Sunday, September 18, 2016

फेरि दुई वर्षभित्र लोडसेडिङ हटाउने घोषणा

    भीम गौतम   0 + -

फाइल फोटो

ऊर्जामन्त्रीले ल्याए ३७ बुँदे योजना

काठमाडौं: ऊर्जामन्त्री जनार्दन शर्माले फेरि दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने गरी ३७ बुँदे ऊर्जा क्षेत्र विकासको अल्पकालीन र दीर्घकालीन कार्य योजना २०७२ शुक्रबार सार्वजनिक गरेका छन् । 
कार्य योजनामा नेपाल विद्युत् प्राधिकरण र यसका सहायक कम्पनी, निजी क्षेत्र, सौर्य (सोलार), जैविकलगायतका स्रोत र क्याप्टिभ उत्पादनमार्फत १४ सय ५० मेगावाट विद्युत् थप्ने लक्ष्य छ । एक वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने घोषणा गरेका थिए । 
विद्युत् प्राधिकरण र ऊर्जा मन्त्रालयका अधिकारीहरूले एक वर्षभित्र लोडसेडिङ असम्भव भएको भन्दै प्रधानमन्त्रीलाई सुझाव दिएपछि उनले एक वर्षभित्र आधारभूत रूपमा र दुई वर्षभित्र पूर्ण रूपमा अन्त्य गर्ने भन्दै बोलीमा केही सुधारे । 
ओलीले बोलेको एक वर्षपछि ऊर्जामन्त्री शर्माले दुई वर्षभित्र भनेर घोषणा गरेपछि धेरै उपभोक्ता कहिले लोडसेडिङ अन्त्य हुन्छ भनी अन्योलमा परेका छन् । विगत एक वर्षको जलविद्युत् उत्पादनको अवस्था त्यति सुखद् छैन । 
ऊर्जा मन्त्रालयका अनुसार, विगत एक वर्षभित्र १५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि जम्मा ३१ मेगावाट मात्र उत्पादन भयो । ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता भूकम्प नाकाबन्दीलगायतका कारण विगत एक वर्षमा सोचेअनुसारको उत्पादन गर्न नसकिएको स्वीकार्छन् । 
“विगत एक वर्षमा १५० मेगावाट उत्पादन गर्ने लक्ष्य राखेका थियौं तर उत्पादन ३० मेगावाट जति मात्र भयो” उनले भने, “सोचेअनुसार विद्युत् उत्पादन हुन सकेन ।”
विगत एक वर्षको जलविद्युत् उत्पादनको अवस्था त्यति सुखद् छैन । ऊर्जा मन्त्रालयका अनुसार, विगत एक वर्षभित्र १५० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि जम्मा ३१ मेगावाट मात्र उत्पादन भयो । 
ओलीले असोजमा दुई वर्षभित्र भने लगत्तै गत मंसिरमा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने दोहोर्याए । लगत्तै ८ फागुनमा  तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझीको नेतृत्वमा मन्त्री परिषद्बाट पारित कार्य योजनामा दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने उल्लेख छ । 
फेरि १५ जेठमा आर्थिक वर्ष २०७३-०७४ को बजेटमा समेत दुई वर्षभित्र लोडसेडिङ अन्त्य गर्ने उल्लेख छ । भर्खरै आएका ऊर्जामन्त्रीको कार्य योजनामा पनि लोडसेडिङ दुई वर्षभित्र अन्त्य गर्ने भनेपछि त्यो दुई वर्ष कहिलेदेखि सुरु हुने भन्ने अन्योलता कायम छ । 
ऊर्जा मन्त्रालयका सहसचिव एवं प्रवक्ता घिमिरे भने नयाँ कार्य योजनाअनुसार नै सुरु हुने दाबी गर्छन् । “मन्त्रीज्यूले अहिले कार्य योजना बनाएर सुरु गर्ने भनेपछि अब बल्ल सुरु हुन्छ, पहिलाको मितिबाट गणना गरेर हुन्छ र” उनले भने । 
छिट्टै लोडसेडिङ अन्त्य हुने आश्वासन दिएर प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले उपभोक्तालाई छकाइरहेको अनुभव धेरैको छ । बानेश्वरका हरि श्रेष्ठले भने, “गत वर्ष पूर्वप्रधानमन्त्रीले पनि दुई वर्षभित्र अन्त्य गर्छु भनेको सुनेको थिएँ, अहिले फेरि दुई वर्षभित्रै भनेको सुनिएको छ'', उनले भने । आफूहरूलाई झन अन्योल रहेको उनको भनाइ थियो 
दुई वर्षे लोडसेडिङ अन्त्य घोषणाको सूची
मिति                            घोषणा कर्ता                    
असोज २०७२                    प्रम केपी ओली
मंसिर  २०७२                    अर्थमन्त्री विष्णु पौडेल
फागुन २०७२                    ऊर्जामन्त्री टोपबहादुर रायमाझी
जेठ २०७२                        बजेट भाषण
भदौ २०७३                        ऊर्जामन्त्री जनार्दन शर्मा
“खोई केहो केहो जनता झुक्याउने चाल जस्तो पो छ लोडसेडिङ हटाउने योजना पनि,” उनले भने । कतिपय ऊर्जा मन्त्रालयका अधिकारीहरू नै यस्ता लोकप्रिय घोषणा गर्ने प्रवृत्तिबाट सन्तुष्ट छैनन् । 
“खाली भारतबाट थप १२० मेगावाट थपिएर अन्त्य गर्ने लक्ष्य छ,” उनले भने, “कुनै पनि जलविद्युत् आयोजना समयमै नबनिरहेको बेला यसरी भ्रम नफैल्याए राम्रो हुन्थ्यो, मन्त्री त आउँछन्, जान्छन् तर ऊर्जा मन्त्रालयले खप्की खानुपर्छ ।”
गत हिउँदमा दैनिक १३ घन्टासम्म लोडसेडिङ बेहोरिरहेका बेला आगामी हिउँदसम्म शून्यमा झार्ने सम्भावना कम छ । दुई वर्षभित्र विद्युत् माग १७ सय मेगावाट पुग्ने र हिउँदमा अन्त्य गर्नका लागि कम्तीमा ३ हजार मेगावाट विद्युत् उत्पादन क्षमता पुग्नुपर्ने भएकाले दुई वर्षभित्र १४ सय ५० मेगावाट उत्पादन भए पनि अन्त्यको सम्भावना नरहेको उनको तर्क छ । 
http://www.karobardaily.com/%E0%A4%AB%E0%A5%87%E0%A4%B0%E0%A4%BF-%E0%A4%A6%E0%A5%81%E0%A4%88-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AD%E0%A4%BF%E0%A4%A4%E0%A5%8D%E0%A4%B0-%E0%A4%B2%E0%A5%8B%E0%A4%A1%E0%A4%B8%E0%A5%87%E0%A4%A1%E0%A4%BF%E0%A4%99-%E0%A4%B9%E0%A4%9F%E0%A4%BE%E0%A4%89%E0%A4%A8%E0%A5%87-%E0%A4%98%E0%A5%8B%E0%A4%B7%E0%A4%A3%E0%A4%BE

No comments: