Saturday, August 27, 2016

भूकम्प प्रभावितलाई महसुल छुट दिन प्राधिकरणद्वारा अस्वीकार

    भीम गौतम    0 + -

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणले भूकम्प प्रभावितहरूलाई विद्युत् महसुलमा छुट दिन अस्वीकार गरेको छ । साउनदेखि लागू हुने गरी बिजुलीको भाउ २० प्रतिशत बढाएको  विद्युत् महसुल निर्धारण आयोगले भूकम्पबाट पूर्ण क्षति भएका घरधुरीले उपयोग गर्ने बिजुलीमा छुट दिने निर्णय गरेकोमा प्राधिकरणले त्यसलाई अस्वीकार गरेको हो । 
दुई वर्षसम्मका लागि सेवा शुल्कमा छुट दिने निर्णय गरे पनि प्राधिकरणले भूकम्प प्रभावितहरूलाई छुट नदिई बिजुली बिल पठाएको छ ।
स्पष्ट निर्णय नभइसकेको कारण हाल सेवा शुल्कसमेत राखेर बिजुलीको बिल पठाइएको प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईले जानकारी दिए ।
प्राधिकरण सञ्चालक समितिले भूकम्प प्रभावितलाई छुट दिन नसकिनेबारे अध्ययन गर्न समिति भने गठन गरेको छ । कार्यकारी निर्देशक मुकेश काफ्ले प्राधिकरणले यसबारे समिति गठन गरिसकेकाले समितिको प्रतिवेदनको आधारमा मात्र निर्णय गरिने बताउँछन् । 
विद्युत् ऐनअनुसार, विद्युत् महसुल निर्धारण आयोगले गरेको निर्णय अन्तिम मानिने व्यवस्था छ तर प्राधिकरणले आयोगको निर्णयअनुसार शुल्क बढाए पनि छुट भने दिएको छैन ।
आयोग अध्यक्ष जगत भुसाल आगामी दुई वर्षका लागि सेवा शुल्क नराखी इनर्जी शुल्कदर कायम हुने निर्णय गरिएको र प्राधिकरणले अनिवार्य रूपमा लागू गर्नुपर्ने बताउँछन् ।
“विद्युत् प्राधिकरणले अनिवार्य रूपमा आयोगको निर्णय कार्यान्वयन गर्नुपर्छ, नगरेर भूकम्प प्रभावितबाट सेवा शुल्कसमेत लिएको पाइएमा त्यो पैसा फिर्ता गर्नुपर्छ,” उनले भने । उनका अनुसार, सामुदायिक विद्युतीकरणमा भने कार्यान्वयनका लागि केही समस्या देखिएको छ । 
प्राधिकरण व्यवस्थापनले छुट दिँदा ५० करोडभन्दा बढी घाटा हुने र प्राविधिक रूपमा समेत बिल पठाउन कठिनाइ हुने देखिएको छ । प्राधिकरणका एक अधिकारीले छुट्टै प्रणाली बनाउन कठिनाइ रहेकाले सरकारले यसमा छुट दिनुपर्ने बताउँछन् ।
भूकम्प प्रभावितको पहिचान गर्न गाह्रो भएकाले सरकारबाटै व्यवस्था गर्दा उपयुक्र्त हुने उनको तर्क छ । प्राधिकरण स्रोतका अनुसार, यो निर्णय कार्यान्वयन गर्दा प्राधिकरणलाई ५० करोडभन्दा बढी घाटा हुने भएकाले यसको परिपूर्तिका लागि ऊर्जा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पत्र लेख्ने तयारी भइरहेको छ ।
आयोगको निर्णय कार्यान्वयन भएमा न्यूनतम २० युनिटसम्म खपत हुने भूकम्प प्रभावित ग्राहकले प्रतियुनिट ३ रुपैयाँ तिरे पुग्नेछ । यो निर्णयअनुसार, ग्राहस्थ वर्गका ग्राहकले एम्पियरको आधारमा सेवा शुल्कमा ३० रुपैयाँदेखि २७५ रुपैयाँसम्म छुट पाउनेछन् ।
५ एम्पियरको सिंगल फेज लिएका ग्राहकले २० युनिटसम्मको ३० रुपैयाँ, २१–३० युनिटसम्मकाले ५०, ३१–५० युनिटसम्मकाले ७५, ५१–१५० युनिटसम्मकाले १ सय, १५१–२५० युनिटसम्मकाले १२५, २५१–४०० युनिटसम्मकाले १५० र ४ सयभन्दा बढी युनिट खपत गर्नेले १७५ रुपैयाँसम्म छुट पाउनेछन् ।
यस्तै, १५, ३० र ६० एम्पियरको सिंगल फेज लिएका ग्राहकले २० युनिटसम्मको क्रमशः ५०, ७५ र १२५, तथा २१–३० युनिटसम्मकाले क्रमशः ७५, १ सय र १५० छुट पाउनेछन् ।
त्यसैगरी सोही एम्पियरको सिंगल फेज लिने ग्राहकले ३१–५० युनिटसम्मकाले क्रमशः १ सय, १५० र १७५, ५१–१५० युनिटसम्मकाले क्रमशः १२५, १५० र २ सय, १५१–२५० युनिटसम्मकाले क्रमशः १५०, १७५ र २२५ छुट पाउनेछन् ।
२५१–४०० युनिटसम्मका ग्राहकले क्रमशः १७५, २ सय र २५० तथा ४ सयभन्दा बढी युनिट खपत गर्नेले क्रमशः २ सय, २२५ र २७५ रुपैयाँसम्म छुट पाउने आयोगले निर्णय गरेको छ ।
http://www.karobardaily.com/%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AD%E0%A4%BE%E0%A4%B5%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AE%E0%A4%B9%E0%A4%B8%E0%A5%81%E0%A4%B2-%E0%A4%9B%E0%A5%81%E0%A4%9F-%E0%A4%A6%E0%A4%BF%E0%A4%A8-%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%BE%E0%A4%A7%E0%A4%BF%E0%A4%95%E0%A4%B0%E0%A4%A3%E0%A4%A6%E0%A5%8D%E0%A4%B5%E0%A4%BE%E0%A4%B0%E0%A4%BE-%E0%A4%85%E0%A4%B8%E0%A5%8D%E0%A4%B5%E0%A5%80%E0%A4%95%E0%A4%BE%E0%A4%B0

No comments: