Wednesday, September 28, 2016

जलस्रोतको विकासमा राजनीतिज्ञ बाधक छन्

      + -

जलस्रोतविद् द्वारिकानाथ ढुंगेल । तस्विर : कारोबार
द्वारिकानाथ ढुंगेल
जलस्रोतविद्
झन्डै तीन दशक सरकारी सेवामा बिताएका द्वारिकानाथ ढुंगेल जलस्रोतविद्का रूपमा चिनिन्छन् । २०२५ सालमा त्रिचन्द्र क्याम्पसमा राजनीतिशास्त्रको प्राध्यापक बनेका उनीसँग २०२८ सालदेखि स्थानीय विकास मन्त्रालय, उच्चस्तरीय प्रशासनिक सुधार आयोगको सदस्य–सचिवको रूपमा काम गरेको अनुभव छ ।
पूर्वजलस्रोत, भूमिसुधार र सामान्य प्रशासन मन्त्रालयको सचिवसमेत भइसकेका उनी हाल स्वतन्त्र विज्ञको रूपमा जलस्रोतबारे अध्ययन अनुसन्धानमा व्यस्त छन् । नीति फाउन्डेसनको वरिष्ठ फेलोका रूपमा समेत रहेका ७१ वर्षीय ढुंगेल नेपाल र भारतबीचको पानी विवादको सकारात्मक र नकारात्मक दुवै पाटो रहेको बताउँछन् । 
नेपालको जलस्रोत उपयोगबारे स्पष्ट रणनीतिक योजना नहुनु तथा राजनीतिज्ञहरूले समेत गहिरिएर बुझ्न नसक्नुलाई यस क्षेत्रको मुख्य समस्याको रूपमा उनले लिएका छन् । नेपालमा प्रशस्त पानी भएर पनि सही सदुपयोग हुन नसकिरहेको बेला नेपाल र भारतबीचको जलस्रोत विकासको अवस्था, नेपालमा हालसम्म भएको र गर्नुपर्ने प्रयासबारे ढुंगेलसँग कारोबारकर्मी भीम गौतमले गरेको कुराकानी :
नेपाल र भारतबीचको जलस्रोतको सम्बन्धलाई तपाईंले कसरी हेर्नुभएको छ ?
राम्रो र नराम्रो  दुवै । राम्रो यो अर्थमा छ कि नेपालका सबैजसो नदीमा भारतसँग कुनै न कुनै सन्धि सम्झौता भएको छ । संस्थागत रूपमा दुवै देशबीच सबैभन्दा बढी संरचना पनि जलस्रोतकै क्षेत्रमा कायम छन् ।
नेपाल र भारतबीचमा भएका विभिन्न तहका भ्रमणमा उल्लेख र आदानप्रदान भएका विषयवस्तु हेर्ने हो भने पनि जलस्रोतकै क्षेत्रमा होलान् । यसकारण सम्बन्ध कसरी नराम्रो छ भन्ने ? तर व्यवहारमा राम्रो छैन । 
धेरै विवाद देखिने र सम्बन्ध नराम्रो हुने कारण के होला ? 
मेरो विचारमा विवादको कारण एक अर्कालाई दोष लगाउने कोसिस गर्छौं । यसो हेर्दा हामीले भारतलाई यो सन्धिको प्रावधानअनुसार काम गरेन भनेर भनिरहेका हुन्छौं । उसले के भन्छ भने नेपालले सहयोग गरेन ।
मैले भारतीय अधिकारी र अनुसन्धानकर्ताहरूलाई पटक–पटक भनेको छु, तिम्रा र हाम्राबीचमा भएका सन्धि वा समझदारी हेर्ने हो भने सन् १८७४ मा पहिलो पटक कपिलवस्तुका तीन पोखरी जमुवार, सिसुवा र मथीमा पानी नाप्ने विषयमा औपचारिक पत्राचार भएको थियो । शारदा ब्यारेजको सन्धि सन् १९२० मा भएको हो ।
त्यसपछि कोसी, गण्डक, महाकाली नदीका बारेमा सन्धि भए । कर्णाली नदीको विकासका लागि माथिल्लो तहमा कुरा भए । यस्तो स्थिति हुँदाहुँदै तिमीले हामीलाई र हामीले तिमीलाई दोष दिने के रहेछ त हेरौंन त । भारतीय मित्रहरूसँग वस्तुगत रूपमा अध्ययन गरेर हेरौं न । को दोषी रहेछ वा भनेअनुसार काम गरेको छ कि छैन हेर्न बुझ्न सकिन्छ । 
यसरी हेर्दा कोसीकै कुरा गर्ने हो भने जुन कुरा भारतले गर्छु भनेको थियो, त्यो भएको देखिँदैन । गण्डकीमा त्यही देखिन्छ । दुवै पक्षले कर्णाली चिसापानी बनाउने भनेर नेपालले त्यत्रो सहायत लिएर परियोजना अध्ययन गरायो । सयौं इन्जिनियरलाई अध्ययन गर्न भारत पठाइयो । परियोजना अध्ययन प्रतिवेदन भारतलाई दिइयो ।
१० हजार ८ सय मेगावाटको कर्णाली चिसापानीबाट बिजुली मात्र होइन, त्यसले सिँचाइ र बाढी नियन्त्रणलाई पनि फाइदा पु¥याउँछ भन्ने प्रतिवेदनमा उल्लेख थियो । त्यो उनीहरूले मानेनन् ।
कन्काईको विकास गर्न विदेशी सहयोग खोज्न लाग्दा भारतले विरोध जनाइदियो । बबईमा विरोध जनाइदियो । नेपाली भूभाग डुबानमा पर्ने गरी भारतले विभिन्न सिमानामा तटबन्ध बनाइरहेको छ । यस प्रकारको व्यवहारले राम्रो सम्बन्ध कायम हुँदैन । राम्रो छ भन्न पनि सकिँदैन ।
नेपाल र भारतबीचमा भएका जलस्रोतसम्बन्धी वार्ताहरू सौहार्दपूर्वक भएका छन् र विवाद भएको देखिँदैन । सम्झौतालाई उत्कृष्ट भन्ने गरेको पनि सुनिन्छ । के कारणले विवादका कुरा मात्र बाहिर आउँछन् ?
यसमा आ–आफ्नो दृष्टिकोण होला, नेपाली पक्षले गृहकार्य गरेन भनेर आरोप पनि लाग्ने गरेको छ । यसो हेर्ने हो भने त कोसी र गण्डकी सन्धि गर्ने बेलामा नेपाली वार्ताकारहरू त्यति पाका थिएनन् होला, तर पछि यी सम्झौतालाई संशोधन गर्ने काम त नेपाली पक्षबाटै भयो नि ।
हिजो भारतसँग कुरा गर्न वा सन्धिसम्झौता गर्न जे किसिमका समस्या थिए, ती त नेपाली पक्षबाटै सुधार गर्दै गएको देखिन्छ । अग्रजहरूले देश हितमा काम गरेको देखिन्छ । 
महाकाली सन्धि गर्ने बेला म पनि संलग्न थिएँ ।
त्यसका आधारमा भन्ने हो भने, यो भन्न सक्छु कि जलस्रोतको उपयोग र नेपालसँग यस क्षेत्रमा सम्बन्धका बारेमा भारतीयहरू आफ्नो रणनीतिक चालअनुसार चल्ने गर्दछन् । हामी यसरी चल्दैनौ । हामीले हाम्रो देशको हितका लागि दूरदृष्टिसहित कसरी र कुन रूपमा चल्ने हो भन्ने सोचाइ राखेर काम गर्दैनौं ।
तिमीहरू सिंहदरबारमा बस्दा यो कुरा राजनीतिज्ञ समक्ष राखेनौ वा आपसमा छलफल गरेनौ भने प्रश्न उठाउन सकिन्छ वा आउला । यसरी प्रश्न उठनु सही हो । तर मेरो विचारमा तपाईंहरूले भारतसँग जलस्रोतको क्षेत्रमा कुरा हुँदा कुन राजनीतिज्ञको के दृष्टिकोण रह्यो, कर्मचारीले के कस्ता सुझाव दिए, तिनलाई मानियो मानिएन भनेर सोधखोज गर्नु राम्रो होला ।
महाकाली सन्धिका बारेमा मेरै कुरा गरौं । मैले राजनीतिक तहलाई टनकपुरको समस्या मात्र सल्टाउ भनेको थिएँ, महाकाली प्याकेजमा नजाउँ भनेको हुँ । जवाफमा नेकपा एमालेको सरकारले भारतसमक्ष महाकाली प्याकेज प्रस्तुत गरेको छ, त्यसबारेमा भारतको पनि रुचि छ ।
तत्कालीन संयुक्त सरकारका साझेदार दलहरू नेपाली कांग्रेस, नेपाल सद्भावना पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा प्रधानमन्त्री शेरबहादुर देउवाका बीच पनि महाकाली प्याकेजमै जाने सहमति भएको छ ।
त्यसैले टनकपुर मात्र होइन महाकाली प्याकेजका बारेमा नै भारतसँग कुरा गर्ने हो भन्ने विभागीय मन्त्रीको भनाइका साथ नेकपा एमालेले बनाएको महाकाली प्याकेजमा उल्लेख भएका कुरालाई आधार बनाएर सन्धिको खाका तयार भएको हो ।
नेपालको रणनीति छैन भन्नुभयो, तपार्इं विज्ञ भएको नाताले मुलुकको हितका लागि के–कस्ता रणनीति बनाउन आवश्यक छ ?
जुन बेला हामी मन्त्रालयमा काम गरिहेका थियौं, त्यसबेला विभिन्न नदीका बारेमा अध्ययन प्रतिवेदन आएका थिए । आवधिक योजनामा जलस्रोतको उपयोगका बारेमा विषयगत रूपमा उल्लेख हुने गर्दथ्यो । हाम्रो पालामा राष्ट्रिय जलस्रोत रणनीति बनाउने काम सुरु भएको हो ।
विश्व बैंकको समेत सहयोग लिएर राष्ट्रिय जलस्रोत रणनीति बनेको छ, त्यसलाई सरकारले स्वीकार पनि गरेको हो । त्यसमा छोटो अवधिदेखि लामो अवधि (सम्झना भएसम्म ३० वर्ष) मा कुन–कुन क्षेत्रमा कति पानी चाहिने हो, जलस्रोतका विषयमा क्षेत्रीय रूपमा कसरी बढन सकिन्छ भन्ने कुरा उल्लेख छ । त्यसैका आधारमा जलस्रोत योजना बनेको हो । 
तर सरकार परिवर्तन हुनासाथ कुनै सरकारले १० वर्षे योजना ल्याए, कसैले के–के अनगिन्ती योजना ल्याए । जुन–जुन बेला नयाँ सरकार आउँछ, त्यसले नयाँनयाँ कुरा घोषणा गर्दै जान्छ । पहिले के भएका थिए वास्ता गरिँदैन ।
अर्थात् करोडौं खर्च गरेर बनाएको रणनीति तथा योजना बेवास्ता गरिएपछि वा बनाउनका लागि बनाए जस्तो गरेपछि कसरी हामी रणनीतिक रूपमा जलस्रोतको उपयोगका बारेमा अन्य देशसँग कुरा गर्न सक्दछौं ?
यीनै कारणले गर्दा भारतीयसँग कुरा गर्दा नेपाली तयारी अवस्थामा नरहेको देखिएको हो । यसरी काम गर्दा देशलाई फाइदा हुन्छ, नेपालले तयारी बिना कुरा ग¥यो भन्ने आरोप कम सुन्नुपर्ला ।  
नेपालको जलविद्युत्को सम्भावना अपार छ भन्ने अनि लोडसेडिङ बेहोरिरहनुपर्ने अवस्था छ । जलस्रोत उपयोग गर्न सकेका छैनौं । यस्तै अवस्था रहने हो भने हाम्रो भविष्य के होला ? 
अन्धकार । चन्द्र शमसेरले सन् १९६८ मा पहिलो जलविद्युत् योजना बनाएका थिए, त्यसबेलादेखि अहिलेसम्म नेपालले नगण्य मात्रामा जलविद्युत् सम्भावनाको उपयोग गरेको छ ।
जलविद्युत् क्षेत्रमा विकास भएन भने पनि हुन्छ । यसो हुनुमा मेरो विचारमा पहिलो कारण राजनीतिज्ञहरू नै हुन् । उनीहरूलाई क–कसले के–के भनिदिन्छन्, तिनकै पछि लागेर हिँड्छन् । दोस्रो कुरा राजनीतिक दलमा सत्तामा बस्दा एउटा कुरा गर्ने र बाहिर गएपछि अर्को कुरा गर्ने प्रवृत्ति छ । तेस्रो   कमिसन एजेन्टहरूले राजनीतिज्ञ र कर्मचारीहरूलाई घुमाउने गरेका छन् । ठूला ठूला कमिसन एजेन्टहरू विद्युत् विकासभन्दा पनि योजना हत्याउने दृष्टिकोणले खेल खेल्छन् ।
चौथो कुरा विदेशी दाताहरू आफ्नै तालमा परियोजना लिएर आउने नै भए । दाताहरूलाई कुन ठाउँमा कसरी ल्याउने भन्ने कुरामा सिंहदरबार कहिले पनि प्रष्ट रूपमा प्रस्तुत हुँदैनन् । विदेशीमा सहायता हुन्छ भन्दै जाने प्रवृत्ति छ । 
जलविद्युत् र जलस्रोतलाई सरकारले महत्व दिने कुरा गरिरहेको छ, बजेट पनि आकर्षक रूपमा छुट्याइएको छ । यसबारे व्यावहारिक कार्यान्वयनमा अझै हामी अस्पष्टै छौं त ?
स्पष्ट रूपमा नै महत्व दिएको भए त धेरै विकास हुन्थ्यो । जलस्रोतको समग्र पक्ष हेर्ने संयन्त्र नै छैन मुलुकमा । पूर्ण रूपमा राजनीतिक आधारमा भएको जलस्रोत मन्त्रालयलाई टुक्राएर उर्जा र सिँचाइ मन्त्रालय बनाएका छौं ।
विगतको अनुभवका आधारमा ऊर्जा मन्त्रालयको कुरा गर्ने हो भने विद्युत् विकास विभाग र नेपाल विद्युत् प्राधिकरणबीच सम्बन्ध राम्रो छैन । अहिले पनि मेल छैन भन्ने सुनेको छु  ।
अर्को कुरा नेपाल विद्युत् प्राधिकरणलाई मन्त्रीहरूले, राजनीतिज्ञहरूले आफ्नो स्वार्थको आधारमा चलाउँछन् । त्यस्तो पनि कहीँ हुन्छ ? नयाँ मन्त्री आउना साथ प्राधिकरणको कार्यकारी निर्देशक चलाइन्छ । प्राधिकरणको बोर्डका सदस्यहरू चलाइन्छ, विज्ञलाई भन्दा आसेपासेलाई बोर्डको सदस्य बनाइन्छ ।
नयाँ मन्त्रिपरिषद् वा मन्त्री बन्नासाथ योजनाहरू हत्याउन कमिसन एजेन्टहरू सक्रिय हुन्छन् । यो योजना लेऊ ऊ योजना देऊ वा लेऊ भन्न थाल्दछन् । प्राधिकरण मन्त्रीलाई चाहिने गाडीको सुविधा, तेलको व्यवस्था गर्ने, कर्मचारी भर्ना गर्ने साधन हुन पुगेको छ । अनि कसरी विद्युत् योजना कार्यान्वयन हुन्छन् त ? 
जलस्रोतको विकास नहुनुमा सबैभन्दा बाधक नै सिंहदरबार हो कि अरु पनि छन् ?
सिंहदरबार बाधक छ र राजनीतिज्ञहरू पनि बाधक छन् । सबै नहोलान्, तर यहाँको व्यापारिक क्षेत्र पनि बाधक छ । यो क्षेत्र किन कम्मर कसेर जलविद्युत् विकासमा लाग्दैन्, सरकारलाई दबाब दिँदैन, योजना झोलामा राख्ने अनि काम नगर्ने गर्दछ ?
पछिल्लो समयमा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को मस्यौदा सार्वजनिक गरिएको छ । मस्यौदामा पानीको बाँडफाँड न्यायोचित छैन भनेर आवाज पनि उठिरहेको छ ? यसबारे केही अध्ययन गर्नुभएको छ ?
अहिले डीपीआरमै के भइरहेको छ त थाहा छैन ।  हिजो सन्धि गर्दा काम गरेकालाई के आधारमा सन्धि भएको थियो, पानीका बारेमा के कुरा भएको थियो, खर्च कसरी बेहोर्ने भन्ने थियो ? यी कुरा सोधे बताउने हो । सोधिएको छैन अरु के भन्नु । त्यस बखत भएका कुरा आफ्नै सम्झना प्रकाशन गर्दा उल्लेख गर्नेछु, सम्झना लेख्ने काम सुरु गरेका छु ।
त्यो बेला बनेको संसद्को अनुगमन समिति छ कि छैन थाह छैन, त्यसले डीपीआर बनाउने कुरामा अनुगमन गर्नुपर्ने हो, कारण सन्धि अनुमोदन हुँदा उसले यो काम गर्ने भन्ने भएको हो ।
जलस्रोत क्षेत्रमा समस्यै समस्या देखिए, कसले के ग¥यो भने यस क्षेत्रको विकास गर्न सकिएला ?
सबैभन्दा ठूलो कुरा त राजनीति दलहरूबीच जलस्रोत विकासबारे साझा दृष्टिकोण हुनैपर्छ । महाकाली सन्धिबारे धेरै विवाद देखिए पनि त्यो सन्धि गर्दा र अनुमोदन गर्दा सबै राजनीतिक दलहरूले सँगै काम गरेका हुन् ।
जलस्रोतको विकासमा राजनीति दल मात्र होइन, तत्कालीन संवैधानिक राजालाई पनि साथमा लिएर एउटै धारणा बनाउन पर्दछ भनिएको हो । अहिले त राजा छैनन्, कमसेकम राजनीतिक दलहरूको जलस्रोत विकासमा साझा धारणा हुनुपर्छ ।
त्यसमा हस्ताक्षरसहित प्रतिबद्धता जनाए मात्र जलस्रोतको विकास होला, होइन भने गफ मात्र होला । यसका साथै यस क्षेत्रमा भएका विज्ञहरूलाई बेलाबेलामा बोलाएर सल्लाह सुझाव लिने अनि राजनीतिक दलहरूले स्पष्ट निर्णय लिने हो भने विकास हुन्छ ।
यसका अतिरिक्त राजनीतिक दलका साझा धारणा र निर्णय मानेर काम नगर्ने कर्मचारीलाई निजामती ऐन संशोधन गरेरै भए पनि कारबाही गर्न सक्नुपर्छ । साथै शक्तिशाली देखिएका कमिसन एजेन्टहरूको भूमिकालाई शून्यमा झार्नुपर्छ । 
http://www.karobardaily.com/%E0%A4%9C%E0%A4%B2%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8B%E0%A4%A4%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%95%E0%A4%BE%E0%A4%B8%E0%A4%AE%E0%A4%BE-%E0%A4%B0%E0%A4%BE%E0%A4%9C%E0%A4%A8%E0%A5%80%E0%A4%A4%E0%A4%BF%E0%A4%9C%E0%A5%8D%E0%A4%9E-%E0%A4%AC%E0%A4%BE%E0%A4%A7%E0%A4%95-%E0%A4%9B%E0%A4%A8%E0%A5%8D

माथिल्लो मस्र्याङदी ‘ए’ को व्यापारिक उत्पादन तीन सातापछि

     भीम गौतम   

 + -
माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत आयोजना । तस्विर : कारोबार
काठमाडौं : चिनियाँ लगानीमा निर्माण सम्पन्न भएको ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाबाट तीन सातापछि मात्र व्यापारिक उत्पादन सुरु हुने भएको छ । 
सोमबार काठमाडौंमा ऊर्जामन्त्री जनार्दन शर्माले निर्देशन दिएर व्यापारिक उत्पादन सुरु गरेको घोषणा गरिएको आयोजनाको वास्तविक व्यापारिक उत्पादन भने तीन सातापछि मात्र हुने भएको हो ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार, मंगलबारदेखि दुई साताका लागि उत्पादन बन्द गरिएको आयोजनाले त्यसपछिको एक साता परीक्षण उत्पादन गर्नेछ ।
विद्युत् प्राधिकरण भार प्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठले मंगलबारदेखि उत्पादन दुई साताका लागि बन्द  भएको र अर्को एक साता परीक्षणपछि मात्र नियमित रूपमा आयोजनाले उत्पादन सुरु गर्ने जानकारी दिए । 
विद्युत् प्राधिकरणका अधिकारीहरूले प्रसारण लाइनको अभाव र बिजुली थप भएपछि प्रसारण हुने लाइनमा गर्नुपर्ने अन्य कार्यको कारण मस्र्याङ्दीको जलविद्युत् तत्काल लिन असम्भव रहेको बताए पनि विद्युत् प्राधिकरण उच्च व्यवस्थापन भने यो मान्न तयार छैन ।
विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले समेत प्रसारण लाइनको अभावमा बिजुली खेर नजाने बताउँदै आएका छन् ।
प्राधिकरणका एक अधिकारीले भने कम्पनीबाट निजी क्षेत्रबाट सञ्चालित विद्युत् खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि प्राधिकरणले आफ्नै आयोजना मध्य– मस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने लक्ष्य राखेको र यसबारे आलोचना भएपछि चिनियाँ कम्पनीलाई अनुरोध गरेर दुई साताका लागि उत्पादन बन्द गरी तेस्रो सातादेखि मात्र उत्पादन हुने व्यवस्था गरेको बताए ।
“तीन हप्तापछि मस्र्याङदी र तल्लो–मस्र्याङदीको उत्पादन पनि घट्दै जान्छ, त्यसपछि माथिल्लो–मस्र्याङदीको बिजुली खेर नजाने हुनाले यस्तो गरिएको हो ” प्राधिकरणका अधिकारीले भने  ।
मध्य–मस्र्याङ्दी र तल्लो–मस्र्याङ्दी प्रसारण लाइनको डबल सर्किट तथा डुम्रे दमौली प्रसारण लाइन निर्माण सम्पन्न नभएकाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न प्रसारण लाइन छैन ।
प्राधिकरणका अनुसार, हाल विद्यमान १३२ केभीको मध्य– मस्र्याङ्दी र तल्लो–मस्र्याङ्दी प्रसारणलाइनबाट १४० मेगावाटमात्र विद्युत् प्रसारण गर्न सकिने अवस्था छ भने सो लाइनबाट ७० मेगावाटको मध्य–मस्र्याङ्दी र ६९ मेगावाटको तल्लो–मस्र्याङ्दीको गरी १३९ मेगावाटको बिजुली प्रसारण गरिरहेको छ ।
छोटो समयमा निर्माण सम्पन्न हुने भनिएको डुम्रे दमौली प्रसारण लाइनको ५० प्रतिशत मात्र काम सकिएको र काम अवरुद्ध गरेको स्पेनको ठेकेदार कम्पनी इनाभेन्सासँग वार्ता भइरहेकाले कहिलदेखि सो प्रसारण लाइन सुरु हुने हो टुंगो छैन ।
प्रसारण लाइन आयोजनाका अनुसार, ठेकेदार कम्पनी काममा फर्केमा बाँकी १४ किलोमिटर तार तान्ने काम ४० दिनभित्र सम्पन्न हुन सक्ने अवस्था छ तर नआएर नयाँ प्रक्रिया अघि बढेमा खरिद ऐनअनुसार काम गर्दा महिनौं लाग्ने अवस्था छ ।
सोमबार हायात रिन्जेसीमा उत्पादन घोषणा कार्यक्रममा माथिल्लो मस्र्याङदी ए को प्रवद्र्धक सिनो–सगरमाथा पावर कम्पनीका अध्यक्ष राजेशबाबु श्रेष्ठले थप २५ मेगावाट विद्युत् दिन कम्पनी तयार भए पनि प्रसारण लाइनको अभावमा जोडन नसकेको बताएका थिए ।
प्राधिकरणले डुम्रे दमौली निर्माण सम्पन्न भएपछि मात्र जोड्न सकिने भन्दै हाल जोड्न नमानेको कम्पनी स्रोतले जानकारी दिएको छ । 
लमजुङको भुलभुले गाविसमा चीनकोे पावर चाइना रिसोर्सेस लिमिटेड र चितवन को–ई समूहको भातृ संस्था सगरमाथा पावर कम्पनीद्वारा संयुक्त रूपमा १६ अर्ब लगानी गरेर निर्माण सम्पन्न भएको सो आयोजना २०६५ सालपछि नेपालमा बनेको ठूलो परियोजना हो ।
चार वर्षमै निर्माण सम्पन्न गरेको आयोजनाले भुलभुलेदेखि मध्य–मस्र्याङदीसम्मको प्रसारण लाइन आफैं निर्माण गरे पनि त्यसपछि आवश्यक प्रसारण लाइन विद्युत् प्राधिकरणले बनाउन सकेन ।
आगामी हिउँदमा पानीको बहाव घटेर सो क्षेत्रको मध्य–मस्र्याङदी, मस्र्याङदीलगायतका आयोजनाको उत्पादन घट्ने हुनाले हिउँदमा बिजुली खेर जाने अवस्था नभए पनि वर्षामा भने प्रसारण लाइन बनाउन नसके खेर जाने अवस्था आउने प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।  
http://www.karobardaily.com/%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A4%A6%E0%A5%80-%E0%A4%8F-%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%AA%E0%A4%BE%E0%A4%B0%E0%A4%BF%E0%A4%95-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%A8-%E0%A4%A4%E0%A5%80%E0%A4%A8-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A4%9B%E0%A4%BF

Tuesday, September 27, 2016

माथिल्लो मर्स्याङ्दीले उत्पादन थाल्यो,

उत्तरी लमजुङको भुलभुले गाविसमा निर्माण सम्पन्न ५० मेगावाट क्षमताको माथिललो मस्र्याङ्दी ए जविद्युत आयोजनाले सोमवारबाट व्यावसायिक  उत्पदान थालेको छ ।
५० मेगावाट क्षमताको यो आयोजनाबाट प्रसारण लाइनको अभावमा २५ मेगावाटमात्रै उत्पादन गरिएको हो 
चीनको बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रो र नेपालको चितवन कोई समूहको संयुक्त लगानीमा निर्माण भएको यो आयोजनाबाट निर्धारित तीन वर्षभित्रै निर्माण पुरा भएर विद्युत् उत्पादन शुरु भएको हो । 
आयोजनको उद्घाटन उर्जा मन्त्री जनार्दन शर्माले काठमाडौंबाट निर्देशन दिएपछि लमजुङका सांसद् डा. भीष्म अधिकारीले गरेका हुन् । 
उद्घाटन समारोहमा चीनस्थित सिनो हाइड्रोका उच्च अधिकारीहरु पनि आएका छन् । १६ अर्ब रुपैयाँको लागतमा यो आयोजना निर्धारित तीन वर्षमै पुरा भएर विद्युत् उत्पादन सुरु भएको हो । 
यो आयोजनाबाट उत्पादित अरु २५ मेगावाट पनि ट्रान्समिसन लाइन बनेपछि आगामी डिसेम्बरबाट राष्ट्रिय प्रसारणमा जोडिनेछ । 
आजबाट उत्पादित विद्युत् भुलभुले मध्यमर्स्याड्दी १३२ केभी प्रासरण लाइनमार्फत ६९ मेगावाट क्षमाको तल्लो मर्स्याङ्दी जलविद्युत् आयोजनाको प्रसारण लाइनमा जोडिएको हो । 

