Wednesday, August 17, 2016

विद्युत् प्राधिकरणको आम्दानीभन्दा खर्च ६ अर्ब बढी

भीम गौतम   

काठमाडौः नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा आम्दानी ४.२८ प्रतिशतले बढाए पनि खर्च भने २०.०५ प्रतिशतले वृद्धि भएको छ । कम आम्दानी र बढ्दो खर्चका कारण प्राधिकरणको वित्तीय अवस्था बर्सेनि खराब बन्दै गएको छ । 
०४२ सालमा स्थापना भएको विद्युत् प्राधिकरणले बुधबार सार्वजनिक गर्न लागेको प्रतिवेदनअनुसार अघिल्लो वर्षमा ३० अर्ब ७९ करोड ८६ लाख आम्दानी रहेकोमा यो वर्ष सामान्य बढेर ३२ अर्ब २१ करोड रुपैयाँ पुगेको छ । 
तर, सञ्चालन सम्भार खर्च भने अघिल्लो वर्ष ३२ अर्ब २१ करोड ७७ लाख रहेकोमा गत वर्ष बढेर ३८ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुगेको छ । 
गत वर्ष प्राधिकरणको प्रणालीमा उपलब्ध विद्युत् १.८९ प्रतिशतले वृद्धि भई ५ हजार १ सय गिगावाट आवर उत्पादन भएको छ । तर, बिक्री भने ३७ सय ४३ गिगावाट आवरमात्र भएको उल्लेख छ । 
यो तथ्यांकले १३ सय ५७ गिगावाट आवर बिजुलीको चुहावट हुने गरेको देखाएको छ । उपलब्ध बिजुलीमध्ये प्राधिकरणको आफ्नै उत्पादन ४३ प्रतिशत, भारतबाट आयात २३ प्रतिशत र निजी क्षेत्रबाट ३४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा निजी क्षेत्र र भारतबाट उत्पादित बिजुलीलाई मात्र २४ अर्ब ३३ करोड ५ लाख भुक्तानी दिइएको उल्लेख छ । 
प्रतिवेदनमा विद्युत् खरिद मूल्यभन्दा बिक्री मूल्य कम भएकोले आर्थिक वर्ष ०७२÷०७३ मा ११ अर्ब ७९ करोड ४६ लाख रुपैयाँ घाटा परेको उल्लेख छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भारतबाट आयातीत बिजुलीको ६ अर्बको मूल्यान्तर सरकारले शोधभर्ना नगरेकोले घाटा ११ अर्ब नाघेको जानकारी दिए । “भारतबाट आयातीत बिजुलीको मूल्यान्तर नदिएकोले घाटा बढी देखिएको हो । हालै विद्युत् महशुल निर्धारण आयोगले महशुल वृद्धि गरेकाले आगामी वर्ष प्राधिकरण घाटा नहुने अवस्थामा पुग्छ,” उनले भने ।
प्रतिवेदनमा विद्युत् प्राधिकरणका ग्राहक २८ लाख ३० हजारबाट बढेर २९ लाख ७० हजार पुगेको उल्लेख छ । झण्डै ७० प्रतिशत बिजुलीको पहुँचमात्र पुगेको नेपालमा वर्षभरिमा १ लाख ४० हजार ग्राहक बढेका हुन् । 
यीमध्ये ९४.२८ प्रतिशत घरायसी छन् भने बाँकी औद्योगिक, व्यापारिकलगायत छन् । तर, कुल विद्युत् बिक्री आयमा भने गार्हस्थ्य र औद्योगिक ग्राहकको हिस्सा ४६ प्रतिशत छ । 
प्रतिवेदनमा गत वर्ष निजी क्षेत्रबाट ६ आयोजना निर्माण भई ३१ मेगावाट उत्पादन भएको र ४ सय ५७ मेगावाटबराबरका २७ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको उल्लेख छ । प्राधिकरणका अनुसार हालसम्म २८ सय २९ मेगावाटबराबरका १ सय ८५ जलविद्युत् आयोजनासँग पीपीए भइसकेको छ भने १७ सय २१ मेगावाटबराबरका ९१ आयोजना निर्माणाधीन अवस्थामा छन् । 
प्रतिवेदनमा प्राधिकरणले दूधकोशी जलाशय, माथिल्लो अरुण, तामाकोशी पाँचौं, माथिल्लो मोदी ए तथा अपर मोदीलगायत आयोजना अघि बढाउन लागिएको उल्लेख छ ।  प्राधिकरणले ६४ मेगावाटबराबरको सौर्य ऊर्जा (सोलार) निर्माण पनि अघि बढाउन लागेको छ ।
कार्यकारी निर्देशक काफ्लेले आगामी हिउँदमा हाल ८० मेगावाट आयात गरिरहेको ढल्केबर–मुज्जफ्फरपुर अन्तरदेशीय प्रशारण लाइनमार्फत थप १ सय २० देखि १ सय ७० मेगावाटसम्म आयात गर्ने तथा रक्सौल–परवानीपुर अन्तरदेशीय प्रशारण लाइन सम्पन्न गरी एक सय मेगावाट थप विद्युत् आयात गर्ने लक्ष्य राखेको बताए । 
आगामी योजना
६४ मेगावाटको सोलार निर्माण

अन्तरदेशीय लाइनबाट २५० मेगावाट आयात 
रक्सौल–परवानीपुरबाट १०० मेगावाट आयात    
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%86%E0%A4%AE%E0%A5%8D%E0%A4%A6%E0%A4%BE%E0%A4%A8%E0%A5%80%E0%A4%AD%E0%A4%A8%E0%A5%8D%E0%A4%A6%E0%A4%BE-%E0%A4%96%E0%A4%B0%E0%A5%8D%E0%A4%9A-%E0%A5%AC-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A4%AC%E0%A4%A2%E0%A5%80

No comments: