भीम गौतम/राजधानीकाठमाडौं, ११ माघ
नेपाल विद्युत् प्राधिकरणको निर्देशनविपरीत ‘अनधिकृत’ रूपमा बिजुली उपयोग गरेको भन्दै दुई ठूला उद्योगको विद्युत् लाइन काटिएको छ । सर्वसाधारणलाई बढी लोडसेडिङको भार कम गर्न प्राधिकरणले दैनिक १० घन्टा मात्र उद्योगमा बिजुली उपयोग गर्न दिएको निर्देशनलाई अवज्ञा गरेको भन्दै दुवै उद्योगको लाइन काटिएको हो ।
प्राधिकरणको निर्देशन नमानेको जानकारी पाएपछि प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्ले र ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेसहितको टोली सम्बन्धित उद्योगमै पुगेर लाइन काटेका थिए । कार्यकारी निर्देशक काफ्लेका अनुसार वीरगन्ज कोरिडोरको ६६ केभीको प्रसारण लाइनबाट डेडिकेटेड फिडर लिएका बारास्थित त्रिवेणी स्पिनिङ मिल र हेटौंडा सिमेन्ट उद्योगको लाइन काटिएको हो । त्रिवेणीले ६ मेगावाट र हेटौंडाले ८ मेगावाट विद्युत् लिएका छन् ।
‘प्राधिकरणको निर्देशन अवज्ञा गरी लोडसेडिङको बेला पनि उद्योग सञ्चालन गरेको भेटिएपछि अर्को निर्णय नभएसम्मका लागि लाइन काटिएको हो,’ कार्यकारी निर्देशक काफ्लेले भने, ‘दुवै उद्योगले प्राधिकरणको निर्देशन मानेको बताए पनि विवरणबाट २४ घन्टा नै चलाएको देखियो ।’ सबै उद्योगले दैनिक १४ घन्टा लोडसेडिङ गर्नुपर्ने कारण जनाउँदै लाइन काटे पनि प्राधिकरणसँग उनीहरूलाई के कारबाही गर्ने भन्ने स्पष्ट व्यवस्था छैन । दुई उद्योगले दिएको स्पष्टीकरणको आधारमा कारबाही प्रक्रिया अघि बढ्ने कार्यकारी निर्देशक काफ्लेले भने ।
यसैगरी, प्राधिकरणले २४ घन्टा नै बिजुली प्रयोग गर्दै आएको शिवम् सिमेन्टलाई समेत दैनिक १० घन्टा मात्र सञ्चालन गर्न दिएको छ । एक वर्षअघि तत्कालीन कार्यकारी निर्देशकले २४ घन्टा बिजुली प्रयोग गर्न निर्देशन दिए पनि १५ मेगावाट बिजुलीको स्वीकृति लिएको सो उद्योगलाई १४ घन्टा नै लोडसेडिङ गर्न भनिएको प्राधिकरणले जनाएको छ ।
विद्युत् लाइन काट्ने सप्ताह सुरु
नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल नतिर्ने ग्राहकलाई लक्ष्य गरी विद्युत् लाइन काट्ने सप्ताह सुरु गरेको छ । आइतबारदेखि सुरु भई एक सातासम्म चल्ने सो अभियानअन्तर्गत प्राधिकरणका आठ क्षेत्रीय कार्यालय र सबै वितरण केन्द्रमा विशेष अभियान सञ्चालन गर्ने प्राधिकरण ग्राहक तथा वितरण निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए । तीन महिनासम्म बिजुलीको महसुल नतिर्ने तथा ५ हजारभन्दा बढी महसुल नाघेका तथा लामो समयदेखि बिजुलीको महसुल नतिरेका उद्योगधन्दाका लाइनहरू काट्ने अभियानअन्तर्गत सप्ताह सुरु गरिएको उनले जानकारी दिए । घरेलुसहित २७ लाख १८ हजार ग्राहक रहेको प्राधिकरणमा बक्यौता उठाउन मात्र ८ अर्ब रुपैयाँ रहेको छ ।
http://rajdhani.com.np/article/0956866001422247361
No comments:
Post a Comment