Sunday, September 25, 2016

पुनर्निर्माणको लागत २६८ अर्ब बढ्यो

भीम गौतम   + -

काठमाडौं : भूकम्पपछिको पुनर्निर्माणका लागि हालसम्म उल्लेख्य प्रगति नभए पनि अनुमानित लागत भने उल्लेख्य बढेको छ ।
गत वर्षको दाता सम्मेलनअघि राष्ट्रिय योजना आयोगले गरेको विपद् व्यवस्थापनपछिको आवश्यक आँकलन (पीडीएनए) प्रतिवेदनले पुनर्निर्माणका लागि ६ सय ७० अर्ब आवश्यक रहेको देखाएको थियो ।  अहिले भने पुनर्निर्माणको अनुमानित लागत बढेर ९ सय ३८ अर्ब पुगेको छ । 
भूकम्प प्रभावितलाई पूर्वघोषित दुई लाख अनुदान रकममा थप एक लाख रुपैयाँ दिने निर्णय मन्त्रिपरिषदले गरेको छ । यस्तै, प्रभावितलाई ३ लाख रुपैयाँ निब्र्याजी ऋण प्रदान गर्ने निर्णयसमेत कार्यान्वयन हुँदा बजेट ९ सय ३८ अर्ब पुग्ने देखिएको छ ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको निर्देशक समितिमा प्रस्तुत गरेको प्रतिवेदनको आधारमा पुनर्निर्माण खर्च २ खर्ब ६८ अर्ब बढ्ने देखिएको हो ।
गत वर्ष जेठमा प्राधिकरणले सार्वजनिक गरेको पाँच वर्षीय पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी योजनाको खाका (पीडीआरएफ) मा पुनर्निर्माणका लागि ८ खर्ब ३८ अर्ब आवश्यक रहेको प्रतिवेदनमा दिएको थियो । 
प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत एवं योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेल पीडीएनए प्रतिवेदन प्रारम्भिक भएको र विस्तृत रूपमा पीडीआरएफ गर्ने उल्लेख भएकाले विस्तृत विवरण संकलन गर्दा पुनर्निर्माण खर्च बढेको हुनसक्ने बताउँछन् ।
चुनौतीपूर्ण स्रोत व्यवस्थापन
पुनर्निर्माणका लागि खर्च बढ्दै गए पनि आवश्यक स्रोत व्यवस्थापन भने चुनौतीपूर्ण बन्दै गएको छ । २०७२ असारमा भूकम्पपछिको पुनर्निर्माणका लागि आयोजित अन्तरराष्ट्रिय दाता सम्मेलनमा दातृ निकायबाट ४ खर्ब १० अर्बको प्रतिवेदन प्राप्त भए पनि हालसम्म २ खर्ब ७२ अर्ब बराबरको मात्रै सम्झौता भएको छ ।
प्राप्त प्रतिबद्धतामध्ये करिब ६७ अर्ब रुपैयाँ नियमित कार्यक्रमका लागि रहेको हुँदा वास्तविक प्रतिबद्धता रकम करिब ३ खर्ब ४३ अर्ब रुपैयाँ मात्र हुने स्थिति रहेकाले स्रोत व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रगति निर्देशक समितिको बैठकमा ज्ञवालीले जानकारी दिएका थिए ।
उनका अनुसार, अनुमानित ९ सय ३८ अर्ब रुपैयाँमध्ये उल्लेखित २ सय ७२ अर्ब रुपैयाँ कुल आवश्यकताको करिब २९ प्रतिशत मात्र हुने र कुल प्रतिबद्धता रकम आवश्यकताको करिब ४७ प्रतिशत मात्र भएको छ ।
यस्तै, अपुग ५ खर्ब ९५ अर्ब रुपैयाँ अर्थात् ६३ प्रतिशत रकमका लागि आन्तरिक बजेट परिचालन गर्नुपर्ने तथा थप अन्तरराष्ट्रिय सहयोगबाट जुटाउनु पर्ने अवस्था छ ।
पहिलेको दाता सम्मेलनमा प्रतिबद्धता जनाए अनुसारको रकम हालसम्म पनि प्राप्त गर्न नसकिरहेको बेला स्रोत व्यवस्थापन गर्न कठिनाइ हुने प्राधिकरणका एक अधिकारीले बताए ।
उनका अनुसार, सरकारैपिच्छे लोकप्रियताका लागि बढाउने अनुदानको कारण बढ्दो खर्च, दाताको प्रतिबद्धता अनुसारको रकम नआउनु र आए पनि उनीहरूको स्वार्थको आधारमा खर्च भएका कारण स्रोत व्यवस्थापन चुनौतीपूर्ण छ । 
आयोगका पूर्वउपाध्यक्ष पोखरेल भने समयमै पुनर्निर्माणका काम अघि बढाउन नसक्दा केही विश्वासको वातावरण कम भए पनि अझै निजी आवाससहित सबै क्षेत्रको पुनर्निर्माण गरेर थप विश्वासको वातावरण बनाउन सके थप स्रोत जुटाउन असम्भव नरहेको तर्क गर्छन् ।     
“अहिले निजी आवास निर्माणलाई मात्र विशेष जोड दिइएको छ, आर्थिक संरचनासहितको निजी आवास तथा अन्य क्षेत्रको पुनर्निर्माणमा जोड दिइनुपथ्र्याे,” उनले भने, “दाताहरूलाई विश्वासमा लिनसके फेरि थप स्रोत व्यवस्थापन गर्न सकिन्छ ।”
आइतबार भएको निर्देशक समितिको बैठकमा प्रधानमन्त्री दाहालले पुनर्निर्माणको प्रगतिप्रति असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्री भएलगत्तै ४५ दिनभित्र सबै भूकम्प प्रभावितसँग अनुदान र पहिलो किस्ताको रकम वितरण गर्न निर्देशन दिएका दाहालले पुनर्निर्माणबारे अन्तरविरोध रहेको बताउँदै यसप्रति असन्तुष्टि जनाएका थिए ।
बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले निजी घर बनाउनका लागि निर्माण सामग्रीको व्यवस्थापन नगरी र निर्माणका लागि तालिम समेत नदिई अनुदान वितरण गरिएको र अहिले भूकम्प प्रभावितले घर बनाउने वातावरण नरहेको भन्दै असन्तुष्टि जनाएका थिए । 
अनुदान दिन दुई विकल्प प्रस्ताव
प्राधिकरणले पहिलो किस्ताको रकम ५० हजारपछिको दुई किस्ताको रकम वितरणका लागि दुई विकल्प अघि सारेको छ ।
दोस्रो किस्तामा १ लाख २५ हजार र तेस्रो किस्तामा १ लाख तथा थप २५ हजार शौचालयका साथै सोलार वा वायोग्यास बनाउनका लागि दिने गरी एउटा र दोस्रोमा १ लाख ५० हजार र तेस्रोमा एक लाख दिने गरी प्रस्ताव अघि सारिएको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले जानकारी दिए ।     
http://www.karobardaily.com/%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3%E0%A4%95%E0%A5%8B-%E0%A4%B2%E0%A4%BE%E0%A4%97%E0%A4%A4-%E0%A5%A8%E0%A5%AC%E0%A5%AE-%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%AC-%E0%A4%AC%E0%A4%A2%E0%A5%8D%E0%A4%AF%E0%A5%8B

मध्य मस्र्याङ्दीको उत्पादन रोकेर माथिल्लो मस्र्याङ्दीको विद्युत् किन्ने तयारी

   


माथिल्लो मस्र्याङ्दीको ड्याम साइट । तस्विर : कारोबार
लमजुङ/काठमाडौं : निजी क्षेत्रबाट सञ्चालित माथिल्लो मस्र्याङ्दी ‘ए’ आयोजनाबाट उत्पादित विद्युत् खरिद नगरे जरिवाना तिर्नुपर्ने भएपछि नेपाल विद्युत् प्राधिकरणले आफ्नै आयोजना मध्य मस्र्याङ्दीको उत्पादन रोकेर खरिद गर्ने भएको छ ।
माथिल्लो मस्र्याङ्दीको विद्युत् खेर फाल्दा ८० प्रतिशत जरिवाना तिर्नुपर्ने भएपछि तत्कालका लागि मस्र्याङ्दी आयोजनाको एक युनिट बन्द गर्ने तयारी भइरहेको प्राधिकरण स्रोतले जनाएको छ । समयमै प्रशारणलाइन नबनाउँदा मस्र्याङ्दीको विद्युत् खेर जाने अवस्था सिर्जना भएको छ । 
मध्य मस्र्याङ्दी–तल्लो मस्र्याङ्दी प्रशारणलाइनको डबल सर्किटको काम सम्पन्न नभइसकेकोले सो लाइनबाट थप प्रशारणको सम्भावना छैन । “अहिले वर्षा नसकिएकोले दुवै आयोजनाको उत्पादन कम छैन, दुवैबाट उत्पादित विद्युत्बाट थप बिजुली जान सक्ने अवस्था नभएकोले बिजुली खेर फाल्नुको विकल्प नै छैन,” प्राधिकरणका एक अधिकारीले बताए ।
माथिल्लो मस्र्याङ्दीले सोमबारदेखि ५० मेगावाट व्यापारिक उत्पादन सुरु गर्दैछ । सो बिजुलीको लागि प्रशारणलाइन साँघुरो भएपछि विद्युत् प्राधिकरण आफ्नै बिजुली खेर पठाउने बाध्यातात्मक अवस्थामा पुगेको हो ।
प्राधिकरणका अनुसार हाल विद्यमान १३२ केभीको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी प्रशारणलाइनबाट १ सय ४० मेगावाटमात्र विद्युत् प्रशारण गर्न सकिने अवस्था छ भने सो लाइनबाट ७० मेगावाटको मध्यमस्र्याङ्दी र ६९ मेगावाटको तल्लो मस्र्याङ्दीको गरी १ सय ३९ मेगावाटको बिजुली प्रशारण गरिरहेको छ । 
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सिनो हाइड्रोको एउटा  युनिटबाट मात्र उत्पादन गर्न लागेकोले खेर नजाने दाबी गर्छन् । “खेर नजाने गरी व्यवस्थापन गरेका छौं, केही महिनापछि हिउँद लागेपछि त झन् समस्या हुँदैन,” उनले भने ।
प्राधिकरण स्रोतका अनुसार मध्य मस्र्याङ्दीको एउटा युनिट बन्द गर्दा प्रतिमहिना ७ करोडको दरले घाटा हुनेछ  । प्राधिकरणले वर्षदेखि मध्य मस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी सिंगल सर्किटलाई डबल बनाउने कार्य गरे पनि विगत केही समयदेखि यसको काम रोकिएको छ ।
लमजुङ खण्डदेखि तनहुँको तुरतुरेसम्म डबल सर्किट बनाए पनि त्योभन्दा अगाडिको झण्डै २५ किलोमिटर भागमा काम रोकिएको हो । मध्यमस्र्याङ्दी डुम्रे–दमौली प्रशारणलाइन आयोजनाका प्रमुख गणेश केसीका अनुसार लमजुङदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ डबल सर्किट आगामी डेढ महिनामा निर्माण कार्य सकिनेछ ।
मंसिरदेखि हिउँद सुरु हुने र मस्र्याङ्दी नदीमा पानीको बहावमा कमी भई विद्युत् उत्पादनमा समेत कमी आउने हुनाले हिउँद महिनाभरि यही सर्किटले नै धान्ने प्राधिकरणका लमजुङ वितरण केन्द्र प्रमुख माधव न्यौपानेको दाबी छ । उनका अनुसार हिउँदयाममा सबै आयोजनाले मुस्किलले आधामात्रै विद्युत् उत्पादन गर्ने भए पनि आगामी वर्षायाम भने निकै चुनौतीपूर्ण हुनेछ । 
ऊर्जामन्त्रीले उद्घाटन गर्ने    
लमजुङको भुलभुलेमा निर्माण सम्पन्न ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत् आयोजनाको उद्घाटन ऊर्जामन्त्री जर्नादन शर्माले सोमबार काठमाडौंस्थित हायात रिजेन्सी होटलमा गर्ने कार्यक्रम तय भएको छ ।
मन्त्री शर्माले आयोजनास्थलमा रहेका कर्मचारीलाई स्विच थिच्न लगाएर आयोजनाको विधिवत् रूपमा उदघाटन गर्ने कार्यक्रम तय भएको हो ।
मन्त्री शर्मासँग उद्घाटनका निम्ति आयोजनास्थल लमजुङको भुलभुले पुग्ने समय नभएकाले होटलबाटै फोनमार्फत स्वीच थिच्न लगाएर आयोजनाबाट उत्पादित विद्युत्को उदघाटन गर्ने आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले जानकारी दिए ।
चीनको बहुराष्ट्रिय कम्पनी सिनो र चितवन कोई समूहको सगरमाथा पावर कम्पनीले मस्र्याङ्दीबाट बिजुली निकाल्न लागेको हो । जडित क्षमता कुल ५० मेगावाट रहेको यस आयोजनाबाट २५ मेगावाट र आगामी ३ महिनापछि अर्को २५ मेगावाट विद्युत उत्पादनको लक्ष्य लिएको छ 
http://www.karobardaily.com/%E0%A4%AE%E0%A4%A7%E0%A5%8D%E0%A4%AF-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%AA%E0%A4%BE%E0%A4%A6%E0%A4%A8-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A5%87%E0%A4%B0-%E0%A4%AE%E0%A4%BE%E0%A4%A5%E0%A4%BF%E0%A4%B2%E0%A5%8D%E0%A4%B2%E0%A5%8B-%E0%A4%AE%E0%A4%B8%E0%A5%8D%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%A6%E0%A5%80%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D-%E0%A4%95%E0%A4%BF%E0%A4%A8%E0%A5%8D%E0%A4%A8%E0%A5%87-%E0%A4%A4%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%80

Saturday, September 24, 2016

चमेलियाको रोकिएको सुरुङ बनाउन चिनियाँ कम्पनी सहमत

 एक सातापछि काम अगाडि बढाउने

     भीम गौतम   
चमेलिया जलविद्युत आयोजना निर्माण क्षेत्र । फाइल फोटो
काठमाडौ : सार्वजनिक लेखा समितिले अनियमितताको आरोपमा काम रोक्न निर्देशन दिएपछि दुई वर्षदेखि रोकिएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको साँघुरिएको (स्क्युजिङ) सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएको छ । 
जनार्दन शर्मा लेखा समितिको सभापति रहेका बेला चमेलियाको सिभिलतर्फको कार्यका लागि भेरियसनमा अनियमितता भएको भन्दै भुक्तानी रोक्का गर्न निर्देशन दिएपछि सुरुङको काम अवरुद्ध थियो । बिहीबार ऊर्जामन्त्री रहेका उनै शर्माको पहलमा भएको छलफलमा चिनियाँ कम्पनी सहमत भएको हो ।
ऊर्जा मन्त्रालयमा नेपाल विद्युत् प्राधिकरण, सिभिल ठेकेदार गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी (सीजीजीसी) तथा परामर्शदाता कम्पनी साह/सिल्ट/आइकनका प्रतिनिधिबीच भएको छलफलमा ३० सेक्टेम्बर अर्थात् १४ असोजदेखि अवरुद्ध साँघुरिएको सुरुङको कामअघि बढाउन चिनियाँ कम्पनी सहमत भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । 
६ असार २०७१ मा १ अर्ब ९ करोड ३८ लाख बराबरको भेरियसन प्राधिकरण सञ्चालक समितिबाट पारित भएपछि १७ असार २०७१  लेखा समितिले यसमा अनियमितता भएको भन्दै भुक्तानीमा रोक लगाएको थियो ।
लेखा समितिको निर्णयका कारण ९७ प्रतिशत काम सकिएको चमेलियाको कामअघि बढ्न नसकेपछि लेखा समितिको आलोचनासमेत भएको थियो ।
समयमै आयोजना सम्पन्न नभएर प्राधिकरणले दुई अर्ब घाटा बेहोर्नुपरेको आलोचनापछि लेखा समितिले पछिल्लो समयमा पुनर्मूल्यांकन गरेर भुक्तानी दिन निर्देशन दिए पनि कामअघि बढ्न सकेको थिएन । 
यसपछि विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र गेजुवाका महाप्रबन्धक चोउ स्याङझोङको रोहबरमा चमेलिया र ठेकेदार कम्पनीका आयोजना प्रमुखबीच ३० सेक्टेम्बरदेखि निर्माण सुरु गर्नेसहितका बुँदामा सहमति भएको छ ।
छलफलको क्रममा चिनियाँ कम्पनी आगामी ७ दिनभित्र आयोजना सम्पन्न गर्ने मिति नै तोकेर सरकारलाई प्रतिवेदन बुझाउन तयार भएको छ ।
प्रत्येक हप्तामा कार्य प्रगति र योजना पठाउनुका साथै आगामी असार मसान्तसम्ममा आयोजनाको निर्माण कार्य सक्ने प्रतिबद्धता पनि छलफलको क्रममा लिखित रुपमै ठेकेदार कम्पनीले जनाएको छ ।
पुरानो भेरियसनको रकम पुरानै दररेटमा क्रमशः प्रक्रिया पु¥याएर दिने सहमति भएको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।  आठ अर्ब ४९ करोड ५४ लाख ८४ हजार कूल लागत अनुमान गरिएको आयोजनाको लागत १५ अर्ब ६ करोड पुगिसकेको छ ।
२०६४ सालबाट निर्माण सुरु भएर २०६८ सालमै निर्माण सम्पन्न हुने लक्ष्य राखिएको आयोजनाको काम अझै सकिएको छैन । सुरुमा प्रतिमेगावाट २८ करोडमा निर्माण सम्पन्न हुने लक्ष्य रहेपनि लागत दोब्बर पुग्न थालेको छ ।
http://www.karobardaily.com/%E0%A4%9A%E0%A4%AE%E0%A5%87%E0%A4%B2%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%BF%E0%A4%8F%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81%E0%A4%99-%E0%A4%AC%E0%A4%A8%E0%A4%BE%E0%A4%89%E0%A4%A8-%E0%A4%9A%E0%A4%BF%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%81-%E0%A4%95%E0%A4%AE%E0%A5%8D%E0%A4%AA%E0%A4%A8%E0%A5%80-%E0%A4%B8%E0%A4%B9%E0%A4%AE%E0%A4%A4-%E0%A4%8F%E0%A4%95-%E0%A4%B8%E0%A4%BE%E0%A4%A4%E0%A4%BE%E0%A4%AA%E0%A4%9B%E0%A4%BF-%E0%A4%95%E0%A4%BE%E0%A4%AE-%E0%A4%85%E0%A4%97%E0%A4%BE%E0%A4%A1%E0%A4%BF-%E0%A4%AC%E0%A4%A2%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87 

Thursday, September 22, 2016

पुनर्निर्माणबारे गुनासो फर्स्यौट गर्न अभियान सुरु

    भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौं: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावितका गुनासो फर्स्यौट गर्नका लागि ४५ दिने अभियान सञ्चालन गर्ने भएको छ । 
भूकम्प प्रभावितलाई अनुदान र पहिलो किस्ताको रकम वितरणलगायतका भूकम्पपछिको पुनर्निर्माणबारे गुनासो बढेपछि ४५ दिने अभियान सञ्चालन गर्ने भएको हो । 
भूकम्पबाट अतिप्रभावित दोलखा, सिन्धुपाल्चोक, गोरखा, काभ्रे, सिन्धुली, रामेछाप, ओखलढुंगा, रसुवा, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा मात्र १ लाख ७० हजार गुनासो संकलन भैसकेको प्राधिकरणले जनाएको छ तर हालसम्म गुनासो फर्स्यौट भने भएको छैन । 
पुनर्निर्माण प्राधिकरण अनुगमन समितिको बैठकले गुनासो सुनुवाइसम्बन्धी ४५ दिने कार्य योजना तयार पारी फर्स्यौट गर्न निर्देशन दिएपछि प्राधिकरणले अभियान सञ्चालन गर्न लागेको प्राधिकरणका सहसचिव एवं प्रवक्ता राम थपलियाले जानकारी दिए । “हालसम्म गुनासो फर्स्यौट भएको छैन, यसको प्रक्रिया मात्र सुरु भएको छ, अब अभियान सञ्चालन गर्न लागेका छौं” उनले भने । 
प्राधिकरणका अनुसार, सबैभन्दा बढी गुनासो मकवानपुरमा २६ हजार ९०९ छ भने सबैभन्दा कम रसुवामा १३ सय ५१ दर्ता भएको छ । त्यसैगरी सिन्धुलीमा २४ हजार ४१७, दोलखामा २१ हजार ७१२, काभ्रेमा २१ हजार ४३६, गोरखामा १५ हजार ६३५, धादिङमा १५ हजार ४०५, रामेछापमा १३ हजार ९७२, सिन्धुपाल्चोकमा १३ हजार ३८७, नुवाकोटमा ९ हजार ६२३ र ओखलढुंगामा ५ हजार ९५१ गुनासो दर्ता भएको प्राधिकरणले जनाएको छ । 
प्राधिकरणमा दर्ता भएका गुनासा
जिल्ला                          गुनासा 
मकवानपुर                   २६९०९ 
सिन्धुली                        २४४१७
दोलखा                        २१७१२
काभ्रे                            २१४३६
गोरखा                        १५६३५
धादिङ                         १५४०५
रामेछाप                     १३९७२
सिन्धुपाल्चोक          १३३८७
नुवाकोट                    ९६२३ 
ओखलढुंगा               ५९५१
रसुवा                        १३५१
स्रोतः राष्ट्रिय पुनर्निर्माण प्राधिकरण
३८ प्रतिशतले मात्र प्रथम किस्ताको रकम लिएको मकवानपुरमा सबैभन्दा बढी र ५७ प्रतिशत मात्र किस्ता लिएको सिन्धुलीमा त्यसपछिको दोस्रो गुनासो दर्ता भएको छ । नक्कली भूकम्प प्रभावित रहेको, अनुदान नपाएको, एउटै घरमा पनि दाजु वा भाइले मात्र पहिलो किस्ताको रकम लिएको, समयमै अनुदान नपाएका जस्ता गुनासा प्राधिकरणमा दर्ता भएको छ । 
प्राधिकरणले गुनासो सम्बोधनका लागि कार्य बनाइसके पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन सकेको छैन ।     गत असार तेस्रो साता भूकम्पपछिको पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि पारित भएको थियो ।  
भूकम्प प्रभावितका गुनासा सुन्नका लागि गाविस, जिल्ला, क्षेत्रीय र केन्द्रीयस्तरमा गरी चार तहमा गुनासो व्यवस्थापन समिति बनाएको प्राधिकरणले तहगत रूपमा गुनासो फर्स्यौटको व्यवस्था गर्न लागेको छ । 
पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पबाट अतिप्रभावित ११ जिल्लाका ५ लाख ३१ हजार ९३७ जना भूकम्प प्रभावित अनुदान पाउन योग्य रहेकोमा हालसम्म ४ लाख ५० हजार प्रभावितसँग अनुदान सम्झौता भएको र ३ लाख ८० हजारलाई पहिलो किस्ताको रकम वितरण गरिसकेको छ । 
http://www.karobardaily.com/%E0%A4%AA%E0%A5%81%E0%A4%A8%E0%A4%B0%E0%A5%8D%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%AE%E0%A4%BE%E0%A4%A3%E0%A4%AC%E0%A4%BE%E0%A4%B0%E0%A5%87-%E0%A4%97%E0%A5%81%E0%A4%A8%E0%A4%BE%E0%A4%B8%E0%A5%8B-%E0%A4%AB%E0%A4%B0%E0%A5%8D%E0%A4%B8%E0%A5%8D%E0%A4%AF%E0%A5%8C%E0%A4%9F-%E0%A4%97%E0%A4%B0%E0%A5%8D%E0%A4%A8-%E0%A4%85%E0%A4%AD%E0%A4%BF%E0%A4%AF%E0%A4%BE%E0%A4%A8-%E0%A4%B8%E0%A5%81%E0%A4%B0%E0%A5%81

विद्युत् नियमावली संशोधन, सय मेगावाटसम्मको विद्युत् लाइसेन्स अब विभागबाटै

     भीम गौतम   0 + -

फाइल फोटो
काठमाडौं : जलविद्युत्को एक सय मेगावाटसम्मको अनुमतिपत्र (लाइसेन्स) अब विद्युत् विकास विभागबाट दिने गरी नियमावली संशोधन गरिएको छ । विद्युत् नियमावली २०५० को चौथोे संशोधन गरी यस्तो व्यवस्था गरिएको हो । 
ऊर्जा मन्त्रालयले लाइसेन्ससम्बन्धी व्यवस्था संशोधनका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । मन्त्रिपरिषद्ले पारित गरेसँगै अब विभागले एक सय मेगावाटसम्मको लाइसेन्स विभागबाटै दिन पाउने भएको हो ।
यसअघि एक सय मेगावाटभन्दा माथिका आयोजनाको लाइसेन्सका लागि ऊर्जा सचिवस्तरबाटै निर्णय हुनुपर्ने व्यवस्था थियो ।
“एक सय मेगावाटसम्म विद्युत् विकास विभागबाटै लाइसेन्स दिनसक्ने गरी नियमावलीमा परिवर्तन गरिएको छ, अब एक सय मेगावाटसम्मको लाइसेन्स विभागले सिधै दिन सक्छ,” ऊर्जा मन्त्रालयका सह–सचिव कौशलचन्द्र सुवेदीले भने ।
यसअघि ०६८, ०६९ र ०७२ मा समेत जलविद्युत् आयोजना अनुमतिपत्रसम्बन्धी व्यवस्थाको संशोधन भएको थियो । 
जलविद्युत् प्रवद्र्धकहरूले निवेदन दिएपछि विद्युत् विकास विभागबाट मन्त्रालय हुँदै फेरि विभागबाट लाइसेन्स दिँदा लामो समय लाग्ने र अनेक प्रक्रियागत झन्झट बेहोर्नुपर्ने कारण देखाउँदै नियमावलीमा संशोधन अघि बढाइएको सह–सचिव सुवेदीले जानकारी दिए ।
विद्युत् विकास विभागमा लाइसेन्सका लागि कुनै प्रवद्र्धकले निवेदन दिएपछि त्यहाँ विभिन्न शाखा हुँदै ऊर्जा मन्त्रालयका सम्बन्धित शाखा, सहसचिव, ऊर्जासचिव, कानुन उपसचिव र सहसचिव हुँदै फेरि ऊर्जासचिवसम्म फाइल पुगेर सदर भई पुनः विद्युत् विभाग पुग्नुपर्ने लामो प्रक्रियागत झन्झट थियो ।
नयाँ व्यवस्थाअनुसार, बहुउद्देश्यीय र जलाशययुक्त बाहेक एक सय मेगावाटसम्मको जलविद्युत्् लाइसेन्स दिने अधिकार विद्युत् विकास विभागका महानिर्देशकलाई दिइएको छ ।
अब महानिर्देशकले जलविद्युत् लाइसेन्स वितरणदेखि खारेजीसम्मको अधिकार प्रयोग गर्न सक्नेछन् । लाइसेन्सको संशोधनपछि अन्य महत्वपूर्ण काममा सहभागी हुनुपर्ने ऊर्जा मन्त्रालयको कार्यबोझ धेरै घट्ने अनुमान छ ।
हाल १ सय २० दिनभित्र पाउनुपर्ने लाइसेन्सका लागि ४/५ वर्षसम्म लागेको भन्दै जलविद्युत् प्रवद्र्धकहरूले प्रक्रिया छोट्याउन माग गर्दै आएका थिए । उनीहरूले संशोधनले लाइसेन्स लिनका लागि मन्त्रालयसम्म धाउनुपर्ने र विभिन्न व्यक्तिलाई खुसी बनाउनुर्ने अवस्थाबाट केही हदसम्म मुक्ति पाएको बताएका छन् ।
तर, विद्युत् विभागका अधिकारीहरू विद्युत् प्राधिकरणले गर्ने विद्युत् खरिद सम्झौता (पीपीए) बारेको हालको व्यवस्था संशोधन नगरेसम्म यसको प्रभावकारी कार्यान्वयन नहुने उनीहरूको तर्क छ । 
विद्युत् विकास विभागले हालसम्म ३२ सय १० मेगावाटका १ सय १४ आयोजना निर्माणको अनुमतिपत्र लिइसकेका छ्न भने ५७ सय ७५ मेगावाटका ६६ आयोजनाले उत्पादन अनुमतिपत्रका लागि आवेदन दिइसकेका छन् । 
http://www.karobardaily.com/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D%C2%A0-%E0%A4%A8%E0%A4%BF%E0%A4%AF%E0%A4%AE%E0%A4%BE%E0%A4%B5%E0%A4%B2%E0%A5%80-%E0%A4%B8%E0%A4%82%E0%A4%B6%E0%A5%8B%E0%A4%A7%E0%A4%A8-%E0%A4%B8%E0%A4%AF-%E0%A4%AE%E0%A5%87%E0%A4%97%E0%A4%BE%E0%A4%B5%E0%A4%BE%E0%A4%9F%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AE%E0%A4%95%E0%A5%8B-%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A5%81%E0%A4%A4%E0%A5%8D%C2%A0%E0%A4%B2%E0%A4%BE%E0%A4%87%E0%A4%B8%E0%A5%87%E0%A4%A8%E0%A5%8D%E0%A4%B8-%E0%A4%85%E0%A4%AC-%E0%A4%B5%E0%A4%BF%E0%A4%AD%E0%A4%BE%E0%A4%97%E0%A4%AC%E0%A4%BE%E0%A4%9F%E0%A5%88

Wednesday, September 21, 2016

ऊर्जा संकटकाल विधेयक तीन महिनादेखि अर्थ मन्त्रालयमा अड्कियो

     भीम गौतम   -

तस्विर : कारोबार
काठमाडौं : १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य कार्यान्वयनका लागि ल्याउनुपर्ने ऊर्जा संकटकाल विधेयक अर्थ मन्त्रालयमा अड्किएको छ । 
८ फागुन २०७२ मा मन्त्रिपरिषद्ले पारित गरेको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्य योजनाले तीन महिनाभित्र ऊर्जा संकटकाल विधेयक ल्याउने घोषणा गरेकोमा अहिले अर्थ मन्त्रालयमा अड्किएको हो ।
मन्त्रिपरिषद्ले कार्य योजना पारित गरेको ७ महिना बितिसकेको छ तर हालसम्म मन्त्रिपरिषद्बाट पारित गरेर संसद्मा समेत पुगेको छैन । ढिलो गरी गत असारमा मात्र ऊर्जा मन्त्रालयले विधेयकको मस्यौदा अर्थ मन्त्रालयमा पठाएको थियो ।
अर्थ मन्त्रालयको सहमतिपछि फेरि रायका लागि कानुन मन्त्रालयमा पठाउनुपर्ने भएकाले ऊर्जा संकटकाल विधेयक संसद्मा पेश भएर पारित हुन अझै लामो समय लाग्ने देखिएको छ ।
ऊर्जा मन्त्रालयका सहसचिव गोपालचन्द्र सुवेदी गत असारमा स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाएकोमा आउने क्रममा रहेको बताउँछन् ।
“ऊर्जा संकटकाल विधेयकको मस्यौदा तयार पारेर अर्थ मन्त्रालयमा पठाएका छौ, त्यहाँबाट आएपछि कानुन मन्त्रालयमा जान्छ ।” उनले भने, “त्यसपछि मात्र परिषद्बाट पारित भएपछि संसद्मा लैजानुपर्ने हुन्छ ।”
अर्थ मन्त्रालयका बजेट महाशाखा प्रमुख रामशरण पुडासैनीले भने ऊर्जा संकटकालसम्बन्धी फाइल अघि बढाइसकेको दाबी गरे । 
विद्यमान ऐन, कानुन र प्रक्रियामा ढिलाइ हुँदा जलविद्युत् आयोजना निर्माण समयमै बन्न नसकेको भन्दै द्रुतमार्गबाट प्रक्रिया अघि बढाउन सरकारले ऊर्जा संकटकालसहितको कार्ययोजना पारित गरेको थियो ।
ऊर्जा संकटकाल विधेयक संसद्बाट पारित नभएसम्म पुरानै प्रक्रियामा अघि बढ्नुपर्ने र विगतका झन्झटहरू बेहोर्नुपर्ने कारण विधेयकलाई १० हजार मेगावाट विद्युत् १० वर्षभित्र उत्पादन गर्नका लागि महत्वपूर्ण मानिएको छ तर विधेयक ल्याउन सरकारले ढिला गरेको छ ।
वर्तमान ऊर्जा संकट न्यूनीकरणका लागि कानुनी व्यवधान फुकाउन तथा ऊर्जा क्षेत्रको समग्र विकासका लागि अपनाउनुपर्ने दीर्घकालीन प्रकृतिका सुधारका कदमहरूलाई मध्यनजर गरी ऊर्जा संकट विधेयक संसद्बाट पारित गर्ने गरी यसको मुख्य जिम्मेवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई दिइएको थियो तर यसको प्रक्रिया सुस्त छ ।
तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी हटेर नयाँ ऊर्जामन्त्री जनार्दन शर्मा आएर ऊर्जाका लागि ३७ बुँदे ऊर्जा विकासका कार्य योजना सार्वजनिक गरेपनि यसको विकासका लागि आधार मानिएको विधेयकमा ढिलाइ भएको छ ।
ऊर्जा मन्त्रालयका एक अधिकारी भन्छन् वर्षा लागेसँगै लोडसेडिङ कम हुँदै गएको तथा नयाँ सरकार आएपछि सरकारले यसलाई बेवास्ता गरिरहेको छ ।
“तीन महिनाभित्र संसद्बाटै पारित गराउने भनिएको ऊर्जा संकटकाल विधेयकको अवस्था त यस्तो छ भने यही तालमा १० वर्षभित्र १० हजार मेगावाट विद्युत् उत्पादन खोई कसरी होला,” उनले भने । 
ऊर्जा संकटकाल विद्युत्मा समयमै जलविद्युत् आयोजना निर्माण गर्नेलाई प्रतिमेगावाट ५० लाख रुपैयाँ अनुदान दिने, १० मेगावाटभन्दा माथिका सबै जलविद्युत् आयोजनाहरू प्रतिस्पर्धात्मक रूपमा अघि बढाउने, जग्गा हदबन्दी हटाउने, वनको रुख काटेपछि यसको सट्टामा नगदसमेत दिन सक्नेलगायतका महत्वपूर्ण मुद्दाहरू समेटिएको छ ।
त्यसैगरी सार्वजनिक खरिद नियमावलीमा परिवर्तन गरी पहिला प्राविधिक प्रस्ताव खोलेर त्यसमा योग्य हुनेलाई पनि आर्थिक प्रस्तावमा सहभागी हुन पाउने व्यवस्था गर्न लागिएको छ ।
पहिला आर्थिक प्रस्ताव खोलेपछि मात्र प्राविधिक प्रस्ताव खोल्ने हुनाले प्राविधिक रूपमा कमजोरले समेत पाउने र समयमै आयोजनाहरू नबन्ने भन्दै नयाँ प्रस्ताव गरिएको सहसचिव सुवेदीले जानकारी दिए । 
http://bit.ly/2cSSX7i
 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङविरुद्ध प्राधिकरणकै कर्मचारीद्वारा सर्वोच्चमा मुद्दा

     कारोबार संवाददाता    0 + -

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ । फाइल फोटो
काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायत विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । सरकारले प्रक्रिया मिचेर घिसिङलाई कार्यकारी निर्देशक बनाएको भन्दै विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशकको तर्फबाट मंगलबार मुद्दा दायर भएको हो ।
मुद्दा दायर गर्नेमा शेरसिंह भाट, कन्हैया मानन्धर र सुरेन्द्रराज राजभण्डारी छन् । 
घिसिङ विद्युत् प्राधिकरणको निर्देशक बहाल रहेकै अवस्थामा विद्युत् प्राधिकरण कर्मचारी सेवा सुविधा नियमावली २०६२ अनुसार कार्यकारी निर्देशकमा नियुक्ति गर्न नपाइने तथा ऊर्जा मन्त्रालयले गरेको आन्तरिक प्रतिस्पर्धा पनि गलत गरिएको जिकिर गर्दै मुद्दामा प्रक्रिया रद्द गर्न, गराउन अन्तरिम आदेश मागिएको छ । मुद्दाको बुधबार नै पेशी राखिएको छ । 
तत्कालीन कार्यकारी निर्देशक मुकेशराज काफ्लेले २४ भदौमा राजीनामा दिएकोमा  मन्त्रिपरिषद्ले २६ भदौमा स्वीकृति गरेको थियो भने सोही दिन कार्यकारी निर्देशक सिफारिसका लागि ऊर्जा मन्त्रालयका निर्देशक दिनेश घिमिरेको संयोजकत्वमा समिति गठन गरेको थियो ।
ऊर्जा संकटकालको कारण देखाउँदै ऊर्जा मन्त्रालय र यसअन्तर्गतका विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, बूढीगण्डकी र नलसिंहगाढ जलविद्युत् विकास समितिका साथै जल तथा ऊर्जा आयोगका उच्च कर्मचारीले प्रतिस्पर्धामा भाग लिन पाउने व्यवस्था गरिएको थियो ।
२६ भदौमै तीन दिनभित्र जलविद्युत् क्षेत्रमा १५ वर्षभन्दा बढीको अनुभवीलाई प्रतिस्पर्धामा भाग लिन दिइएको थियो । २८ भदौभित्र प्रतिस्पर्धामा भाग लिने व्यवस्था गरिए पनि विद्युत् प्राधिकरणमा २९ भदौमा मात्र दर्ता भएको र उपकार्यकारी निर्देशकहरूले समेत भाग लिन नपाएको उल्लेख छ ।
विद्युत् प्राधिकरणमा कार्यरत व्यक्ति कार्यकारी निर्देशक हुनका लागि उपकार्यकारी निर्देशक हुनुपर्ने कर्मचारी नियमावलीमा व्यवस्था भए पनि प्रतिस्पर्धामा प्राधिकरणमा ११ तह अर्थात् निर्देशकलाई समेत सहभागी हुन दिएको भन्दै उपकार्यकारी निर्देशकले समेत यसप्रति असहमति जनाएका छन् । 
http://bit.ly/2d9BPzo

Tuesday, September 20, 2016

पञ्चेश्वरमा अड्चन

     

