भीम गौतम /राजधानी
काठमाडौं, २८ पुस
काठमाडौं, २८ पुस
नेपाल विद्युत् प्राधिकरणले दूर स्वचालित मिटर अध्ययन प्रणाली (रिमोट
अटोमेटिक मिटर रिडिङ सिस्टम) लागू गर्ने भएको छ ।घरघर पुगेर मिटर रिडरले
मिटर रिडिङ गर्ने परम्परागत प्रणालीलाई विस्थापित गरी आगामी साउनदेखि नयाँ
स्वचालित प्रणाली लागू गर्न लागिएको हो । पहिलो चरणमा टीओडी मिटर लिएका
ठूला उद्योगहरूमा दूर स्वचालित अध्ययन प्रणाली लागू गर्न लागिएको प्राधिकरण
ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले
जानकारी दिए । ‘छिट्टै यो प्रणाली लागू गर्न बोलपत्र आह्वान गर्न लागेका
छौं, आगामी आर्थिक वर्ष २०७२÷७३ देखि यो प्रणाली लागू गर्ने लक्ष्य
प्राधिकरणको छ,’ उनले भने ।
प्राधिकरण करिब २८ लाख ग्राहक रहेकोमा ६ हजार टीओटी मिटर राख्ने ठूला
ग्राहक छन् । स्वचालित मिटर अध्ययन प्रणाली (एएमआर) लागू गर्न ठूलो बजेट
आवश्यक देखिएपछि प्राधिकरणले पहिलो चरणमा टीओटी मिटर रहेका ग्राहकका लागि
यो प्रणाली लागू गर्न लागेको हो । स्वचालिक मिटर प्रणाली लागू गर्न डेनिस
दूतावाससँग छलफल भइरहेको उपकार्यकारी निर्देशक पाण्डेले जानकारी दिए ।
यो प्रणाली लागू भएपछि हाल टीओटी मिटर रहेका ग्राहकको मिटरसम्म पुगेर
ल्यापटपमा सूचना डाउनलोड गर्नुपर्नेमा अब प्राधिकरण केन्द्रीय कार्यालयमै
बसेर सजिलै सूचना पाउन सक्नेछन् । टीओटी मिटरमा कर्मचारीको मिलेमतोमा
बदमासी हुन सक्ने अवस्था रहेकोमा यसबाट चुहावट अन्त्य हुनेछ भने ग्राहकले
समेत आफ्नो बिलबारे स्पष्ट रूपमा जानकारी पाउन सक्छन् । प्रत्येक तीन÷तीन
महिनामा टीओडी मिटर डाउनलोड गर्नुपर्नेमा जनशक्तिको अभावमा हुन सकेको छैन ।
यो प्रणाली लागू भएपछि मिटर रिडिङको समस्या समाधान हुने उपकार्यकारी
निर्देशक पाण्डेले बताए । उनका अनुसार मिटर रिडिङका लागि जनशक्ति
खटाउनुपर्नेमा यस प्रणाली लागूपछि जनशक्ति र सम्बन्धित क्षेत्रका
ग्राहकसम्म पुग्न लाग्ने खर्चमा कटौती हुनुका साथै समयको पनि बचत हुनेछ ।
टीओडी मिटरमा जीएसएम सिम राख्न मिल्ने भए पनि प्राधिकरणले राखेको छैन । यो
प्रणाली लागू भएपछि जीएसएम सिम अनिवार्य रूपमा राख्न लागेको प्राधिकरणले
जनाएको छ । हाल प्राधिकरण सबैभन्दा बढी राजस्व टीओटी मिटर भएका ग्राहकबाट
संकलन गर्ने गरेको छ भने बदमासी पनि यिनै ग्राहकको मिटरमा देखिएको छ । दूर
स्वचालित प्रणाली लागू गरेपछि प्राधिकरणले देशभरिका ग्राहकका लागि लागू
गर्न लागिएको एएमआर प्रणाली कार्यान्वयन गर्न सजिलो हुने प्राधिकरणले
जनाएको छ ।
अब डिजिटल मिटर
परम्परागत मिटर दिँदै आएको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षदेखि डिजिटल मिटर मात्र खरिद गर्ने भएको छ ।
प्राधिकरणले सेवालाई आधुनिकीकरण र छिटोछरितो बनाउन अघि बढाउन लागेको
स्वचालित मिटर अध्ययन प्रणाली (अटोमेटिक मिटर रिडिङ सिस्टम) लाई लक्ष्य गरी
डिजिटल मिटर मात्र खरिद गर्न लागेको प्राधिकरण ग्राहक तथा वितरण
निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
‘आगामी वर्षदेखि डिजिटल मिटर मात्र खरिद गर्न लागेका छौं, यसबाट स्वचालित
मिटर अध्ययन प्रणालीलाई पनि सहयोग पुग्छ,’ उनले भने, ‘आधुनिक मिटरको उपयोग
भए प्राधिकरणलाई धेरै सहज हुन्छ ।’
http://rajdhani.com.np/article/0196128001421121990
No comments:
Post a Comment