Sunday, January 4, 2015

कहिले सुन्ला सरकारले यी चेपाङका पीडा ?

भीम गौतम/राजधानी
कान्दा (चितवन), १९ पुस
चितवनको लोथर गाविस–९ निवासी रामबहादुर चेपाङ ओढारमै जन्मे, ओढारमै हुर्के र धेरै वर्ष ओढारमै जीवन बिताए । बिहान–बेलुकाको छाक टार्नका लागि माग्न गएको बेला धादिङस्थित स्याडुलको ओढारमा आगलागी भएपछि उनका एक दिदी र दाइको पनि मुत्यु भयो ।

आगलागीमा परेर दुई सन्तानको मृत्यु भएपछि पीडित आमा थप पीडित बनिन् । उनकी आमालाई बोक्सीको आरोप लगाई गाउँनिकाला गरियो । त्यसपछि बाँच्नका लागि ठाउँ खोज्दै उनी धादिङको डुवाङ पुगे । जसोतसो गरी बल्ल १५÷१६ हलको मेलो जग्गा बटुले । तर, पैसाले खाँचो भएपछि स्थानीय चामटारको दाहाल साहुबाट (पूरा नाम थाहा छैन) ५० रुपैयाँ ऋण लिए । त्यो तिर्न नसकेपछि उनको जग्गा साहुले खाइदियो । घरमा खान नभएपछि जंगलको च्याउ खाँदा श्रीमतीको पनि ज्यान गयो ।
आमा पनि रोगले बितेपछि बाँच्नका लागि माथिल्लो कान्दा आइपुगेका चेपाङले पीडा पोखे, ‘स्थानीय रुम्बा तामाङको तीन हल जग्गा भाडामा लिएर कमाइरहेको छु, आङ्खनो जग्गा छैन, ओढारमा जन्मेर ओढारबाटै सुरु भयो, जिन्दगी फेरि ओढारमै पुग्ने अवस्था छ ।’ दुई रुपैयाँमा दाहाल साहुको दुई वर्ष सेवा गरेको र त्यसपछि पनि जग्गा खाइदिएको पीडा उनीसँग छ । ‘दुई रुपैयाँका लागि दुई वर्ष सेवा गरे, अहिले अर्को साहुको जग्गा तीन किस्तामा २० हजार तिर्ने गरी लिएको छु, बिहान–बेलुका के खाने भन्नेमै चिन्ता छ,’ उनले दुखेसो पोखे ।
रामबहादुर मात्र होइनन्, कान्दाका अधिकांश चेपाङको पीडा यस्तै छ । मुस्किलले ३ देखि ६ महिना मात्र मकै र कोदो खान पुग्ने र बाँकी महिना गिठ्ठा र भ्याकुर खानुपर्ने, बालविवाह र बच्चैदेखि वृद्धासम्म निरन्तर बच्चा जन्माइरहनुपर्ने अधिकांश कान्दावासीका पीडा हुन् । झुप्रो घरमा कष्टकर रूपमा सुत्केरी गराउनुपर्ने र साह्रै चिसो हुँदा ओढारमा पुग्नुपर्ने, विद्यालय जान कम्तीमा तीन घन्टासम्म हिँड्नुपर्ने, बिरामी हुँदा झाँक्रीको सहारा लिनुपर्ने, लाजपुर्जा नभएर साहुको जग्गा कमाउनुपर्ने पनि कान्दावासी चेपाङका साझा पीडा हुन् । चितवनको सदरमुकाम भरतपुरबाट भण्डारासम्म पिच र त्यसपछि कच्ची मोटरबाटोमार्फत हात्तीधापसम्म ४२ किलोमिटर मोटरमा पुगेपछि झन्डै पाँच घन्टा ठाडो उकालो हिँडेर पुग्नुपर्ने कान्दाको यो कहानी धेरैलाई पत्यार नलाग्न सक्छ । यो वास्तविकता हो तर सरकार यो पीडासम्म पुगेकै छैन ।
बरु सिंहदबारमा बसेर सन् २०२२ भित्र नेपाललाई विकसित राष्ट्रको दाँचोमा पु¥याउने र आर्थिक वृद्धिदर (जीडीपी) बढाउनका लागि समावेशी आर्थिक नीतिको योजना बनाइरहेको छ । अहिलेसम्म नेतादेखि सरकारी निकायका कुनै प्रतिनिधिहरूले कान्दा टेकेकै छैनन् । गाउँभरिकै सबैभन्दा बढी कक्षा आठ पढेकी सन्तमाया चेपाङ अहिलेसम्म कुनै नेता र सरकारी निकायका प्रतिनिधि कान्दा टेकेको जानकारी आफूलाई नभएको बताउँछिन् । ‘अधिकांश चेपाङ समुदायलाई बिहान–बेलुकाको छाक टार्नै समस्या छ, माथिबाट हाम्रो पीडा सुन्न कोही आएका छैनन्,’ उनी भन्छिन् ।
