Tuesday, August 16, 2016

भूकम्प प्रभावितलाई अनुदान दिन एक महिने विशेष अभियान सुरु

print 0 + -
काठमाडौ, ३२ साउन । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितका लागि विशेष अभियान सुरु गरेको छ । पुष्पकमल दाहाल प्रधानमन्त्री भए लगत्तै ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेकोमा यसलाई कार्यान्वयन गर्न प्राधिकरणले सोमबारदेखि एक महिने विशेष अभियान सुरु गरेको हो ।
यसअघि प्राधिकरणले दशैंअघि नै सबै प्रभावितसँग पहिलो किस्तासहितको अनुदान सम्झौता गर्नेलगायतका कार्ययोजना पनि सार्वजनिक गरिसकेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारको घोषणा र कार्ययोजना कार्यान्वयनका लागि विशेष अभियान सुरु गरिएको जानकारी दिए । “अभियानअन्तर्गत सम्झौता सम्पन्न भएका घरधनीका लागि अनुदानको पहिलो किस्ता रकम बैंक खातामा पु¥याउने, अनुदान सम्झौताको काम सम्पन्न गर्ने र अहिलेसम्म दर्ता भएका गुनासोको सुनुवाइ गरिनेछ,” उनले भने । 
विशेष अभियानलाई सफल पार्न प्राधिकरणले आवश्यकताअनुसार साँझ, बिहान र सार्वजनिक बिदाका दिनमा पनि प्रभावितलाई सेवा दिने जनाएको छ । अभियानका क्रममा प्राधिकरणको उपक्षेत्रीय कार्यालयहरूमा रहेका जनशक्ति परिचालन गर्नुका साथै सो अवधिभर जिल्लामै बसेर काम गर्ने गरी ११ वटै जिल्लामा प्राधिकरणको केन्द्रीय कार्यालयबाट समेत आवश्यकता अनुसार थप जनशक्ति खटाइने कार्यकारी अधिकृत ज्ञवालीले जानकारी दिए ।
प्रभावित जिल्लामा भएका पुनर्निर्माणको काम र गतिविधिको अनुगमन गर्न कार्यकारी समितिका सदस्य तथा सम्बन्धित उपक्षेत्रीय कार्यालयका प्रमुख एवं अन्य कार्मचारीसहितको घुम्ती टोली बनाएर जिल्ला जिल्लामा पठाउन लागिएको प्राधिकरणले जनाएको छ । 
विशेष अभियान सञ्चालनका क्रममा समस्या देखापरे उपक्षेत्रीय कार्यालय र जिल्लास्थित सम्बन्धित कार्यालयहरूले केन्द्रमा गठित उक्त समितिलाई जानकारी गराउने र केन्द्रबाट तत्काल सम्बोधन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । 
भूकम्पबाट विशेष प्रभावित ११ जिल्लामा ५ लाख ३३ हजारलाई अनुदान दिनुपर्नेमा हालसम्म ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता सम्पन्न भइसकेको छ । त्यसैगरी पहिलो किस्ताको ५० हजार रुपैयाँ अनुदानको रकम हालसम्म ४९ हजार ७ सय ४९ घरधनीको बैंक खातामा पुगिसकेको प्राधिकरणले जनाएको छ ।
गाउँ विकास समितिमा अनुदान सम्झौता भएपछि त्यसको विवरण जिविसमा पुग्ने र त्यहाँबाट कोष तथा लेखा नियन्त्रकको कार्यालयले आवश्यक प्रक्रिया पूरा गरी बैंक खातामा रकम जम्मा हुने क्रम जारी रहेको प्राधिकरणले जनाएको छ । 

No comments: