काठमाडौं, ३ भदौ । लगानी बोर्डले आगामी १५ दिनभित्र लगानीयोग्य १ सय परियोजनाको पहिचान गर्ने भएको छ । जलविद्युत्, सडक, रेल, केबलकार, सूचना प्रविधिजस्ता पूर्वाधारयुक्त आयोजनालाई समेटेर परियोजना बैंक बनाउन लागेको लगानी बोर्डले योजनाको पहिचान गर्न लागेको हो ।
स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीप्रति इच्छा देखाउँदै सरकारसँग लगानीयोग्य परियोजना माग गरे पनि सरकारले हालसम्म दिन सकेको छैन । “लगानी बोर्डमा पटक–पटक लगानीयोग्य परियोजना खोज्दै लगानीकर्ता आउनुहुन्छ, त्यो दिन सकेका छैनौ ।” लगानी बोर्डका प्रवक्ता रवि भट्टराईले भने, “ठूला परियोजनाको सूची बनाउन लागेका छौं, अबको १५ दिनभित्र परियोजना बैंक बनाउने लक्ष्य राखेका छौं ।”
लगानी बोर्डले परियोजना बैंकका लागि काम अघि बढाइसकेको र हालसम्म २५ परियोजनाको पहिचान गरिसकेको जनाएको छ । प्रवक्ता भट्टराईले परियोजना पहिचानपछि ति आयोजनाको पूर्वसम्भाव्यता अध्ययन गरिने बताए ।
“परियोजना बैंकमा पहिचान भएर त्यसको पूर्वसम्भाव्यता अध्ययन मात्र गर्न सके पनि विदेशीले लगानीयोग्य योजना माग्दा दिन सकिन्थ्यो, अहिले त शिर निहु¥याउनु पर्ने अवस्था छ, त्यसपछिको अध्ययन सम्बन्धित लगानीकर्ताले गर्छन्,” लगानी बोर्डका प्रवक्ता भट्टराईले भने ।
परियोजना बैंकका लागि सूची तयार गर्न बोर्डले विभिन्न मन्त्रालयमा सम्भावित ठूला आयोजनाको सूची पठाउन पत्र पठाइसकेको छ । विभिन्न मन्त्रालयबाट आएका सम्भावित परियोजनाको पूर्वसम्भाव्यता अध्ययन गरेर बैंक स्थापना गर्ने लक्ष्य बोर्डको छ ।
विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) भएका ठूला लगानीयोग्य परियोजना नेपालमा कम छन् । १२ सय मेगावाटको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको डीपीआर भैसके पनि ऊर्जा मन्त्रालयले डीपीआरको पुनरावलोकन गरिरहेको छ ।
त्योबाहेक खास डीपीआर भएका ठूला आयोजना छैनन् । सरकारसँग गरेको सम्झौताअनुसार अघि नबढे पनि ७ सय ५० मेगावाटको पश्चिमसेती जलविद्युत् आयोजनाको निर्माण जिम्मा चिनियाँ कम्पनीले लिइसकेको छ ।
अर्थ मन्त्रालय, उद्योग वाणिज्य महासंघलगायतले पनि यसअघि नै परियोजना बैंक बनाउने बताए पनि बनेको छैन । अर्थ मन्त्रालयले सरकार र दातृ निकायको सहयोगमा निर्माण हुने आयोजनालाई लक्षित गरेर यस्तो बैंक स्थापना गर्न लागेको छ भने महासंघले यसअघि नै ५० वटा परियोजना समेटेर बैंक बनाउने बताएको छ ।
बोर्डले स्वदेश र विदेशका सरकारी, निजी वा दातृ निकायको समेत सहभागितामा अघि बढाउन सक्ने गरी परियोजना बैंक बनाउन लागेको हो । लगानी बोर्डले बनाउने परियोजना बैंकले पूर्वाधार क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी आकर्षित गर्न र बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
http://www.karobardaily.com/%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A4%9B%E0%A4%A8%E0%A5%8B%E0%A4%9F-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%88-%E0%A4%B2%E0%A4%97%E0%A4%BE%E0%A4%A8%E0%A5%80-%E0%A4%AC%E0%A5%8B%E0%A4%B0%E0%A5%8D%E0%A4%A1-%E0%A5%A7-%E0%A4%B8%E0%A4%AF-%E0%A4%AA%E0%A4%B0%E0%A4%BF%E0%A4%AF%E0%A5%8B%E0%A4%9C%E0%A4%A8%E0%A4%BE-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%9A%E0%A4%BE%E0%A4%A8-%E0%A4%97%E0%A4%B0%E0%A4%BF%E0%A4%A8%E0%A5%87
No comments:
Post a Comment