१२ भाद्र, २०७३ भीम गौतम
फाइल फोटो
काठमाडौंः काठमाडौं उपत्यकाभित्रको जीर्ण प्रणालीका कारण उपलब्ध विद्युत्समेत वितरण गर्न कठिन हुने देखिएको छ ।
भारतबाट आयात गरिए वा स्वदेशकै आयोजनाबाट बढी विद्युत् ल्याउनु परे पनि उपत्यकाको वर्तमान संरचनाले नधान्ने अवस्था देखिएको विद्युत् प्राधिकरण स्रोतले जनाएको छ ।
मागको आधारमा आवश्यक वितरण प्रणाली सुधार नगर्दा प्राधिकरणको वर्तमान प्रणालीबाट थप बिजुली वितरण गर्न कठिनाइ हुने देखिएको हो ।
आगामी हिउँदमा भारतबाट ढल्केबर–मुज्जफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको ८० मेगावाटसहित २ सय मेगावाट विद्युत् काठमाडौं ल्याउने तयारी छ । यसका लागि ऊर्जा मन्त्रालयले दु्रतगतिमा पूर्वाधार निर्माण अघि बढाइरहेको बेला काठमाडौं भित्रकै वितरण प्रणाली भने कमजोर देखिएको छ ।
काठमाडौंभित्र ६ सय मेगावाटको हाराहारीमा विद्युत्को माग भए पनि ४०५ मेगावाटबराबर मात्र वितरण गर्न सक्ने क्षमता छ । प्राधिकरणका अनुसार, ११ केभीमा भोल्टेज झार्न सक्ने पावर ट्रान्सफर्मर काठमाडांै उपत्यकाभित्र ४५० एमभीए मात्र छ ।
नयाँ बानेश्वर र पाटनको पावर ट्रान्सफर्मर ओभरलोडको अवस्थामा पुगिसकेका छन् भने अन्य पावर ट्रान्सफर्मरहरूसमेत बिजुली थपिँदा धान्न सकिने अवस्थामा छैनन् । पावर ट्रान्सफर्मरबाहेक वितरण गर्नका लागि आवश्यक तारहरूसमेत धान्न सक्ने क्षमताका छैनन् ।
“अहिले काठमाडौंबाट थप बिजुली काठमाडौं ल्याएर लोडसेडिङ घटाउने कुरा भइरहेको छ तर बिजुली थपिँदा वितरण गर्न एकदम कठिन छ, अहिलेको विद्यमान प्रणालीमा परिवर्तन गर्नु आवश्यक छ,” प्राधिकरणका एक अधिकारीले भने, “बिजुली थपिँदै जाने तर वितरण प्रणाली नसुधार्ने हो भने बिजुली थपिएर वितरणमा समस्या हुन्छ ।”प्राधिकरणका केही अधिकारीहरू भने थप आयात हुने बिजुलीलाई काठमाडौंको वितरण प्रणालीले धान्न सकिने बताउँछन् ।
काठमाडौंभित्र ६ सय मेगावाटको हाराहारीमा विद्युत्को माग भए पनि ४०५ मेगावाटबराबर मात्र वितरण गर्न सक्ने क्षमता
“केही सुधारका कामहरूसमेत भइरहेका छन्, तत्काल बिजुली थपिँदा वितरण प्रणालीमा समस्या हुँदैन,” कार्यकारी निर्देशक मुकेशराज काफ्ले भन्छन्, “थप बिजुलीको आधारमा यसलाई सुधार गरिरहेका छौं ।”
१० महिनाअघि नाकाबन्दीको कारण विद्युत्को खपत अत्यधिक बढी हुँदा ट्रान्सफर्मर पड्कने र तारहरू जलेको कारण विद्युत्को माग बढी हुँदा यस्तो समस्या आएको थियो तर अहिले बढी बिजुली वितरण गर्दा अहिले रहेको प्रणाली धान्न सक्ने अवस्था नदेखिएको भन्दै यसप्रति समेत चिन्ता गर्न थालिएको छ ।
ग्रीड विभागका प्रमुख मनोज सिलवाल पनि नयाँ बानेश्वरबाहेक अन्य सवस्टेसनमा बिजुली थपिँदासमेत समस्या नहुने बताउँछन् । “नयाँ बानेश्वरमा ओभरलोडको समस्या देखिएको छ, त्यसको सुधार्दै छौं तर अन्य ठाउँमा धेरै समस्या नहोला,” उनले भने ।
वर्षामा समेत लोडसेडिङ हुने भएकाले माग र आपूर्तिको एकिन परिमाण नभएकाले काठमाडौंका लागि कस्तो वितरण प्रणाली आवश्यक छ भनेर हालसम्म स्पष्ट सुधारको कार्यक्रम अघि बढाइएको छैन ।
प्राधिकरणका उपकार्यकारी निर्देशक कन्हैया मानन्धर भारतबाट थप बिजुली आउँदा काठमाडौंको माग पूरै पूर्ति नहुने भएकाले अहिलेको वितरण प्रणाली ठूलो समस्या नबन्ने बताउँछन् ।
हाल काठमाडौं उपत्यकामा विभिन्न ९ सवस्टेसनमार्फत बिजुली वितरण भइरहेको छ । प्राधिकरणका अनुसार, पावर ट्रान्सफर्मरहरू बालाजुमा ४५ एमभीए, स्युचाटारमा ३६, नयाँ चाबहिलमा ६७ दशमलव ५, लैनचौरमा ४५, नयाँ पाटनमा र टेकुमा ५४-५४, सिंहदरबारभित्र (के३) मा ४५, बानेश्वरमा ३६, भक्तपुरमा ४५ र मातातीर्थमा २२ दशमलव ५ केभीएको पावर ट्रान्सफर्मर छ ।
यी सबै पावर ट्रान्सफर्मरमार्फत ४०५ मेगावाट मात्र विद्युत् वितरण गर्न सम्भव देखिएकाले बिजुली थप गर्दा समस्या हुने देखिएको हो ।
अर्कोतर्फ भारतबाट बिजुली आयातका लागि प्राविधिक रूपमा नेपाल र भारतबीचको बिजुली प्रणाली मिलाउन (सिंक्रोनाइज) र वर्तमान वितरण प्रणालीको कारण सवस्टेसन र प्रसारणलाइन बने पनि बिजुली काठमाडौं ल्याउन कठिनाइ हुने देखिएको विज्ञहरूले बताउँदै आएका छन् ।
http://www.karobardaily.com/%E0%A4%AC%E0%A4%BF%E0%A4%9C%E0%A5%81%E0%A4%B2%E0%A5%80-%E0%A4%A5%E0%A4%AA%E0%A4%BF%E0%A4%8F-%E0%A4%AA%E0%A4%A8%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%A0%E0%A4%AE%E0%A4%BE%E0%A4%A1%E0%A5%8C%E0%A4%82%E0%A4%AE%E0%A4%BE-%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B0%E0%A4%A3-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A5%88-%E0%A4%95%E0%A4%A0%E0%A4%BF%E0%A4%A8
No comments:
Post a Comment