Wednesday, August 24, 2016

एक सातामै ५७ हजार भूकम्पपीडितलाई पहिलो किस्ता

     कारोबार संवाददाता    0 + -

फाइल फोटो

काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले एक सातामै थप ५७ हजार भूकम्पप्रभावितलाई घर निर्माणका लागि पहिलो किस्ताको अनुदान रकम वितरण गरेको छ ।     यससँगै पहिलो किस्ताको अनुदान पाउनेको संख्या एक लाख नाघेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान सम्झौता गरिसक्ने घोषणा गरेपछि ३१ साउनदेखि प्राधिकरणले विशेष अभियान सुरु गरेको थियो । 
प्राधिकरणले छोटो समयमा यति धेरैलाई पहिलो किस्ताको रकम वितरण गरेको हो । भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३३ हजार प्रभावितलाई पहिलो किस्ताको ५० हजार रकम वितरण गर्नुपर्नेमा हालसम्म १ लाख ६ हजार ९५९ सम्म यो सुविधा पुगेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए । उनका अनुसार, हालसम्म ३ लाख ८४ हजार भूकम्प प्रभावितसँग अनुदान सम्झौता भैसकेको छ । 
पछिल्लो अभियानको क्रममा थप ४४ हजारसँग अनुदान सम्झौता गरिएको हो । हालसम्म दोस्रो र तेस्रो किस्ता कुनै प्रभावितलाई दिइएको छैन भने पहिलो किस्ता पाएका ५ हजारभन्दा बढीले घर निर्माण सुरु गरे पनि सरकारी अनुदान पाएर एक जना प्रभावितले पनि सम्पन्न गर्न सकेका छैनन् । 
अभियान सुरु गर्नुअघि ३१ साउनसम्म प्राधिकरणले ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता र ४९ हजार ७ सय ४९ प्रभावितलाई पहिलो किस्ताको रकम दिएको थियो । 
तोकिएको समय अर्थात् दशैंअघि नै सबै भूकम्प प्रभावितसँग अनुदान र पहिलो किस्ताको रकम पुर्याउने गरी अभियान अघि बढाइएको प्राधिकरणले जनाएको छ । “बिदाको दिनसमेत नभनी पहिलो किस्ता र अनुदान वितरण जारी राखेका छौं,” उनले भने । 
पहिलो किस्ताको रकम पाउने संख्यामा स्थानीय विकास मन्त्रालय र प्राधिकरणबीचमा संख्या भने फरक पाइएको छ । मन्त्रालयको १ लाख १ हजार मात्र छ । प्राधिकरणले भने महालेखा परीक्षकको कार्यालयमार्फत आएको तथ्यांकलाई आफूहरूले सार्वजनिक गरेको बताउँछन् । 
अभियान सुरु गर्नुअघि ३१ साउनसम्म प्राधिकरणले ३ लाख ३९ हजार ४ सय ६२ घरधनीसँग अनुदान सम्झौता र ४९ हजार ७ सय ४९ प्रभावितलाई पहिलो किस्ताको रकम दिएको थियो । 

उपत्यकामा ५० हजारको लगत संकलन
भूकम्पबाट प्रभावित काठमाडांै उपत्यकाका तीन जिल्लामा ४९ हजार ९ सय ७७ घर परिवारको लगत संकलन सम्पन्न गरेको छ ।     
काठमाडौं उपत्यकाभित्र विस्तृत घरधुरी संरक्षण नगरी पहिला अनुदान पाएका र छुट भई निवेदन दिएकाहरूलाई प्रमाणीकरण (भेरिफिकेसन) मार्फत मात्र सर्भेक्षण गर्ने निर्णयअनुसार लगत संकलन अघि बढेको हो । 
प्राधिकरणका अनुसार, काठमाडौंमा २२ हजार ८ सय, ललितपुरमा १४ हजार ८ सय र भक्तपुरमा १२ हजार ३ सय भूकम्प प्रभावितको लगत संकलन सकिएको छ भने सर्भेक्षण जारी रहेको छ । 
पहिलो किस्ता पाउनेको संख्या 
गोरखा                           ३३,८०० 
दोलखा                          १६,८०० 
रामेछाप                        १२,३००
काभ्रे                              ९,८००
नुवाकोट                        ८,४००
सिन्धुपाल्चोक              ६,७००
धादिङ                          ५,१००
सिन्धुली                       ४,३००
ओखलढुंगा                   १,७३०
मकवानपुर                   १,१०० 
रसुवा                            ७००
स्रोतः स्थानीय विकास मन्त्रालय
http://www.karobardaily.com/%E0%A4%8F%E0%A4%95-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AE%E0%A5%88-%E0%A5%AB%E0%A5%AD-%E0%A4%B9%E0%A4%9C%E0%A4%BE%E0%A4%B0-%E0%A4%AD%E0%A5%82%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%AA%E0%A5%80%E0%A4%A1%E0%A4%BF%E0%A4%A4%E0%A4%B2%E0%A4%BE%E0%A4%88-%E0%A4%AA%E0%A4%B9%E0%A4%BF%E0%A4%B2%E0%A5%8B-%E0%A4%95%E0%A4%BF%E0%A4%B8%E0%A5%8D%E0%A4%A4%E0%A4%BE 

No comments: