Thursday, January 22, 2015

माथिल्लो तामाकोसी सुरुङ निर्माणमा अर्को फड्को

तल्लो पेनस्टक साफ्ट सुरुङको ब्रेक थु्र

भीम गौतम / राजधानी
काठमाडौं, ६ माघ
निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको जटिल सुरुङ निर्माणको ‘ब्रेक थु्र’ (सम्पन्न) भएको छ । १६ दशमलव ५ किलोमिटर सुरुङमध्ये सबैभन्दा जटिल समस्याका रूपमा रहेको ३ सय ७४ मिटर तल्लो पेनस्टक साफ्ट (इनार) को सुरुङ निर्माण सम्पन्न भएको हो ।

यो पेनस्टक साफ्ट नेपालकै जलविद्युत् आयोजनामध्येको सबैभन्दा गहिरो र ठूलो सुरुङ हो । ‘तामाकोसीको सबैभन्दा जटिल तल्लो पेनस्टक साफ्टको सुरुङको ब्रेक थु्र भएको छ, यो सुरुङ निर्माणमा सबैभन्दा बढी चिन्ता थियो, यसले खुसी तुल्याएको छ,’ माथिल्लो तामाकोसी आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले भने, ‘नेपालमै यति ठूलो र गहिरो पेनस्टक साफ्ट अरू छैन, यो सम्पन्न हुनुलाई आयोजनाले एउटा जटिल सुरुङमा भएको कोसेढुंगाको रूपमा लिएका छौं ।’
६ महिनाअघिदेखि निर्माण सुरु गरिएको सो साफ्ट सुरुङ निर्माणलाई माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले सबैभन्दा गाह्रो कामको रूपमा लिँदै आएको थियो । यो निर्माण सम्पन्नसँगै झन्डै ३ सय ५० मिटरको माथिल्लो पेनस्टक साफ्ट सुरुङ निर्माणमा सहज भएको छ । माथिल्लो पेनस्टक सुरुङ निर्माणको डिजाइनमा समस्या आएपछि परिवर्तन गरिएको छ । सो पेनस्टक साफ्ट भने अब निर्माण सुरु गरिने आयोजनाले जनाएको छ ।
स्वदेशी लगानीमा निर्माणाधीन नेपालकै पहिलो जलविद्युत् आयोजनाको हालसम्म ७१ प्रतिशत काम सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार, १६ दशमलव ५ किलोमिटर सुरुङमध्ये हालसम्म १४ हजार २ सय मिटर निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । ‘हालसम्म १४ हजार २ सय मिटर सुरुङ निर्माण सकिएको छ, आगामी सेप्टेम्बरभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ,’ तामाकोसी जलविद्युत् आयोजना प्रमुख श्रेष्ठले भने ।
२०७३ असारभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत् उत्पादन भइसकेपछि नेपालमा हुँदै आएको लोडसेडिङ अन्त्य हुने अपेक्षा गरिएको छ । आयोजनाका अनुसार, आयोजनाको सिभिलतर्फको काम ८५ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ६० प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ५० प्रतिशत काम सम्पन्न भएको छ । माथिल्लो तामाकोसीका अनुसार, हाइड्रोमेकानिकल कार्य २०७२ वैशाख, मेकानिकल तथा इलेक्ट्रिकल कार्य २०७२ चैत र प्रसारण लाइनको निर्माण २०७२ असारभित्र पूरा गर्ने लक्ष्य छ ।
३५ अर्ब २९ करोड रुपैयाँ लागत रहेको तामाकोसीको सुरुङमा समस्यालगायतका कारणले बढेर ४१ अर्ब पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले सहायक कम्पनी तामाकोसी जलविद्युत् कम्पनी निर्माण गरेर सुरु गरिएको सो आयोजनामा ४१ प्रतिशत प्राधिकरण रहेको छ । नेपाल टेलिकमले ६ अर्ब, कर्मचारी सञ्चय कोषले १० अर्ब, नागरिक लगानी कोषले २ अर्ब र राष्ट्रिय विमा संस्थानले २ अर्ब ऋण दिएपछि स्वदेशमै लगानी लगानीमा आयोनजा निर्माण सुरु भएको हो । ३५ अर्ब २९ करोड रुपैयाँ लागत रहेको तामाकोसीको सुरुङमा समस्या लगायतका कारणले बढेर ४१ अर्ब रुपैयाँ पुगेको छ ।
http://rajdhani.com.np/article/0980389001421815222

No comments: