काठमाडौं, १ भदौ । ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको ठेकेदार कम्पनी चाइना गेजुवा गु्रप कर्पोरेसन (सीजीजीसी) साँघुरिएको सुरुङ (स्क्युजिङ टनेल) बनाउन तयार भएको छ ।
१७ असार २०७१ मा संसद्को सार्वजनिक लेखा समितिले चमेलियाको भेरियसनको क्रममा अनियमितता भएको भन्दै भुक्तानी रोक्न निर्देशन दिएपछि रोकिएको सुरुङको काम गर्न ठेकेदार कम्पनी तयार भएको हो । जनार्दन शर्मा लेखा समितिको सभापति हुँदा दिएको निर्देशनलाई चमेलियाको काम ढिलाइको रूपमा लिइएको छ । हालै शर्मा ऊर्जा मन्त्रीमा नियुक्त भएपछि चमेलियाको समस्या फुक्ने अवस्थामा पुगेको हो ।
२०७१ असारको पहिलो साता नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले भेरियसन नम्बर ६ अन्तर्गत साँघुरिएको सुरुङ निर्माणको लागि १ अर्ब ९ करोड दिने निर्णय गरेकोमा लेखा समितिले त्यसवापतको भुक्तानी दिन रोकेपछि यसको काम अघि बढेको छैन ।
सो विषयमा ६ महिनाअघि लेखा समिति नरम बन्दै आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी गर्न निर्देशन दिएको थियो । सो निर्देशनपछि पूर्ण भुक्तानी नपाएसम्म कामअघि नबढाउने बताएको ठेकेदार कम्पनी लामो छलफलपछि कामअघि बढाउन तयार भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले भेरियसन गरिएको रकमबाट २५ प्रतिशत कटाएर रकम लिन चमेलियाको ठेकेदार कम्पनी सहमत भएको जानकारी दिए । “विद्युत् प्राधिकरणको सर्तमा काम गर्न ठेकेदार कम्पनी सहमत भएको छ ।” उनले भने, “आगामी दुई सातादेखि स्क्युजिङ टनेलको काम सुरु गर्न लागेका छौं ।”
९६ प्रतिशत काम सम्पन्न भए पनि सुरुङको कामअघि बढ्न नसक्दा आयोजना पूरा हुन सकेको छैन । ८ सय ४३ मिटर सुरुङमध्ये २ सय ३२ मिटर सुरुङ निर्माण बाँकी छ । निर्माण पूरा भएको ६ सय ११ मिटर सुरुङको भुक्तानी नभएपछि ठेकेदार कम्पनीले सुरुङ निर्माण रोकेको थियो ।
सुरुङ निर्माण सुरु गरेपछि पनि कम्तीमा ८ महिना लाग्ने कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । स्क्युजिङ टनेलको कामका लागि आवश्यक उपकरणहरू केरुङ भन्सारमा रोकिएकाले त्यो आएपछि आवश्यक जनशक्ति व्यवस्थापन गरी दुई हप्ताभित्र काम सुरु गर्ने प्राधिकरणको लक्ष्य छ ।
आठ अर्ब ४९ करोड ५४ लाख ८४ हजार कूल लागत अनुमान गरिएको आयोजनाको लागत १५ अर्ब नाघिसकेको छ । २०६४ सालबाट निर्माण सुरु भई २०६८ सालमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको काम अझै सकिएको छैन ।
http://www.karobardaily.com/%E0%A4%9A%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%A0%E0%A5%87%E0%A4%95%E0%A5%87%E0%A4%A6%E0%A4%BE%E0%A4%B0-%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%80-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0
No comments:
Post a Comment