मिलाउनका लागि प्रयास भइरहेको बताउँछन् । 
प्राधिकरणका अनुसार, पाँच क्षेत्र छुट्याएर टुक्रे रूपमा एक अर्कासँग अलग रहने गरी वितरण प्रणाली कायम छ । मध्यक्षेत्र अर्थात् काठमाडौ उपत्यकाको आसपासको क्षेत्रबाहेक भारतबाट टनकपुर, वाल्मीकिनगर, मुजफ्फरपुर र  कटैया हुँदै हुने विद्युत् आयात रेडियल मोडलमा भइरहेको छ । 
यी चारवटाको एक अर्कामा सिंक्रोनाइज नहुने अवस्थामा काठमाडौमा रहेको नेपाली प्रणालीसँग र भारतको प्रणाली सिंक्रोनाइज गरेर ल्याउनका लागि प्राविधिक रूपमा कठिनाइ रहेको विद्युत् प्राधिकरणका एक अधिकारीले जानकारी दिए । 
“भारतबाट बिजुली ल्याउँदा भारतकै प्रणालीका आधारमा काठमाडौको प्रणाली मिल्नुपर्ने हुन्छ, त्यो मिलाउनका लागि केही प्राविधिक कठिनाइहरू छन्,” उनले भने, “काठमाडौंमा रहेको अहिलेको वितरण प्रणालीमा झण्डै दुई सय मेगावाट थपिँदा कसरी धान्छ, प्रसारण लाइन बने पनि यो समस्या छ ।” 
प्राधिकरण स्रोतका अनुसार, अहिले नै बानेश्वर र पाटनको सबस्टेसन ओभरलोड अवस्थामा छन् भने अरु सबस्टेसनमा भारतबाट आउने बिजुली थप हुँदा पर्ने प्रभावबारे विस्तृत अध्ययन भएको छैन । 
समस्याहरु
–भारतको सहमति जरुरी
–सिंक्रोनाइज र यसका लागि पूर्वाधार अभाव
–काठमाडौंको विद्यमान वितरण प्रणाली
नेपाल र भारतको आ–आफ्नो तरिकाले विद्युत् प्रणाली सञ्चालन भइरहेकोमा सिंक्रोनाइज गर्दा इलेक्ट्रिक प्यारामिटर फरक पर्न जान्छ । प्राविधिकका अनुसार, सिंक्रोनाइज हुनका लागि ५० हर्जको फ्रिक्वेन्सी र फेज एंगल ठ्याक्कै मिल्नुपर्छ ।
लोड तलमाथि हुने कारण फेज एंगल पनि तलमाथि हुने हुनाले यो मिलाउन गाह्रो छ । प्राविधिक रूपमा सिंक्रोनाइज गर्न प्रत्येक आयोजनामा एउटा स्टेबलाइजर राख्नुपर्छ तर नेपालमा छैन । यो राखेपछि नेपाल र भारतबीचमा जुनसुकै ठाउँको बिजुली नेपाल र भारतका जुनसुकै ठाउँमा आदानप्रदान गर्न सकिन्छ । 
नेपालभरको प्रणालीको सिंक्रोनाइज गर्न लामो समय लाग्ने र यसका लागि त्यस अनुसारको पूर्वाधार बनाउनुपर्ने हुनाले अन्य क्षेत्रमा जस्तै रेडियल मोडमै विद्युत् आयात गर्ने तयारी प्राधिकरणको छ । 
तर यसका लागि बिजुली दिने भारत पक्षले मात्र प्रणाली डाइनामिकको अध्ययन गरेर सहमत भए मात्र बिजुली नेपाल आयात हुनसक्छ । नेपाल र भारतबीच ऊर्जा सचिवको नेतृत्वमा रहेको संयुक्त कार्यकारिणी समिति (जेएससी) अन्तर्गतको संयुक्त प्रसारण समिति (जेओसी) ले प्रणाली सिंक्रोनाइज गर्न अध्ययनसमेत गरिरहेको छ । 
आगामी सेप्टेम्बरभित्र अध्ययन सक्ने निर्णय गत जुनमा भएको बैठकले गरेको छ । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले नेपाल र भारतबीचमा सहमत भएपछि मात्र विद्युत् आयात गर्न सकिने भएकाले यसबारे पहल भइरहेको बताउँछन् । 
उनका अनुसार जीओसीले अहिले प्रणाली सिंक्रोनाइजका लागि पहल गरिरहेको छ । प्राधिकरणका एक अधिकारी रेडियल मोडमा म्यानुयलहरू सिंक्रोनाइज गर्न भारत तयार नभएसम्म विद्युत् आयात असम्भव छ । 
“भारतबाट बिजुली ल्याउँदा भारतकै प्रणालीका आधारमा काठमाडौको प्रणाली मिल्नुपर्ने हुन्छ, त्यो मिलाउनका लागि केही प्राविधिक कठिनाइहरू छन्,” उनले भने, “काठमाडौंमा रहेको अहिलेको वितरण प्रणालीमा झण्डै दुई सय मेगावाट थपिँदा कसरी धान्छ, प्रसारण लाइन बने पनि यो समस्या छ ।” 

तर प्राधिकरणका उपकार्यकारी निर्देशक मानन्धर विद्युत् ल्याउनका लागि आवश्यक पूर्वाधारको विकासका लागि अघि बढेकाले प्राविधिक रूपमा समस्या नपर्ने दाबी उनको छ ।     
रेडियल मोडमा बिजुली आयात गर्दा भारततर्फ प्रणालीमा कुनै समस्या आएमा नेपालमा त्यसको प्रत्यक्ष असर पर्नेछ । यही कारण भारतले प्रणाली स्थिरताका लागि हाल रहेको ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनको विकल्पको रूपमा प्रस्तावित दोस्रो बुटबल–वर्दघाट अन्तरदेशीय प्रणाली बनाउनका लागि जोडसमेत दिएको थियो ।  
ढल्केबरमा राखिएको ट्वीनको सट्टा क्वार्ड राख्नुपर्ने र यसको आधारमा फाउन्डेसन थप बनाउनुपर्दा लागत धेरै बढेर दुई अर्बभन्दा बढी भाडा नै तिर्नुपर्ने कारण अहिले भएकै प्रणालीबाट बिजुली ल्याउन प्राधिकरणले जोड दिएको एक अधिकारीले बताए ।      
http://www.karobardaily.com/%E0%A4%A2%E0%A4%B2%E0%A5%8D%E0%A4%95%E0%A5%87%E0%A4%AC%E0%A4%B0%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A5%81%E0%A4%B2%E0%A5%80-%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%88-%E0%A4%95%E0%A4%A0%E0%A4%BF%E0%A4%A8

तामाकोसी ३ र तमोर बनाउन चिनियाँ कम्पनीको प्रस्ताव

 

काठमाडौं : चीनको चाइना मेसिनरी इन्जिनियरिङ कर्पोरेसन (सीएमईसी) ले तामाकोसी तेस्रो र तमोर जलाशययुक्त आयोजना निर्माण गर्न लगानी बोर्डमा प्रस्ताव गरेको छ । 
सीएमईसी कम्पनीले ६५० मेगावाटको माथिल्लो तामाकोसी तेस्रो र ७६२ मेगावाटको तमोर जलाशययुक्त जलविद्युत् आयोजना बनाउन प्रस्ताव गरेको जनाएको छ ।
कम्पनीले लगानी बोर्डमा यी दुई आयोजना इन्जिनियरिङ प्रोक्युरमेन्ट एन्ड कन्स्ट्रक्सन विथ फाइनान्सिङ (ईपीसीएफ) मोडलअन्तर्गत बनाउने प्रस्ताव राखेको कम्पनीका नेपाल प्रतिनिधि विश्वास खतिवडाले जानकारी दिए । 
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत यी दुई आयोजना ईपीसीएफ मोडलमार्फत अघि बढाउने घोषणा गरेपछि केपी ओली नेतृत्वको सरकारको पालामा नै कम्पनीले यी दुई आयोजना बनाउने प्रस्ताव राखेको थियो ।
अहिले कम्पनीले प्रधानमन्त्री पुष्पकमल दाहाल, ऊर्जामन्त्री जनार्दन शर्मालगायतसँग भेटेर आयोजना ईपीसीएफ मोडेलमा बनाउन तयार रहेको खतिवडाले बताए । 
 भारत निर्यात गर्ने गरी नर्बेजियन कम्पनीले यसअघि तामाकोसी तेस्रोको अनुमतिपत्र पाए पनि विभिन्न कारण जनाउँदै आयोजनाबाट हात झिकेको थियो ।
हाल विद्युत् प्राधिकरणले अध्ययन गरिरहेको तमोर आयोजना ७६२ मेगावाट बनाउँदा अनुमतिपत्र लिइसकेको ३७.६ मेगावाटको काबेली ‘ए’ लगायतका जलविद्युत् आयोजनामा असर पर्ने भन्दै विद्युत् विकास विभागले ३ सय मेगावाटको मात्र लाइसेन्स दिएको छ । 
 दोलखा र रामेछाप जिल्लामा अवस्थित तामाकोसी तेस्रो आयोजना बनाउन करिब एक खर्ब ३७ अर्ब रुपैंया लाग्ने अनुमान छ भने ताप्लेजुङमा रहेको तमोर आयोजना बनाउन करिब डेढ खर्ब रुपैंयाँ लाग्ने प्रक्षेपण गरिएको छ । दुई आयोजना बनाउन कम्पनीका प्रतिनिधि दुई पटक नेपाल भ्रमण गरिसकेका छन्
नेपालमा लगानी गर्न कम्पनीले चीनको आईसीबीसी बैंकमार्फत लगानीका लागि प्रस्ताव लगानी बोर्डमा दर्ता गरेको जनाएको छ । तत्कालअघि बढाउन कम्पनीले आफ्नै लगानीमा सम्भाव्यता अध्ययन गर्न सरकारसँग अनुमति मागेको छ ।
सीएमईसी कम्पनीले विश्वका १५० देशमा ऊर्जा र पूर्वाधारको क्षेत्रमा काम गरिरहेको जनाएको छ । खतिवडाका अनुसार यस कम्पनीको वार्षिक कारोबार करिब ४ खर्ब नेपाली रुपैयाँ रहेको छ । 
http://www.karobardaily.com/%E0%A4%A4%E0%A4%BE%E0%A4%AE%E0%A4%BE%E0%A4%95%E0%A5%8B%E0%A4%B8%E0%A5%80-%E0%A5%A9-%E0%A4%B0-%E0%A4%A4%E0%A4%AE%E0%A5%8B%E0%A4%B0-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5

Wednesday, August 24, 2016

विद्युत्-नियमावली-संशोधन-गरिंदै-संशोधन-प्रस्ताव-मन्त्रिपरिषद्मा-लाने-उर्जामन्त्रीको-निर्णय

     भीम गौतम    + -

काठमाडौं : ऊर्जा मन्त्रालयले जलविद्युत् अनुमतिपत्र (लाइसेन्स) संशोधन गर्न मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । ऊर्जामन्त्री जनार्दन शर्माले मन्त्रीस्तरीय निर्णयबाट विद्युत् नियमावली २०५० लाई चौंथो संशोधन गर्र्ने निर्णय गरेको हो ।
यसअघि २०६८, २०६९ र २०७२ मा समेत जलविद्युत् आयोजना अनुमतिपत्रको संशोधन गरेको थियो । मन्त्री शर्माले आफूले प्रक्रियागत झन्झट हटाउन संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा लैजान मंगलबार स्वीकृति दिने निर्णय गरेको जानकारी दिए ।
अघिल्ला मन्त्री टोपबहादुर रायमाझीले संशोधनको प्रक्रिया अघि बढाएका थिए । ३१ साउनमा कानुन मन्त्रालयले समेत संशोधनका लागि स्वीकृति दिएको थियो । 
नयाँ व्यवस्थाअनुसार, बहुउद्देश्यीय र जलाशययुक्त बाहेक एक सय मेगावाटसम्मको जलविद्युत् लाइसेन्स दिने अधिकार विद्युत् विकास विभागका महानिर्देशकलाई दिइएको छ । एक सय मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्सका लागि मात्र ऊर्जा सचिवस्तरबाटै निर्णय हुनुपर्ने व्यवस्था गरिएको छ । 
आयोजना वातावरण अध्ययन, रुख कटानलगायतका प्रक्रियाका लागि भने ऊर्जा मन्त्रालय हुँदै वातावरण र वन मन्त्रालयमा पुग्नुपर्ने हुन्छ ।
विद्युत् विभागमा लाइसेन्सका लागि कुनै प्रवद्र्धकले निवेदन दिएपछि त्यहाँ विभिन्न शाखा हुँदै ऊर्जा मन्त्रालयका सम्बन्धित शाखा, सहसचिव, ऊर्जासचिव, कानुन उपसचिव र सहसचिव हुँदै फेरि ऊर्जासचिवकहाँ फाइल पुगेर सदर भई पुनः विद्युत् विभाग पुग्नुपर्ने लामो प्रक्रियागत झन्झट थियो ।
“लामो प्रक्रिया र प्रवद्र्धकले समेत सास्ती बेहोर्नुपर्ने अवस्था देखिएपछि संशोधनको प्रक्रिया अघि बढाइएको हो,” ऊर्जा मन्त्रालयका सहसचिव कौशलचन्द्र सुवेदीले भने, “विभागका महानिर्देशकलाई जिम्मा दिएपछि अब छिटो र छरितो रूपमा लाइसेन्स वितरणदेखि खारेजीको समेत काम हुनेछ ।”
उनका अनुसार लाइसेन्सको संशोधनपछि अन्य महत्वपूर्ण काममा सहभागी हुनुपर्ने ऊर्जा मन्त्रालयको कार्यबोझ धेरै घट्ने अनुमान छ । हाल १ सय २० दिनभित्र पाउनुपर्ने लाइसेन्सका लागि ४/५ वर्षसम्म लागेको उदाहरण धेरै आयोजनाको छ । 
संशोधनपछि लाइसेन्स लिनका लागि मन्त्रालयसम्म धाउनुपर्ने र विभिन्न व्यक्तिलाई खुसी बनाउनुर्ने अवस्थाबाट जलविद्युत् प्रवद्र्धकले मुक्ति पाएका छन् ।
तर विद्युत् विभागका अधिकारीहरु विद्युत् प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) बारेको हालको व्यवस्था संशोधन नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन नहुने बताउँछन् ।
“लाइसेन्स छिटो पाएर मात्र समस्या समाधान हुँदैन, पीपीए गरिदिने ग्यारेन्टी पनि प्रवद्र्धकले खोज्छन्, यो स्वाभाविक हो ।”
विभागका एक अधिकारीले भने, “लाइसेन्समै बढी कमिसनको चलखेल हुने भएकाले मन्त्री र सोभन्दा माथिबाट दबाब आउने र महानिर्देशकले दबाब थेग्न नसक्दा अझ समस्या हुनसक्छ ।”
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A5%8B%E0%A4%A7%E0%A4%A8-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%82%E0%A4%A6%E0%A5%88-%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A5%8B%E0%A4%A7%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE%E0%A4%B5-%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%BF%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%B7%E0%A4%A6%E0%A5%8D%E0%A4%AE%E0%A4%BE-%E0%A4%B2%E0%A4%BE%E0%A4%A8%E0%A5%87-%E0%A4%89%E0%A4%B0%E0%A5%8D%E0%A4%9C%E0%A4%BE%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A3%E0%A4%AF

एक सातामै ५७ हजार भूकम्पपीडितलाई पहिलो किस्ता

     कारोबार संवाददाता    0 + -

फाइल फोटो

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ ।     यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो । 
प्राधिकरणले छोटो समयमा यति धेरैलाई पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार प्रभावितलाई पहिलो किस्ताको ५० हजार रकम वितरण गर्नुपर्नेमा हालसम्म १ लाख ६ हजार ९५९ सम्म यो सुविधा पुगेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार, हालसम्म ३ लाख ८४ हजार भूकम्प प्रभावितसँग अनुदान सम्झौता भैसकेको छ । 
पछिल्लो अभियानको क्रममा थप ४४ हजारसँग अनुदान सम्झौता गरिएको हो । हालसम्म दोस्रो र तेस्रो किस्ता कुनै प्रभावितलाई दिइएको छैन भने पहिलो किस्ता पाएका ५ हजारभन्दा बढीले घर निर्माण सुरु गरे पनि सरकारी अनुदान पाएर एक जना प्रभावितले पनि सम्पन्न गर्न सकेका छैनन् । 
अभियान सुरु गर्नुअघि ३१ साउनसम्म प्राधिकरणले ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता र ४९ हजार ७ सय ४९ प्रभावितलाई पहिलो किस्ताको रकम दिएको थियो । 
तोकिएको समय अर्थात् दशैंअघि नै सबै भूकम्प प्रभावितसँग अनुदान र पहिलो किस्ताको रकम पुर्याउने गरी अभियान अघि बढाइएको प्राधिकरणले जनाएको छ । “बिदाको दिनसमेत नभनी पहिलो किस्ता र अनुदान वितरण जारी राखेका छौं,” उनले भने । 
पहिलो किस्ताको रकम पाउने संख्यामा स्थानीय विकास मन्त्रालय र प्राधिकरणबीचमा संख्या भने फरक पाइएको छ । मन्त्रालयको १ लाख १ हजार मात्र छ । प्राधिकरणले भने महालेखा परीक्षकको कार्यालयमार्फत आएको तथ्यांकलाई आफूहरूले सार्वजनिक गरेको बताउँछन् । 
अभियान सुरु गर्नुअघि ३१ साउनसम्म प्राधिकरणले ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता र ४९ हजार ७ सय ४९ प्रभावितलाई पहिलो किस्ताको रकम दिएको थियो । 

उपत्यकामा ५० हजारको लगत संकलन
भूकम्पबाट प्रभावित काठमाडांै उपत्यकाका तीन जिल्लामा ४९ हजार ९ सय ७७ घर परिवारको लगत संकलन सम्पन्न गरेको छ ।     
काठमाडौं उपत्यकाभित्र विस्तृत घरधुरी संरक्षण नगरी पहिला अनुदान पाएका र छुट भई निवेदन दिएकाहरूलाई प्रमाणीकरण (भेरिफिकेसन) मार्फत मात्र सर्भेक्षण गर्ने निर्णयअनुसार लगत संकलन अघि बढेको हो । 
प्राधिकरणका अनुसार, काठमाडौंमा २२ हजार ८ सय, ललितपुरमा १४ हजार ८ सय र भक्तपुरमा १२ हजार ३ सय भूकम्प प्रभावितको लगत संकलन सकिएको छ भने सर्भेक्षण जारी रहेको छ । 
पहिलो किस्ता पाउनेको संख्या 
गोरखा                           ३३,८०० 
दोलखा                          १६,८०० 
रामेछाप                        १२,३००
काभ्रे                              ९,८००
नुवाकोट                        ८,४००
सिन्धुपाल्चोक              ६,७००
धादिङ                          ५,१००
सिन्धुली                       ४,३००
ओखलढुंगा                   १,७३०
मकवानपुर                   १,१०० 
रसुवा                            ७००
स्रोतः स्थानीय विकास मन्त्रालय
http://www.karobardaily.com/%E0%A4%8F%E0%A4%95-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AE%E0%A5%88-%E0%A5%AB%E0%A5%AD-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%8B-%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE 

Tuesday, August 23, 2016

जलविद्युत् क्षेत्रमा कमिसनलाई छिर्न दिन्न

     0 + -

जनार्दन शर्मा
मन्त्री, ऊर्जा
रुकुममा जन्मिएका जनार्दन शर्मा अहिले ऊर्जामन्त्री छन् । ४० वर्षभन्दा बढी समयदेखि राजनीतिमा संलग्न रहँदै आएका शर्मा नेकपा माओवादी केन्द्रका कार्यालय सदस्यसमेत हुन् । माओवादीले विगतमा गरेको सशस्त्र युद्धका क्रममा माओवादी सेनाको नेतृत्वकर्ता मध्येका एक हुन् उनी ।
यसअघि शान्ति मन्त्रीसमेत भइसकेका शर्माले आफूलाई एक्सन ओरियन्टेट बताउने गर्छन् । ५४ वर्षीय ऊर्जा मन्त्री शर्मासँग ऊर्जा क्षेत्रका लागि केही गरौं भन्ने जोश छ । तत्कालीन र दीर्घकालीन योजना भएर र प्राथमिकता निर्धारण गरेर अघि बढ्ने सोच बनाएका मन्त्री शर्मा अहिले ऊर्जा क्षेत्रको समस्या पहिचान गरिरहेको बताउँछन् ।
माओवादीमा लामो संघर्ष गर्ने व्यक्तिको रूपमा छवि बनाएका उनको जलविद्युत्को विकासमार्फत देशको विकास गर्ने सपना छ । उनी अहिले भोलिलाई कुनै कुरा नसाँची आजै र तत्काल गर्नुपर्छ भन्ने मान्यताका साथ अघि बढेका छन् । जलविद्युत् क्षेत्रमा ‘नो कमिसन, नो भेरियसन’ भन्ने महत्वकांक्षी नारासहित अघि बढेका शर्मासँग जलविद्युत् क्षेत्रको समग्र अवस्था र उनका योजनाबारे कारोबारकर्मीभीम गौतमले गरेको कुराकानी :
भर्खरै ऊर्जामन्त्री बन्नुभएको छ, छोटो समयमा ऊर्जा क्षेत्रलाई कसरी बुझ्नुभयो ?
ऊर्जामन्त्री भएको एक हप्ता पनि पुगेको छैन । यस अवधिमा मेरो प्रारम्भिक बुझाइ मात्र रह्यो । प्रारम्भिक रूपमा हेर्दा ऊर्जा र जलस्रोत एउटै मन्त्रालय हुनुपर्नेमा ऊर्जा मात्र रहेछ । समस्या यहीँबाट सुरु भएको देखें । लामो समयदेखि ऊर्जा क्षेत्रको विकास सुरु भए पनि गुणात्मक रूपमा उपलब्धि हासिल भएको छैन । अहिले पनि लोडसेडिङ छ ।


अझै पनि नेपालका जलस्रोत क्षेत्रका स्रोतको पहिचान भइसकेको छैन । ऊर्जा मन्त्रालयभित्र जल तथा ऊर्जा आयोग पनि छन् । आयोगको कार्यक्षेत्र ठूलो रहेछ । आयोगको व्यवस्थित परिचालन र योजनाबद्ध काम भएको रहेनछ । जलविद्युत् क्षेत्र संकटग्रस्त अवस्थामा छ ।


सानो उदाहरण नै हेरौं, विद्युत् उत्पादन भएर पनि काठमाडौं ल्याउन सक्ने प्रसारण लाइन छैन । प्रसारण लाइनमा यस्तो छ कि १४/१५ वर्षदेखिको समस्या थन्किएर बसेका छन् । प्रसारण लाइनको अवस्था अस्तव्यस्त छ । फेरि पनि आफ्नो ठाउँबाट ऊर्जा मन्त्रालयले पहल गरिरहेको छ । सकारात्मक, नकारात्मक दुवै पक्ष छन् ।
तपाईंले ऊर्जा र जलस्रोत मन्त्रालयलाई एउटै बनाउने कुरा गरिरहनुभएको छ, तपाईं पनि सरकारको नेतृत्व गर्ने पार्टीको जिम्मेवारी र शक्तिशाली नेता हुनुहुन्छ, अब दुवै मन्त्रालय एकीकृत हुन्छन् त ?
यो राष्ट्रिय राजनीतिसँग जोडिएको विषय हो । यसमा राजनीति दलहरूबीच राष्ट्रिय सहमति पनि आवश्यक पर्ला । यसको आवश्यकता के हो, के गर्दा हुन्छ भन्ने कुरामा म पहल गर्छु ।
जलविद्युत् उत्पादनका ठूला गफ त नेपालीले धेरै सुनेका छन् । नेपालमा लोकतान्त्रिक गणतन्त्र आएपछि पनि सुनेकै हुन् । जलविद्युत् उत्पादनमा हामी किन यति कमजोर रहेछौं ?
हाम्रो कार्य प्रणाली मै त्रुटि छन् । कुन क्षेत्रलाई प्राथमिकता दिएर जाने र लागि पर्ने भन्ने कुराको समस्या छन् । योजनाका समस्या पनि छन् । मैले ढल्केबर गएर पनि हेरें, ४०० केभीको लाइनबाट २२० केभीको लाइनमा हुक हालेर बिजुली ल्याउनु परेको छ ।

४०० केभीको योजना गर्दा यो सँगसँगै गर्नुपथ्र्यो नि । दिन धकेल्ने, काम चलाउने मनोवृत्तिले जलविद्युत् उत्पादन नभएको जस्तो लाग्छ । राष्ट्रिय राजनीतिले पनि विगतमा विभिन्न समस्या भए ।

मुख्य समस्या राजनीतिक समस्या, दोस्रो कर्मचारीतन्त्रको तर्फबाट पहल कदमी लिने कुरामा त्रासमा बस्नुपर्ने अवस्था । त्रासमा काम गर्दा योजना अघि बढ्न नसक्ने समस्या ।
पछिल्लो समयमा तपाईं एक्सन ओरियन्टेड बन्नुभएको छ, तत्काल निर्णय दिई हाल्ने, अहिलेसम्म के–के गर्नुभयो ?
म बुझ्दै छु, एक्सन त के गरिहाल्ने ? अहिले म समस्याको पहिचान गरिरहेको छु । यसको आधारमा तत्काल समाधान गर्न सकिने रहेछन् भने तत्काल गर्ने । दीर्घकालीन रूपमा समस्या समाधान गर्नुपरेमा दीर्घकालीन रूपमा योजना बनाउने मैले सोचिरहेको छु ।

सामान्य कुरामा निर्देशन त मैले दिइरहेको छु । क्रमशः कार्यान्वयनको प्रक्रियामा पनि छन् । विद्युत् प्राधिकरणको वार्षिकोत्सवमा जाँदा त्यहाँका समस्या सुनियो । आज हुने काम आजै गर्नुस् भनेर मैले निर्देशन पनि दिएँ । प्रसारण लाइनको ठूलो समस्या देखियो, यसमा पनि जोड दिएको छु ।

यसको अनुगमन गर्दै हिँडेको छु । एक्सन गरिहालेको भने छैन । उत्पादनतर्फ जाँदा कुन जलविद्युत् आयोजना कुन समयमा बन्नुपर्ने किन बनेन भनेर त्यसबारे खोज्दैछु । पहिलो कुरा अहिले भएका योजनालाई सुधार गर्ने, यसलाई अलि छिटो अघि बढाउने नै मेरो प्राथमिकता रहनेछ ।

दोस्रो रणनीतिक महत्वका योजनालाई थालनी गर्नेछु । पहिलो हप्तामै भएकाले यसलाई समस्या पहिचानकै हप्ता भनेको छु । समस्या पहिचानकै अवस्थामा रहेकाले मैले यो–यो गरें भनेर भन्न सक्ने अवस्थामा छैन । योपछि तत्कालीन र रणनीतिक रूपमा के गर्नुपर्छ भनेर योजना बनाउँछु ।

तेस्रो हप्ताबाट कार्यान्वयनमा अगाडि बढाउँछु । नेपालको जलस्रोतबारे यसलाई तीव्र रूपमा अघि बढाउन के गर्नुपर्छ भनेर सबै राजनीतिक पार्टीहरूसँग बसेर छलफल पनि गर्छु । सहमतिमा लैजान प्रयत्न गर्छु ।

प्राथमिकताका क्षेत्रबारे सबै सरोकारवालाहरूसँग छलफल गर्छु । जलविद्युत् प्रवद्र्धक, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (ईप्पान) का प्रतिनिधिसँग पनि छलफल गरें । उहाँहरूकै सल्लाह र सुझावअनुसार अघि बढ्ने हो ।
यो हप्तामा तपाईं जहाँ–जहाँ पुग्नुभयो, तत्काल काम गर्न निर्देशन दिनुभयो । अहिले कडा रूपमा निर्देशन दिएको भनेर यसलाई माओवादी शैलीको संज्ञा पनि दिन थालिएको छ । कतिपय कर्मचारी आतंकित भएको चर्चा पनि चलिरहेको छ । यसलाई कसरी हेर्नुभएको छ ?
काम गर्नु माओवादी शैली हो भने त्यो माओवादी शैली नै भएर जाओस् । माओवादी शैली भनेको नराम्रो हो र ? तत्काल काम गर्नुपर्छ भन्ने शैलीलाई माओवादी शैली भन्छ भने यो राम्रो कुरा हो, धन्यवाद दिन चाहान्छु ।

विधिसंगत ढंगले छिटो छरितो काम गर्नुपर्छ भनेर मैले निर्देशन दिइन भने म मन्त्री भएर किन बस्नुप¥यो । त्यो काम सम्भव छ र पुरा गराउन सकिँन भने मन्त्रीको के अर्थ रह्यो र ? मन्त्री हुनु भनेको कुनै रहरको कुरा होइन ।

सम्बन्धित मन्त्रालयका समस्यालाई समाधान गर्ने जिम्मेवारी पनि हो नि मन्त्रीको काम । जनताप्रति त्यो उत्तरदायित्व हो । यो उत्तरदायित्व पूरा गर्नुपर्छ भनेर अहिले विश्वस्त बनाइरहेको छु । यसो गर्दा यहाँ दुरूपयोग, भ्रष्टाचार भइरहेको छ, यहाँ विधिसंगतले काम हुँदैन भनेर भन्दैमा कोही आतंकित हुन्छ भने त्यो मेरो समस्या होइन ।

त्यसकारण इमान्दार मान्छेहरू आतंकित छैनन् । कर्मचारी या सचिव कोही पनि आतंकित छैनन् । म के कारणले निर्देशन दिँदैछु भने अहिले ऊर्जा संकटकाल घोषणा भएको छ । यसको मतलब विशेष ढंगले काम गर्ने भनेको हो । तीव्र गतिमा जाने भनेको हो ।

विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालयले आफ्नो काम इमान्दारिताका साथ गर्नुपर्छ । मन्त्री परिषद्मा लगेर निर्णय गराउनु परे पनि म तयार छु । एउटा वन क्षेत्रको स्वीकृतिबारेको निर्णय मन्त्रिपरिषद्मा लगेर तुरुन्तै गराइयो । विधि र प्रक्रिया पूरा गरेर राम्रो काम गर्ने हो । काम गर्ने क्रममा कमीकमजोरी भए, त्यसमा पनि सुधार गर्न सकिन्छ ।
प्रत्येक ऊर्जामन्त्री आएपछि सुरुमा तात्ने र पछि सेलाउँदै जाने प्रवृत्ति छ । यही कुरा तपाईंलाई लागू हुन्छ कि हुन्न ?
म तातेको होइन, कसैले तातेको देखेको छ भने त्यो भ्रममा छ । कसैले सेलाउँला भनेर भनेको भए त्यो पनि भ्रममा छ । तात्ने पनि होइन, सेलाउने पनि होइन, म आफ्नै गतिमा अघि बढ्छु । म शान्ति मन्त्रालयमा हुँदा पनि जहाँ समस्या थिए, त्यहीँ गएर समाधान गरेका थिएँ । त तातेको छु, न सेलाउनेवाला छु ।
सार्वजनिक लेखा समितिको सभापति भइसकेकाले तपाईंलाई जलविद्युत् क्षेत्रका विकृति, विसंगतिबारे राम्रो थाहा छ, तपाईं आएपछि यस्ता कुरा हट्छन् भनेर कसरी पत्याउने ?
काम गर्दा अख्तियारले दुःख दिन्छ भनेर भन्नु भनेको त कहीँ गल्ती गरेर त्यस्तो भएको हो नि । सही काम गरे त अख्तियारले केही गर्दैन । काम गर्ने मान्छेलाई विश्वस्त बनाउने, प्रोत्साहित गर्ने कुरा हो, सचिवदेखि तल्लो तहसम्मका कर्मचारीलाई कामका लागि प्रोत्साहित गर्ने हो । आफू पनि राम्रो काममा र अरुलाई पनि राम्रो काममा लगाउन सकियो भने यसले सुधार ल्याउँछ ।
‘नो कमिसन, नो भेरियसन’ भन्ने नारा दिएर दिएर अघि बढ्न लाग्नुभएको छ, यो कसरी सम्भव होला र ?
म जलविद्युत् क्षेत्रमा कमिसनलाई छिर्न दिन्न । अनुमानित लागत निकाल्दा नै वैज्ञानिक ढंगले गर्नुपथ्र्यो । यो गर्दै कमिसन खाइदियो भने त बिग्र्रियो नि । समयमै काम सकियो भने त भेरियसन चाहिएन नि । मेरो जोड समयमै काम सकाउनेतिर नै छ ।

भूकम्प आउँदा ढिलाइ भएका कुरा अर्कै हुन्, सधै भूकम्प आउँदैन । सही रूपमा योजना बनाएर, अनुमानित लागत निकालेर अघि बढ्यौं भने भेरियसनको समस्या आउँदैन । सामान्य कुरा त होलान् तर यसको अर्थ छैन । त्यो संकट नआउने गरी सोच्नुपर्छ भन्ने कुरा मैले भनिरहेको छु । कार्यान्वयन गर्ने पक्षलाई उत्साहित बनाउन सकियो भने कमिसन, भेरियसन स्वतः घटेर जान्छ ।
जलविद्युत् क्षेत्र वा ऊर्जा मन्त्रालयको नेतृत्व गर्नेहरू बढी लोभी–पापी भएकै कारण समस्या आएको भनिन्छ । उसो भए, त्यो आरोप तपाईंको कार्यकालमा सुन्नु पर्दैन होइन ?
कसलाई लोभी–पापी भनौं ? म भन्न चाहन्न । कहीँ योजनाका समस्या छन्, कहीँ हाम्रा काम गर्ने तौर तरिकाका समस्या छन्, केही मनोविज्ञानका कुरा छन् । यी कुराले काम गरिरहेको छ ।

राजनीतिक जस्तै कर्मचारीतन्त्रको मानसिकता पनि समस्याको रूपमा रहेको छ । राम्रा काम गर्नेलाई प्रोसात्हित गर्दै जाने हो भने नराम्रा काम गर्नेहरू पाखा लाग्दै जान्छन्, राम्रा काम गर्नेहरू अघि बढ्छन् ।
कतिपयले कम्युनिस्ट पार्टीमा आबद्ध मन्त्रीहरू अनुदार हुन्छन् भनिरहेका छन् । स्वदेशी, विदेशी लगानी प्रवद्र्धन गर्नेदेखि बिजुली बेच्नेसम्मका कुरा पनि छन् । यस्तो अनुदारको आरोपबारे तपाईं के भन्नुहुन्छ ?
राष्ट्रलाई बेफाइदा नहुने गरी, देशलाई हित हुनेगरी र जनतालाई घाटा नहुने गरी लगानी भित्र्याउने कुरा, राष्ट्रको विकास गर्ने कुरा उदार र अनुदारको कुरा होइन । राष्ट्रलाई यसले फाइदा हुन्छ कि हुँदैन भन्ने कुरा हो । राष्ट्रलाई फाइदा हुने हरेक कुरा गर्न तयार छु ।
बिजुली बेच्नु हुन्छ कि हुँदैन, विदेशी लगानी भित्र्याउनु हुन्छ कि हुँदैन ?
बिजुली बेच्ने कुरा मुख्य होइन । नेपालमै जलविद्युत्लाई बढी उपयोग गर्ने कुरा धेरै छन् । हजारौं मेगावाट बिजुली नेपालमै उपयोग गर्न सक्छौं । बिजुली बेच्ने अवस्थामा पुग्न हामीले ५० हजार मेगावाट विद्युत् उत्पादन गर्नुपर्छ ।

पहिला स्वदेशमै बिजुली छैन, बिजुली बेच्ने कुरा के गर्नु ? पहिला स्वदेशमै उपयोग गर्ने गरी अघि बढ्नुपर्छ । बढी भयो भने बिजुली बिक्री हुन्छ । अर्को बजारले माग गरिरहेको छ भने स्वतः बिक्री हुन्छ ।
मन्त्री हुने बित्तिक्कै विगतका योजनालाई बिर्सने चलन छ । हालै ऊर्जा संकटकाल कार्ययोजना आएको छ । तपाईं यसलाई बिर्सनु हुन्छ कि यसकै आधारमा अघि बढ्नुहुन्छ ?
म बिर्सन्न । ऊर्जा संकटकाल कार्ययोजना बनाएर मन्त्रिपरिषद्ले लागू गर्ने निर्णय ग¥यो । तर कार्यान्वयन त्यति भएन । मैले त्यतिबेला पनि यो महत्वपूर्ण घोषणा हो भनेर भनेको थिएँ । यो योजना निर्माण गर्ने सवालमा पनि कतै त कतै म पनि थिएँ ।
यो महत्वपूर्ण कार्य त हो, तर यसलाई ठोस कार्यान्वयनमा लैजानुपर्ने आवश्यकता हुन्छ । बिर्सने कुरा होइन । ऊर्जा संकटकाललाई समस्या होइन, समाधान भनेको छु । मैले यसको विरोध गरेको होइन, समाधानको बाटोमा जानुपर्छ भन्ने मेरो कुरा हो । ऊर्जा संकटकाल घोषणा गरेर त्यसलाई थन्क्याएर राख्ने हो भने के काम ?
त्यसो भए अझै ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणबीच समन्वय छैन ? कार्यान्वयनमा त समस्या पर्ला नि ?
म समन्वय नै छैन त भन्दिन, तर यसमा समस्या कहाँ–कहाँ छन्, गर्न नहुने विषय र क्षेत्र के हुन् ? यसको पहिचान गरेर समस्या सल्टाउँछु । एकीकृत रूपमा अघि बढ्ने वातावरण बनाउन पहल गर्छु ।
विद्युत् प्राधिकरणले काम गर्न नसक्नुको कारणको रूपमा अनावश्यक मन्त्रीहरूको राजनीतिक हस्तक्षेप भनेर आरोप पनि लगाउने गरिन्छ । कसरी सन्तुलन मिलाउनुहुन्छ ?
मलाई त लाग्छ, विद्युत् प्राधिकरणमा राजनीतिक हस्तक्षेप नपुगेको हो । हस्तक्षेप भनेको कर्मचारीलाई सरुवा बढुवा गर्ने होइन । यसमा लाग्ने पनि होइन । हस्तक्षेप भनेको योजना र कार्यान्वयनबाट गर्ने हो । यस्तो हस्तक्षेप प्राधिकरणलाई चाहिएको छ । तर आफ्नो मान्छेको सरुवा, बढुवामा हस्तक्षेप हुन्छ भने त्यो गलत हो ।
तपाईंले विद्युत् प्राधिकरणका बोर्ड सदस्य विज्ञ हुनुपर्नेलगायतका सुधारका कुरा ल्याउनुभएको छ । प्राधिकरणमा कस्तो संरचना आवश्यक पर्ला ?
विद्युत् प्राधिकरण गठन भएकै लामो समय भइसक्यो । परम्परादेखि उही गतिमा चलिरहेको छ । आजको आवश्यकता, प्रविधि अर्को ठाउँमा पुगिसक्यो । यो पुनर्संरचना आवश्यक छ । यसको कार्यक्षेत्रलाई व्यापक, प्रभावकारी र सुदृढ गर्ने कुरा हो ।
तपाई जति समय मन्त्री भएर बस्नुहुन्छ, त्यो बेला जनताले अनुभूति पाउने गरी के गर्न चाहनुहुन्छ ?
अहिले म जनतालाई झुठो प्रतिबद्धता दिन चाहन्न । १५÷२० दिनभित्र तपाईंहरूले म के गर्न सक्छु भनेर स्पष्ट दिन सक्छु । अहिले जथाभावी गर्छु भनेर प्रतिबद्धता जनाएर मैले गर्न सकिने भने त्यो गलत हुनेछ । योजना बनाएर तपाईंहरूलाई बताउनेछु ।

यति समयमा यो गर्छु भनेर प्रतिबद्धतासहित म अघि बढ्न चाहन्छु । म जनतालाई निरास बन्न पनि दिन्न । मैले सकेजति गर्नेछु, यसले केही न केही भयो भनेर जनताले विश्वास गर्नेछ ।
जलविद्युत् क्षेत्रले तपाईंको नामलाई भविष्यसम्म सम्झिरहने बनाउन के गर्नुहुन्छ ?
मेरो नाम ठूलो कुरा होइन । नाम रहला÷नरहला त्यो मेरो महत्वको विषय पनि होइन । महत्वको विषय के हो भने हाम्रो जलविद्युत् क्षेत्र अथाह छ । यसैबाट हामी विश्वको धनी देश बन्न सक्छौं । ५० लाखभन्दा बढी युवा विदेशमा छन् ।

यसको सही ढंगले अघि बढ्ने योजना तयार ग¥यौं भने केही वर्षमा नेपाली जनता मात्र होइन, हामी सबै खुसी हुने दिन आउनेछ । हामीले वरदान पाएका छौं, यसलाई उपयोग ग¥यौं, सबै लागेर र जनतालाई उत्साहित बनाएर अघि बढ्न सक्यौं भने नेपाल र नेपाली जनताको नाम विश्वमा रहनेछ । यसबाट नेपालका सबै क्षेत्रको प्रगति र विकासका लागि ऊर्जा आवश्यक छ, यसलाई सही ढंगले उपयोग गर्न सक्यौं देश धेरै माथि पुग्छ ।
http://www.karobardaily.com/%E0%A4%9C%E0%A4%B2%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%95%E0%A5%8D%E0%A4%B7%E0%A5%87%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%95%E0%A4%AE%E0%A4%BF%E0%A4%B8%E0%A4%A8%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%9B%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A8