नेपालमा धेरै चर्चित र विवादास्पद बनेको महाकाली सम्झौतासँग जोडिएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना निर्माणको काम कहिलेदेखि सुरु हुन्छ, अझै अन्योल नै छ । सम्झौताअनुसार २० वर्षअघि नै परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को टुंगो लागिसक्नुपर्ने थियो तर लाग्न सकेको छैन ।
२०५२ साल माघमा नेपाल र भारतबीच सम्पन्न महाकाली सन्धिका क्रममा ६ महिनाभित्रै डीपीआर टुंगो लगाउने उल्लेख थियो । १९ वर्षपछि साउन २०७१ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा बल्ल परियोजनाको कार्यादेश (टीओआर) पारित भएको थियो ।
त्यसपछि डीपीआरको अद्यावधिक गर्ने कार्य आगामी ६ महिनाभित्र पूरा गर्ने लक्ष्य राखिएको थियो । कार्यादेश पारित भएको दुई वर्ष नाघिसकेको छ ।
झन्डै १५ महिना ढिलो गरी भारतीय परामर्शदाता वाकपोसले गत वैशाखमा डीपीआरको मस्यौदा तयार पारेर त्यसबारे सुझावसहित पुनरावलोकनका लागि नेपालको ऊर्जा र भारतको जलस्रोत मन्त्रालयलाई पठाएको पनि छ, तर दुवै मन्त्रालयले पञ्चेश्वर विकास प्राधिकरणलाई यसबारे सुझाव पठाएका छैनन् । सुझाव नदिईकन यसको डीपीआरले अन्तिम रूप पाउँदैन । 
नेपालमा पञ्चेश्वरजस्ता ठूला जलविद्युत् आयोजनाको निर्माण कार्य अघि बढाउने प्रयास प्रत्येक सरकार र मन्त्रीले गरिरहेकै छन् तर पनि काम अघि बढेको छैन । डीपीआर निर्माणकै लागि पञ्चेश्वर परियोजनाले ठूलो बाधा–अड्चन भोग्नुपरिरहेको छ ।
झन्डै १९ वर्षसम्म नेपाल र भारतबीच परियोजना अघि बढाउन सौहार्दपूर्ण वातावरणको अड्चन खेप्नुपरेको थियो भने फेरि पुनरावलोकनका लागि अड्चन खेप्नुपर्ने बाध्यतामा परियोजना परेको छ ।
६ महिनामा तयार गर्नुपर्ने डीपीआर परामर्शदाताले १५ दिन लगाइदियो भने नेपाल र भारत दुवैका मन्त्रालयले पुनरावलोकनका लागि मात्र ६ महिनाभन्दा बढी लाग्ने अवस्था देखिन्छ ।  प्रधानमन्त्री पुष्पकमल दाहालले हालै गरेको भारत भमणका क्रममा समेत पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालाई तीव्र गतिमा अघि बढाउनेबारे छलफल भएको छ तर डीपीआरलाई अन्तिम रूप दिन काम भने भएन ।
यसअघि नेपाल र भारतबीच भएका जलस्रोतसम्बन्धी सचिव र सह–सचिवस्तरीय बैठकमा समेत पटक–पटक यसबारे छलफल भएकै हो तर उपलब्धि हासिल हुन सकेको छैन ।
महाकाली सम्झौतालाई पूर्ण कार्यान्वयन गरेर बिजुलीदेखि पानी बाँडफाँडसम्मका कुरामा आधा आधा गर्ने हो भने पञ्चेश्वर निर्माणले नेपाललाई फाइदा नै पुग्छ तर यसका लागि नेपालले फराकिलो छाती बनाउनैपर्छ । भारतको सरकारी परामर्शदाताले नै पञ्चेश्वरको डीपीआर तयार गरेको हो ।
यसका आधारमा भारतीय सरकारको सुझाव किन माग्नुप¥यो भन्ने कुरा पनि उठेको छ तर यस परियोजनालाई दुवै देशले साझा रूपमा अघि बढाउने हुनाले डीपीआर ठीक भए वा नभएको उसले स्पष्ट गरेर पठाउनु आवश्यक छ ।
भारतीय सरकारी परामर्शदाता कम्पनीले बनाएको हुनाले ऊ बढी भारतप्रति नम्र पनि हुन सक्छ र नेपालले आवश्यक फाइदा नलिन पनि सक्छ भन्ने आशंका पनि एकथरीको पाइन्छ । त्यसकारण नेपाल सरकारले बढी गम्भीरताका साथ यसको पुनरावलोकन गरेर सुझाव दिनु आवश्यक छ ।
यसैले सरकारले यसका लागि विज्ञ समूह गठन गरेको छ  । सबै विज्ञहरूले सुझाव नदिइसकेकाले यसको ढिलाइमा नेपाल पनि कारण बन्न सक्छ । त्यसैले समयभित्रै सुझाव दिएर यसलाई अन्तिम रूप दिनुपर्छ । पञ्चेश्वर परियोजनाबाट ठूलै लाभ लिन सकिने भएकाले यसमा देखा परेका बाधा–अड्चन हटाउनका लागि सरकार गम्भीर बन्नुपर्छ ।
यसलाई द्रुतगतिमा अघि बढाउँछु भनेर भाषण र योजना बनाएर मात्र हुन्न । पश्चेश्वर कार्यान्वयनका लागि सरकारले तत्परता देखाउन ढिला भइसकेको छ । पञ्चेश्वर परियोजना अघि बढाउन जति–जति ढिलाइ हुन्छ, त्यसले नेपालमा ठूला जलविद्युत् आयोजना बन्दैनन् भन्ने गलत सन्देश झनै जान सक्ने देखिन्छ ।
वर्षौंदेखि पञ्चेश्वर निर्माणलाई प्राथमिकतामा राख्ने तर त्यसको कार्यान्वयनका लागि ठोस वातावरण नबनाउने सरकार र त्यसको नेतृत्व गर्ने राजनीतिक दलहरूले अब पञ्चेश्वर निर्माण गर्छु भनेर बारम्बार दोहो¥याउनु मूर्खता हुन्छ ।
त्यस्तै भारतले चासो दिएन भनेर आरोप लगाउनुको पनि अर्थ देखिन्न । त्यसैले अब तत्काल डीपीआरलाई अन्तिम रूप दिई यसको लगानीको कार्यविधि अघि बढाउन ढिला गर्नु हुन्न । परियोजना निर्माण गर्न धेरै समय लाग्ने हुनाले तत्काल वित्तीय व्यवस्थापनको कार्यविधिलाई अन्तिम रूप दिनैपर्छ । 
http://www.karobardaily.com/%E0%A4%AA%E0%A4%9E%E0%A5%8D%E0%A4%9A%E0%A5%87%E0%A4%B6%E0%A5%8D%E0%A4%B5%E0%A4%B0%E0%A4%AE%E0%A4%BE-%E0%A4%85%E0%A4%A1%E0%A5%8D%E0%A4%9A%E0%A4%A8
 

भारतीय कम्पनी जीएमआर वित्तीय व्यवस्थापन गर्न असफल,

म्याद थपबारे निर्णय हुन सकेन

    भीम गौतम  
माथिल्लो कर्णाली । फाइल फोटो
काठमाडौं : भारतीय कम्पनी जीएमआर निर्माणाधीन ९ सय मेगावाटको माथिल्लो कर्णाली आयोजनामा वित्तीय व्यवस्थापन गर्न असफल भएको छ । लगानी बोर्ड र जीएमआर कम्पनीबीच भएको परियोजना विकास सम्झौता (पीडीए) अनुसार सोमबार अर्थात् १९ सेक्टेम्बर २०१६ मा वित्तीय व्यवस्थापन गरिसक्नुपर्नेमा कम्पनी असफल भएको हो ।
दुई वर्षअघि असोजमा पीडीएमा हस्ताक्षर भएको थियो । सन् २००८ मा खुला प्रतिस्पर्धामार्फत जलविद्युत् आयोजनाको अनुमतिपत्र (लाइसेन्स) लिएको जीएमआरसँग ढिलो गरी पीडीए भएकोमा अहिले वित्तीय व्यवस्थापनमा समेत ढिलाइ भएको हो । 
वित्तीय व्यवस्थापन गर्न नसकेपछि यसअघि नै जीएमआरले एक वर्ष म्याद थप्नका लागि लगानी बोर्डमा निवेदन भने दिइसकेको छ । पीडीएमा समेत एक वर्षसम्म वित्तीय व्यवस्थापनका लागि म्याद थप्न सकिने उल्लेख छ ।
पीडीएमा ढिलाइ गरेको जीएमआरले वित्तीय व्यवस्थापनमा समेत ढिलाइ गरेपछि यसलाई लिएर म्याद थप गर्न हुने/नहुनेबारे विवादसमेत देखिएको छ ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले माथिल्लो कर्णालीको वित्तीय व्यवस्थापन गर्ने मिति सकिएको र समयमै गर्न नसकेको बताउँदै यसबारे थप निर्णय हुन बाँकी रहेको बताए ।
“माथिल्लो कर्णाली आयोजनाको वित्तीय व्यवस्थापनको समय सकिएको छ, समयमा गर्न सकेन,” उनले भने, “म्याद थपका लागि आवेदन पनि दिएको छ, तर यसबारे केही थप विवरण मागेका छौ । यसको आधारमा थप्ने/नथप्ने निर्णय हुन्छ ।” 
प्रधानमन्त्री पुष्पकमल दाहाल अध्यक्ष रहेको लगानी बोर्डको बैठक बस्न नसक्दा म्याद थपबारे निर्णय हुन सकेको छैन । प्रधानमन्त्री भएको ४५ दिन पुग्न लाग्दा समेत दाहालले बोर्डको बैठक राख्ने रुची देखाएका छैनन् । यसको म्याद थप नगर्न दबाब पनि छ ।
प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को आयोजना भएको तथा भूकम्प, नाकाबन्दी तथा  निर्माणमा अवरोधलगायतका कारण वित्तीय व्यवस्थापनमा समस्या रहेकोले म्याद थप गर्नुपर्ने विज्ञहरूले दाबी गर्दै आएका छन् । 
१ खर्ब ३९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा २५ प्रतिशत स्वपुँजी (इक्विटी) र ७५ प्रतिशत विभिन्न बैंकहरूबाट ऋण लिएर आयोजना बनाउने लक्ष्य जीएमआरको छ ।
अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)ले लगानी जुटाउनेबारे सहमति जनाइसकेको आयोजनामा अन्य बैकहरुसँग समेत लगानीका लागि छलफल अघि बढाइरहेको छ । भारत निर्यात गर्ने लाइसेन्स लिएको जीएमआरबाट सरकारले २७ प्रतिशत निःशुल्क सेयर र १२ प्रतिशत निःशुल्क बिजुली पाउने सम्झौता छ ।    
https://bitly.com/