त्यसो त सबै चेपाङ आङ्खनो पीडा बुझ्न कोही नआएको बताउँछन् । ‘खाए कोदो–मकै, नखाए भोकै भन्ने अवस्था हाम्रो छ, अझै पनि हाम्रा लागि ६ महिना अनिकाल र ६ महिना सहकालको अवस्था छ,’ स्थानीय वीरबहादुर चेपाङले पीडा सुनाए, ‘गिठ्ठा, भ्याकुर जंगलमा सकिए भोकभोकै मर्नुपर्ने अवस्था छ ।’ चार वर्षअघि जंगली च्याउबाट एकै परिवारको आठजनाको मृत्यु भएको खबर सुनेर कान्दा पुगेको लक्ष्मी प्रतिष्ठानको टिमले सुरुमा अग्लो ठाउँमा स्याउको बिरुवा सहयोग गरेर आय आर्जन बढाउने निधो ग¥यो । जब कान्दा पुगेपछि नांगै अवस्थामा रहेका चेपाङको पीडा देख्यो, तत्काल समाधान गर्न कपडा सहयोग ग¥यो ।
ओढार बस्नुपर्ने र खरले छाएको घरभित्र कष्टपूर्ण जीवन बिताउनुपर्ने अवस्थाले प्रतिष्ठानका अध्यक्ष विष्णु गौतमलाई छोयो । दुई छोरा सडक दुर्घटनामा बितेपछि समाजसेवामा लागेका उनले कान्दाका ८५ घरधुरीकै लागि नयाँ घर बनाउने योजना बनाए र फेसबुकमार्फत सहयोग संकलन सुरु गरे ।
‘पहिला स्याउको बिरुवा सहयोग गर्न पुग्यो, तर गाँसबासकै ठेगान भएपछि ८५ घर बनाउन सुरु गरिसकेका छौं, हालसम्म दुई दर्जन घर बनाइसकेका छौं,’ उनले भने, ‘घरसँगै उनीहरूको आय आर्जनका लागि स्याउ, आलु, सिमी, उन्नत जातको मकै, बाख्रा पालनलगायतलाई जोड दिन लागेका छौं ।’ अहिले पनि सुगमजस्तो लाग्ने चितवनस्थित कान्दाका चेपाङका लागि बिहान–बेलुका खानकै समस्या रहेको र त्यो समाधानका लागि आफू सक्रिय भइरहेको उनी बताउँछन् । विद्यालयमा सय जति विद्यार्थी भर्ना भए पनि तीन घन्टासम्म हिँडेर जानुपर्ने भएकाले अधिकांश विद्यार्थी नआउने भएकाले प्रतिष्ठानले स्थानीय कान्देश्वरी राष्ट्रिय प्राथमिक विद्यालयमा पढ्ने विद्यार्थीका लागि कुमार बलराम स्मृति छात्रावास पनि निर्माण गरिरहेका छन् । हालसम्म पाँचओटा छात्रवास भवन बनिसकेको प्रतिष्ठानका सदस्य कृष्ण गौतमले जानकारी दिए ।
१२ वर्षदेखि कान्देश्वरीमा पढाइरहेका बालकृष्ण थपलियाले चेपाङको पीडालाई सबैभन्दा नजिकबाट बुझेका छन् । ‘पहिलो कुरा त खानै मुस्किल छ, गाउँमा स्वास्थ्य सेवा पनि छैन, बालविवाह पनि छ, घरभरी सन्तानै सन्तान छन् । ६ महिना पनि खान पुग्दैन, जंगलबाट गिठ्ठा भ्याकुर खान्छन्, पहिला पहिला त न्यानोको लागि ओढारमा जानुपर्ने बाध्यता थियो । अहिले घरमा सुत्केरी हुन थालेका छन्, स्वास्थ्य चौकी त धेरै टाढाको कुरा,’ उनले सुनाए, ‘मैले चेपाङले कपडा नभएर बोरा बेरेर तलको भाग मात्र छोपेको दृश्य धेरै देखें, अहिले लक्ष्मी प्रतिष्ठानलगायतको सहयोगले त्यस्तो अवस्था त छैन, अझ प्रतिष्ठानले नयाँ घर र छात्रावास पनि बनाइरहेको छ ।’
विद्यार्थी आधा घन्टादेखि तीन घन्टासम्म हिँडेर आउनुपर्ने बाध्यता रहेको बताउँदै उनले मितेरी फाउन्डेसनको सहयोगमा व्यवस्था गरिएको खाजा खानका लागि पनि धेरै विद्यार्थी आउने गरेको बताउँछन् । ‘घरमा खाना छैन, बरु स्कुल आउँदा खान पाइन्छ भनेर विद्यार्थी तीन घन्टासम्म लगाएर स्कुल आउँछन्,’ उनले भने । उनका अनुसार अधिकांश चेपाङ लालपुर्जाविहीन छन् । लक्ष्मी प्रतिष्ठानका अध्यक्ष गौतम भने चेपाङका लागि नयाँ घर बनाइदिएर त्यो जग्गाको लालपुर्जा उनीहरूलाई दिन लागिएको बताउँछन् ।
http://rajdhani.com.np/article/0194408001420338033

No comments: