Tuesday, January 27, 2015

सिँचाइ विभागको ६ महिनाको खर्च २८ प्रतिशत मात्र


राजधानी समाचारदाताकाठमाडौं, १२ माघ
सिँचाइ विभागले गएको ६ महिनामा २८ प्रतिशत मात्र खर्च भएको जनाएको छ । संसद्को कृषि तथा जलस्रोत समितिको बैठकमा अर्ध वार्षिक बजेट खर्च सार्वजनिक गर्दै विभागले यस अवधिमा ४ अर्ब ९४ करोड ६४ लाख रुपैयाँ खर्च गर्नुपर्नेमा १ अर्ब ४१ करोड ८५ लाख रुपैयाँ मात्र खर्च भएको जनाएको हो । यो प्रतिशतको आधारमा २८ मात्र हो ।
विभागअन्तर्गत सञ्चालित २५ कार्यक्रमअन्तर्गत सुर्खेत उपत्यका सिँचाइ आयोजनाको प्रगति शून्य छ । विभागका अनुसार भेरी बबई बहुउद्देश्यीय आयोजनाअन्तर्गत एक प्रतिशत, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सेती–महाकाली सिँचाइ विकास कार्यक्रम र नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाअन्तर्गत तीन प्रतिशत तथा बृहत् सरकारी सिँचाइ आयोजना र महाकाली सिँचाइ आयोजना पुनःस्थापनाअन्तर्गत चार प्रतिशत मात्र खर्च भएको छ ।
बैठकमा अधिकांश सभासद्ले सिँचाइ मन्त्रालयको कार्यप्रगति सन्तोषजनक नभएको तथा योजना तर्जुमामै समस्या रहेको बताएका थिए । सिँचाइमन्त्री एनपी साउदले प्राथमिकतामा रहेका आयोजनाको प्रक्रिया अघि बढाउन ढिलाइ भएको उल्लेख गर्दै छोटो प्रक्रियामार्फत काम गर्न कानुनमै व्यवस्था गर्नुपर्ने बताए । उनले आयोजना कार्यान्वयनमा अन्तरमन्त्रालय समन्वय समस्याको रूपमा देखिएको उल्लेख गरे । सिँचाइ मन्त्रालयमा १९ पहिलो प्राथमिकताका आयोजना भए पनि प्रगतिको प्रतिशत १० भन्दा कम छ ।
बैठकमा सिँचाइ सचिव माधव रेग्मीलगायतले निर्माण सामग्रीको समस्या, जग्गा प्राप्तिमा कठिनाइ, पहिरोबाट क्षतिग्रस्त प्रणाली मर्मतसम्भारमा बजेट अभाव, जनशक्ति अभावलगायतको कारण आयोजना कार्यान्वयनमा समस्या परेको बताएका थिए । बैठकले मन्त्रालयको हरेक महिनाको कार्यप्रगति समितिलाई उपलब्ध गराउन तथा सिँचाइ मन्त्रालयका निकायहरू हरेक जिल्लामा राख्ने व्यवस्था मिलाउन निर्देशन दिएको समितिमा सभापति गगन थापाले जानकारी दिए ।
http://rajdhani.com.np/article/0314990001422333957

No comments: