काठमाडौं : विद्युत् विकास विभागले ५३६ मेगावाटको सुनकोशी तेस्रो जलाशययुक्त जलविद्युत् आयोजनाको आउँदो पुस महिनादेखि सम्भाव्यता अध्ययन सुरु गर्ने भएको छ ।
काठमाडौं उपत्यकाबाट सबैभन्दा नजिकमा रहेको यो आयोजना काभ्रे र रामेछापको सिमानामा पर्छ । आयोजनाको सम्भाव्यता अध्ययन एक वर्षअघि नै हुने भनिए पनि बल्ल सुरु भएको हो ।
विभागले सम्भाव्यता अध्ययनका लागि परामर्शदाताका लागि टेन्डर आह्वान गरेकोमा सोमबारसम्ममा ११ परामर्शदाता कम्पनीले आशयपत्र दिएका छन् ।
विभागका सूचना अधिकारी बाबुराजा अधिकारीले आशयपत्र दिइएका परामर्शदाता कम्पनीबाट प्रस्ताव मागेर परामर्शदाता छनोट गरी अध्ययन गरी बढाइने जानकारी दिए ।
“आगामी मंसिरसम्ममा परामर्शदाता छनोट गरेर सन् २०१७ अर्थात् आगामी पुसदेखि सम्भाव्यता अध्ययन सुरु हुन्छ,” उनले भने, “तीन वर्षभित्र अध्ययन सकेपछि आयोजना योग्य देखिएमा मात्र विस्तृत अध्ययन अघि बढ्छ ।”
प्राधिकरणको सहयोगमा जापान इन्टरनेसनल कोअपरेसन एजेन्सी (जाईका)ले सार्वजनिक गरेको १० उत्कृष्ट जलाशययुक्त आयोजनामध्ये सुनकोशी तेस्रो एक हो ।
विद्युत् बढी खपत हुने राजधानी र तराईको बीचमा बन्ने र काठमाडौंबाट सबैभन्दा नजिकको दूरीमा रहेको सुनकोशीलाई आकर्षक आयोजनाको रूपमा लिइन्छ ।
राजधानीबाट ६० किलोमिटरमात्र नजिक रहेको सो आयोजनामा पहुँचमार्ग पुगिसकेको छ भने प्रशारण लाइनको पनि खासै समस्या छैन । सुनकोशी मरिन डाइभर्सनमार्फत् बृहत् सिँचाइको आयोजना अघि बढ्न लागेकोले त्यसको लागि पनि सुनकोशी धेरै आकर्षक मानिएको छ ।
सुनकोशी जति छिटो आयोजना बनाउन सक्यो, त्यति नै नेपालमा लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्ने र काठमाडौंको लोड थेग्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
त्यसैगरी आयोजना निर्माण गर्न सकेमा उक्त आयोजना नेपालकै सबैभन्दा राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित गर्न सकिने अवस्था पनि छ ।
¥याफ्टिङ, फिसिङ, सुन्दर होटल निर्माणलगायत गरेर तिमाल, कोशीपारी र दोलालघाट क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सक्ने प्रशस्त सम्भावना रहेको बताइन्छ ।
प्राधिकरणका अनुसार सन् १९८३ मै पूर्व सम्भाव्यता अध्ययन भइसकेको आयोजनाको क्षमता ५३६ मेगाबाटबाट १५ सय मेगावाटसम्म पु¥याउन सकिने विज्ञहरू बताउँछन् । आयोजना निर्माणको क्रममा दोलालघाट क्षेत्रसम्मका करिब एक हजार घर डुबानमा पर्ने अनुमान छ ।
अध्ययनको क्रममा ६२ करोड २० लाख डलर लागत लाग्ने अनुमान गरिए पनि अहिले करिब ८० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । आयोजना निर्माण भएमा काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक र रामेछाप जिल्लालाई प्रत्यक्ष फाइदा पुग्नेछ ।
http://www.karobardaily.com/%E0%A4%B8%E0%A5%81%E0%A4%A8%E0%A4%95%E0%A5%8B%E0%A4%B6%E0%A5%80-%E0%A4%A4%E0%A5%87%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B-%E0%A4%9C%E0%A4%B2%E0%A4%BE%E0%A4%B6%E0%A4%AF%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A7%E0%A5%8D%E0%A4%AF%E0%A4%AF%E0%A4%A8-%E0%A4%AA%E0%A5%81%E0%A4%B8%E0%A4%A6%E0%A5%87%E0%A4%96%E0%A4%BF
No comments:
Post a Comment