Monday, August 8, 2016

सबस्टेसन नबन्दा भारतबाट थप बिजुली असम्भव

August 8, 2016 Categories ताजा समाचारप्रमुख समाचारबिजनेस

सबस्टेसन नबन्दा भारतबाट थप बिजुली असम्भव

ठेकेदारद्वारा समयमै पूरा गर्न नसक्ने जानकारी

थप आयात नभए १२ घण्टाभन्दा बढी लोडसेडिङ
भीम गौतम
काठमाडौं, २३ साउन । निर्माणाधीन २२० केभीको ढल्केबर सबस्टेसन निर्धारित समयमा पूरा नहुने भएपछि भारतबाट थप बिजुली ल्याउन असम्भव देखिएको छ ।
नेपाल र भारतबीच थप विद्युत् आयात गर्ने सहमति भए पनि पुसभित्र सबस्टेसनको काम सम्पन्न गर्ने लक्ष्य पूरा नभएकाले आगामी हिउँदमा पनि लोडसेडिङ बढ्ने अवस्था सिर्जना भएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणमा तत्काल ८० मेगावाट र डिसेम्बरदेखि थप १२० मेगावाट विद्युत् ल्याउने सम्झौता भएको थियो ।
तर, सबस्टेसनको अभावमा बिजुली ल्याउन समस्या हुने देखिएको हो । सबस्टेसन निर्माण गरिरहेको ठेकेदार कम्पनीले डिसेम्बरभित्र निर्माण गर्न नसक्ने जानकारी नेपाल विद्युत् प्राधिकरणमा गराइसकेको छ ।
यसको विकल्पमा अघि बढाउन लागिएको मोबाइल सबस्टेसन निर्माणमा समेत समय लाग्ने भएकाले विद्युत् आयात थप जटिल बनेको छ ।
सम्झौताअनुसार विद्युत् आयात नगरे पनि नेपालले कबोल गरेअनुसार आयातीत बिजुलीको मूल्य अनिवार्य तिर्नुपर्ने हुन्छ । तर। यसको मूल्य भने तय भइसकेको छैन ।

आगामी हिउँदमा दैनिक ७ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने र त्यसका लागि भारतबाट आयात हुने थप विद्युत्लाई मुख्य आधार मानिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले ठेकेदार कम्पनीले डिसेम्बरसम्ममा सबस्टेसन निर्माण पूरा गर्न नसक्ने जानकारी गराएकाले यसबारे कसरी अघि बढ्ने भन्नेमा छलफल भइरहेको जानकारी दिए ।
“ठेकेदार कम्पनीले डिसेम्बरभित्र बनाउन नसक्ने भनेर जानकारी गराएको छ, अब मोबाइल सबस्टेसन बनाउन केन्द्रित हुन्छौं,” उनले भने, “मोबाइल सबस्टेसन राख्न ५-६ महिना लाग्ने हो तर रातदिन खटेर भए पनि ४ महिनामै सम्पन्न गर्छौं ।”
उनले यसबारे भारतसँग पनि थप छलफल हुने जानकारी दिए । प्राधिकरणका अधिकारीहरूले सबस्टेसन समयमै निर्माण हुन असम्भव भएको ऊर्जा मन्त्रालयसँगको छलफलमा जानकारी गराइसकेका छन् ।
अब के गर्ने भन्नेमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा छलफल हुने बताइएको छ । नयाँ सरकारमा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाउने मन्त्रीसँग यसबारे थप छलफल अघि बढाउने पक्षमा ऊर्जा मन्त्रालय देखिएको छ ।
आगामी हिउँदमा दैनिक ७ घण्टाभन्दा बढी लोडसेडिङ नबढाउने र त्यसका लागि भारतबाट आयात हुने थप विद्युत्लाई मुख्य आधार मानिएको छ ।
जसअन्तर्गत विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर प्रशारण लाइनबाट आयात हुने बिजुली निकै महत्वपूर्ण छ । ढल्केबर सबस्टेसन नबनेमा हाल आयात भइरहेको ८० मेगावाटबाहेक बढी आयात गर्न सक्ने अवस्था छैन ।
ढल्केबर सबस्टेसनको ठेक्का पाएको सेन्ट्रल चाइना पावर ग्रिड कर्पोरेसनको काम सुस्त गतिमा अघि बढेपछि प्राधिकरणभित्र पनि के गर्ने भन्ने अन्योल बढेको छ ।
प्राधिकरणका अधिकारीका अनुसार हाल कटैयामार्फत १४० मेगावाट आयात भइरहेको छ । ढल्केबरबाट २ सय मेगावाट र यस क्षेत्रका सानिमा माईलगायत आयोजनाबाट गरी ३६० मेगावाटसम्म पुग्न सक्ने हुनाले हालको प्रणालीबाट सबस्टेसन नबनेसम्म आयात गर्न कठिन छ ।
भारतबाट थप बिजुली ल्याएर आगामी हिउँदमा लोडसेडिङ घटाउने विद्युत् प्राधिकरणको लक्ष्य भने द्रुतगतिमा मोबाइल सबस्टेसन निर्माण नगरेमा पूरा नहुने देखिएको छ ।
कार्यकारी निर्देशक काफ्लेले आगामी हिउँदमा लोडसेडिङ ७ घण्टामा झार्ने बताउँदै आएका छन् । तर, १ सय २० मेगावाट थप ल्याउन नसकेमा १२ घण्टाभन्दा बढ्ने सक्ने देखिएको छ ।
- See more at: http://np.karobardaily.com/2016/08/98174/#sthash.kDrrCO7M.dpuf

No comments: